बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन ।
बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो । तर ऊ बुझ पचाउँछ । उपचार गर्न पैसा छैन ।
मालिकसँग मागौं, हिम्मत पुग्दैन । मनमनै बर्बराउँछ, ‘मालिक पनि यसपालि बडो टेन्सनमा देखिन्छ । पानी नपरेर खेतमा गोरु नार्न पाइएको छैन, के देला र ।’
बिल्टु गम्छ, ‘आइमाइ तगडा छ, उमेर गएको छैन, त्यसैले ज्वरोले के नै पो बिगार्ला । ऊ पक्का निको हुन्छे । ज्वरोसँगको लडाइँ दुखिनीले अवश्य जित्ने छ ।’
बिल्टु आफैंलाई आश्वस्त पार्छ ।
दस दिनदेखि ऊ बेलुकाको भात पकाउँदै छ । तर, आज उसलाई केही पकाउन पनि मन छैन, खान पनि । बरू दुखिनीले केही खाइदिए हुन्थ्यो । तर, उसले पनि मन गरिन । त्यसैले बिल्टु चिन्तामा छ ।
गम्छ, ‘उसले अलिकति तातोपानी पिए हुन्थ्यो ।’
आज बिल्टुले आफू पनि पानी पिएरै रात बिताउने पक्का ग¥यो । जब भात नपाक्ने भयो, त्यसपछि बिल्टुसँग गर्नुपर्ने कुनै काम रहेन ।
बिल्टु आँगनमा निस्कियो । आँगनमा अँध्यारोमात्र थियो । त्यही अँध्यारोमा उभिएर बिल्टुले आकाशको उज्यालो हे¥यो । आज आकाश मैलो थियो । मैलो आकाशले बिल्टुको मन उज्यालो बनायो । आज पानी परे हुन्थ्यो ।
उसले गम्यो, ‘भोलि बिहानै गोरु नार्न पाए ऊ मालिकसँग केही पैसा माग्ने थियो । हेल्थपोष्ट जाने थियो । दुखिनीका लागि ज्वरोको औषधि किन्ने थियो । उ निको हुने थिई ।’
यो कल्पनाले मात्र पनि बिल्टुको मन उज्यालो भयो ।
मन उज्यालो भएपछि आशाहरू पलाउँछन् । सम्झनाहरू तरेलीतरेलीका आउँछन् । जीवन बगैँचाजस्तो हुन्छ । यिनै सम्झनाहरूको तरेलीमा त्यो साँझ बिल्टुले सोनालाल मालिकलाई सम्झिन्छ, आफूलाई सम्झिन्छ, ज्वरोले बेहोश बनाएकी आफ्नी दुखिनीलाई सम्झिन्छ र ऊ निको भएर हाँसेको सम्झिन्छ । दुखिनी निकै छिटो धान रोप्छे, परिआउँदा बाउसे पनि गर्छे । हिलो खेल्न उसलाई खुब रमाइलो लाग्छ । बिल्टु सम्झिन्छ, यो साल ऊ दुखिनीलाई बेस्सरी हिलो खेल्न दिनेछ। ऊ पनि दुखिनीसँगै हिलो छ्यापाछ्याप गर्ने छ । ऊ दुखिनीलाई सबैभन्दा खुसी बनाउने छ । यही सम्झनाको मेसोमा बिल्टुको आँखाअगाडि हिलाम्ये दुखिनी आइपुगी । हिलोमाटोमा लतपत भएकी दुखिनी उसलाई खुव राम्री लाग्यो ।
बिल्टु मनमनै विचार गर्छ, ‘पक्का आज पानी पर्छ ।’
पूर्वी तराईमा सोनालाल अग्रहरीको आफ्नै नाम र सान छ । त्यसो त उसको एक सय बिघाजति जमिन छ । मान्छेहरू भन्छन्, उसको कुुकुर पनि जमिनको मालिक हो । गाँउमा नाम हुन जमिन हुनुपर्छ । ऊसँग दुइटा धान मिल, गाउँमै एउटा सिनेमाहल र दुइटा काठमाडौं जाने नाइटबस छन् । विराटनगरमा पनि घर छ । तर, सोनालाल गाउँमा बस्छ । भन्छ, गाउँलेको मायाले समातेको छ । हुन त गाउँलेको माया उसलाई कति लाग्छ, थाहा छैन तर जब पानी पर्छ र खेतमा रोपाइँ सुरु हुन्छ तब उ गरिब मुसहरहरूको खुब माया गर्छ । मंसिरमा जव धान काटिन्छ र दाउनी हुन्छ अनि मालिकको मायाको भकारी रित्तिन्छ । त्यसपछि उसको मुखबाट गालीमात्र झर्न थाल्छ । गालीमा सोनालाल फस्ट डिभिजन हो ।
भूमिहीन बिल्टु मुसहर सोनालालको खेत जोत्छ । यो उसको परिवारकै पुस्तैनी जागिर हो ।
बिल्टु बारम्बार आकाशतिर चियाउँछ । उसको झुप्रोमाथि आकाशमा आज हलचल छ । तर, झुप्रोभित्रको अँध्यारोमा ज्वरोले थलिएकी दुखिनी भर्खर निदाएकी छे । बिल्टुलाई भने निद्रा पटक्कै छैन । ऊ बाहिर निस्किन्छ । आकाशमा बादलको गति विचार गर्छ । पश्चिमउत्तरको पर्वतमालामा बादलका घुर्मैला पत्रहरू वेगले पूर्वतिर हानिँदैछन् । बिल्टु एकछिन बादल र यसको रंग नियालिरहन्छ । आजको बादल केही ताजा, चिसो, भारी र सजीव देखिन्छ । बिल्टु छड्के आँखाले बादलभित्रको जीवन ठम्याउँछ । आकाशको हलचलले बिल्टुको लुलो ज्यानमा जीवनको ऊर्जा सञ्चार गर्छ । ऊ पक्का गर्छ कि आज पानी पर्छ ।
भित्र ज्वरोले अर्धचेत दुखिनी विस्तारै घुर्दै छ । बिल्टुलाई आफ्नी जहानको अनुहार हेर्न मन लाग्दछ । ऊ नजिकै जान्छ र अँध्यारोमा दुखिनीको अनुहार छाम्छ । सायद निद्रामा नै आप्mनो श्रीमानको अनुभव उसलाई भयो, ऊ घुर्न छाड्छे । कतै देउरालीमा सिरसिर हावा चलेजस्तो स्वासको धिमा गतिमात्र सुनिन्छ । त्यहीबेला आकाश गर्जिन्छ । हावाको झोका फुसको छानामा ठोकिन्छ र पानी छिट्टयाएको सुनिन्छ । पानीसँगै बिल्टुका पीडाहरू गायब हुन्छन् र सयौं दमित इच्छाहरू ब्युँझिएर आउँछन् । उसका सपनाहरू ब्युँझिन्छन् । बिल्टु खुसीले श्रीमतीलाई अँगालो हाल्छ । तर, ज्वरोले तातेको दुखिनीको अनुहारमा स्पर्ष हुनासाथ बिल्टुका सबै आवेगहरू सेलाउँछन् । ऊ स्थीर हुन्छ ।
बिल्टुको मन सिधा आकाशतिर उड्छ । आकाशमा ऊ र दुखिनी सँगै छन् ।
भख्खर वैशाख लाग्दै थियो र तराईमा सिरुवाको रमझम थियो । आजभन्दा १३ वर्षअगाडि उसले दुखिनीलाई देखेथ्यो । कालो अनुहारमा टल्किएका सेता दाँतका लहर, ठूला आँखा, सस्तो लिपिस्टिकले रंगिएका पोटिला ओठ र निलामा रातो बुट्टा भएको कुर्तासुरुवाल । त्यो रात ऊ कसै गरी निदाउन सकेन । उसलाई पहिलो नजरमा नै प्रेम भयो । त्यसको तीन दिनपछि उनीहरूले दोस्रो भेट गरे । तेस्रो भेटमा उनीहरूले सिनेमा हेरे । ती सबै क्षणहरू सपनाजस्तै भए । सिनेमा हेरेर बाहिर निस्किँदा रात छिप्पिँदै थियो । उसले पहिलोचोटि दुखिनीको हात समायो । त्यसको हप्ता दिनपछि उनीहरूले भागेर विवाह गरे । कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै एक्लो बिल्टुले आफ्नी दुखिनीलाई भित्र्यायो ।
बिहेपछि बिल्टुले ऐलानी जग्गामा आफ्नै झुप्रो हाल्यो । दुखिनीले आफ्ना चाँदीका गहना बेचेर ५ वटा हाँसका टिउला किनी । आँगनको डिलमा सुँगुरको पाठो खेल्न थाल्यो । यो पो हो जिन्दगी । बिल्टुलाई कसैले मायाले बोलायो । कसैले मायाले छोयो । कसैले मायाले हे¥यो । यो सबै पहिलोचोटि भयो । सबै एकैपटक सुरु भयो । बिल्टुको मन नाच्न थाल्यो ।
जीवनप्रति आशाहरू पलाए । त्यो बेलाकी रसिली, भरिली र मायालु दुखिनी सम्झिएर बिल्टुका आँखा रसाए । यो आईमाई उसका लागि कति महत्वपूर्ण छ, उसले अहिले बुझ्यो । आज बिल्टुलाई फेरि प्रेम भयो । यो प्रेममा उसले आफूलाई बिर्सियो, सोनालाल मालिकलाई बिर्सियो, मालिकको बाँझो खेत पनि बिर्सियो । उसले दुखिनीबाहेक सबै बिर्सियो । उसले फेरि दुखिनीलाई हे¥यो । अँध्यारोमा उसले आफ्नी दुखिनीलाई महसुस गर्यो ।
अर्धचेतमै दुखिनीले लोग्नेको भावना बुझी । उसले बिल्टुका खस्रा हातहरु कसेर समाती र आफ्नो छातीनेर लगी । छाती अलि छिटोछिटो चलेझैं थियो । उसले दुखिनीको शरीर सुम्सुम्यायो । पाखुरा, गर्दन र गाला तर जब गालामा उसका हात पुगे, ओहो दुखिनीको आँखाबाट आँसुको समुद्र बगिरहेको थियो । दुखिनी चुपचाप रोइरहेकी थिई । किन रोई दुखिनी ? किन बग्दैछ आँसु? उसले सबैभन्दा माया गरेकी आइमाइका आँखाबाट आज किन आँसु झरे? बिल्टुका हातहरू थामिए । उसले श्रीमतीलाई अँगालो मा¥यो र आफू पनि रुन थाल्यो । आजको रात आकाश, बिल्टु र दुखिनी सँगै रोए ।
...
रातिको पानीले किसानहरूमा नयाँ जीवन सुरु ग¥यो । सबै खेतमा पसे । तर, बिल्टुको मन आज खेतमा थिएन । उसको मन त मेलामा भेट भएकी त्यही दुखिनीतिर थियो । ऊ सेता दाँतहरू चम्काउँदै हाँस्थी र लजाउँदै दाहिनेतिर मुन्टो बटार्थी । बिल्टुलाई आज लाग्यो, उसले श्रीमतीलाई साँच्चै माया ग¥यो तर केही दिन सकेन । न साडी किनिदिन सक्यो, न त कंगन नै । ऊ पाउजुमा छम्छम् नाचेकी आफ्नी दुखिनी हेर्न चाहन्थ्यो । तर, अहिलेसम्म सपना अधुरै भयो । उसले काम त गरेकै हो, कता गयो रगत र पसिनाको मूल्य ? किन पूरा भएनन्, दुखिनीका सपनाहरू ? बिल्टुले जीवनमा पहिलोचोटि आफूसँग प्रश्न ग¥यो । आफैंसँग गुनासो गर्यो ।
मालिक उसका लागि आज निकै बिरानो लाग्यो ।
बिल्टुलाई आज गोरु जोत्न पटक्कै मन भएन । त्यसैले घाम अलि माथि नै थिए, बिल्टुले गोरु फुकाइदियो । सधैंजस्तो ऊ गोरुको पछिपछि लागेन । ऊ त कदमगाछी चोकतिर पो हानियो । उसले धनियाको दोकानबाहिरै उभिएर एक ग्लास रक्सी स्वाट्ट पार्यो । भिखनको माछापसलबाट उधारोमा मुग्री माछा लियो । माछा जिउँदै थिए । माछा ताजा थिए । ऊ घरतिर हान्नियो । ऊ छिटोछिटो आफ्नो झुप्रोमा पुग्न चाहन्थ्यो । आज ऊसँग रंगिन सपनाहरू थिए । नयाँ योजनाहरू थिए । यी सबै ऊ दुखिनीलाई सुनाउन चाहन्थ्यो । उसलाई हँसाउन र रमाउन चाहन्थ्यो । ऊ मालिकसँग भाग्न चाहन्थ्यो । गोरुसँग भाग्न चाहान्थ्यो । उसलाई मालिकको खेत हेर्न मनै भएन । ऊ त आफ्नै निजी साइकलमा बसेर सहरतिर पस्न चाहन्थ्यो । साइकलको अगाडि दुखिनी होस् । दुखिनीको स्पर्ष होस् । ऊ साइकलमा दुखिनीलाई हालेर लगातार लामो यात्रा गर्न चाहन्थ्यो ।
बिल्टुले मनमनै गम्यो, अब ऊ लेबरको काम गर्छ । आजैदेखि ऊ हलो बिसाउँछ । बरु सहरमा घर बनाउँछ ।
बिल्टु आँगनमा पुग्यो । झुप्रो उही थियो । आँगन र आँगनमाथिको पिँढी उही थियो । पिँढीको मध्यभागमा उसरी नै टीनको ढोका लागेको थियो र घर उसरी नै सुनसान र शान्त थियो ।
पुस्तौंपुस्तादेखि यी घरहरू सधैं यस्तै शान्त छन् ।
बिल्टुको सपनामा सानो घर, अलिकति बारी र फूलजस्ता बच्चाबच्ची थिए । स्वतन्त्रता थियो । ऊ जीवनमा पहिलोचोटि रमायो । आशाका नयाँ तस्बिरहरू मनमा नाचे र कानमा संगीतको मीठो धुन बज्न थाल्यो । आज त्यो संगीत ऊ दुखिनीलाई सुनाउन चाहन्छ । बिल्टु घरभित्र पस्यो । दुखिनी शान्त थिई । उसले आफ्नी दुखिनीलाई नियालेर हे¥यो । सबैभन्दा मायालाग्दी उसकी आइमाइ आँखा चिम्लिएर सुतेकी थिई । दुखिनीको आँखाको आँसु ओभाएको पनि थिएन तर उसको शरीर चिसो र मौन थियो ।
बिल्टु असहायझैं उभियो । उसका अगाडि कालज्वरले आक्रान्त आफ्नै सपनाको लास लम्पसार थियो । माछाहरू प्लास्टिकको झोलामा अझै छटपटाउँदै थिए ।