'बाबा, नाई ! हाम्मै घल दाउँ !' छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, 'नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।' म कसरी सम्झाउँ उसलाई, त्यो घरमा पनि हामी भाडामै बसेका थियौँ भनेर ! म उसलाई बुझाउन पनि खोज्छु, बुझाउन पनि सक्दिन !
..................
जन्मेको भोलिपल्टको सानो चिचिलोेलाई अस्पतालबाट निकालेपछि भित्र्याएको त्यहि घर हो । त्यहि घरमा उसले आफ्नो नाम पायो । त्यहि घरको छतबाट उसले आकाश देख्यो । त्यहि घरको छतमा उसले हावाको झोक्का महशुस गर्यो । मेरो छोरोको तोते बोली र ताते हिँडाई त्यहि घरमा शुरु भयो ।
त्यहि घरको छतबाट उसले पल्लो घरका दावँलीलाई साथी बनायो । उसले पहिलो पटक अक्षर चिनेको घर पनि त्यहि हो । म कतै जाँदा त्यहि घरको छतबाट उसले सँयौँ पल्ट वाई ! गर्यो । म फर्कदाँ त्यहि घरको छतबाट उ थोते गिजाँ देखाउँदै सयौँ पल्ट मुस्कायो । अहिले त्यो थोते गिजाँमा टमक्क दाँत भरिएको छ । तर उसको मन रित्तो रित्तो ! र, त उ कर गरिरहेको छ 'बाबा, नाई ! हाम्मै घल दाउँ !'
...............
बसोवासका हिसावमा अहिले सम्म ११ वटा घर भोगिसकेको रै छु । बसाई सराई र विविध कारणले वुवाले अहिले सम्म ८ वटा घर बनाईसक्नु भो । ती मध्ये ४ घरमा मेरो पनि बास भो । आफ्नै बलबुताले
गरीखान घरबाट निस्केको झण्डै डेढ दशकमा मेरो बास डेरावालका रुपमा थप ७ ठाउँमा भए । हेटौँडा, काठमाण्डु हुँदै ललितपुर सम्म बदलिएको बासमा यस अघि डेरा बदल्दा कहिल्यै आई नपरेको समस्याले यस पटक भने मनै कुँड्याएको छ । अनी म सम्झदैँ छु घर सँग जोडिएका मेरा स्मृति : जन्मेर ९ बर्षसम्म हुर्केको घर, तराई तिर बसाई सरे पछि बाले बेच्दिनु भो । त्यो घरको फोटो सम्म खिच्ने मन थियो, अहिले त किन्नेले भत्काई सकेछ !
बसाई सरेपछि शुरु भएको घरको छाना हावाले उडाईदिएर आकाशको तारा हेर्दै रात विताईयो ! घर उडाउँदा बा सँगै हुनुहुन्थेन, बा भैदिएको भए उडाउँथेन की ! उतिखेर मन भक्कानिन्थ्यो । पढ्नका लागि सदरमुकाम बस्दा ताका पुरानो घरको छत चुहिएर रातभरी रातभरी बाल्टि पनि थापियो ! भोगाई भिन्ना भिन्नै भए पनि ति घरसँग जोडिएका मेरा स्मृतिका सूचि निकै छोटो पो रैछ !
...........
डेरा बदलेको दिन छोरोले ज्वरै निकाल्यो । यसो झकाउँछ, तर सासले पनि 'बाबा, नाई ! हाम्मै घल दाउँ !' भन्छ । छोरोले पुरानै घरलाई आफ्नो दावी गरिरहँदा म निरुत्तर छु, मौन छु, अनी भित्र भित्रै बाफिदैँ छु ।
भाडाको बसाई कहिले आफूँलाई चित्त बुझ्दैन, कहिले साहुजीलाई ! अनी बदल्नुको विकल्प पनि त छैन ! म कसरी बुझाउँ की हामी बस्ने घर हाम्रो हैन । यो पनि कति दिनको हो ठेगान छैन । अहिलेको चिन्ता यो घरमा कति बस्ने भन्ने भन्दा पनि, छारोलाई कसरी भिजाउने भन्ने मै केन्द्रित छ ।
................
भोली पल्ट विहानै बुढा बुढी मिलेर छोरोलाई पुरानो डेरा पुर्यायौँ । पुरानो डेरा तिर छिर्ने बाटोमा पुग्ना साथ उ खुसीले उफ्रिन पो थाल्यो ! रातभरीको ज्वरो कता हरायो कता ! ऊ उत्पात खुसी भयो । भाडामा बस्नेका कुरा घर हुनेहरुलाई के हेक्का ! बच्चाको कारण 'डिस्टर्भ फिल' गरेका घरबेटि त्यहिँ थिए ।
छोरो विरामी नभएको भए म एका विहानै त्यसको धुन्धुकारी मुख हेर्न किन जान्थेँ र ! तै पनि औपचारिकता निभाईयो । छुटेको गमला लिन गएको बहाना बनाईयो । चौविस घण्टा पछि छोरो खुसी भएको देख्दा आफू पनि खुसी भईयो । सँसार सन्तानकै लागि त रैछ !
तर यहि सँसारमा कति सन्तान आमा वाऊका लागि हुँदैनन्, त कति आमा वाऊ सन्तानका लागि । यस्ता थुर्पै घटना देखेको- भोगेको पनि त छु ! यस्तैलाई त भन्ने होला सँसारको रीत ! चाहे जे भए पनि छोरो खुसी भएपछि म त्यसै चँगा । यो खुसी नयाँ डेरा सम्म कसरी पु¥याउने ? सबै भन्दा ठूलो चुनौति अघिल्तिर थियो ।
अकस्मात कोठाको भित्तामा लागेका दागमा मेरा आँखा ठोक्किए ।आफूले पहिलो पाईला चालेको त्यहि छतमा उर्फन पाउँदा दँग परेको छोरोलाई च्याप्प समातेर देखाएँ – 'वावु हेर त ! छि : कस्तो फोहर है यो घर ?' खुसीको सुरमा छोरोले मलाई सहि थाप्यो – 'थि कत्तो फोअल है वावा यो घल !' उसको समर्थनको यो बाक्यसँगै फर्कियौँ हामी नयाँ डेरा तिर ।
...........
सबै सम्भावना र अवसर राजधानि केन्द्रित ! आफ्नो पेशासँग जोडिएको यहि बाध्यताले मलाई यो खाल्डोमा धकेल्यो ।
राजधानीले मेरो क्षमता बढायो, जीवन बाँच्ने हिम्मत दियो, समग्रमा राजधानीले मेरो संसार सृजनामा सघायो । यहि राजधानीमा अभावका निकै लामा सूचि पनि भोगेको छु । शुद्ध खान्कि मुखमा नपरेको दशकै विते पनि संघर्ष र जीवनको बोध गराएको यही राजधानी बसाईले हो ।
यो मृत शहरको धिपधिपे जीवनमा आईपरेका संकट छिचोल्न सक्ने भरोसा पनि यँहीबाट बटुलेको छु । आँखै अघिल्तिर आएका काला संकट एक्लै निखन्न सक्ने पनि बनायो यो राजधानीले ! अनी लौ सकियो जीवन भन्ने टुङ्गोमा पुग्दा चार हात खुट्टा टेकेर थिग्रीने आँट पनि यहि राजधानीले दिएको हो मलाई ।
राजधानीले मलाई जीवनको तत्व ज्ञान पनि सिकाएको छ । घर हुनु र नहुनुबाटै मान्छेको मापन गर्ने मान्छे पनि हुँदा रैछन् भन्ने बोध राजधानी बसाईले नै गराएको हो मलाई । आफ्नै घरमा बास बसेकाहरुले डेरामा बस्नेहरुलाई गर्ने ब्यवहार र यसैबाट हैसियत मापनको आधार बन्दो रैछ भन्ने पनि मैलै राजधानीमै आएर बुझेँ ।
मेरा धेरै आफन्त र साथी भाईले उनीहरुको नजरमा म राजधानीको सुख सयलमा बसेको मात्रै देखेका छन्, डेरा जीवन भोगेका छैनन् । उनीहरुलाई शायदै थाह छ राजधानीमा मान्छे मान्छे विच विभेद छ – घर भएकाहरु र डेरावाल !
......
पुरानो र नयाँ डेराको विचमा पर्ने बाटो भरी मनमा यस्तै कुरा खेलिरहे । साथमा चिन्ता पनि उत्तिकै थियो – नयाँ डेरा पुगेपछि छोरोले फेरी 'बाबा, नाई ! हाम्मै घल दाउँ !' भन्यो भने ? एउटा उपाय त अजमाई सकेको छु नी, फेरी पनि भित्तामा लागेको त्यहि दाग सम्झाएर भन्छु – 'बाबु छि : कस्तो फोहर है त्यो घर !' दिन वित्यो – छोरो खुसी छ, राती पनि राम्रै सँग सुत्यो, विहान पनि छोरो खुसी छ ! अव छोरोले पुरानो डेरा विस्र्यो – म आश्वस्त भएँ । अनी के भन्दो रैछ भन्दै एक पटक सोध्ने आँट गरेँ – 'वावु हाम्रो घर कुन हो ?' छोरोले मेरो चिन्ता बुझ्यो शायद, भन्यो – 'थि : कत्तो फोअल है वावा त्यो घल ? हाम्मो घल यहि हो !'