दोस्रो जनआन्दोलनको सफलतासँगै मुलुकमा आएको राजनीतिक परिवर्तनपछि राष्ट्रिय गीत पनि परिवर्तन भयो।
वर्षौंदेखि प्रचलनमा रहेको राष्ट्रिय गीतलाई चटक्कै बिर्सदैं बालबालिकादेखि बृद्धबृद्धाको जनजिब्रोमा सहजै झुिण्डन पुग्यो, ‘सयौं फूलका थुंगा हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली।’
त्यही राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ अर्थात एक थुंगा नेपाली अहिले जीवन यापनका लागि राज्यको तर्फबाट सम्मान स्वरुपको सहायता व्याकुलताका साथ पर्खिरहेका छन्।
मुलुकमा आएको राजनीतिक परिवर्तन र जनअपेक्षा अनुसार राष्ट्रिय गीत छनोट समितिले आफ्नो रचनालाई छनोट गरेपछि राजधानीमा गुमनाम जीवन विताईरहेका व्याकुल माइला एकाएक चर्चाको शिखरमा पुगे।
देश विदेशमा उनका बारेमा चर्चा फैलियो। ओखलढुंगाको दुर्गम गाउँमा एउटा सामान्य परिवारमा जन्मेर उच्चशिक्षा र जीवन यात्राको सुरक्षा खोज्दै ४७ सालतिर काठमाडौं आइपुगेका व्याकुल माइला ५५ सालदेखि ६३ सालसम्म विभिन्न ल फर्ममा सहयोगीका रुपमा काम गरे।
जब आफ्नो रचनाले आफूलाई सर्वसाधारण नागरिकबाट राष्ट्रिय व्यक्तित्वको पहिचान दिलायो त्यसपछि उनले आफ्नो पेशालाई छाड्नु पर्यो।
शुरु शुरुमा त राज्यसँगै सर्वसाधारण नागरिकको तर्फबाट पाएको अगाध सम्मानले उनलाई यति पुलकित बनायो कि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई राज्य र आफ्नो तर्फबाट केही गर्नुपर्छ भनेर प्रश्न गर्दा पनि उनले भनेका थिए रे, ‘मलाई केही चाहिँदैन। मजस्तो दुरदराजको गाउँमा जन्मेको सर्वसाधारण केटो राष्ट्रिय गीतको रचनाकार हुन पाएँ।’
मंगलबार दिउँसो अनामनगरस्थित ‘दाहालको दैलो' नामको एक सामान्य चियापसलमा हट लेमन पिउँदैै सेतोपाटीसँग उनले भने, ‘त्यतिबेला मैले पाएको मान सम्मान र इज्जतका अगाडि मेरा लागि अरू सबै फिका र व्यर्थ लाग्यो। त्यसैले गिरिजाबाबुसँग भने, तपाईको नेतृत्वमा मुलुकमा लोकतन्त्र आयो र संविधानसभाको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भयो। अब जनताले समयमै नयाँ संविधान पाउन र देशमा दिगो शान्ति र विकास छाओस।’
उमेरले ४२ वसन्त टेकीसकेका तिनै श्रष्टा अहिले बल्ल महशुस गर्न थालेका छन्, ‘सार्वजनिक मानिस भएपछि जीवन यापनका लागि पहिले गर्दै आएको पेशाप्रति अगाध आस्था भएर पनि निरन्तरता दिन सकिदो रहेनछ।’
एक कक्षामा अध्ययनरत छोरी र श्रीमतीका साथ ललितपुरको नख्खिपोटमा बस्दै आएका माइलालाई अहिले चेत पलाएको छ, 'दैनिक जीवन यापन गर्न बिना नियमित आर्थिक स्रोत सम्भब रहेनछ।' श्रीमतीको सामान्य जागिरको आम्दानीले नपुगेपछि उधारो र सापटीबाट चल्नु परेपछि मात्रै उनलाई यस्तो आत्मज्ञान आएको हो।
‘सर्वसाधारण जनताको आदरभाव र सम्मान पाईरहेको छु। दैनिक विभिन्न क्षेत्रका मानिसहरुले भेट गर्न आउछन् र बोलाउने मात्र होइन दिनको सातवटासम्म सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजधानी र जिल्ला जिल्लाबाट निमन्त्रणा गर्छन्। त्यसका लागि पनि सयौं फूलका थुंगाले मात्रै पुग्दो रहेनछ। केही अर्थ त चाहिने रहेछ।’
सर्वसाधारण जनताले राष्ट्रिय एकताको प्रतिविम्बिको रुपमा लिएको बताउने व्याकुल माइला आफ्नो राष्ट्रिय गीतको रचनाकारको निरीहता र राज्यले उ प्रति गरेको वेवास्ताले आफूलाई मात्र नभई उनका बारेमा जान्नेका लागि पनि दुखि बनाईरहेको बताउछन्।
‘जीवन यापन गर्न पैसा चाहिने रहेछ भन्ने लागे पनि सार्वजनिक व्यक्ति बनेपछि जहितही पैसाको पछि कुद्न सकिदो रहेनछ,’ उनले थप्दै भने, ‘मैले पाएको गरिमा र इज्जत जोगाइराख्न राज्यले अविभावकको भूमिका निर्वाह गरिदिए मेरा लागि पनि र आम नेपाली जनताका लागि पनि भलै हुने थियो होला। यो भन्दा बाहेक राज्य र आमजनताबाट धेरै श्रीसम्पत्ति कमाएर सुख सयलमा बस्छु भन्ने सोचाई राखेको छैन।’
उनको अवस्थालाई ध्यान दिदैं २०६७ साल वैशाख ३१ गते ओखलढुंगेली हातेमालो समाजले तत्कालिन संघीय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालसमक्ष राष्ट्रिय गीतको रचनाकारलाई राज्यले केही सेवा सुविधा दिनुपर्छ भन्ने आग्रह गरे। त्यसको सुनुवाई गर्दै तत्कालिन मन्त्रीको निर्देशनमा संस्कृति मन्त्रालयले उनलाई मासिक २५ हजार रुपैया जीवन निर्वाह भत्ता दिने निर्णय गरी अर्थ मन्त्रालयमा आवश्यक व्यवस्था मिलाइदिन पत्राचार गर्यो।
तर, झण्डै चारवर्षसम्म उनको विषयमा अर्थ मन्त्रालयले कुनै निर्णय गरेन। गत असारमा बिपी अध्ययन समाजले प्रधानमन्त्री सुशील कोइरालासमक्ष उनको निम्ति आवास, जीवन निर्वाहको लागि भत्ता, सवारी साधन र सचिवालय सुविधाको व्यवस्था गर्न आग्रह गर्यो। तर पनि कुनै सुनुवाई हुन सकेन। त्यसपछि अर्को संस्था पुष्पलाल अध्ययन समाज सोलुले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यसमक्ष अरु देशका राष्ट्रिय गीतका रचनाकारले राज्यबाट पाएजस्तै उनलाई पनि ससम्मान जीवन यापनको व्यवस्था गर्न आग्रह गर्यो।
जवाफमा मन्त्री आचार्यले उनलाई एउटा निवेदन पेश गर्न आग्रह गरे। सोही निवेदनका आधारमा २०७१ साउन १६ गते संस्कृति मन्त्रालयले पुनः अर्थ मन्त्रालयमा पत्र लेख्यो, राष्ट्रिय गीतका रचनाकारलाई मासिक रु २५ हजारका दरले वर्षमा १३ महिनाको जीवन निर्वाह भत्ता, सवारी साधन साथै मासिक ९० लिटर इन्धन उपलब्ध गराईदिनु हुन सचिवस्तरको निर्णय अनुसार मिलाइदिनुहोला।'
जवाफमा भदौ ५ गते अर्थ मन्त्रालयले संस्कृति मन्त्रालयसँग विवरण माग गर्दै प्रश्न गर्यो, ‘२०६७ सालदेखि उठेको यो विषयमा वार्षिक बजेटमा व्यवस्था हुन नसक्नुको कारण, विगतमा कुनै सहयोग, पुरस्कार वा पारिश्रमिक उपलब्ध गराइएको थियो थिएन, उनका लागि प्रस्तावित सुविधाको औचित्य र संबन्धित मन्त्रालयले आन्तरिक बजेटबाट रकमान्तरण गरी उपलब्ध गराउन सक्छ सक्दैन?’
असोज ६ गते संस्कृति मन्त्रालयले राष्ट्रिय गीत छनोट भएलगत्तै सम्मान स्वरुप उनलाई राज्यले ५ लाख रुपैया प्रदान गरेको, राष्ट्रिय गीतको चरनाकारलाई सम्मान स्वरुप सहयोग गर्नु राज्यको पनि सम्मान भएको उल्लेख गर्दै मन्त्रालयको बजेटबाट रकमान्तरण गरी उपलब्ध गराउन थप बजेट निकासा हुनुपर्ने जवाफ अर्थ मन्त्रालयमा पठायो।
त्यसपछि उनले पटक पटक अर्थ मन्त्रालयमा जानकारीका लागि बुझ्न पुगेपनि मन्त्रालयका कर्मचारीले मन्त्रालयले यसबारेमा विचार गर्दै छ भन्ने बाहेक कुनै निर्णय दिएनन्।
एक दुई पटक सार्वजनिक कार्यक्रममा भएको भेटमा प्रधानमन्त्री कोइरालाले चिन्ता प्रकट गर्दै कर्मचारीले किन निर्णय गरेनन् भन्ने जिज्ञासा राखे। अर्थमन्त्री र अर्थसचिवलाई भेट्दा आफूहरुले यसबारे हेर्ने बताउँदै फर्काइदिए। तर, उनीहरुले व्याकुल माइलाको व्याकुलता हेर्ने कति दिन, महिना वा वर्ष?
सायद उनी कुनै राजनीतिक दलको नेता तथा कार्यकर्ता वा नेताका नजिकका नातेदार भएको भए राज्यको उच्च ओहदामा बसेका व्यक्तिले उनको आवाज बाहिर नआउँदै आसय बुझेर तत्काल काम भइहाल्थ्याे होला। तर उनी नेता हाेइनन् राष्ट्रिय गीतका रचनाकार हुन्।