जनकवि केशरी धर्मराज थापाको निधन भएको छ। लामो समयदेखि अस्वस्थ थापाको मंगलबार बिहान निधन भएको हो। ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भूस्थित निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मिएका थापाले प्रजातन्त्रको मिर्मिरे (२००७) मा 'प्रजातन्त्रको काफल पाक्यो बरी लै', 'हरियो डाँडामाथि हलो जोत्ने साथी', 'हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा', 'आज मादल बजेको किन गाउँबेसी दुनियाँ बिउँझाउन', 'धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला', 'घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली' जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई बिउँझाएका थिए।
२०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन्। २००८ सालमा कर्मचारीलाइ उक्साएर हडताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेको थापा डाक्टर के.आइ. सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेल परेपछि त्यसपछिको एक वर्ष भारतका देहरादून, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए।
त्यही बेला 'नेपालीले माया मार्यो बरी लै', 'झमझम परेली', 'हाम्रो तेन्जीङ शेर्पाले', 'धुरुधुरु नरोऊ आमा' लगायतका गीतहरु कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराएका थिए।
नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा जीवन विताएका थापाले गन्धर्व र सारङ्गी संसारसामु चिनाएका थिए।