टेलिकोसाको पातलो धोती। मिस्कट कपडाको क्वाटर बाउले टिसर्ट। धोतीको सप्कोले टाउको र ज्यान ढाकिएको। फुकिढल ज्यान, चाउरिएको सानो अनुहार।
यस्तो पहिरन र रुपरंगमा फतमा खातुन खालि खुट्टा रौतहटको गौरदेखि सर्वोच्च अदालत जान मंगलबार साँझ बस चढेकी थिइन्।
बुधबार एकाबिहानै कलंकी आइपुगेकी फतमालाई सर्वोच्चको ठेगाना पत्तो थिएन। कुनै सार्वजनिक बस चढेर माइतीघर ओर्लिन। तर कहाँ जाने अझै मेसो पाइनन्।
उनको हातमा ठेगानाको नाउँमा आफ्ना वकिल सतीष झाको भिजिटिङ कार्ड थियो। त्यहाँ नम्बर थियो, तर फोन गर्न जान्दिनथिन्।
कसैलाई केही सोध्ने हो भने उनको भाषा बुझ्ने मान्छे थिएनन्।
फतमा माइतीघरको सडकपेटीमा बसेर रुन थालिन्।
वीरगंज घर भएका फैजुल्लाह मियाँ ठकुराई त्यही बाटो हिँडिरहेका थिए। उनी पनि माइतीघर आफ्ना वकिलको ल फर्म जाँदै थिए।
उनैले फतमालाई भोजपुरीमा सोधे, ‘किन रोएको?’
‘मलाई वकिलसँग भेट्नु छ, उसको डेरा कहाँ छ थाहा छैन।’
उनले सबै कुरा बताइन्। अघिल्लो बिहानदेखि उनको मुखमा केही परेको थिएन। फैजुल्लाहले माइतीघरकै एउटा पसलमा लगेर चियाबिस्कुट खुवाए।
फतमाले वकिलको भिजिटिङ कार्ड दिइन्। फैजुल्लाहले फोन गरिदिए र सर्वोच्च अदालतसम्म लगिदिए।
आफ्ना श्रीमानले छोडेर गएको ६ कट्ठा पुख्र्यौली जमिन अर्कैले दाबी गरेपछि १२ वर्ष यता फतमा यसरी अदालतको चक्कर काटिरहेकी छिन्।
...
बुधवार, दिउँसो १२ बजे। सर्वोच्च अदालतको १० नम्बर इजलास। इजलासमा न्यायाधीशबाहेक कर्मचारी, वकिल र सेवाग्राही मात्रै थिए।
त्यहाँअघि नै देखि बसेकी थिइन्, फतमा खातुन।
हातमा सर्वोच्चले नै दिएको तारेखबुक छ, गुलाबी रंगको।
त्यही गुलाबी बुक कर्मचारीलाई देखाएर उनले यो इजलासमा आफ्नो मुद्दा परेको थाहा पाइन्।
उनका आँखाले इजलासमा कसैलाई खोजिरहेका थिए।
न्यायाधीश चोलेन्द्रशमशेर जबरा आइपुगे। फतमाको मुद्दा न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासमा परेको थियो।
अझै पनि फतमाको मन शान्त भएन। आँखा डुलाइरहिन्।
फेरि उनी बाहिर निस्किन।
ढोकैमा उनका वकिलसँगै काम गर्ने अर्का वकिल भेटिए। शैलेन्द्रप्रसाद यादव।
उनलाई देखेर फतमाका आँखाबाट बलिन्द्र आँसु झरे। अघिदेखि नै उनले खोजेको शैलेन्द्रलाई नै रैछ।
भोजपुरी भाषामा उनले शैलेन्द्रलाई यसबेला सम्म किन नआएको भनेर सोधिन्। ‘म कति आत्तिएँ, तिमीहरुको डेरा पनि मलाई थाहा छैन,’ उनले भोजपुरीमै अझ धेरै कुरा भनिन्।
उनी कति आत्तिएकी थिइन् भन्ने उनका आँसु र अनुहारले बताउँथ्यो।
शैलेन्द्रले भने, ‘अरु कसैलाई वारिस राख्नुस्, यस्ती बुढीमान्छे दुःख हुन्छ।’
‘छोराले मुद्दा नलड भन्छन्, म तिनीहरुलाई विश्वास गर्दिन।’
उनी यति भनेर फेरि इजलासमा गइन्, आफ्नो मुद्दाको पालो कुर्न।
उनलाई इजलासमा परेपछि आफ्नो मुद्दामा केही होला कि भन्ने आश थियो। तर उनको मुद्दाको पालो आउँदैन भनिरहेका थिए शैलेन्द्र। यो कुरा उनले फतममालाई राम्ररी बुझाइदिएनन्।
करिब आधा घण्टापछि, फेरि उही इजलास।
उनी इजलास अधिकृतको नजिकै गइन्। फतमाको हातमा नेपाली कागजको एउटा निवेदन र त्यही गुलाबी बुक थियो।
त्यो निवेदनमा वैतनिक वकिल राखिपाउँ भन्ने बेहोरा लेखेको थियो जुन शैलेन्द्रले लेखिदिएका थिए। उनले पैसा तिरेर वकिल राख्न नसक्ने भएकोले सर्वोच्चले दिएको सुविधाका लागि सुझाइदिएका थिए शैलेन्द्रले।
रुँदै रुँदै उनले इजलास अधिकृतलाई भोजपुरीमै आफ्नो मुद्दा हेरिदिन भनिन्।
‘न्यायाधीशलाई देखाउनुस्,’ ती कर्मचारीले हिन्दीमा भने।
इजलासबाटै न्यायाधीश राणाले तल फाँटमा गएर कुरा गर्न भनिदिए।
ती कर्मचारीले आफ्नो पछि आउन भने।
फतमा उनकै पछि लागिन्। सर्वोच्चको तल्लो तलाको दोहोर्याइ पाउँ भन्ने शाखाअघि बस्न लगाएर ती कर्मचारी भीडमा कतै बिलाए।
न्यायाधीशले के भने ? किन भने भन्ने थाहै पाइनन्। कतिबेर कुर्न पर्ने हो र अब के गर्न पर्ने पनि थाहा छैन। न भाषा बुझ्छिन्। उनी कुर्सीमा बसिन्।
बिहान उनलाई सहयोग गरेका फैजुल्लाह आइपुगे। उनी नेपाली पनि बुझ्दा रैछन्।
फैजुल्लाहकै सहयोगमा उनले आफ्नो कहानी सुनाइन्।
आफ्ना छोराहरु सानै हुँदा श्रीमानले छोडेर गए। त्यही ६ कट्ठा जमिन खोस्रेर उनले सन्तानलाई हुर्काइन्।
वर्षौँदेखि आफूले पसिनाले भिजाएको जमिन दाबी गरेर छिमेकी इसराइल मैँसुरीले जिल्ला अदालतमा मुद्दा दिए।
जिल्ला अदालत रौतहटले फतमालाई नै जिताएको थियो तर मैसुरी पुनरावेदन अदालत हेटौँडा गए।
हेटौँडा पुनरावेदन अदालतले गएको माघमा उक्त जग्गा मैसुरीको भएको फैसला गरिदियो।
यसपालि फतमाले आफ्नो जमिनमा धान रोप्न पाइनन्। धान रोप्ने बेला उनी हेटौँडा पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा आउनुपर्यो।
आफ्नो खेतमा धान रोप्न नपाउनुको तोडले उनी भित्रैदेखि हल्लिएकी छन्।
‘यसपालि खेत रोप्न पनि पाइन, के खाने होला?’ उनका आँखामा फेरि आँसु छल्किए।
आफ्ना छोराहरुले सर्वोच्चमा मुद्दा लड्न नजाऊ भनेर उनलाई सम्झाएका थिए।
‘मेरो श्रीमानले छोडेको जग्गा हो म किन त्यसै छोड्छु र?’ उनले भनिन्।
उनलाई सर्वोच्च अदालतबाट आफूले मुद्दा जित्ने विश्वास छ।
‘म जित्छु,’ ढुक्कैले भनिन्।
यही मुद्दाको लागि उनले जिल्ला देखि सर्वोच्च अदालतसम्म १ लाखभन्दा बढी रकम खर्च गरिसकिन्।
असारमा उनले सर्वोच्च अदालतमा पुनरावेदन दिन आउँदा सतीष झालाई ४ हजार दिएर आफ्नो वकिल नियुक्त गरेकी थिइन््।
‘अब मसँग जग्गा पनि छैन र पैसा पनि छैन त्यो भन्दा धेरै पैसा दिन सक्दिन।’
घरिघरि उनले आफ्नो धोतीको टुप्पोमा पारेको गाँठो फुकाइरहिन्, त्यहाँ उनले केही पैसा राखेकी रैछिन्। त्यो गनिन् र फेरि गाँठो पारिन्।
कमिजमा एउटा खल्ती छ त्यहीँ उनले कागजपत्र र वकिलको भिजिटिङ कार्ड राखेकी छिन्। त्यसलाई पनि बेला छामिरहिन्।
शैलेन्द्र र उनकै लफर्मका अर्का वकिल यता उता डुलिरहेका थिए। तर उनीहरुले सबै कुरा उनलाई सम्झाइबुझाइ गरिदिएनन्।
‘यिनीहरुले त निवेदनहरु लेखिदिने मात्रै हो, वकिल त अर्को छ,’ उनले सतीषकै ल फर्मका वकिलबारे भनिन्। आफूले भर गर्ने वकिललाई त उनले देख्नसम्म पाएकी छैनन्।
नेपाली भाषा बुझ्दिनन्। अदालतमा कहाँ गएर के गर्ने थाहा छैन। वकिल हुन् कि लेखन्दास पनि थाहा छैन।
न्याय पाउने आशले मुटु दरो पारेर तराईको देहातबाट आएकी उनलाई त्यो पनि थाहा छैन, कहिलेसम्म मुद्दा लड्नु पर्ने हो।
फतमाको निवेदन हेर्न पनि न्यायाधीशले भ्याएनन्।
‘आज तपाईँको मुद्दा हेर्ने पालो आएन,’ शैलेन्द्रले ३ बजेतिर भनिदिए।
उनी आफ्नो जमिनका लागि बाँचुन्जेल लड्न तयार छिन्। अर्को पेशी थाम्न उनी फेरि मंसिर ४ गते खालि खुट्टा लिएरै आउने छिन्।