‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें।
सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० माइल काटेर भेट्न आउथे र?’
हुन पनि ऊ सधैं राजधानी पार गरेर मलाई भेट्न साँखु आइपुग्थ्यो। दुई वर्षदेखी झरी, बादल, बतास वा घामले उसलाई छेकेको मलाई थाहा छैन। हामी साली नदीको काखमा बज्रयोगिनीका आँखा छलेर प्रेम गथ्र्यौं। एकअर्कालाई जतनसाथ सुम्सुम्याउथ्यौं। अनि बाटो लाग्थ्यौं। हामीले प्रेम गर्न सुरु गर्दा जन्मेका साली किनारका पालुवाहरुमा मस्त जवानी फक्रिसकेको थियो। तर उसले मलाई अन्माउने सुरसार कहिल्यै देखाएन।
मलाई उसकी दुलही बन्ने अभिलाषाले घरदेखि बगरसम्म पु¥याएको थियो। घरमा एकसेएक खान्दानी केटा माग्न आउँथें म उसैलाई सम्झेर सबैलाई नाईं भनिदिन्थें। बाआमासँग बोलचाल बन्द भएको थियो। उता उ भने कहिल्यै बिहेको कुरै निकाल्दैनथ्यो। तैपनि आशाको त्यान्द्रो भने छिनिसकेको थिएन।
’अनि किन गर्दैनौ त बिहे?’ मैले झर्केर सोधें। एक बर्ष यता यो प्रश्न मैले हरदिन उसलाई सोध्थें। कहिले हाँसेर। कहिले खुशी भएर। कहिले रोएर। जसरी सोधे पनि उसलाई केही फरक परेन।
उसको एकाकार जवाफ आयो ‘थाहा छैन।’
‘कहिले गर्छौ त?’ मैले फेरि सोधें।
‘थाहा छैन’। उसले उही उत्तर दोहोर्यायो।
’अनि विवाह नगर्ने भए किन गर्यौ त प्रेम?’
’प्रेम र विवाह दुई फरक कुरा हुन्।’ उसको यो उत्तरले म आजित भईसकेकी थिएँ।
***
पहिलो पटक मैले उसलाई एक कार्यक्रममा भेटेकी थिएँ। किताबमा आँखा डुलाई राख्दा उसको आवाज मेरो कान छेडेर मुटुमा पुग्यो–नमस्कार मेरो नाम महेश पन्त। ट्रेनिङ अफिसर। साहारा मल्टिसेक्टरल डेभलपमेन्ट फोरम।’
नर्सिङ दोश्रो वर्षको बिहेवियरल साइन्सको फिल्ड भिजिटका लागि हामी साहारा पुगेका थियौं। ऊ कताबाट हलमा प्रवेश ग¥यो, मलाई हेक्का भएन। ऊभन्दा पहिला उसको सम्मोहित आवाज मसँग साक्षात्कार भयो। मैले यसो नयन डुलाएँ। गहुँगोरो वर्ण, मझौला शरीर, मिलेका पोशाकमा देखिएको महेश न त सिनेमाको हिरो जस्तो थियो। न त सुगठित शरीर भएको खेलाडी जस्तो। तर उसको आवाज मजस्ता धेरैको कल्पनाको आवाज जस्तै थियो। प्रेम गर्नकालागि त्यती नै काफी थियो।
ऊ शान्त थियो। अधर र मुस्कान छुट्टीदैनथे। उसले फरक कोणबाट संसारलाई चिहाउँथ्यो। बुझ्नका लागि पढ्थ्यो। अंक वा श्रेणीलाई महत्व दिदैनथ्यो। बाँच्नका लागि खानुपर्छ भन्थ्यो। मलाई जस्तो महँगा क्याफेमा छिर्ने अभिलाषा र साना खाजाघरलाई फर्केर पनि नहेर्ने अभिमान कदापी थिएन उसमा। साहारा पछिका जोडा भेटघाटमा ऊ मेरो मनको कालु भइसकेको थियो।
हप्तान्तको बिदामा म घर फर्किदै थिए। चावहिल चोकमा ऊ भेटियो। निलो पल्सरमा सवार थियो। ऊ साँखु तिरै जाँदै रहेछ। मैले सँगै जाने इच्छा देखाएँ। ऊ राजी भयो। उसको र अलिअलि पल्सरको पनि स्पर्शले मलाई काउकुति लाग्यो पहिलो चोटी। साँखु छिर्ने उकालोनेर म ओर्लिएँ। ऊ अगाडि हुइँकियो। पहिलो पटक कुनै पुरुषसँग छुट्टीदा मलाई खिन्नता लाग्यो।
हामी मध्यरातसम्म गफ गरेर बिताउन थाल्यौं। फोन नगर्दाको रात छट्पटाहट हुन्थ्यो। निद्रै पर्थेन। निद्रालेभन्दा अनिद्राले शितल दिन थाल्यो। चौबिसै घण्टा ऊ मसँग हुन्थ्यो। सँगै हुँदा साथमा, नहुँदा कल्पनामा।
धेरै पछिबाट उसले मलाई मोटी भन्न थाल्यो। म पहिलेदेखि नै उसलाई काले भन्न थालिसकेकी थिएँ।
बिदामा सधैं उसले मलाई घर पुर्याउथ्यो। जङ्गल र नदी किनारमा हामी घन्टौ बिताउथ्यौ। मलाई जस्तै ऊ प्रकृतिलाई पनि प्रेम गथ्र्याे। साम्यवाद, समाजवाद, पूँजीवाद, यथार्थवाद, आधुनिकवाद र उत्तर(आधुनिकवादका कुरा गथ्र्याे। पहिला म बुझ्दिनथें। पछिपछि धेरै जान्ने भएँ।
मैले उपन्यासमा पढेकी थिएँ। एकान्तमा प्रेमिप्रेमिकाको सम्बन्ध रङ्गिन हुन्छ। त्यहाँ माया हुन्छ। आलिङ्गन हुन्छ। चुम्बन हुन्छ भनेर। ऊ मलाई साधक जस्तो लाग्न थाल्यो। प्रवचनको गुरुजस्तो। अर्को मनले सोचें ’कतै यसमा यौनिक समस्या त छैन?’ एकदिनको एकान्तबासमा मेरा कुटिल औलाले उसका मन जाच्ने निधो गरे। उ अब्बल निस्कियो। उसले मलाई गहिरो प्रेम ग¥यो। ऊप्रति मेरो सम्मान झन बढेर आयो। ऊ बासनाभोगी थिएन, तर मेरो तृष्णाप्रति सजग चाँही अवश्य थियो।
३ वर्षे नर्सिङ सकिन लाग्यो। घरमा विवाहका कुरा आउन थाले। रिजल्ट नआउन्जेल बिहे नगर्ने अडान घरमा राखेँ। कालुसँग जीवन बिताउनेमा म ढुक्क थिएँ।
एक भेटमा उसलाई भनें –घरमा मेरो बिहेको कुरा आको छ नि।
’अनि?’ उसले भन्यो। म चकित परेँ। उसमा कुनै चिन्ता थिएन। उसले स्वाभाविक जस्तो गरी जिज्ञासा राख्दै थियो।
’ल के सोधेको? मेरो बिहेको कुरा आको छ भनेको।’ मैले अली जोड दिएर भनें।
’ठिकै छ नि त।’ ऊ ढुक्क देखिन्थ्यो।
’अनी हाम्रो बिहेको कुरा नि?’ एकछिन ठुस्स परेपछि म आफैं बोलें।
’मैले तिमीलाई बिहे गर्छु कैले नै भनेको छु र?’ उसले जवाफमा सवाल गर्यो।
’अनि हाम्रो अफेयर? किस? सेक्स? यो के हो त?
’यो तिम्रो र मेरो जैविक आवश्यकता हो। खाना खाएजस्तो। लुगा लाएजस्तो।’ केही नै नभएको जस्तो गरी उसले जवाफ फर्कायो।
म अवाक परें र अलि नरम भएर भने ‘यो जैविक आवश्यकतामात्र हुन अमेरिका होइन महेश, तिमी तिम्रो माटोको बोली बोल्न सिक।’
’त्यही भएर त लैङ्गिक हिंसा वर्षेनी बढ्दो छ नेपालमा। तिललाई पहाड बनाउछौ। अब परिवर्तन हुनुपर्छ।’ उसले थप्यो ’बिहे नगरि पनि माया गर्न सक्छौ हामी। सँगै बस्न सक्छौ। एकअर्कामा गाँसिएर स्वतन्त्रता मनाउन सक्छौ।’
ऊ टसको मस भएन। पहिलो पटक मलाई ऊ ढिड लाग्यो। एकदम असभ्य।उसका कुरा सुन्दै जाँदा मेरो रिसको पारो चढेर गयो।
म एक्कासी जङ्गिएँ ’बिहे नगर्ने भए किन यो नाटक। मलाई युज गरेको?’
’प्रेम र विवाह फरक कुरा हो। म तिमीलाई माया गर्छु। बिहे गर्छु भनेको छैन।’ उसले एकै सासमा तीन वाक्य सक्यो।
मलाई औडाहा भयो। जुरुक्क उठेर बाटो लागें। उसले मलाई रोकेन।
त्यसयता हरेक दिन उसमाथि कालो मेघ झै गर्जिन थाले। कहिले आबेगमा हुरी झै। कहिले आसुँमा झरी झै। केही गरेपनी उसलाई फरक परेन। ऊ शालिन वृक्ष झंै चुपचाप हेरिरहन्थ्यो। तर आफ्नो ठाउँबाट एक इन्च पनि सर्दैनथ्यो। एकदम अडिग। यो उसले मलाई पढाएको कुन वाद हो पत्तो भएन। मेरा लागि अवश्य नै बर्बाद थियो।
घरका बोल्न छाडेका थिए। मनभरी कुरा खेल्थे। हामीबीच सम्वाद नभएको धेरै भइसकेको थियो। उसका कल त्यसै खेर गइरहे। बिहान कलर आइडीमा धेरै मिसकल देखिन्थे। हरेक साँझ ऊ मलाई भेट्न आउथ्यो । म तल नझरेपछि एकछिन बसेर ऊ फर्किन्थ्यो। धेरै दिन यसरी बित्यो। उ बिना मलाई नै गाह्रो हुन थाल्यो। कस्तो कस्तो। सास रोकिए जस्तो। श्वास फुले जस्तो। मुटुको बेग बढ्थ्यो। डर लागेजस्तो ढुकढुक हुन्थ्यो। अनयासै आँसुका धारा बग्थे। ऐना हेर्न सक्थिन। आफ्नो मुहार शिथिल लाग्थ्यो।
मलाई वास्ता नै नगर्ने भए पनि मेरो मन बुझ्थ्यो होला। त्यस्तो थिएन। ऊ हरदिन घरमुन्तिर आउन्थ्यो। मलाई एक झल्को हेरेर फर्कन्थ्यो।
एक साँझ मन सम्हाल्नै नसकेर उसलाई भेट्न तल ओर्ले। हामी साली किनारा पुग्यौं। मैले ढुङ्गालाई मुर्ती बनाउन खोजें। सकिनँ। छुट्टिनु सिवाय कुनै विकल्प रहेन ।
***
बिहे गर्न म राजी भएँ। घरमा खुशीयाली छायो। अष्ट्रेलिया बस्ने केटासँग मेरो लगनगाँठो कसियो। म श्रीमानसँग अष्ट्रेलिया उडें।
तन अष्ट्रेलिया भए पनि मेरो मनचाहीँ नेपालमै डुलेको हुन्थ्यो। श्रीमान बिहानै काममा जान्थे, साँझ फर्कन्थे। सात पल बिताउनलाई प्रयाप्त समय हुँदैनथ्यो। केही महिनामा मैले पनि काम पाएँ। केयर होममा रातिको ड्युटी। २४ घण्टामा मुस्किलले हामी चार घण्टा सँगै हुन्थ्यौ। सहवास गर्थौ। त्यहाँ प्रेम वर्जित जस्तै थियो।
विवाहपछि मैले अनगिन्ति सम्भोग गरें। बच्चा पनि भयो तर त्यसमा मायाको बाछिटासम्म फेला पारिनँ। म पनि प्रेममा चुकेँ होला। महेशसँगका पलहरु नै मेरो मुटुमा अन्तिम प्रेमका खाटा बनेर बसिरहे।
तीन बर्ष पछि छोरालाई लिएर म नेपाल फर्किएँ। उसलाई भेट्ने रुचीले पंख हाल्यो। उ कस्तो भयो होला? के गर्दै छ होला? बिहे ग¥यो कि गरेन? होडलिएको मन लिएर म साहारा पुगें।
अफिसमा उसलाई देखिनँ। पुराना स्टाफ थिएनन। गार्ड दाइ मात्र पुराना। उहालाई सोधें। अध्याँरो मुख पारेर दाइले भने –सर त बित्नुभयो।
मेरो होश हवास उड्यो। जिउ सिताम्य भयो। पासो लागे झै घाँटी अररो भयो। पिडुँला भारी भए। हतास भएर धरधरी रोएँ। भूमिगत राजनीति गर्ने महेश आर्मीको कारवाहीमा मारिएछ। म अष्ट्रेलिया उडेको महिना दिनमा साँखुको उकालोमा मारिएको ’कमरेड प्रेम’ नै महेश रहेछ। हाम्रो सम्बन्धमा कुनै बेला ’कमरेड प्रेम’ पनि आउँदो हो त उसलाई म बुझ्दी हुँ। त्यस्तो कहिल्यै भएन।
मलाई असह्य पीडा भयो। त्यो रात घर फर्केर म खुब रोएँ। मलाई साँच्चै लाग्यो–प्रेम र विवाह फरक कुरा रहेछ। उसँग बिहे गरेकी भए म जतिबेला पनि विधवा हुन सक्थें। मलाई विधवा बनाउन उसले विवाह गरेन, किनकि उ मलाई औधी प्रेम गर्थ्यो।