सदरमुकाम लिबाङमा कुकुरले सर्वसाधारण मानिसलाई टोक्न थालेपछि कुकुर नियन्त्रण, निषेध एवम् विस्थापन कार्य थालिएको छ।
कुकुरले तीन दिनको अवधिमा मात्रै १६ जनाभन्दा बढी मानिसलाई टोकेपछि लिबाङनगर व्यवस्थापन समितिद्वारा कुकुरको विस्थापन कार्य थालिएको हो । यसअन्तर्गत बिहीबारमात्रै सदरमुकाम वरिपरिका २० वटाभन्दा बढी भुस्याहा कुकुर मारिएको छ ।
बजार आसपास हिँडडुल गर्ने सर्वसाधारणलाई कुकुरहरुले टोकेर घाइते बनाउने क्रम बढेपछि समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसी कुकुर नियन्त्रण, निषेध एवम् विस्थापनको कार्य थालिएको नगर व्यवस्थापन समिति लिबाङका संयोजक फविन्द्र आचार्य क्षितिजले बताए।
कुकुरको टोकाइबाट घाइते भएकाहरुले सदरमुकाम आसपासका मेडिकल तथा जिल्ला अस्पतालमा उपचार गराइएको छ । रेविज रोग फैलिन सक्ने भयले कुकुर नियन्त्रण अभियान थालिएको हो ।