१९९०मा राणा प्रधानमन्त्री जुद्धशमसेरको पालामा सुरु भएको हो एसएलसी परीक्षा। त्यसयता एसएलसीलाई विद्यार्थीको जीवनमा फलामे ढोकाकै रुपमा चित्रित गरिएको छ। इज्जत र सम्मानसँग एसएलसीलाई जोडेर हेर्ने चलन अझै पनि समाजमा छ। त्यसले विद्यार्थीको मनमा एसएलसी ‘हाउगुजी’कै रुपमा चित्रित थियो। त्यही डरका कारण एसएलसी फेल हुने धेरै विद्यार्थीले आत्महत्या समेत गरेका खबर सुनिन्छन्।
८१ वर्ष पछि आएर सरकारले एसएलसीमा सुधार गरेको छ। प्रत्येक विषयमा नम्बर दिने पुरानो प्रणाली फेरेर अब ग्रेड दिन सुरु गरिने छ। यसो हेर्दा यो सानो परिवर्तन जस्तो देखिएपनि विद्यार्थीहरुको मनोविज्ञानमा यसले ठूलो असर पार्ने छ।
पछिल्ला केही वर्षमा मुलुकभर, एसएलसी नतिजा पनि राम्रो छैन। परीक्षा नियन्त्रण कार्यालयकै अनुसार पनि ग्रामिण क्षेत्रका धेरैजसो विद्यार्थी अंग्रेजी र गणित विषय लागेर फेल हुने गर्छन्। पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले पनि एसएलसीमा पास /फेल गराउने मुल्याङ्कन पद्धतिले विद्यार्थीको हित नहुने निष्कर्ष सहित ग्रेड प्रणालीमा जाने निर्णय गरेको हो।
ग्रेड प्रणाली लागु भएपछि अंग्रेजी÷गणित वा अन्य कुनै विषयमा थोरै नम्बर आएपनि विद्यार्थी फेल हुनपर्ने छैन। अंग्रेजी, गणित, विज्ञान जस्ता अप्ठेरा मानिएका विषयमा कमजोर विद्यार्थीलाई विषय लाग्ने डरबाट मुक्ति मिल्ने छ।
ग्रेड प्रणालीमा विद्यार्थीलाई विशिष्ट, उत्कृष्ट,धेरै राम्रो,राम्रो, कमजोर र अतिकमजोर गरी ६ किसिमले मूल्याङ्कन गरिने छ। नम्बरका आधारमा विद्यार्थीलाई यसरी मूल्याङ्कन गरिने परिषद्ले जनाएको छ:
–९० देखि १०० सम्म नम्बर ल्याउने विद्यार्थी ‘विशिष्ट’ ठहरिने छ, जसलाई ‘ए प्लस’को प्रमाणपत्र दिइने छ।
–८० देखि ८९ सम्म नम्बर ल्याउने विद्यार्थी ‘उत्कृष्ट’ हुने र उसले ‘ए’ ग्रेडको प्रमाणपत्र प्राप्त गर्ने छ।
–६० देखि ७९ सम्म नम्बर ल्याउने विद्यार्थी ‘धेरै राम्रो’मा दरिने छ र उसले ‘बी’ ग्रेडको प्रमाणपत्र हातपार्ने छ।
–४० देखि ५९ सम्म नम्बर ल्याउने विद्यार्थी ‘राम्रो’ मानिने छ र उसले ‘सी’ ग्रेडको प्रमाणपत्र पाउने छ।
–२५ देखि ३९ सम्म नम्बर ल्याउने विद्यार्थी ‘कमजोर’ हुने छ र उसलाई ‘डी’ ग्रेडको प्रमाणपत्र दिइने छ।
–२५ भन्दा कम नम्बर ल्याउने विद्यार्थी ‘अतिकमजोर’ मानिने छ, उसले ‘इ’ ग्रेडको प्रमाणपत्र पाउने छ।
मानौँ एउटा विद्यार्थीको अंग्रेजी कमजोर छ। उसले त्यसमा २५ भन्दा कम नम्बर पायो भने अंग्रेजीमा मात्रै ‘इ’ ग्रेड पाउने छ। त्यही कारणले अन्य विषयमा पाएको राम्रो नम्बर र ग्रेड प्रभावित हुने छैन।
एसएलसी पछिको पढाई उसले गणितमा गर्न चाहन्छ भने अंग्रेजीमा थोरै आयो भनेर चिन्ता लिनु पर्ने छैन।
यो प्रणाली लागु भएपछि विद्यार्थीले आफुलाई रुचि नभएको विषयलाई लिएर पनि मानसिक तनाव झेल्नु पर्ने छैन। रुचि नभएको विषय नपढेपनि फरक पर्ने छैन।
कलेजहरुले पनि उसले चाहेको विषयमा नम्बर राम्रो छ भने अन्य विषयको थोरै नम्बरबारे धेरै प्रश्न गरिरहने छैनन्।
एसएलसीलाई नै हटाएर १२ कक्षा सम्मलाई माध्यामिक स्तर बनाउने बहस नसेलाउदै परिषद्ले गरेको यो निर्णयले एसएलसीको मुल्याङ्कन पद्धतिमात्रै विस्थापित गरेको हो। एसएलसी परिक्षा भने पहिले जसरी नै परीक्षा नियन्त्रण कार्यालयले नै लिने नियन्त्रक विष्णु द्वारेले जानकारी दिए।
‘प्रतिशतका आधारमा गरिँदै आएको एसएलसी परीक्षाको मुल्याङ्कन पद्धति विस्थापित गरी लेटरग्रेटको आधारमा मूल्याङकन गर्ने पद्धति लागु गर्ने निर्णय भएको हो,’ उनले भने।
यो पद्धति यो वर्ष प्राविधिक तर्फका विद्यालयको एसएलसीमा मात्रै लागु हुने पनि परीक्षा नियन्त्रक द्वारेले जनाए। अर्को वर्षदेखि मुलुकभरका विद्यालयमा लेटर ग्रेडको आधारमा विद्यार्थीका उत्तर पुस्तिका जाँच गरिनेछ।
यस्तो मूल्याङ्कन प्रणालीले परीक्षामा सहभागी भैसकेपछि विद्यार्थीले जति नम्बर ल्याएपनि एसएलसी बोर्डले उसलाई प्रमाणपत्र दिने छ।
‘यो सिस्टममा गएपछि जति नम्बर ल्याएपनि विद्यार्थीलाई तिमीहरु फेल भयौ भनिने छैन, उनीहरुले आफ्नो ग्रेडनम्बर सहितको प्रमाणपत्र पाउने छन्’ द्वारेले भने।
आफ्नो रिजल्ट चित्त नबुझ्ने विद्यार्थीले एकवर्ष भित्रमा परीक्षा दिन पाउने छन्।
अहिले एसएलसी पास भएकालाई मात्र कलेजहरुले ११ कक्षामा भर्ना लिन्छन्।ग्रेड सिस्टम लागु भएपछि भने कुन ग्रेड सम्मकोलाई ११ कक्षाको लागि भर्ना लिने भन्ने निर्णय कलेजले गर्न पाउने परिक्षा नियन्त्रक द्वारेले बताए।