वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले उद्योगपति\व्यापारी जीवा लामिछानेलाई १० वर्षअघि भनेछन्– बौद्धमा एउटा मान्छेले अचम्मै राम्रो काम गरिरहेको छ एकपटक हेर्न जानुहोला।
‘हेर्दा पत्याउनै सकिन्न,’ श्रेष्ठले त्यो मान्छेबारे थप व्याख्या गर्दै लामिछानेलाई सुनाए, 'राम्रो सर्ट पनि लाउँदैन।’
त्यो अपत्यारिलो कामलाई हेर्न जाऔं भन्दै यी दुई पात्र लागे बौद्धतिर। तर, अचम्म त्यो मान्छेले त चिटिक्क परेको सर्ट पो लगाएर बसेको छ। श्रेष्ठलाई भित्रभित्रै लाज पनि लागेछ। आफूले देख्दा कहिल्यै राम्रो सर्टमा नदेखिने यो मान्छेले आजचाहिँ बिताएछ, भन्ने उनलाई लाग्यो ।
ती तेस्रा पात्र अरू कोही नभएर समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल थिए। तर, सर्टबाहेक श्रेष्ठले व्याख्या गरेको सञ्जेलको हुलियामात्र होइन उनको काम पनि मिल्दोजुल्दो थियो। त्यो कामबाटै प्रभावित भएर महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले निःशर्त सहयोग पुर्याउँदै आएका छन्।
सन् २०११ मा गैर आवासीय नेपाली संघका अध्यक्ष समेत रहिसकेका लामिछानेले त्यही संस्थाको तर्फबाट मेलम्चीमा स्कुल खोलिदिन तयार भए। मेलम्चीको स्कुल बोक्सीको आरोपमा यातना भोगेकी मरनीदेवीदेखि नेपालगञ्जमा दाइजोको निहुँमा जिउँदै लगाइएकी एक मुस्लिम महिलासमेतले संयुक्तरुपमा उद्घाटन गरेका थिए।
बलिउडको नायक बन्न भनेर मुम्बईमा केही वर्ष बिताएका सञ्जेलको नियति अर्कै खोजेको थियो। नेपालबाट बेचिएका चेलीहरू मुम्बईलगायतका विभिन्न स्थानका कोठीमा बेचिएको ह्दयविदरक दृश्यले उनलाई केही गर्न प्रेरित गर्यो। र, यो समस्यालाई जरैदेखि उखेल्ने उपाय फेला पर्यो– शिक्षा।
उनले सन् २००१ म बौद्ध जोरपाटीमा सुरू गरेको समता शिक्षा निकेतनले १५ वर्षमा पखेटा फिजाइसकेको छ। यसबीच देशका २२ जिल्लामा यस्ता २३ वटा स्कुल बनेका छन्।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)को उपस्थितिमा यो साताको सुरुमा पूर्वी नेपालका पाँच स्थानमा नयाँ स्कुल उद्घाटन गर्ने क्रममा लामिछानेले उनलाई पहिलोपटक भेट्दाको प्रशंग सम्झना गरेका थिए।
गत शनिबार पूर्वका विराटनगर र इटहरीमा, आइतबार इलाम र झापामा र सोमबार सिरहाको लहानमा स्कुलहरू उद्घाटन गरेका थिए।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोसमेत यसमा सहभागी भएका थिए। महकै कारण महतोले केही वर्षदेखि समताका निम्ति सहयोग पुर्याउँदै आएका छन् ।
महतोले सन् २००८ मा दिएको तीन करोड ६५ लाख रूपैयाँ सहयोगपछि स्कुल विस्तारलाई थप सहयोग पुगेको हो। यो वर्ष तराईका सबै जिल्लामा स्कुल स्थापना गरेपछि यो स्कुलको संख्या ४३ पुग्ने जानकारी सञ्जेलले कार्यक्रमका क्रममा व्यक्त गरे।
महतोले समतालाई यो रकम गैर आवासीय नेपाली संघको सम्मेलन भएका बेला सोल्टी होटलमा प्रदान गरेका थिए तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई साक्षी राखेर।
त्यसो त नेपाल आफैं समताको कामबाट प्रभावित भएका थिए र सरकारबाट १३ करोड अनुदान दिलाउन खोजेका थिए। तर, सरकारी रकम लिएपछि त्यसमा आउने अनावश्यक दबाबलाई झेल्न नसक्ने भएकोले अस्वीकार गरेको सञ्जेलले बताए।
समता स्कुलले यसबीच कार्यक्रम समेत विस्तार गरेको छ। समता कलेजसमेत सञ्चालन हुँदै आएकोमा स्नातकोत्तर तहको कार्यक्रमसमेत त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेको छ।
‘अब हामी नर्सरीदेखि मास्टर्ससम्म एक सय रूपैयाँमा पढ्न पाइने स्कुल बनेका छौं,’ सञ्जेलले कार्यक्रममा भने, ‘सम्भवतः यस्तो अभियानले अभिलेख गिनिज बुकमा पनि छैन।’
सञ्जेलले एक सय रूपैयाँ शुल्क लिने यो स्कुल बाँसलाई प्रयोग गरेर बनाउने गरेका छन्। पूर्वी तराईमा बनेका यी स्कुलहरू देखेर ‘स्वर्गजस्तो रहरलाग्दो’ भने महतोले। यी स्कुलमा पुगेर स्थानीय अभिभावक र विद्यार्थीहरूलाई उनले आफू साधारण स्कुलमा पढेर अहिलेको स्थितिमा आइपुगेको बताएका थिए।
‘राम्ररी पढ्नुपर्छ,’ उनले विद्यार्थीहरूलाई सम्वोधन गर्दैं भने, ‘अंग्रेजी माध्यममा पढाइ हुने निजी स्कुलसरहको पढाइ भएकोले यहाँका विद्यार्थीको भविश्य सुन्दर छ।’
‘हामी धनी, सुन्दर र शान्त देशको नागरिक भएर बाँच्न पाऔं,’ अर्बपति महतोले भने, ‘यो मुलुकलाई सबैभन्दा धनी बनाउन हामी सबै लागिपर्नु परेको छ।’
उनले अगाडि भने, ‘हाम्रो देश धेरै धनी हुनुपर्ने हो तर, विभिन्न कारणले गरिब भयो।
यसकारण पनि समताले भूमिका खेलिरहेको विश्वास उनको थियो।
मदनकृष्णले यो एउटा शैक्षिक क्रान्ति भएकोले पनि १२ वर्षदेखि आफूहरूले साथ दिइरहेको बताए। ‘हामी सबैको दुःखको कारण अशिक्षा हो,’ उनले भने।
समता स्कुलको सरकारी र निजी स्कुलहरूसँग प्रतिस्पर्धा नभएको पनि श्रेष्ठले प्रष्ट पारे। ‘सय रूपैयाँमा नर्सरीदेखि मास्टर्ससम्म पढाउने कुरा असम्भवजस्तै छ,’ उनले भने।
मह जोडीका अर्का सदस्य हरिवंश आचार्यले पनि यो पत्याउनै नसक्ने अभियान रहेको बताउँदै आँखा चिम्लिएर सञ्जेलको पछि लागेको बताए। ‘राम्रो कुराको पुच्छर भएर हिड्न पाएकोमा हामीलाई गर्व लागेको छ,’ उनले भने।
‘यो मुलुकमा राजनीतिक क्रान्ति धेरै भयो,’ आचार्यले भने, ‘हामीलाई अब शैक्षिक क्रान्ति चाहिएको छ।’
सञ्जेलले स्कुल खोल्दा पाएका दुःखको भने कुनै सीमा छैन। राजा ज्ञानेन्द्रले संकटकाल लगाएका बेला भक्तपुरमा उनलाई एक साता थुनामा राखिएको थियो। त्यतिबेला समाचारमा यो नआएको भए उनले थप दुःख पाउने थिए।
पत्येक ठाउँमा स्कुल खोल्ने बेलामा कुनै न कुनै झमेला पर्ने गरेको उनले बताए।
इलाममा स्थानीय पत्रकारहरू विमल वैद्य र सोमनाथ सुसेलीले काँध नथापिदिएका भए यो अभियान नै अघि नबढ्ने अवस्थामा रहेको उनी सम्झना गर्छन्।
प्रायः महँगोमा शुल्क लिएर निजी स्कुल चलाइरहेका व्यक्तिहरू समता खुल्दा आफ्नो व्यवसायमा धक्का पर्ने ठानेर प्रशासनिक झमेलामा पार्न उद्यत हुने गरेको सञ्जेलले बताए।
तर, वरिष्ठ कलाकार श्रेष्ठले यो स्कुलप्रति उतर्सिनुपर्ने अवस्था नरहेको बताए। निजी स्कुलहरूले शिक्षाको गुणस्तर उठाउन सहयोग गरेको उल्लेख गर्दै समताले ती स्कुल जान नसक्ने स्कुल बाहिर रहेका धेरै बालबालिकालाई अवसर दिएको बताए।
अहिले समता स्कुलभित्र करिब ३८ हजार बालबालिका रहेका छन्। रुसमा व्यापार\व्यवसाय गरिरहेका महतोले यो स्कुललाई थप सहयोग गर्ने आश्वासन दिए।
स्कुल उद्घाटन कार्यक्रममा मदनकृष्णले सञ्जेलको नयाँ सर्टको प्रशंग उल्लेख गर्दै कुराको बिट मारे। ‘उसको नयाँ सर्ट देखेर म लज्जित थिएँ। जीवाजीलाई केही भनिनँ। स्कुललाई त्यो बेला सहयोग गर्दै आएकी आनी छोइङ डोल्मालाई यो प्रशंग सुनाएँ,’उनले भने।
‘सधैँ थोत्रो सर्ट लगाएर बस्छ,’ आनीलाई उदृत गर्दै श्रेष्ठले भने, ‘जीवाजी स्कुल आउने भनेपछि मैले सञ्जेललाई सर्ट किनेर लगिदिएकी थिएँ। त्यो त्यही सर्ट हो।'