यो दुनियाँ साच्चै अजिव छ, उसैझै अजिव छन् मान्छेहरू पनि। कहिलेकाही आफ्नै मन पनि आफैंलाई अजिव लागिदिन्छ। सोचिदिन्छ - कास, मुहारको सुन्दरतामा मेडिकल ट्रीटमेन्टले निखार ल्याएझै मनको कुरूपतामा निखार ल्याउने कुनै वस्तु भैदिएको भए...!
एउटा प्रश्न - कुरुपता भन्नाले केलाई बुझ्नुहुन्छ तपाईं? तपाईँ मन मनमा गुन्दै गर्नुस् यसको उत्तर। अन्तिममा सोध्नेछु। अहिले भने म आफ्नै उत्तर कहन्छु। झर्को लाग्यो भने मलाई बिचमै रोक्नुहोला।
पश्चिम चितवनको राप्ती छेउछाउको बस्ती। चितवन राष्ट्रिय निकुञ्जले घेरिएको गाउँ। जहाँ दिनभरी ज्याला मजदुरी गरेर भरे पेट भने सर्वहारा वर्गको वर्चस्व छ। उनीहरूका कुनै ठूला सपना हुँदैनन् न हुन्छन् ठूला ठूला रहरहरू नै। सानो परिवार। सुखी जहान र शान्त रहोस् घर। हासिखुसी भर्न पाइयोस् दुई छाक पेट अनि आर्थिक हैसियतले भ्यायसम्म पढुन् लालाबाला र हटाउन पाइयोस् उनीहरूको आँखाबाट अशिक्षाको जालो - बस् यती नै हुन्छन् उनीहरूका आकांक्षाहरू। घिर्निको चालमा घुमिरहन्छन् दैनिकिहरू।
उही हुन्छन्। उस्तै हुन्छन् सधैजसो - घर-जंगल, मेलापर्म, गोठ-गोठालो यस्तै यस्तै। त्यही बिचमा एकाध छन् शिक्षित परिवार। जसलाई सामन्ती भन्न रूचाउँछु म। पेसाले शिक्षक हुन् उनी। शिक्षणको मुख्य विषय अङ्ग्रेजी। निलो सर्ट, कालो स्वेटर, कालो पेन्ट, कालै रङ्गको जुत्ता,आँखामा ठूलो लेन्सवाला चस्मा र मुखमा पान- उनको विशेषता हो।
श्रीमती स्थानीय राजनीतिमा सक्रीय कार्यकर्ता हुन् । दुनियाँको नजरमा श्रीमान् र श्रीमती दुबै दक्ष ठहरिन्छ। सबैले ज्यू ज्यू र हजुर हजुर गर्छन्। भेटेपिच्छे दश औंला जोडेर शिर झुकाउँछन्। गाउँलेहरुको नजरमा उनीहरू सर्वश्रेष्ठ व्यक्ति हुन्। समग्र गाउँको इज्जत हुन्।
कुरा कक्षा ८ मा पढ्दाताकाको हो। उमेर र पढाई दुबैले बैनी हुन् उनी मेरी। निलो फ्रक, सेतो सर्ट, दुईपट्टी रातो रिबन फुर्को पारेर कपाल बानेकी, गोरो वर्ण, खिरिलो जिउडाल। साच्चै, आकर्षक लाग्थिन् मलाई। सायद अरू अरूको नजरम पनि लाग्थिन्।
मलाई याद छ-कक्षाकोठामा सरहरुको नजिक हुनको लागि कि त फर्स्ट स्टुडेन्ट हुनुपर्थ्यो कि त राम्रो। म दुबैमध्ये पर्दिनथेँ। उनी पढाइमा ठिक्ठिकै थिइन् तर राम्री हुनाको कारणले सरहरुले बिशेष ख्याल गर्ने गर्नुहुन्थ्यो। अझ अङ्ग्रेजी पढाउने सरले झनै ख्याल गर्नुहुन्थ्यो। टिफिन टाइममा कहिले बिस्कुट, कहिले चक्लेट, कहिले चाउचाउ त कहिले डल्ला पकौडा जस्ता थरी थरी खानेकुराहरू दिइरहनुहुन्थ्यो। मलाई पनि लोभ लाग्थ्यो। पढाइ तेज नहुनुमा दु:ख लाग्थ्यो राम्री नहुनुमा पनि।
एकदिनको कुरा हो, समय शरद यामको थियो। ४ बजे स्कुल छुट्टी भएर उनी घर गइन्। ड्रेस चेञ्ज गरिन् र खाजा नखाई हतार हतार तीनकुलेतिर लागिन्। जहाँ घरहरू छैनन्। सिँचाईँका लागि ल्याइएका गहिरा गहिरा बान्कि परेका कुलाहरू (नहर) र फराकिला गह्राहरू छन्। गह्राका बडा बडा कान्लाहरू छन्।
जमाना ठीक छैनन्। माओवादीको ज्याजती अत्याधिक थियो। छोराछोरी स्कुल गएपछि घर नआउञ्जेलसम्म आमा बा'को धड्कन ठेगानमा हुँदैनथ्यो।
उसैमाथि साँझको बेला छोरी घरबाट निस्केकी छे। केहि नभनि। बा जंगलबाट फर्कनु भएको थिएन, आमाको मनमा चिसो पस्यो। आँगन जोडिएका छिमेकी छोरालाई उसले चाल नपाउने गरी पिछा गर्न लगाउनुभयो।
ऊ खेतका कान्लाहरु नाघ्दै अलि परै पुगी र कुलोको डिलमा टुक्रुक्क बसी। लगभग १५ मिनेटको पर्खाइ पश्चात एउटा पुरूष आकृति उभियो त्यहाँ। सम्भवत: पुरूष आकृती केहि अनुरोध गरिरहेको थियो। उनको सिल्की परेको कपाल, स्याउ जस्ता गाला र सिनित्त परेका हातहरू पालैपालो सुम्सुम्याउँदै मायालु पाराले फकाउन खोजिरहेको थियो। एकछिनपछि हातमा केहि थमायो र कुलोको डिलबाट तल खेतमा झर्यो। आफू झर्यो र उनीलाई पनि झार्यो।
ठीक त्यही नै बेला दुबै जना समातिए। घर ल्याइयो। सोधपुछ गरियो। केरकार गरियो। सत्य वकल्न गर्नुपर्ने जती सबै गरियो तर चुरो कुरो पत्ता लागेन। उनी रोहिरहेकी छिन् एकोहोरो ऊ बिराले आँखाले सबैलाई घुरेर हेरिरहेको छ। मौका पर्छ र झम्टौला झै गरेर। ३ दिन ३ रात यत्तिकै बित्यो। चौथो दिनको दिउँसोपख महोदयकी श्रीमती बोलाईयो, छोरा, छोरी र बुहारी बोलाईयो (तर आएनन्) केहि छिमेकी जम्मा पारियो र सबुत खोज्न थालियो। बहिनीलाई आमाको छेउमा राखियो र नडराईकन कुरो के हो भन्न अनुरोध गरियो।
उसले बिस्तारै मुख खोली - ती पुरूषले बैनिलाई ५:२० बजे तीनकुलेमा भेट्न आउनु भनेर अघिल्लो दिन २० रुपैयाँको रातो नोट र कोकोनट बिस्कुट दिएका रे, उहाँ पुगेपछी शारीरिक सम्पर्कको लागि अनुरोध गरेका रे, नाई नास्ती गरेपछी फेरि २० रुप्या दिएका रे। त्यसपछि बैनिलाई डिलबाट खेतमा झारेका रे।
उफ् प्रभु, मान्छेको नियत। हेर्दा सरीफ छ मान्छे तर बोकेर हिँडेको छ घिन लाग्दो मानसिकता। अरूलाई ज्ञानगुणका कुरा जसले बाड्छ उसैले देखाउँछ तुच्छ व्यवहार। उसैको हुन्छ अभद्र चरित्र। झट्ट हेर्दा मान्छे भलाद्मी देखिन्छ तर कसले देख्छ र उसभित्र गुम्सिएको कुरुप मानसिकता?
अन्य वस्तुको जसै कुहिएको सोचको दुर्गन्ध आउँदैन रहेछ र मात्रै हो हैन भने हाम्रो स्कुलमा गन्हाएर पढ्न सक्ने स्थिति रहने रहेनछ। मैले यती भनिसक्दा तपाईँले ठम्याउनु भयो होला बैनीसँग उभिएको पुरुष आकृति को थियो भनेर? हो, उहि थियो जसले हामीलाई अङ्ग्रेजी पढाउँथ्यो।
अन्त्यमा, कुरा भयो उसलाई कस्तो सजाय दिने? श्रीमतीको बिन्ती अनुरुप प्रहरी चौकीमा उजुरी नहाल्ने भनियो। तत्पश्चात, गाउँ समाजको निर्णय बमोजिम उसलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरियो र त्यसै हर्कतका बाबजुत स्कुलबाट निलम्बन गरियो।
शिक्षकलाई त आदर्शको पुजारी भन्छौ हामी तर त्यही शिक्षकले वर्षौदेखि पालेर बसेको घटिया मानसिकताबाट कस्तो पाठ सिक्ने हामीले?
त्यसपछि लामो समय ऊ गाउँघरमा देखा परेन। हामीलाई पनि खोजिनीति गरिरहनु खाँचो परेन।
लगभग ५ / ६ वटा बसन्तयामहरू पार भएपश्चात काठमाडौं बसाइँ सरेर आए म। त्यही बिचमा एकदिन पुरानो वसपार्कमा दुईजना कोटधारीसँग जम्काभेट भयो। उनको पान चपाउने बानी ज्युकात्यू नै रहेछ। जसकारण सहजै चिने। उनी मसँग बोलेनन्। थाहा छैन - बोल्न मन नभएर बोलेनन् या मुखको पानले बोल्न असजिलो भएर बोलेनन्?
सायद, सँगै हिडेका अर्का एक सेक्रेटरी हुन्। प्राय: कुराहरू उनीसँगै भए। जो उतैका छिमेकी थिए। उनलाई माला बनाउनको लागि जुत्ता जुटाउने व्यक्ति।
कफिसँगै कुराकानी पनि सकियो। कर्ण शाक्यलाई कसैले होच्याएर भनेको थियो रे- ‘तपाईँलाई त क्यान्सर क्या फापेको’ तर मैले नहोच्याएरै भन्दैछु - जुत्ताको माला फापेकै हो उहाँलाई। बेङ्कक जानुभएछ। टन्न पैसा कमाएर आउनु भएछ। राजधानीमा एउटा एजुकेसनल कन्सल्ट्यान्सी खोल्नुभएछ। राजनीतिमा केन्द्रीय नेताको पहुँचसम्म पुग्नुभएछ। ब्राउन कलरको कोट, टिम्मरल्याण्डको जुत्ता, राडोको घडी - यही थियो झलक्क हेर्दा फेरिएको उहाँको पर्सनालिटी तर थाहा छैन फेरिएको छ या छैन उहाँको त्यो कुरुप मानसिकता?
अन्तिममा सरको वाक्य फुट्यो। बोली सुन्न पाउदा धन्य भए झै भान भो। एउटा अफर प्रस्ताव भयो - मेरोमा सिनियर काउन्सिलरको पोस्ट खाली छ। बस्छेउ? बस्छेउ भने मिलाईदिन्छु। सेलरी पनि तिमीले सोचे भन्दा राम्रो पाउछेउ।
मैले सिधै इन्कार गरिदिए। यद्यपी म कतै इन्भल्व नभएको भएता पनि स्वीकार गर्ने पक्षमा थिइन। किनकी मलाई त्यो मान्छेप्रती अझैपनी अन्तस्करणमा श्रद्धा होइन घृणा छ। हिजो मेरी बहिनीमाथि गिद्दे नजर गाड्नेले भोलि ममाथि नगाड्ला भन्न सक्दिनँ। अचम्म त त्यहाँनिर लाग्यो-जसले जसको लागि जुत्ताको जोहो गर्यो उसैले उही व्यक्तिको चाकारी गर्दै हिडिरहेछ। आखिर किन ? के ऊ सुध्रीएको छ? उसको मानसिकतामा बदलाब आएको छ? के उसमा नारीप्रतिको सम्मान भाव जागेकै हो त?
एक साँझ सेक्रेटरी दाईसँग फोनमा लामो कुरा भयो। जागिर माग्नेका लाम हुन्छन् रे उहाँका अघिपछि। त्यो पनि विशेषत गाँउतिरबाट।
‘तिमीले इन्कार गरेर एकदमै ठीक गर्यौ’ - उहाँले भन्नुभयो - ‘घरको स्थिति तिमीलाई थाहै छ। कतार गएर पैसाको साटो रोग बोकेर आएँ। घर धान्नै पर्यो। अझ जेठो छोरो भएपछि अझ बढी जिम्मेवारी बहन गर्नुपर्ने रहेछ। केहि आय उपाए नलागेपछि म सरको शरण परेको हुँ। तलब राम्रै छ। त्यै पनि कहिलेकाही ग्लानिबोध हुन्छ। आफ्नै बैनी सरहका बैनीहरूको हविगत देख्दा। सानैदेखि लागेको बानी भन्छन् त्यस्तै हो उहाँ। शरीरमा कोट परेपछी पशु पनि मान्छे हुँदो रहेछ यहाँ। मान्छेले हेर्ने नजर नै फरक हुदो रहेछ यहाँ।’
किंकर्तव्यविमुढ भए म। दिमाखमा एकनासले घुमिरह्यो त्यही वाक्य -
त्यै पनि कहिलेकाही ग्लानिबोध हुन्छ। आफ्नै बैनी सरहका बैनिहरुको हविगत देख्दा। सानैदेखि लागेको बानी भन्छन् त्यस्तै हो उहाँ। शरीरमा कोट परेपछि पशु पनि मान्छे हुँदोरहेछ यहाँ। मान्छेले हेर्ने नजर नै फरक हुँदोरहेछ यहाँ।
हो पनि। शरीरमा कोट परेपछी पशु पनि मान्छे हुन्छ यहाँ। पर्दा अगाडि आदर्शको ढ्याङ्ग्रो ठोकेर पर्दा पछाडि ‘कु’ गर्ने नकावधारिहरु थुप्रै छन् मेरो आँखा अगाडि पनि। फेरि यो कोट छ नै त्यस्तै, जस्तो भन्यो त्यस्तै रूपमा प्रस्तूत भैदिन्छ। मुहारको सुन्दरतालाई सुन्दर र अनाकर्षित मुहार वा स्वरूपलाई कुरूप भन्ठान्ने हाम्रो सोझो बुझाई छ। हामी बुझ्नै चाहदैनौ कि अनाकर्षित मुहारभित्र आकर्षित हृदय लुकेको हुनसक्छ भन्ने गहिरो यथार्थ।
अन्त्यमा, मेरो बुझाइ अनुरुप - जसले दुनियाँको नजरमा छारो हालेर नजर पछाडि नकाम गर्छ त्यही हो कुरुप मान्छे र त्यही मानसिकता हो कुरुप मानसिकता। यतिकुरा गरिसकेपछी म गर्वसाथ भन्न सक्छु कि हामीलाई अङ्ग्रेजी पढाउने सर कुरुप सर। सरको मानसिकता कुरुप मानसिकता।
उसो त सरले पढाएका कैयौ विद्यार्थी उच्च तहमा नपुगेका होईनन्, विद्यालयमा उहाँको योगदान नरहेको होइन, अहिले पनि कैयनको भविष्यदाता बनिरहनु भएको होला तथापी निच सोचका कारण सबै कुराहरू गौण रह्यो र घटिया मनस्थिति हाबी भएर आयो।
र, फेरि पनि भन्छु - मान्छे रूपले होइन सोचाईले कुरूप हुन्छ। यस्तो मानसिकता बोकेर हिडेका सबै मान्छेहरू कुरूप मान्छे।
यो एउटा उदाहरण मात्र हो यस्ता उदाहरणहरू त अनगिन्ती भेट्टाउँछौं हामी। अब तपाईँहरूको उत्तर सुन्ने पालो। भन्नुहोस्- कुरूपता भन्नाले के बुझ्नुहुन्छ तपाईँ ? केलाई भन्नुहुन्छ कुरूपपना?