'हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।'
हल्का जुँघा आएको अलिकति कालो, कपाल जिङरिङ्ग परेको पातलो केटाले खुइय गर्दै भन्यो।
ऊ र म विरेन्द्र सैनिक अस्पताल भित्र सि.सि.यु र आई. सि.सि.यु बाहिर फलामको मेचमा बसेका थियौँ। मानिसहरु ओहोरदोहोर गरिरहेका थिए। टाटेपाङ्ग्रे आर्मी ड्रेस लगाएकी एक महिला भुईँ सफा गर्दै थिइन्। अरु आर्मी ड्रेस लगाएका र सिभिल ड्रेस लगाएका मनिसहरु पनि ओहोर दोहोर गर्दै थिए। हाम्रो अगाडि लिफ्ट थियो। लिफ्टमा सेतो अक्षरमा लेखिएको थियो, 'अशक्त बिरामीहरु र इमरजेन्सीको लागि मात्र।' त्यसको अझ मुनि लेखिएको थियो, 'आगो लागेको बेलामा लिफ्टको प्रयोग नगर्नु ।'
'बोर लागिरहेको होला है भाइ?' सोधेँ।
'दाइ के भन्ने! गनेर बसेको छु। आज ४४ दिनमा ४३ जना मरिसके। यही सि.सि.यु र आई. सि.सि.यु बाट उनीहरुको लास निक्ल्यो। आफन्तको रुवाबासी चल्छ एक डेढ घण्टासम्म। त्यसपछि एकछिन केही बेर सन्नाटा जस्तै हुन्छ। त्यसपछि फेरि समान्य जस्तै हुन्छ। बिरामी आउँछन्। डाक्टर आउँछन्। सिस्टरहरु आउँछन्। बिरामीलाई स्लाईन पानी दिन्छन्। इन्जेक्सन लगाउँछन्। ब्लड प्रेसर नाप्छन्। रिपोर्ट टिप्छन्। डाक्टरले चेक गर्छ। म हजुरबुबालाई हेर्न जान्छु। दिशा पिसाब गराइदिन्छु। खानेकुरा खान दिन्छु। मुख पुसिदिन्छु। तन्ना मिलाई दिन्छु। हजुर बुबाको छेवैमा बस्छु। उहाँको टाउको सुम्सुम्याउँछु। खुट्टा मिचिदिन्छु। उहाँ आवाज ननिकली स्वासको सहाराले मात्र बोल्न सक्नुहुन्छ। मुखमा माक्स लगाएको छ। छातीभरि खै के के राखिएको छ। मलाई टुलुटुलु हेर्नु हुन्छ। मनमनै भन्छु-बुढेसकालामा हजुरबुवाले दुःख पाउनु भयो। खतम छ नि हइ दाइ जिन्दगी।'
उसको कुरा सुनेर फेरि उसलाई हेरेँ। हाँस्यो। हाँस्दा आँखाको छेवैमा मुजा पर्थ्यो। दाँत हल्का पहेँलो रहेछ। ओठ कालो थियो।
'यतापट्टी मानसिक स्थिति ठीक नभएकाहरु छन्।' उसले हातको इशाराले पछाडि देखाउँदै भन्यो 'दिक्क लागेको बेलामा यसो मिलाएर घुम्न जान्छु। कोही दोहोरी खेल्छन्। आज एकजनाले भन्दै थियो-म पृथ्वी नारायण शाहको चेला हो बुझिस्। फेरि म एकिकरण गर्छु, तर देश हैन विचार। चोर औंला उचालीउचाली एक्लै कराउँदै थियो। कोही बिहे गर्छु भन्छन्। तिनीहरु हेर्यो मनमनै हाँस्यो। क्या छ है जिन्दगी भन्यो।'
उसले भन्दै गयो, 'फेरि हजुरबुवाकोमा आउँछु। चल्न चटपटाउन गाह्रो हुने गरी लम्पसार परेर सुतेको हजुरबुवालाई हेर्यो। सुनेको थिएँ-हाम्रो हजुरबुवा जवान हुँदा आर्मीबाट बिदामा घर फर्किएको ला खेतबारी एक्लै खनेर सिध्याउनु हन्थ्यो रे। बाघसँग कुस्ती खेल्छु भन्नु हन्थ्यो रे। तर अहिले…' बोल्दा बोल्दै एकछिन चुप लाग्यो।
केहीक्षणपछि मलाई सोध्यो, 'अनि दाइको को छ नि?'
'आमा।'
'के भएर ल्याएको?'
'बेहोस् भएर ल्याएको। पछि थाहा पाउँदा मुटुमा प्रोब्लेम रहेछ', मैले भनेँ।
'अहिले कस्तो छ?'
'अहिले त ठीक छ। इम्पुर्भ हुँदै छ। के गर्ने यार मान्छेको जिन्दगी है। फेरि घरमा आमाबुबा बिरामी भएपछि सार्है टेन्सन हुँदो रहेछ।'
'हो दाइ, घरमा बिरामी भएपछि, अझै यसरी अस्पतालमा कुर्न बसेपछि झन दिक्क लाग्छ। घरमा बसेर पलङ्गमा पल्टेर, रिमोट हातमा लिएर, टि.भि.को च्यानल घुमाएको। चोकमा बसेर चिया पिउँदै, चुरोट तान्दै केटाहरुसँग गफ दिएको। कलेजको क्यान्टिनमा केटीहरुसँग बसेर चिया पिएको। खुबै याद आइरहेको छ। तर के गर्ने दाई आज ४४ दिनसम्म यहीँ छु। बाहिरको केही थाहा छैन जस्तै भैरहेछ। यो सब भाग्य र समयको खेल हे दाइ। म त अहिले जिन्दगीको बारेमा सोच्ने भएको छु। पहिला यी जिन्दगीसिन्दगी भनेका बालै लाग्दैन थियो। खायो, खेल्यो, हल्यो र हिँड्यो। तर अहिले लाश हेर्दा, मान्छेको चित्कार सुन्दा, पीडालाई अनुभव गर्दा साँचिकै जिन्दगीलाई हेर्ने शैली फेरिएको छ।'
त्यो आर्मी ड्रेस लगाएको महिलाले वरिपरिका सबै चिप्स पुसेर गइन्। एक हुल डाक्टरहरु सि.सि.यु र आई. सि.सि.यु भित्र गए।
सायद केही सिकिस्त भएछ...
भित्र कोठामा एउटा महिला रोएको आवाज सुनियो। त्यो महिलाको रुवाई तिखो थियो। एक क्षणको लागि मेरो सम्पुण ध्यान त्यही रुवाइमा गयो। मनका चिसो पस्यो।
त्यो केटा मेचबाट जुरुक्क उठेर भित्र गएर यसो चिहाएर फर्क्यो।
म नजिकै आएर हात हल्लाउँदै मुख बिगार्दै त्यही भाइले भन्यो, 'अर्को पनि गयो। मेरो लिस्टमा ४४ जना भए। कस्तो ठाउँ हो यार यो अस्पताल त।'
म चुपचाप थिए। ऊ आयो फेरि मसँगैको मेचमा आएर बस्यो र भन्यो, 'हस्पिटलबाट बाहिर निक्लेपछि अलि उतापट्टि एउटा गुम्बा छ। तीनचार दिन भयो त्यहाँ जान थालेको छु। एउटा कर्मा लामा भन्नेलाई साथी पनि बनाएको छु। दिउसो दिउसो यसो त्यहाँ जान्छु। उसको कुरा सुनेर त मलाई पनि त्यस्तै लामा भएर हिँडौ जस्तो लाग्छ। जे गरे पनि आखिरमा बिरामी परेर यसरी अस्पतालमा सिकिस्तै भएर मर्न परिहल्दो रहेछ। फेरि सोच्छु– बाउआमाले सपना देखेर हुर्काएका छन्। फेरि क्षणिक वैराग्यको के काम। बाँचुन्जेल कर्म त गर्न पर्दछ। यस्तै विचारको अन्तरद्वन्दमा छु म त दाइ। ”
आगाडि एकै छिनमा मानिसहरुको भीड लाग्यो। सायद मृत्यु हुनेका आफन्त होलान्। मानिसहरु रोइरहेका थिए। कोही मोबाइलमा कुरा गर्दै थिए। सायद आफन्तहरुलाई खबर गर्दै थिए।
केही क्षण पछि दुईजनाले स्टेचर गुडाँउदै लास लिएर बाहिर आए। लाशका गाला स्याप्प भित्र पसेका थिए। आँखा बन्द थिए। हरियो तन्नाले शरिर छोपिएको थियो तर काला पैताला भने बाहिर निक्लेका थिए। दुईजनाले स्टेचर घचेट्दै बाहिर लगे। एक हुल मानिस उनीहरुको पछाडि लागे।
म दिक्क मान्दै भित्र गएँ। आमा सि.सि.युको पलङ्गमा नै हुनुहुन्थ्यो। उहाँको नाकबाट अक्सिजनको माक्स निकालेको थियो तर ईसिजीको भने चेकअप भइहेको थियो।
'आमा कस्तो छ?' मैले सोधेँ।
'के हुनु नि! भर्खरै त्यहीँ छेवैको मान्छे गयो', भन्दै खुइय गर्दै विस्तारै बोल्नु भयो र मलाई हेर्नु भयो।
'यस्तै हो यहाँ। अन्तिम अवस्था भएपछि अस्पताल ल्याउँछन्' मैले भनेँ। आमाको निदार छामेँ। आमाको गालामा अलिअलि चाउरी परेको थियो। आज हस्पिटल भर्ना गरेको ठ्याक्कै ८ दिन भयो। घरमा बेहोस भएर हस्पिटल ल्याएको कोल्ड स्टोरको मात्रा बढेर मुटुबाट रगत पास हुन कठिनाई भएको भनेर डाक्टरहरुले भनेका थिए। हिजो देखि त आमालाई लगभग राम्रो भइसकेको थियो। आज माथि वार्डमा सार्छ र चार दिनको निरिक्षण पछि राम्रो भएमा घर पठाउँछ रे।
खुशी लागेको छ, आमाको स्वास्थमा सुधार भएको देखेर। मैले आमालाई स्याउ तासेर खान्दिएँ। तातो पानी दिएँ। एकछिन खुट्टा मिचिदिएँ। त्यसपछि हस्पिटलमा बुबा र बहिनी आए। म अफिस गएँ।
अफिसमै बुबाको फोन आयो –“अमालाई सि.सि.युबाट वार्डमा सारेको छ। फेमेली वाड बेड नं. १४४।” मन हलुका भयो।
बेलुका अस्पताल जाँदा स.सि.यु र आई. सि.सि.युको बाटो हुदै माथि वार्डमा जाँदै थिए। त्यही भाइलाई भेट भयो। मलाई देख्न बित्तिकै मुसुक्क हाँस्यो र भन्यो, 'दाई तपाईंको ममी त माथि वार्डमा टान्सफर हुनुभयो।'
'हो भाइ! मैले थाहा पाएँ', मैले भनेँ। अरु के छ हालखबर भनेर सोधेँ।
उसले भन्यो, 'सबै ठीक छ। दिउसो नौ बर्षको बच्चा मर्यो। उसको आमा त बेहोस भइन्। मेरो लिस्टमा ४५ जना भयो भनेर भन्यो। यो त मसानघाट नै हो।' ऊ अर्को मृत्यु खबरवाहक बन्यो।
मलाई उसको कुराले दिक्क लाग्यो। मेरो मानसपटालमा त्यो नौं बर्षको बच्चाको आमाको अनुहार आयो। मैले बिहान मात्रै त्यो हरियो कुर्ता सुरुवाल लगाएकी अलिअलि काली आइमाईलाई म सि.सि.युबाट बहिर निक्लँदा ढोका छेवैको बुद्धको मुर्ति अगाडि उभिएर टाउको झुकाउँदै मनमनै खै के के भनिरहेकी थिइन्। सायद छोराको जीवन मागिरहेकी थिइन् तर आज उसको छोरा यो धरतीमा छैन। उफ! सम्झिँदै दिक्क लाग्यो।
त्यसपछि म माथि आमाकोमा गई। आमाले पनि उदास शैलीमा त्यही कुरा गर्नुभयो। कस्तो अचम्म हरेक दिन मान्छे मरिहेछन् र तिनीहरुका कुरा भइरहेको छ। कति मान्छेहरु जीवन र मरणको दोसाँधमा छन्। कति ठीक भएर घर फर्कँदै छन्।
अन्तिम दिन थियो आमालाई डिस्चार्ज गर्ने। म बिहान लगभग आठ बजे हस्पिटल पुगेको थिएँ। अब आमा घर आउनु हुन्छ भनेर सम्झँदै मन खुशी भएको थियो।
मामा आमालाई कुर्न बस्नु भएको थियो। चिया पिएर आउँदै हुनुहुँदो रहेछ बाटोमा नै भेट भयो।
मैले के छ मामा हालखबर भनेँ। उहँलो ठीक छ भन्नु भयो। आमालाई पनि राम्रो छ भन्नुभयो। हामी गफ गर्दै हस्पिटल भित्र गयौं।
डाक्टरले ११ बजे दिउसो आमालाई डिस्चार्ज गरिदिएँ। म र मामा सर–सामानहरु बोकेर वार्डबाट भर्याङ्ग ओर्लिँदै तलतिर झर्यौं। आमालाई बुबाले बिस्तारै डोर्याएर ल्याउँदै हुनुहुन्थ्यो। आइ.सि.यु नेरी आइपुगेपछि मलाई त्यही हल्का जुँघा भएको कपाल जिंङ्गरिङ्ग भएको भाइको सम्झना भयो। त्यसलाई भेटेर जाउँ जस्तो लाग्यो।
मैले मामालाई सोधँ, 'त्यो भाइ थियो नि हजुरबुवा कुरेर बसेको। कता गएछ?'
'ए त्यो काले काले।' मामाले भन्नुभयो, 'हिजो ११ बजे तिर उसको हजुरबुवा बित्नु भयो। विचरा कोही थिएनन्। मोबाइलमा ब्यलेन्स पनि रहेनछ। मेरो मोबाईलबाट फोन गरेर आफन्तहरु बोलायो। मैले र उसले लास बाहिर ल्यायौँ। खै राती दुई बजे तिर लास लगे क्यारे।'
'उफ!' मैले टाउको मा हात राख्दै भनेँ। उसको लिस्टमा सायद ४६ जना भए होला। ४६ औंमा सायद उसकै हजुरबुवा परे होला।