‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट मोटर पुग्यो’ भन्ने गीत हिट भइसकेको थियो।
तैपनि, कर्नालीको बाटो भोगिसकेका यात्रु भन्थे, ‘गाडी त जुम्ला पुग्ला, गाडीभित्रको मान्छे त कुन्नी!’
०६४ साल । पाँच वर्षपछि दसैंमा सबै पारिवारिक सदस्य भेला हुने योजना थियो । र थियो– स्नेह र प्रेमको कार्ड रिन्यु गर्ने सुवर्ण अवसर । दुई दिदी र बहिनी पाँच वर्षदेखि कालिकोट गका थेनन् । त्यसैले पनि आमा उत्साही हुनुहुन्थ्यो । घर पुगेर खसी काट्ने योजना बनिसकेको थियो । सबैभन्दा बढी दसैं रेडियो, टिभी र एफएमलाई लागिसकेको थियो । माहोलमा दसैं आइसकेको थियो । आफूलाई भने घर नपुगी के दसैं लाग्नु!
सुर्खेतबाट दाइले रिजर्भ जिप लैजाने योजना पनि बनाइसकेको रैछ । हाम्ले दसैंको मौसमको बसको भीडभाड र असह्य उल्टीबाट मुक्ति पाउने भयौं।
अघिल्लो दिन सुर्खेत वीरेन्द्रनगरमा, भोलिपल्ट कालिकोट जाने भनेर ठिक्क परिसकेका थियौं– भोलिपल्ट त दैलेखतिर टाप ठोकिसकेछ । यसरी दुई जिप बाचा गरेर पनि भागे । रुपैयाँ त उनीहरूले मागेजति पाएकै थिए तर किन टाप दिए?
पछि थाह भो, तिन्ले त कर्नालीको बाटोबारे थाहा पाएछन्।
धेरै सोधखोजपछि पन्ध्र हजार रुपैयाँमा एउटा जिप मान्मसम्म पुगिदिन राजी भयो।
बाटो बनेपछि व्यापारीका सामान ट्याक्टरले बोक्न थालेका थिए । त्यसैले मान्मको आकाशमा हेलिकप्टरले फन्का लगाउन छाडिसकेको थियो । नत्र, १५ हजारले त सबैजना ‘उडेर’ कालिकोट पुगिन्थ्यो।
‘अल्लि चाँडै हिँडियो भने साँझ नौ बजेसम्म त मान्म पुगिन्छ,’ जिप साहुजीले बिहानै भने । यिनी यात्राभरि साहुजी नै रहे । न त यिनले आफ्नो नाम भने, न मैले सोधेँ।
साउजीले फिक्का निलो कपडाको पाइन्ट, खैरो सर्ट र इस्टकोट लगाएका थिए । उनीसित ढाकाटोपी पनि थियो तर प्रायः इस्टकोटको दायाँ गोजीमा कोचिएको हुन्थ्यो । यस्सो हेर्दा उनी कर्नालीतिर हिँडेका सरकारी जागिरेजस्ता देखिन्थे।
पहिलोपल्ट २०५३ सालमा कैलाली चिसापानीबाट छदिने जंगल गुफा बसाइपछि भरियासित सातौं दिन मान्म पुगेको मलाई रत्तिभर आशा थिएन– गाडी चढेर मान्म पुगुँला भनेर । अचेल त वीरेन्द्रनगर बसपार्कमा बसको अगाडिपट्टिको प्लेटमा जुम्ला लेखेको देख्न पाइन्थ्यो । कर्नाली, नेपालसित गाँसिएको यो पहिलो र दह्रो चिह्न थियो।
यात्रा के भन्नु!
तैपनि यात्रा सुरु भयो, बिहानको साढे सात बजे । दिदी, दाइ, बहिनी र चारजना भान्जाभान्जी र म । दुई पुस्ता । सातआठ वर्षे भान्जाभान्जीको पहिलो लामो बसयात्रा । खुब रमाइरहेका थिए । पछि यी रुन्छन्, मलाई था थियो।
सुर्खेत बड्डीचौरसम्मको फराकिलो र सुविधाजनक बाटो हेर्दै दिदीले सोधिन्, ‘अगाडि पनि बाटो यस्तै राम्रो छ र?’
मैले भनेँ, ‘अगाडि बाटो होइन, लिक छ रेलको जस्तै।’
मेरो हातमा ‘हेन्डी भिडियो’ क्यामेरा थियो । दाइले रहरले किनेको । म परपर देखिएका पहाड र बाटो छेउछाउका तोरीबारी खिचिरहेको थिएँ । असोजका दिनहरू तोरी फुलेर पहेँलै भएका थिए । तोरीबारीले मलाई कैलालीको मटेरामा उछिट्टाइदिएका थिए । जहाँ म पहिलोपल्ट मान्छे भएर जन्मेको थिएँ । मान्छे हुनुभन्दा पहिले म के थिएँ हुँला ? म अन्टसन्ट सोचेर गम्भीर भइरहेको थिएँ । पहाडी चिसो बतास निर्लज्ज भएर शरीरभरि जताततै सल्बलाइरहेको थियो । सालघारीका पोथ्रापोथ्रीबाट अपरिचित जनावरहरू तर्सिएको र भागेको आवाज कहिलेकाहीँ आइपुग्थ्यो र जिपको तातो पांग्रामा चेपिएर मर्थ्यो।
दसैंको मौसम, क्लासिकल आर्टिस्टले बनाएको ल्यान्डस्केप वा म्युजिसियनले कम्पोज गरेको धुनजस्तो, कस्तो–कस्तो उराठलाग्दो भनुँ कि, खै कस्तो थियो कस्तो । यस्तो मौसम मलाई असाध्यै प्रिय लाग्थ्यो । जिपको थोत्रो प्लेयरमा नारायण गोपाल दमले सास फुलेजस्तो अड्की–अड्की गीत गाइरहेका थिए– केही ...म...मिठो बात गर...
उकालो सुरु भयो । नारायण गोपाललाई अझै गाह्रो भयो । साहुजीले प्याट्ट हान्यो । नारायण गोपालले भने ‘शुभयात्रा।’
र, चुप रहे ।
संगीतबिनाको यात्रा पनि यात्रा हुन्छ र?
मैले सोचेँ– यो भीरमाथि उडिरहेको जिपमा सुरतालबिनाका लोकदोहोरी झेल्नुभन्दा त यस्तै शुन्यता ठिक।
बड्डीचौरमा भर्खरै राखेजस्तो देखिने ‘यातायात समिति’को काउन्टरमाथि कालो वर्णको यौटा युवा गोडा हल्लाइरहेको थियो । जिप साहु ओर्लिएर त्यता मोडिए । मैले फर्किएर दिदी र दाइतिर हेरेँ । उनीहरूको कपाल काँस फुलेझैं सेताम्मे भएका थिए, धुलोले।
मैले आफ्नो कपाल हेर्न जीपको अगाडिपट्टिको सिसातिर चिहाएँ । म त पहिल्यै हिमाल भइसकेछु।
अचानक यातायात समितिको कालो वर्णको युवाले गर्जिएर भन्यो, ‘पछि यै बाटो त आउलास्, जाँठा।’
जिप साहुजी अमिलो र रातो अनुहार बनाउँदै आए र अघिल्लो सिटमा बसे । त्यसपछि जिपले ठुल्ठुलो स्वरमा सास फेर्न थाल्यो।
‘त्यल्ले जिपमा प्यासेन्जर राख्न भन्दैथ्यो । मैले रिजर्भ हो भनेँ,’ धेरै पछि साहुजी बड्बडाए, ‘बाटो बनिसकेको छैन, गुन्डागर्दी सुरु भइसक्यो । सालेको कानमुन्तिर चड्कन लाउन मन थ्यो।’
युवा ड्राइभर चुपचाप थियो, उसले साहुजीतिर पुलुक्क हेर्यो र पुरानै लयमा फर्कियो । सायद प्रेमिका सम्झिरहेको थियो ! कि विवाह भइसक्यो ? उसले धुलोबाट कपाल जोगाउन टाउकोमा ठूलो आकारको ‘लन्डन रुमाल’ बाँधेको थियो । ऊ निशब्द जिप लतारिरहेको थियो।
बिस्तारै बाटोले आफ्नो रङ देखाउन थाल्यो । कर्नाली नदीलाई तलै छोडेर जिप आकाशतिर उक्लिरहेको थियो । कहिले बाटो छ्यांग देखिन्थ्यो त कहिले जिप तुँवालोको घना जंगलभित्र हराउँथ्यो।
एकाबिहानको यात्राले खाली पेट बाउडिन थालिसकेको थियो।
अमिलो पानी मुखसम्म आइपुग्दा म कराएँ, ‘लौ यै हो त्यो ठाउँ।’
हो, यही ठाउँ त थियो, जहाँ अघिल्लो वर्ष म जिप दुर्घटनामा परेको थिएँ । ओरालोमा जिप ब्याक भएर पहरामा ठोक्किएको थियो।
सबैले हेरे । जिप पछारिएको ठाउँ सुनसान थियो । म जिउँदै छु र पनि सुनसान थियो, म मरेको भए ? सायद, यस्तै हुन्थ्यो । केही वर्षपछि ‘दुर्घटना’ जनाउन सडक विभागले एउटा साइनबोर्ड राख्थ्यो होला । त्यति त हो, जिन्दगी एक साइनबोर्ड।
म उदास भएँ।
...
जिप अगाडि बढ्यो । कर्नाली नदी धेरै तल ट्युबलाइटजस्तै मसिनो भएर टल्किरहेको थियो । धुलेबाटो कहिलेकाहीँ जिपका पांग्रामा ठोक्किएर डुंगाहरू गुरुरुरु खस्थे । गाडी बाहिर धुलो उड्थ्यो भने गाडीभित्र सातो । केटाकेटीहरू बसभित्र असन्तुलित लयका हिन्दी गीत गाइरहेका थिए । केटाकेटीका लागि त मामाघर यात्रा रमाइलो हुने भो । विचरा मामालाई पो आपत परिरहेछ।
धेरैपल्ट मैले सुन्दर प्रकृति क्यामरामा कैद गर्न बिर्सिएछु । काठमान्डुको धुलो, धुवाँ, असह्य भीडभाड र छट्पटीबाट बाहिर म मनमोहक प्रकृति नियालिरहेको थिएँ । जो सुन्दर सपनाभन्दा पनि मिठो लाग्थ्यो । हामी यति माथिसम्म आइपुगिसकेका थियौं कि बादलभन्दा माथि पहाडका तिखा शिरहरू हाम्रो स्वागतमा मुस्कुराइरहेजस्ता लाग्थे । ती उच्च पहाड, खोलानाला र जंगल अनि कतैकतै पाखातिर भेटिएका गोठाला केटाकेटी असाध्यै निर्दोष देखिन्थे । छलहीन, विषहीन र कुण्ठाहीन । जसलाई साँझबिहान र हिमालभन्दा अरू केही था थिएन।
जिप घ्याच्च रोकियो । अगाडि गठिलो युवकले हात ठड्याएको थियो । असिनपसिन युवक करायो, ‘गाडी चढ्न पाइएला कि?’
तिखा आँखाहरूले जिपका सिसापछाडि नियाल्यो।
जिपमा अगाडिपट्टि सिट खाली छैन । पछाडि राकमबाट अर्की दिदी पनि थपिने छिन्।
‘फ्यामली रिजर्भ हो,’ साउजीले धोद्रो स्वरमा भन्यो।
युवक आवाजको गाँठोले हिर्काउने शैलीमा बोल्यो, ‘के हाम्ले चढ्न नपाउने?’
‘बस आउँदैछ, त्यसमा आउनुहोला।’
‘पुलिस हुम्,’ फेरि करायो, ‘हाम्ले चढ्न हुन्न?’
‘मिल्दैन हजुर,’ साउजीले नम्र स्वरमा भने, ‘बच्चाबच्ची छन् । नयाँ मान्छे देख्दा डराउँछन्।’
‘के म भुत हुम् ?’ पुलिसको स्वर झन् चर्को भयो, ‘म के यिन्लाई खान्छु । पख्, तँ फर्केर आउने यै बाटो त हो!’
साउजीको अनुहार रातो भयो।
वास्तवमै यो देशमा पुलिसलाई ठूला हतार हुन्छ । मैले सोधेँ, ‘काँसम्म हो?’
‘तल्लो डुंगेश्वर।’
लौ त, बस्नुस् साप । नौ किलोमिटर त हो नि । अपरिचित मान्छेको प्रवेशपछि बच्चाबच्ची चुप । खोइ अरू पनि कोही बोलेन । पारिपारि डाँडाको टुप्पाछेउ, पहाडको गहिरो मौनतालाई कोतर्दै केवल एउटा जिप थर्थराइरह्यो।
तल्लो डुंगेश्वरमा पुलिसलाई बाटोछेउकै चौकीमा झारिदियौं । घाम तापेर बसिरहेका पुलिसलाई हात हल्लाउँदै ऊ नजिक गयो।
जिप उक्लियो, अगाडि।
‘साले माबादीको गोली नभेटेको !’ साउजी बर्बराए।
हाम्ले उनको कुरा नसुनेजस्तो गरिम्।
‘भात यतै खाने कि ?’ बहिनी धेरै पछि बोली । तर सबैले अगाडि खाने भनेपछि फेरि गहिरो मौनता छायो।
चिच्याउँदा–चिच्याउँदै थाकिसकेका थिए केटाकेटी । अचानक कहालीलाग्दो भीरमा जिप अड्कियो । न त अगाडि जान मिल्ने, न त पछाडि । लौ पर्यो फसाद । ओर्लिन खोज्दा साहुजी कराए, ‘लोड कम भएछि जिप हिँड्दैन, नउत्रनुस्।’
अब जिप गयो गयो भन्दाभन्दै बल्लतल्ल उक्लियो । तर, सबैको बाँकी मुटु त्यै भीरबाट तल गुर्कियो।
केही बेरपछि म केटाकेटीतिर फर्किएँ । तिनको अनुहारमा डरको कालो बादल मडारिइरहेको थियो । मैले भान्जातिर हेर्दै सोधेँ, ‘क्या हो भान्जा, डरायौ कि क्या हो?’
‘काँ, म डरा छैन,’ उनले रुन्चे आवाजमा भने।
म हाँसेँ।
एउटा सानो बजार आएपछि सबैको एउटै आवाज भयो, खाना नखाई त अब मुटु र आन्द्राभुँडी थर्थराउँदै जिपमा बस्न सकिन्न । र, परियो शरण।
‘दाल’ खोज्नुपर्ने दालमा भात चोप्दै घाँटीबाट तल धकेल्दै ‘लन्च’ खायौं।
फेरि घना पहाडी इलाका हुँदै जिप गुर्किरह्यो । बांगाटिंगा बाटाहरू । बाटोका दायाँबायाँ, तलमाथि सर्लक्क परेका सल्लाका रुख । माकुराका जाल र अनौठो गहिरो शुन्यता भरिएको जंगल । गएका दस वर्षमा यहाँ कति अपराध भए होलान् ? म भातको मातमा सोच्न थालेँ । र, एउटा सिनेमामा जासुस सर्लक होम्सले भनेको सम्झेँ– एकान्तमा सुन्दरताभन्दा बढी अपराध लुकेको हुन्छ।
जिप राकम पुग्यो, ट्रान्जिटमा । थकित जिप थर्थराउँदै शान्त भयो । अछामबाट आएकी दिदी अर्को जिपमा केही सोध्दै गरेको भेटिइन् । हामीलाई देखेर खिस्स हाँसिन् । चिया खाएर हिँड्ने तयारी हुँदै गर्दा, जाँडले लर्खराएको मान्छेझैं धङधङिदै एउटा जिप जुम्लातिरबाट आइपुग्यो।
‘कति दिन भो हिँडेको ?’ साहुजीले सोध्यो।
‘तीन दिन,’ खङरंग सुकेको पातजस्तो अनुहार बनाएर ड्राइभरले भन्यो, ‘बीचमा फसियो।’
‘अगाडि बाटो कस्तो छ?’
ड्राइभरले दुवै हातका औंला आपसमा जेलेर हत्केला उल्टाउँदै इसारा गर्यो, ‘यस्तै छ ।’ र, रुन्चे स्वरमा थप्यो, ‘जिप हिँड्दैन, घोडाझैं उफ्रिन्छ।’
साउजी खिस्रिक्क परे र प्रेमले आफ्नो जिप सुम्सुमाए । घोडाको गर्दन सुम्सुम्याएझैं।
‘त्यो पट्टा के भाको !’ अर्को जिपको ड्राइभरले जिपको पांग्राछेउ इसारा गर्दै भन्यो।
हाम्ले त्यतातिर हेर्यौं । लौ, ‘पट्टा’ त फुस्किएर अगाडि पो आइपुगेछ।
‘यस्कीमा,’ साउजी काँप्दै निहुरिए।
हामीले आतिँदै सोध्यौं, ‘कति लाग्छ, बनाउन?’
‘पाँच मिनेट,’ ड्राइभरले फुस्किएको पट्टा हेर्दै भन्यो, ‘एउटा किला कसे पुग्छ।’
तर, पन्ध्र मिनेट खोज्दा पनि किला भेटिएन।
सूर्यले पल्लो डाँडाबाट कर्नालीमा फाल हालिसकेको थियो । जलेर हो वा तातेर, कर्नालीको सुस्त सुस्केरा कानसम्म आइरह्यो।
जुम्लाबाट आएको जिपसित पनि किला रैनछ । खुट्टा बंग्याउँदै गयो।
आज मान्म पुगिन्छ भन्ने झिनो चुँडियो । ‘पाँच मिनेट’ भनेर बनाउन थालेको ‘पट्टा’ साढे दुई घन्टा बितिसक्दा पनि बन्ने छाँटकाँट देखिएन । समस्या बनेको थियो केवल ‘तीन’ रुपैयाँ पर्ने पेचकिला । जो अरू जिप र राकमभरि खोज्दा पनि पाइएन।
‘साला, दुःख पाइयो,’ साहुजी असिनपसिन हुँदै बर्बराए । बर्बराहट बढ्दै गएपछि कराए, ‘गाडी त जारले पनि नकिनोस् !’
...
धेरै पर्खिएपछि बल्ल एउटा जिप आइपुग्यो सुर्खेतबाटै । बाढीपीडिततिर थोत्रा लुगा फालेझैं त्यसले हामीतिर पेचकिला फाल्यो । त्यो जिप पनि मान्मकै लागि हिँडेको रैछ । जिपको पछाडिपट्टि काठमान्डुका ब्वाइलर कुखुरा जसरी चाङमाथि चाङ लगाएर ल्याइएका रैछन्, मान्छेहरू । खातमाथि खात, मान्छेहरू न्याकिएर अर्धबेहोसजस्तै थिए । धुलो र अँध्यारोले चिन्ने आँट गरिएन।
साँझको सात बजिसकेको थियो । अँध्यारो फ्याउराको बथानझैं दगुर्दै राकम बजार आइपुग्यो।
दुई जिप सहयात्री भएर हिँड्ने भए । पछि आएको जिप अघि लाग्यो । त्यस जिपको पछाडिपट्टि फेरि सोह्रसत्र थान मान्छे चाङ लागे । खलासीले पछाडिको आँखीझ्यालजस्तो ढोका ढप्काइदियो र लगाइदियो ताल्चा । ढोका अत्यन्त कमजोर देखिन्थ्यो र साना खाल्डाखुल्डी आए पनि थरर्र हल्लिन्थ्यो, उकालोमा ह्वात्तै खुल्लाजस्तो । त्यसभित्रका मान्छेहरू गहिरो मौनतामा कैद थिए । हामीले त्यस जिपको नामकरण गरिदियौं– मोबाइल कारागार।
अँध्यारोमा धिपधिप बल्दै जुनकिरीजस्तै जिप लहरै घिस्रिरहेका थिए । सडक घोडेटोको हैसियतमा ओर्लिंदै थियो । मुल फुटेर सडकबीच पानीको ताल जमेको थियो । सडकको मलिलो माटोमा अजंगका ट्याक्टरले दुइटा गहिरा कुलकुले खोला बनाएका थिए । तिनको छेउछाउ रेलका लिकजस्ता मसिनो बाटोमा टेक्दै जिप हिँडिरहेका थिए । जति माथि गयो, जिपलाई ठसठस बढ्दै गयो । हामीलाई डर, साउजीलाई रिस र ड्राइभरलाई एकाग्रता । जिपको रफ्तार, आठ । जिप त हाँसजस्तै ढलक–ढलक हिँड्न थाल्यो।
सडकको बीचमा ठूलो खाल्टो आयो । जिप जोगिएर हिँड्न थाल्यो । सिंगै हात्ती अट्ने यो खाल्टो कसरी बन्यो होला ? के लामपुच्छ्रेतारा खसेथ्यो?
खाल्टो पार गरेर अघिल्लो मोडमा पुग्दा अघिअघि हिँडिरहेको जिप त परै पो पुगिसकेको रैछ । धर्मराउँदै उकालो चढिरहेको थियो । यस्सो हेर्दा जिपलाई चन्द्रमाले हात समाउँदै माथि तानेजस्तो लाग्थ्यो।
र, एकैछिनमा जिप फुच्चे ताराझैं अलप भयो।
अगाडि प्रकट भयो– भीमकाय बस । बसभित्र र छतमा पृथ्वीभरिका मान्छे जम्मा भएर बसेजस्तै लाग्थ्यो। अघिपछि खुब होहल्ला हुने बस ढलक–ढलक हिँडिरहेको थियो । र, बसमा थियो, चीर शुन्यता । सायद मान्छेहरू त्रासले बोल्न पनि सकेका थिएनन् । बस कहिलेकाहीँ भीरतिर नब्बे डिग्री ढल्किन्थ्यो र पनि हिँड्थ्यो।
हे भगुमान, अब बस भीरबाट खस्यो खस्यो । हामी सास थामेर हेर्थ्यौं । एउटा अनिष्टको प्रतिक्षामा बसेजस्तो बसको पछि–पछि घिस्रिरह्यौं।
धेरै पछि माइलीदिदीले सुस्केरा हाल्दै भनिन्, ‘कस्तो बाटो हो, छिः!’
शब्दमा त्रास र आक्रोश मिसिएको थियो।
‘मैले भनेको थिएँ नि अगाडि, बाटो होइन लिक छ,’ म हाँसेँ।
‘यो बाटो त के खराब !’ अलि अघिसम्म सर्पले सुँघेजस्तै मौन साहुजीले आफ्नो वीरगाथा सुनाए, ‘जुम्ला जाँदा त यस्तो खराब बाटो रैछ, मैले यताउता हेर्न नसकेर आँखामा कालोपट्टी बाँधेँ र ड्राइभरलाई भनेँ, ‘लौ त भाइ, जे गर्नु छ, गर।’
साहुजीको कुरापछि कसैले बोल्ने आँट गरेन।
रातको करिब दस बजे ‘खिड्किजिउला’ पुगेपछि जिपले सास फेर्न छोड्यो । अब योभन्दा उता जान ‘आर्मीको पास चाहिन्छ, त्यो साँझ छ बजेपछि पाइन्न’ भन्ने सूचनासहित ड्राइभरले टाउकोबाट ‘लन्डन रुमाल’ फुकायो । एकपल्ट ‘काल’ को पानीपेटमा लात्ती हिर्काएजसरी ‘मस्त’ मुस्कुरायो।
कालिकोट र अछाम छुट्याउने सिमाना खिड्किजिउला पुगेपछि कालिकोट आइपुगेको अनुभूति हुन्थ्यो । एक वर्षमै सडकछेउछाउ होटेल खुलिसकेका रैछन् । ‘यहाँ, आउनुस्, खाना खाए बस्न फ्री,’ यस्ता नयाँ–नयाँ स्किम सुरु भसकेछन् । हामी भर्खरै खुलेजस्तो देखिने होटेलमा बस्यौं।
पैला–पैला पैदलयात्रामा, बास बस्दा लोकल कुखुराको मासु र भात खाने आफ्नो पुरानो बानी फेरि जागृत भयो।
ग्राहक आएपछि खुसीले यताउता गरिरहेकी साहुनीले मुस्कुराउँदै सोधिन्, ‘कुखुरा काटौं?’
ठूलो बटुकामा ठुल्ठुला मासुका चोक्टा र पिरो झोल सम्झँदै भनेँ, ‘हुन्छ।’
‘म पकाउँदै गर्छु तपैंहरू सुस्ताउँदै गर्नुस्’ भन्दै साहुनीले हामीलाई कोठा देखाइन्, घरको छेउमै । त्यो भर्खरै स्याउला र निगालाले बारेको एउटा आलो कोठा थियो । जहाँ हामी एघार थान चपाईं वंश छरिएर ढल्कियौं। भित्ताबाट भर्खरै लिपेको गोबरको गन्ध असह्यै हुनेगरी नाकमा ददारिन आइपुगेको थियो । बाथरुम रैनछ। दिसा–पिसाब मान्छे, अँध्यारो र सर्प हेरेर।
कसैले ढोकामा आएर भन्यो, ‘खाना पाक्यो।’
भोकले रन्थनिएको म हुर्रिंदै बाहिर निस्किएँ । होटेलछेउमै रसाएको पहाडबाट धारा बनाइएको थियो । चिसो पानीले हात धोएँ । भर्खरै ताछेका फल्याकको बेन्च र टेबुल बनाइएको थियो, होटेलको दैलोछेउमा । जसबाट काँचो काठको गन्ध मन्द–मन्द आइरहेको थियो । लालटिनको उज्यालो फैलिरहेको थियो । हामी लहरै बस्यौं।
भित्रपट्टि ड्राइभरहरू रक्सीको मातमा चर्काचर्का कुरा गरिरहेका थिए।
साहुनीले फटाफट हाम्रा अगाडि बाफ उडिरहेको तातो भात राखिदिइन् । तरकारीसितै साहुनीले थालको दायाँपट्टि एउटा सानो प्लेटमा अँगारजस्ता कालाकाला चारवटा टुक्रा राखिदिइन् । छामेँ, असाध्यै चिसा रैछन्, गिला–गिला । ठम्याउन सकिनँ । भोकले सबैले पकापक भात खान थाले।
म भने तात्तातो मासुको झोल पर्खिरहेको थिएँ।
साहुनी पानी लिएर आइन्।
‘दिदी, मासु तयार भएन ?’ मैले सोधेँ।
उनले छक्क पर्दै भनिन्, ‘त्यहीँ त छ नि!’
म छक्क।
‘काँ छ ?’ मैले कटौराहरूतिर हेरेँ।
‘त्यैं त छ’ भन्दै उनले अघिका अँगारका जस्ता डल्ला देखाइन्।
खित्तित्त हाँस्दै दिदीहरूले भने, ‘लौ खा।’
खै, के खानु ! मेरो मन असाध्यै अमिलो भएर आयो, लप्सीको अचारजस्तो।
सोचेँ– ह्याँ पनि जिप र ट्याक्टर पछाडि झुन्डिएर सानो सहर आइपुगेछ । बालक सहर मलाई हेरेर कुटिल हाँस्यो । म उसको बैंस सम्झेर थरर्र काँपेँ।
न मिठो खाना न त राम्रो ओछ्यान । थोत्रा लुगाको ओछ्यानमा ढल्किएपछि शरीरभित्र हड्डीका जोर्नीबाट धुवाँ फुसुसुसु निस्केजस्तो भयो । खै के निदाइएला भन्दाभन्दै निदाइएछ । कतिबेला निदाएँ, पत्तै भएन।
हल्लाखल्लाले निद्रा खुल्यो । घडी हेरेँ– सवा पाँच भैसकेको रैछ । गाडीहरू घ्यार्रघ्यार्र ‘गुडमर्निङ’ भन्दै कराउन थाले । म बाथरुम गएँ, मान्छे र सर्पसित बच्दै । मान्छेहरू बाथरुम जान पहाडका कुनाकाप्चातिर दगुरिहेका थिए।
हगेरै पहाड खराब बनाउने भए।
...
हाम्रो जिप धुलोले भरिएको थियो । टाढाबाट हेर्दा तराईको घना जंगलमा देखिने हात्तीजस्तो । ड्राइभर माउतेझैं गाडीभित्र बसेको थियो । उसको अनुहार एकरातमै खप्लक्कै सुकेजस्तो लाग्थ्यो।
साउजी आफ्नो जिपलाई प्रेमले नियालिरहेका थिए । ठ्याक्कै निमोनियाग्रस्त भएर घ्यार–घ्यार गरिरहेको वर्षदिनको छोरोलाई नियालिरहेको बाबुजस्तो।
हामी जिपनेर पुग्यौं।
‘मामा, आज हिँडेरै जाम्,’ भान्जाले जिपतिर हेर्दै याचना गरे।
भान्जासँगै सबै केटाकेटी केही तर्सेजस्ता देखिएका थिए । सातो त हिजै राति गएछ । हिँडेरै जाम् भन्दै खुट्टा बजार्न थाले।
‘हिँडेर गयो भने त भोलि पुगिन्छ,’ मैले सम्झाएँ, ‘घर आजै पुग्ने कि भोलि?’
एकछिन सोचेर सबैले भने, ‘आजै पुग्ने।’
‘त्यसो भए बस जिपमा।’
सुसाइड नोटमा हस्ताक्षर गरेर आत्महत्या गर्न हिँडेझैं सबै जिपमा उक्लिए।
अगाडिको बाटो वर्णन गर्ने सामर्थ्यका शब्द छैनन् । सौ जिब्रो भएको शेषनागले पनि कुन्नि । बाटो त केवल पहाड खोस्रेजस्तो । जिप उक्लिनुअघि मैले सुनेँ– सडक विभागले त ‘पास’ पनि गरेको छैन रे । यो त ‘डमी’ हो । जानकारीमाथि जानकारी थपिए । केही भएर गाडी सुत्त कर्नाली गयो भने जिम्मा कसैको छैन । कसैले सुनायो, बिमा पनि छैन।
‘तँलाई बिमा ?’ मुक्का बर्साइदिउँजस्तो।
जिप हिँड्यो।
अगाडि त बाटाभरि ढिस्कैढिस्का । जिप एकछिन अडिन्थ्यो, घ्यार्रघ्यार्र शक्ति सञ्चय गर्थ्यो र हामफाल्थ्यो, घ्याच्च । बल्ल एउटा ढिस्कोमाथि पुग्थ्यो, जिप । अलि अगाडि फेरि त्यस्तै ढिस्को । आज भने हाम्रा अगाडि ‘बस’ हैन, अर्को ‘जिप’ थियो । जिपमा अग्ला र मृदुमुस्कानधारी गोरा साहेब विराजमान थिए । एनजिओकै होलान् । सबैभन्दा बढी एनजिओ भएको राज्यमा अरू कल्पना पनि त गर्न सकिन्न।
त, यी गोरासाहेब रातभरि होटेलहरूमा ‘होटल’ खोज्दै हिँडेछन् र जिपमै सुतेछन् । खिड्किजिउलामा दिसा पनि गरेनन् रे । झाडीमा सर्प हुन्छ भनेर कसैले भन्देछ । आँटै गरेनछन् । मिनरल वाटरको बोतल बोकेर गएका थिए, त्यत्तिकै फर्केछन् । यिनले सुर्खेत–जुम्ला यात्राको तेत्तिस हजार रुपैयाँ जिपलाई तिरेका रैछन्। जिप थियो– शिघ्र स्खलन हुने पुरुषजस्तो, सानो ढिस्को आयो कि फ्वाँफ्वाँ।
जिप चाँडो हिँड्ने छाँटकाँटको थिएन । उछिनेर अगाडि जाने बाटो थिएन । आफैं त त्यो जिप साँघुरो बाटोमा बल्लतल्ल हिँडिरहेको थियो– ओभरटेक गर्ने खोज्यो भने सिधै कर्नालीको माछा खान पुगिन्थ्यो।
हेर्न त रमाइलो नै थियो । जब अल्लि अप्ठ्यारो भीर आउँथ्यो, गोरासाहेब ओर्लिन्थे । लामो समय लगाएर जिप मोडिन्थ्यो । हुन त स्वाट्ट घुम्ती मोड्ने बाटो पनि थिएन । एउटा मोडमा तीनपल्ट गाडी ब्याक गर्दै, ओटी राख्दै, विस्तारै मोड्नुपर्ने । स्वात्त चिप्लियो कि ह्वात्त कर्नाली।
जब जिपले अप्ठ्यारो मोड पार गर्थ्यो, गोरासाहेब चढ्थे।
जिपहरूको हालत झन् खराब हुन थालेको थियो । कहिले जिपका भित्री पाटपुर्जा बेस्सरी बज्थे त कहिले पूरै जिप थरर्र काँप्थ्यो । मान्मको धामी पतुरेजस्तो।
भान्जाभान्जीको सातो गइसकेको रैछ । ती दिदी, दाइ र मेरो काखमा घोप्टो परे । विचरा, अगाडिको भीर र ढिस्को हेर्न नसक्ने भएका रैछन् । जब भीर आउँथ्यो, भान्जा मेरो काखमा घोप्टो पर्थे र पाँचछ मिनेटपछि सोध्थे, ‘मामा, गयो?’
एकछिनमा ढिस्को कटेपछि म उनको शिर थपथपाउँदै भन्थेँ, ‘उठ भान्जा, गयो।’
भान्जा शिर उठाएर झ्यालबाहिर हेर्थे । एक्कैछिनमा अर्को ढिस्को आउँथ्यो । उनी अनुहार कालो बनाउँदै कराउँथे, ‘फेरि अर्को आयो ।’ अनि, मेरो काखमा घोप्टो पर्थे।
भर्ताको डाँडाको छातीछाती जिप हिँडिरहेको थियो । अगाडि यात्राको सबैभन्दा भयावह ढिस्को थियो।
जिपहरू करिब सय मिटरको दुरी राखेर ढिस्कोमाथि हाम फालिरहेका थिए । यदि जिप स्पिडमा ब्याक आयो भने ठोकिन्छ भनेर होला । बाटोभरि मसिना ढुंगा थिए, तिनले जिप चिप्लाइरहेका थिए।
अब पालो आयो, गोरा साहेबको जिपको । गोरा साहेब जिपबाट बाहिर निस्के । ढिस्कोले सातो लिएर होला, जिप चढ्नुअघि नै काप्न थाल्यो । खलासीले घ्यार्र–घ्यार्र गर्दै उक्लिरहेको जिप पछाडि सर्यो कि टायरमा ओटी राख्थ्यो।
चिप्लेकिराको गतिमा जिपले ढिस्को नाघ्यो । खिस्स हाँस्दै गोरासाहेबले हाम्रो जिपतिर हेर्दै हात हल्लाए । शुभकामना देका होलान्।
अब पालो आफ्नै जिपको । जिप नयाँ भएरै होला, एकपल्ट जंगली हात्तीझैं करायो र घोडाझैं उफ्रिँदै दगुर्यो। म अघिल्लोपल्ट यस्तै उकालोबाट जिप ब्याक आएर धन्नै मरेको मान्छे । मुटु त मुखमै आउलाजस्तो भो । भान्जाभान्जी काखमा घोप्टो परे।
जिप यत्ति स्पिडमा थियो कि ढिस्कोलाई नाघ्न त नाघ्यो तर आकाशबाट खसेझैं थचारियो । झ्वाट्ट पछाडिको ढोका उदांगो भो । मैले स्वाट्ट हेरेँ । आँखाभरि परपरसम्म फैलेको तिलानदी थियो।
सातो गएर होला, कसैको बक फुटेन ।
ड्राइभरले जिप बन्द गर्यो । साहुजी हुत्तिँदै बाहिर निस्के । ढोका हेरे र कराए, ‘लक भाँच्चेछ।’
ड्राइभरले रस्सीले बाँधेर ढोका बन्द गरिदियो।
जिप हिँड्यो, बिस्तारै–बिस्तारै।
अल्लिपर ओरालो थियो । थाम्दाथाम्दै जिपको स्पिड बढ्यो । जिप एकपल्ट फेरि बेस्मारी थर्थरायो । जे भए पनि साहुजी त साहुजी नै हुन् । साउजीको पीडाको पित्तथली मुखैमा आएर प्याट्ट फुटेछ । ड्राइभरतिर हेर्दै बर्बराए, ‘एले त नजाऊ भनेकै हो । मैलाई आउनुपर्ने।’
एकदम सचेत भएर ड्राइभ गरिरहेको ड्राइभरले निलो अनुहार लाउँदै उनीतिर हेर्यो र मुन्टो हल्लायो।
मध्याह्नमा जिपले कर्नाली पार गर्यो । एउटा पुरानो मुलुकमा नयाँपुलबाट जिपले टेक्यो । परार साल मैले यतै ‘तुइन’ मा झुन्डिएर कर्नाली तरेको थेँ। म एकछिन भावुक भएँ । तर, भावुकता एक्कैछिनमा गयो। टाउको टनटनी दुख्न थाल्यो।
अगाडि सानो खोल्सो थियो । त्यहाँ त एउटा होइन, लहरै तिनटा ट्याक्टर फसेका रैछन् । रमितै थियो । खोलाको डिलडिलमा सर्कस चलेझैं मान्छेको गुजुप्प भीड थियो।
सानोतिनो जाम नै सुरु भैसकेको रैछ । हाम्रो जिप धेरै पछि पर्यो । म जिपबाट बाहिरिएँ।
ट्याक्टरको हालत जिपको भन्दा खराब रैछ । बिचरा पछाडि ट्रलीमा कुन्टल सामान बोकेका थिए । तिनका दुइटा ठुल्ठुला पांग्रा जमिनमा भासिएका थिए । जब ट्याक्टर खोल्सामाथि उक्लिन जोडले कराउँथ्यो, ठुल्ठूला दुइटा पांग्रा फनन्न घुम्थे, अगाडिको मुख जुरुक्क उचालिन्थ्यो । ठ्याक्कै सुँगुरले थुतुनो नचाएजस्तो । पांग्राबाट पिरो धुवाँनिस्किन्थ्यो । र, ट्याक्टर स्खलन हुन्थ्यो।
ट्याक्टरको थुतुनो यताउता मच्चिन थालेपछि दुई मानिस थुतुनोको तौल बढाउन ख्याप्प अगाडि बसे । तर, ती बिचरा त थुतुनोसितै मच्चिए । ठ्याक्कै सर्कसमा पिङ खेलेजस्तो । ती हाँस्दै र अलिअलि डराउँदै तल झरे।
गोरासाहेब माथिल्लो ढिस्कोमा उभिएर सबै हेरिरहेका थिए । आफ्नो नियतिमा हो या ट्याक्टरको गतिमा, मुसुमुसु हाँसिरहेका थिए । जब ट्याक्टरले माथि उक्लिनबल गर्थ्यो,उनी मुठी कस्थे, जब ट्याक्टरले लत्तो छाड्थ्यो, उनी एकपल्ट फनक्क घुम्थे । मुख बिगार्थे।
नियति त चिलले माछा कुरेजस्तो जिप कुर्नुपर्ने भयो । कर्नालीको फेदबाट एउटा सिंगो पहाड उक्लिनुपर्थ्यो, मान्म पुग्न । अत्यन्त गाह्रो उकालो । पापी छ यो उकालो– सबै भन्थे । दिनभरि रुङेर बस्नुभन्दा त हिँड्नु नै बेस लाग्यो । फेरि, ‘नयाँसडक’ जिपबाट राम्ररी हेर्न पनि पाएको थिइनँ । पैदल हिँड्दा सडक राम्ररी हेर्न पाइने र यत्रो पहाडमा आएपछि त अलिकति उकालो उक्लिउँभन्ने लाग्यो । चल भाइ जुजुमान । म हिँडेँ, एक्लै–एक्लै।
कर्नालीबाट पहाड उक्लिएको चिसो बतास मेरा कानका लोती छुँदै सदरमुकाम हिँडिरहेको थियो । त्यसैको पछिपछि थिएँ, म । पहाडका तिखा–तिखा दाँतजस्ता ढुंगाहरूमा अल्झिएका थिए, गाउँहरू । जहाँटेके पनि ढुंगैढुंगा, माटो भेट्नै गाह्रो । म तिनलाई नियाल्दै ढुंगेधाराको पानी पिउँदै उक्लिरहेँ । बीचमा केही घट्ट पनि भेटिए, तर ती सबै बन्द भइसकेका रैछन् । घट्ट सुनसान देखिए । खालीपेट उकालो हिँड्दा पेटका आन्द्राभुँडी बटारिन थाले । के खानु, ढुंगाबाहेक केही छैन।
एक घन्टापछि अग्लो ढिस्को उभिएर मुन्तिर नियालेँ, धुलो उडाउँदै जिपहरू माथि आइरहेका थिए । मान्मको उदांगो डाँडामा ठूलै हुरी चलेजस्तो देखियो । यस्तो दिनको कल्पना त कहिल्यै गरेको थिइनँ, मैले। यै मान्ममा पढ्न बस्दा।
म बाटोको डिलमा उभिरहेँ।
अल्लिबेरमा जिपहरू माथि नै आए । पहिलो रैछ, तिनै गोरासाहेबको । पछिल्लो हाम्रो । हप्प गर्मीले थकित भएको म जिपमा बसेको पाँच मिनेटमै अघिल्लो जिप उकालोमा अल्झियो । त्यो जिपभन्दा अगाडि लहरै तीनवटा ट्याक्टर फसेका रैछन् । अब भने माथि डाँडामा जिप चढेर पुगिने छाँटकाँट देखिनँ।
‘कालिकोटे नसुध्रिएसम्म,’ एउटा ट्याक्टरको ड्राइभर बिरामी बकुल्लाजस्तो चिच्याइरहको थियो, ‘अब कालिकोट आइँदैन ।’
ऊ आफ्नो घाइते ट्याक्टरतिर हेरिरहेको थियो, बाटोको डिलमा बसेर । बाटोभरि पानी जमेर आहाल भएको थियो । आहाल बसेका थिए, दुई ट्याक्टर । ड्राइभरहरू सोच्दा रहेछन्, छेउका होटेलवालाहरू जानी–जानी बाटोमा पानी फाल्छन्– गाडी फसेपछि खाजा र खाना आफ्नै होटेलमा खान्छन्, भनेर । हुन पनि, ट्याक्टर फसेकै ठाउँमा टन्नै होटेल खुलेका थिए।
गाडी चढेर बजार पुग्ने मेरो सपना यो पल्ट पनि पूरा हुने भएन । केही सपना अत्यन्तै अल्छीलाग्दा भइदिन्छन्।
आठ वर्षअगाडि मैले पढेको पञ्चदेव उच्च मावि पनि आइसकको रैछ । स्कुलबाट त म तीनवर्ष उकालोमा कुदेकै थिएँ । हिँड्न गाह्रो होलाजस्तो लाएन । स्कुलका पुराना दिन सम्झँदै अनौठो असफल प्रेम, झगडा र मेहलको रुखलाई फेरि एकपल्ट अनुभूतिमा संगाल्ने इच्छाले म हिँड्ने नै भएँ।
‘मामा, हामी पनि जाने’ भन्दै केटाकेटी पछि लागे।
केटाकेटी भोकले रन्थनिएका थिए, तिनलाई डोर्याउँदै उक्लिएँ । तिनीहरू पनि ‘माउन्टेन–माउन्टेन’ भन्दै हिँडे । अतितको उही रोमाञ्चक बाटोले मलाई माथिमाथि हुत्ताइरह्यो । तर, स्कुल पढ्दाको बाटो उस्तै लागेन । कहीँ कतै केही नपुगेझैं लागिरह्यो । सायद, मसित स्कुल पढ्दाका जस्ता रुमानी रहर साथमा थिएनन् । ती साथीहरू थिएनन् । बीचबीचमा पुरानो बाटोमाथि नयाँसडक लम्सार परेको पनि देखियो । सायद, नयाँ सडकले मेरा पुराना पदछाप मेटिदिएको थियो।
मैले काठमान्डुमा छँदा पनि बेलाबेला सम्झिरहने मेहेलको रुख कतै थिएन । काटिएछ । जसको फेदमा बसेर म चिसो बतासले छाती सेक्दै रुमानी सपनामा डुब्थेँ । र, त्यहाँ पुरानो बतास पनि थिएन । सायद, रुख नभएपछि बतासले पनि बसाइ सर्छ।
बल्लतल्ल मैले पहाड उक्लेँ । डाँडाको निधारमै आमा बाटो हेरेर उभिनुभएको रैछ । एक्लै । सायद, बा जिउँदै भएको भए उहाँ पनि यसरी नै बाटो हेरिरहनुहुन्थ्यो।
मन अमिलो भो।
आखिर जति अग्लो पहाडको तालुमा उभिए पनि अतितहरू पछाडि नछुट्ने रैछन्।
चार थान नातिनातिना उहाँलाई सुम्पिएँ । आमा हर्षले बोल्न सक्नुभएन । मसित भने बोल्नलाई शब्द र सास थिएन।
‘कान्छा,’ मौन आमाले सोधेजस्तो लाग्यो, ‘आइपुगिस्?’
भयानक ठूलो समरबाट जिउँदै फर्किएजस्तै मैले भनेँ, ‘हो आमा, म आएँ।’
आमाले आँसु पुछ्नुभो।
मैले आँसुका खुट्किला टेक्दै उहाँका आँखामा प्रवेश गरेँ।
...
दाइ, दिदी र बहिनीहरू पनि साँझसम्म पालैपालो घर आइपुगे । जिप पनि साँझतिर जिरो पोइन्टमा आइपुगेछ । गोरासाहेबको जिप भने थलै परेछ । कालिकोटबाट माथि जानै नसक्ने भएछ । गोरासाहेबले हामी आएको जिपलाई मान्मदेखि जुम्ला पुर्याएको बीस हजार दिने कुरा गर्दा क्रुद्ध साहुजीले भने रे, ‘जुम्ला त के, अब एक मिटर पनि माथि जान्नँ । यो जिप जति थचारिन्छ, मेरो मन उति दुख्छ।’
मान्म आइपुग्दा भित्रभित्र सारा पाटपुर्जा हल्लिएको जिप हेर्दै उनी बर्बराएछन्, ‘अब कालिकोट त चालिस हजार दिए पनि आउन्नँ । लौ जा।’
...
राति लालटिनको उज्यालोमा आमाले भन्नुभो, ‘सबै एउटै जिपमा हिँड्छौ भन्ने था पाएर त मेरो हंसले ठाउँ छाडेको थ्यो । बरु दुइटामा आउनू । एउटा कर्नालीमा खसे पनि अर्को त रन्थ्यो । अब यस्तो कहिल्यै नगर्नू।’
यसरी त घर पुगियो । म थकित थिएँ । ओछ्यानमा पल्टेर सोचिरहेँ, बल्ल आइपुगियो । फेरि फर्किनु त छँदैछ । फर्किनु कसरी?