सदरमुकाम विदुरदेखि ३० किमी पश्चिममा रहेको सो गाविसमा आजसम्म राहत पुग्न सकेको छैन। “परिवार गुमायो, त्यसको पिर छँदैछ, आफ्नै घर आफ्नै मानिसको चिहान भाको छ तर एउटा पाल दे भन्दा पनि सरकारले दिँदैन” तामाङले गुनासाे गरे।
भूकम्पमा परी बहिनी र छोरी गुमाएका एक्का घलेले राहतको सामग्री त परैको कुरा गाउँमा अहिलेसम्म उद्धारकर्मी कोही नआएको बताए। गाउँमा अहिले गाँसको भन्दा पनि बासको चिन्ताले पीडितलाई सताउन थालेको छ। भिरालो जग्गा रहेको भाल्चेमा जताततै जमिन चिरिएकाले सुरक्षित स्थान भेट्न मुस्किल छ। भए पनि पाल समेत नहुँदा उनीहरु खुला आकाशमुनि रात कटाउन बाध्य छन् ।
भाल्चे नजिकैको फिकुरी गाविसमा भूकम्पपीडित पनि पालका अभावमा कोही खुला आकाशमुनि त कोही धेरै परिवारमा कोचिएर रात काट्न बाध्य भएका छन्। फिकुरीमा रहेका सात सय घरधुरीमा चार बाहेक अरु सबै घर भत्किएको छ। घरमा बस्ने अवस्था नभएकाले उनीहरु भूकम्पको धक्का आउन छाडेपछि पनि बाहिर नै बस्नुपर्ने अवस्था छ। तर अहिलेसम्म एउटा पाल पाउन नसकेको स्थानीयवासी देवनाथ भट्टले बताए।
“बजारमा हामी आफैँले किन्न खोज्दा पाइँदैन, सरकारले एउटा पाल पनि दिँदैन, हामीलाई चिउरा चामल चाहिँदैन, अहिले पाललाई प्राथमिकता दिए हुन्थ्यो” भट्टले भने।
भुकम्प आएको केही दिनपछि प पराकम्पन आउने सम्भावनाको कारण बाहिर खुला स्थानमा बस्न पर्ने भनिए पनि ग्रामीण भेगका ९९ प्रतिशत कच्ची घर भत्किएकाले उनीहरु घर बनाउन नसकेसम्म खुल्लास्थानमै बस्नु पर्ने बाध्यता छ । पचास हजार घर परिवार विस्थापित नुवाकोटमा अहिलेसम्म पाँच हजार मात्र पाल सरकारले वितरण गरेको छ ।
मृतक सात सय, घाइते एक हजार बढी भुकम्पका कारण यहाँ हालसम्म ज्यान गुमाउनेको सङ्ख्या सात सय उनन्साठी पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भुकम्पमा परी एक हजार तीन सयभन्दा बढी घाइते भएका छन्। भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात सय सत्र पुगेको र उनीहरुको पहिचान तथा सनाखतसमेत भइसकेको छ। मृत्यु हुने तथा मानवीय क्षति हुनेमा अधिकांश उत्तरपूर्वी भेग र उत्तर पश्चिम भेगमा बढी पाइएको छ। भुकम्पका कारण जिल्लाका ९० प्रतिशत घर बसोबासका लागि पूर्ण रुपमा अयोग्य छन् । भूकम्पछि नुवाकोटमा उद्धार सन्तोषजनक भए पनि साल्मे गाविसमा उद्धार हुन सकेको छैन । जिल्लाकै अतिविकट साल्मे भिरालो र पहाडी भूबनावट भएको कारण उद्धारका लागि हेलिकप्टर अवतरणमा समस्या देखिएको छ।
जिल्लाका अन्य क्षेत्रमा भने खोजी तथा उद्धार तीव्र र सन्तोषजनक भए पनि राहत व्यवस्था फितलो भएको छ। सोका कारण भुकम्पपीडितका लागि राहत तथा खाद्यान्न र बासका लागि पालको समेत उचित व्यवस्था हुनसकेको छैन। राहतका लागि रु दुई करोड प्राप्त भएको र सो रकम प्रतिघरधुरी रु सात हजारका दरले वितरणको व्यवस्था मिलाइएकामा सो रकम अपर्याप्त भएका कारण वितरणमा समस्या भएको तथा वितरित रकम गाविसस्थित वडाका आधा घरधुरीलाई समेत अपुग भएपछि ठाउँ ठाउँमा जनता उत्तेजित भएको र राहत वितरणमा थप कठिनाइ भएको छ।
देशबाहिरबाट आएका टोलीलाई घाइतेको उपचारमा खटाउन तथा उनीहरुसंँग समन्वय गरी उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयलगायत सरोकार भएकाहरुले प्रयास गरिरहेका छन्। स्वास्थ्योपचारका लागि आएका नेपालीमूलका भूटानी चिकित्सकसहितको टोली उपचारमा प्रभावकारी र निकै सक्रियता देखाएका छन्।
अहिले यहाँ राहत सामग्री आइसकेको र प्रक्रिया मिलाएर वितरण गर्न लागिएको छ। रासस