मेलम्चीस्थित भिमकाली गुल्म र इलाका प्रहरी कार्यालय मेलम्चीको संयोजनमा राहत तथा उद्धार कार्य भइरहेको र यस क्षेत्रका लागि एक हजार ५०० त्रिपाल तत्काल आवश्यक भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।
उद्धार तथा राहत कार्यमा जुटिरहेका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार यस क्षेत्रका २४ गाविसका करिब २० हजार घरमध्ये ९९ प्रतिशत घर भत्केका र बस्न नहुने अवस्थाका छन् ।
तत्काल विभिन्न सङ्घसंस्थाबाट त्रिपालहरु उपलब्ध भए पनि सबै परिवारलाई एउटा त्रिपाल एक बोरा चामल र एउटा कम्बल अत्यावश्यक भएको उनले बताए। भीमकाली गुल्म मेलम्चीका प्रमुख प्रेम हमालका अनुसार अझै १० गाउँबाट घाइते उद्धार गर्न बाँकी छ ।
सो क्षेत्रमा उद्धारको तथा राहतको संयोजन गरिरहेका जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले प्रत्येक गाविसका सचिवको व्यवस्था र त्यसो गर्न नसके सहायक सचिव र सामाजिक परिचालक र एक स्थानीय शिक्षकको संयोजन र सर्वदलीय प्रतिनिधिको सहभागितामा राहत वितरण कार्य सुरु भएको बताए। रासस