पूर्व युवराज पारस शाह नेपाल आउन व्यग्र प्रतीक्षा गर्दागर्दै फेरि थाइल्याण्डमा समातिएको खुलासा उनलाई त्यहाँ सहयोग पुर्याउँदै आएका नेपाली व्यवसायी सुनिल खड्काले बताएका छन्।
'उहाँ (पारस) यहाँ आउन जहिल्यै इच्छुक हुनुहुन्थ्यो,' खड्काले सेतोपाटीसँग भने, 'मलाई जुन दिन बोलाउँछन्, म तत्काल जान्छु भन्नुहुन्थ्यो।'
पारसले काठमाडौंबाट बोलाउनासाथ जान्छु भन्ने गरेको सुनेर एकपटक त आफूले अलि रिसाउँदै आफ्नो घर जान पनि बोलाइराख्नु पर्छ भनेर खड्काले सोधेका थिए। 'कुनै त्यस्तो वातावरण बनाइएको छ, जसले गर्दा उहाँलाई यता आउनबाट रोकिएको छ,' उनले भने।
'पारस शाहलाई मुलुकबाहिर राखेर यति धेरै प्रयोग गरिएको छ,' खड्काको यसमा आफ्नै व्याख्या छ, 'दरबारभित्र एउटा समूह एकदम सक्रिय छ, त्यसले पारस यहाँ आएको रूचाउँदैन। त्यसले यताका कुरा उता लगाउने खुराफाती काम गरिरहन्छ।'
पारसलाई पनि यस्तै कुनै उद्देश्यका निम्ति उनको इच्छा नहुँदानहुँदै त्यहाँ राखिएको ठान्छन् मातृभूमिका लागि युवा अभियानका अध्यक्ष समेत रहेका खड्का। 'आफैंमाथि प्रयोग भएको कसैले थाहै नपाएको पनि हुन सक्छ,' उनी अज्ञात षड्यन्त्र सिद्धान्तको व्याख्या गर्छन्।
खड्काका अनुसार अहिलेसम्म थाइल्याण्डमा पारसका चारवटा गिरफ्तारी र मुद्दाका केस भए। ती सबैको प्रकृति उस्तै छ। प्रत्येकपटक उनी समातिन्छन्, त्यसमा पनि एक्लै। अनि उनको साथबाट केही न केही मात्रामा लागुऔषध फेला पर्छ।
फेरि पनि उनी त्यहाँ समातिए, त्यो पनि च्याङमाइ नजिकै आफ्नी प्रेमिकाको गाउँमा रहेका बेला। उनी थाई भाषा जान्दैनन्। जहिल्यै तिनै प्रेमिका भएका बेला यिनी यस्तो समस्यामा पर्ने गरेका छन्। प्रेमिका कुनै न कुनै रूपमा पारसलाई त्यहाँ अल्झाइरहने षड्यन्त्रको अंग त होइनन् भन्ने आशंका हुन थालेको छ।
यो पनि हेर्नुहोस्
खड्काले बुझेअनुसार, दुईपटक उनी बसेका फ्ल्याटमा आक्रमण भयो। ती तोडफोडमा संलग्न अरू नै कोही थिए। प्रहरी आउने बेलासम्ममा उनीहरू भागिसकेका हुन्थे र पारसलाई पक्राउ गरिन्थ्यो। फेरि प्रहरीले पक्राउ गरिसकेपछि त्यसलाई अस्वीकार गर्दा तिनले नियत राखेर फसाउनसक्ने भएको हुनाले त्यसलाई स्वीकार गर्दै अदालतबाट सफाइ पाउने गरेका थिए।
'प्रत्येक पटकका घटनामा अदालतबाट सफाइ पाएको ७२ घण्टाभित्र फेरि अर्को घटना हुने गरेको छ,' खड्काले भने, 'पछिल्लोपटक उहाँले आफैं पनि फेसबुकमा फेरि आफूलाई फसाइनसक्छ भनेर लेख्नु भएको थियो।'
पारसले असोज २० गते आफ्नो फेसबुक पृष्ठमा प्रष्टैसँग आफूलाई अदालतले सफाइ दिएकोमा खुसी व्यक्त गर्दै फेरि पनि आफूलाई फसाइन सकिने प्रष्ट पारेका थिए। 'मसँग आफूलाई फसाइएको प्रमाण भए पनि यहाँको प्रहरी ३ वर्षपहिले फुकेटमा आएदेखि नै मेरोविरुद्ध थियो र अहिले पनि छ। मैले मेरो फुकेट मुद्दा टुंग्ााएको भोलिपल्टै फेरि फसाइयो। मेरो प्रमाण बुझ्न मानिसका लागि यो पर्याप्त छ।'
उनले आफू थाइल्याण्ड बसुन्जेल त्यहाँको प्रहरीले आफूविरुद्ध नजाओस् भन्ने चाहेको पनि आफ्नो फेसबुक स्टाटसमा प्रष्टसँग लेखेका छन्। खड्का पारसलाई फसाइन खोज्नुका पछाडि एउटा ठूलै षड्यन्त्र भएको वा गिरोह लागेको हुनसक्ने अनुमान गर्छन्।
पूर्व युवराज पारस आफ्नो घरमा आएर बस्नुमा पनि यस्तै षड्यन्त्रपूर्ण वातावरणबाट जोगिने एउटा प्रयास रहेको खड्काले जानकारी दिए। उनका अनुसार, फुकेटको अपार्टमेन्ट तोडफोड घटनापछि सफाइ भएर थाई प्रेमिका कनिका चान्साइ र उनी बैंककस्थित सेन्टर प्वाइन्ट होटलमा चेकइन गरेका थिए।
यो पनि हेर्नुहोस्
उनीहरू दुईबीच वाइन खाने कुरा भएपछि अर्डर भयो। तत्कालै एउटा खुलेको र एउटा नखुलेको बोतल र दुईवटा ग्लासमा वाइन राखेरै आयो। पारसलाई शंका लागेपछि प्रेमिकालाई वाइन चाख्न भने। उनले ओठनिर लानासाथ पोलेजस्तो भयो। उनीहरूले माग्दै नमागेको मोबाइल फोनको सीमकार्ड पनि सँगै आयो।
त्यसपछि थाइल्याण्डमै भएका नेपालीहरूले रातारात उनलाई अर्को होटलमा सारे। त्यहीँबाट अहिले समाचार प्रकाशित गर्ने पत्रिका खाइ न्यूजलाई उनीहरूले अन्तर्वार्ता पनि दिए। भोलिपल्ट प्रथम पृष्ठमै पारसको फोटोसहितको समाचार छापिएपछि सुरक्षालाई ध्यानमा राखेर अन्यत्र सार्नुपर्ने निश्कर्षमा उनीहरू पुगे।
'उहाँले आफ्नो सुरक्षाका निम्ति बैंककस्थित चिनियाँ राजदूताबासमा आफूले शरण लिने खुलासा समेत गर्नु भएको थियो,' खड्काले भने, 'यो खबरपछि फेरि हामीले उहाँलाई भगाउनु पर्ने अवस्था आयो।'
खड्काका अनुसार, उनी होटलमा आफ्नो गाडी लिएर गए। पारसको गाडी र खड्काको गाडीमा अलगअलग मानिस राखे। पारसलाई खड्काले आफ्नो गाडीमा राखेर लिएर गए। 'होटलमा बस्न सकिँदैन भन्ने भएपछि मेरो घरमा बस्न थाल्नु भएको हो,' उनले भने, 'उहाँले दाह्री काटेर आफ्नो स्वरूप परिवर्तन गर्नुभयो।'
पूर्व युवराजलाई खड्काले दुई वर्षअघि मंसिरमा होटलबाट उद्धार गरेर आफ्नो घरमा लगेका थिए। सुरक्षा समस्या भएको जानकारी नगराउने हो भने कुनै पनि बेला फसाउन वा सिध्याउन बेर लाउन्नन् भनेपछि नेपाली राजदूताबासमा सुरक्षा खतरा रहेको जानकारी गराइएको थियो।
'मैले नै निवेदन लेखेँ र उहाँले सही गरेपछि हामीले राजदूतावासमा निवेदन दर्ता गरायौं,' खड्काले भने, 'त्यसपछि उनीमाथि आक्रमण गर्न खोज्नेहरू अलि पछाडि हटेको महसुस भयो। अहिलेको घटना हेरपछि म भन्न सक्छु त्यो बेलै उनीहरू अलि ठूलो योजनामा थिए कि?'
खड्काको घरमा पारस करिब ५ महिना बसे। यो बीचमा उनमा ठूलो परिवर्तन आयो। उनी नियमित रूपमा खेल्ने, स्वास्थ्यमा ध्यान दिने र डायरी लेख्ने गर्न थाले। पारसलाई ह्ृदयाघात भएको दिन पनि उनी खड्काकै घरमा थिए। झन् त्यो दिन त उनीहरू दिनभरि सँगै थिए।
'उहाँको र मेरो कोठाको बीचमा भान्छा कोठा थियो,' खड्का त्यो बेलाका घटना सम्झदै भन्छन्, 'उहाँ भान्छामा आउजाउ गरिरहनु हुन्थ्यो। बेलाबेलामा फोन गरेर कता हो? भनेर सोध्नु पनि हुन्थ्यो।'
अघिल्लो दिन गैर आवासीय नेपाली (एनआरएन)को कार्यक्रमका कारण खड्का निकै थाकेका थिए। उनी त्यही भएर घरै थिए। 'बेलुकातिर उहाँले ढोका ढक्ढक्याउनु भयो,' उनले भने, 'उहाँ दुई मग लिप्टन टी लिएर आउनु भएछ। यसले स्वास्थ्य पनि राम्रो हुन्छ, एउटा तिमीलाई एउटा मलाई भन्दै कोठाभित्र छिर्नुभयो।'
पारसले चिया खाइरहेकै बेला खड्कालाई सोधे, 'आज बेलुका कहाँ खाने हो? बाहिर जाने कि यही खाने?'
खड्काले जवाफ दिए, 'यही खाऔं।'
यो पनि हेर्नुहोस्
'उसो भए म आज मासु पकाउँछु,' पारसले भने। तर, रेफ्रिजरेटरमा मासु नभएको हुनाले खड्का आफ्नी पत्नीसँग गाडीमा मासु किन्न बजार गएका थिए। उनीहरूले मासु किनेर फर्कने बेलामा उनलाई हृदयाघात भएको जानकारी आएपछि सीधै ट्याक्सीमा अस्पताल लैजान उनले त्यहीबाट पालेलाई निर्देश गरेका थिए।
पारस आफ्नो घरमा बसेको बेला खाना बनाउन आफैं तत्पर हुन्थे। आफूले लण्डनमा बस्दा आफैं खाना बनाएर खाने बानी परेको पनि बताउने गर्थे।
आफ्नो घरमा त्यतिका दिन बस्दा सधैं भलादमी भएर बस्ने मानिस बाहिर जानासाथ तोडफोडमा उत्रिन्छन् भन्ने उनलाई लाग्दैन। 'तोडफोड गर्ने भए त मेरो घरमा पनि गर्नु पर्ने हो,' उनले भने, 'उहाँ मेरो कम्प्युटर चलाउने बेलामा समेत सोध्नु हुन्थ्यो।'
लागुऔषधको लत भए पनि उनले यसलाई निकै कम गरेका थिए। बेलाबेलामा खड्कालाई 'यति चाहिँ तपाईंले भनेको मानिन है' भन्दै थोरै लागुऔषध पनि लिन्थे। 'उहाँ गल्फ खेल्ने, स्वास्थ्यको बारेमा ध्यान दिने भइसक्नु भएको थियो,'
खड्का थप्छन्, 'उहाँ डायरीमा देशको उन्नतिका लागि के गर्नु पर्छ र आफ्ना बाबुबाजेले के गरे भन्ने पनि लेखेर सुनाउने गर्नुहुन्थ्यो।'
हृदयाघात भएपछि उनी सीधै अस्पताल पुगे। काठमाडौंमा सम्पर्क गर्न सजिलो होस् भनेर उनले पूर्व राजादेखि परिवारका सबै सदस्यको टेलिफोन नम्बर दिएका थिए। उनले काठमाडौमा टेलिफोन गर्दा कसैले उठाएन। त्यसपछि उनले सन्देश पठाए। त्यसपछि भने पारसका परिवार सदस्यले सम्पर्क गरेका थिए।
डाक्टरले त्यो बेला उनलाई माया मारिसकेका थिए। तर आफूलाई अवगाल आइलाग्ला भनी उनले उपचार निरन्तर गर्न आग्रह गरेका थिए। पछि उनी विस्तारै राम्रो हुन थालेका थिए। 'म मेरो बाबु मर्दा पनि त्यति रुइँन होला,' उनी भन्छन्, 'मलाई साह्रै पिर परेको थियो।'
आफू दरबारिया पनि नभएको र कुनै राजनीतिक उद्देश्य पनि नबोकेको व्यक्ति भएको तथा आफ्नो मुलुकको पूर्व युवराजको अवस्था देखेर मात्र सहयोगका निम्ति अघि बढेको पनि उनले बताए। तर, पारसलाई उनको इच्छा विपरीत राखेकोमा भने उनी चिन्तित छन्।
'एउटा व्यक्तिको जिन्दगीमाथि यति धेरै खेल्नु हुँदैन,' उनले भने, 'यसमा देशभित्र भन्दा बाहिरकै षड्यन्त्र छ। पारसले केही त्यस्ता संकेत गर्नु भएको छ। सँगै बस्दा धेरै कुरा भएका छन्।'
'समय आएपछि म सबै खोल्छु,' खड्काले भने।
उपचारपछि उनलाई पुनर्स्थापना केन्द्रमा राखियो। त्यसपछि उनी ठीक भइसकेका थिए। उनी फेरि कसरी लागु औषधको अत्यधिक प्रयोग गर्नु पर्ने अवस्थामा पुर्याइए भन्नेमा खड्का आश्चर्यमा छन्। आफूसँग बस्दा उनी प्रायः घरैमा बसिरहन्थे। बाहिर पनि त्यति जाँदैनथे।
'उहाँ जोसँग पनि सहजै घुलमिल हुने, अँगालो हालिहाल्ने गर्नुहुन्छ,' खड्काले भने, 'उहाँको सरलताको फाइदा अरूले लिन्छन्।'
यसअघि उनी काठमाडौं आउने चर्चा चलेको थियो। तर, एकाएक उनी थाइ प्रेमिकासँगै आउने भएपछि निर्मल निवासले रोक लगाएको हल्ला चलाइएको थियो। खड्का यो हल्ला कसरी चल्यो भन्ने कुराका पनि साक्षी रहेछन्।
उनले भने, 'हामी उहाँको वकिलसहित एउटा सपिङ मलमा खाना खान जाँदै थियौं। त्यही बेला नियमित सम्पर्क हुने शीताष्मा शाहसँग उहाँको टेलिफोनमा सम्पर्क भयो। उहाँले आफू अब काठमाडौं आउने भन्नुभयो। त्यसपछि उहाँले हाँस्दै मेरी साथी पनि ल्याउनु पर्ला भन्नुभयो। फोन राखिसकेपछि उहाँले हामीतिर फर्केर भन्नुभयो, त्यसो त कहाँ गर्न मिल्छ र?'
'त्यो एउटा ठट्टा मात्र थियो,' खड्काले भने, 'घरबाट खर्च आउन ढिला हुँदा उहाँले त्यसरी बोलिदिनु भएको हुन सक्छ। तर, मलाई उहाँ गर्लफ्रेन्ड लिएर काठमाडौं आउनु हुन्थ्यो भन्ने लाग्दैन।'
पूर्व राजा ज्ञानेन्द्र शाह पारस बिरामी भएपछि बैंकक गएका थिए। त्यो छोरा मुर्छित भएकै अवस्थामा खड्कासँग उनले अन्तरंग कुराकानी गरेका थिए। उनलाई कोबाट खतरा छ? दिनभरि के गरेर बस्थ्यो? नेपाल जाने कुरामा के भन्थ्यो भन्ने जस्ता अनेकन प्रश्न गरेका थिए। खड्काले सबै बेलिबिस्तार लगाउँदै अरू जे भए पनि आफैंभित्रका षड्यन्त्रहरू बुझ्न भने आग्रह गरेका थिए।
'शत्रुसँग म आफैं लड्छु, मित्रसँग जोगाउनुहोस्' भन्ने स्थिति पारसको भएका पनि खड्काले ज्ञानेन्द्रलाई बताएका थिए। छोराको इच्छाअनुसार काठमाडौंं बोलाउने पनि उनले बताएका थिए। 'त्यो मुर्छित हुँदाका बेलाको कुरा हो,' उनले भने, 'उपचारपछि पुनर्स्थापना केन्द्रबाट फर्केका पारसलाई कसरी यो अवस्थामा पुर्याइयो? काठमाडौं आउन त्यति धेरै इच्छा गर्ने व्यक्तिमाथि किन अन्याय भइरहेको छ?'