२०१४ सालको कुरा हो, हाम्रो स्कुल (जुद्ध मा.वि.)मा लक्ष्मीप्रसाद देवकोटा आउने चर्चा चल्यो। त्यतिबेला म नौ कक्षामा पढथें। देवकोटाका बारेमा धेरै सुनेको थिएँ तर देखेको थिइन्।
उनका बारेमा चल्ने थरी थरी चर्चाले उनलाई कतिबेला देखौंला जस्तो लागेको थियो मलाई। तर उनलाई देख्ने मेरो सपना पुरा भएन। त्यस दिन हाम्रो स्कुल नआएर उनी डा. केआइ सिहसँगै दरबार गए रे। त्यसको १० / १२ दिन पछि मन्त्री भए। त्यसपछि देवकोटालाई देख्ने दिन जुरेन्। १६ सालमा उनको निधन भइहाल्यो।
मेरो बुझाइमा देवकोटा नेपाली साहित्यका अलौकिक प्रतिभा हुन्। उनी सामान्य भइकन पनि असामान्य थिए, असामान्य हुँदाहुँदै पनि सामान्य थिए। जे थिए विलक्षण थिए।
तर बजारमा उनका बारे जति कुरा छन्, सबै सत्य छैनन्, धेरै कल्पना मिसाइएका छन्। उनका बारे जति कुरा लेखिएका छन् बढाईचढाइ गरिएका छन्।
देवकोटा अहिलेको पुस्तालाई मिथक जस्ता लाग्छन् कतिपय सन्दर्भमा उनलाई मिथक बनाउने पनि गरिएको छ। देवकोटाको खानपिन आनीबानीका बारेमा थोरै सत्य धेरै भ्रम मिसाएर बजारमा चर्चा चल्छन्।
सबैभन्दा बढी चल्ने चर्चा 'लक्ष्मी पुजाका दिन जन्मिए। लक्ष्मीप्रसाद नै नाम थियो तर बिचरा, जीवनभर गरिब भए। लक्ष्मीले उनलाई कहिल्यै हेरिनन्।'
मेरो विचारमा त्यो समयमा देवकोटालाई जति लक्ष्मीले हेरिन, अरु कसैलाई हेरिनन्। सरकारी हाकिमले वार्षिक तलब १२ सय पाउने बेलामा देवकोटा महिनाको १५ सय कमाउथे। १९ जना राणाको घरमा टिउसन पढाउँथे। उनका दाजुभाइ सबै शिक्षित थिए।
पढाउने काम गर्थे। पैसा देवकोटाले कमाए, तर जोगाएनन्। सन्तानका लागि भनेर थुपारेनन्। कसैले माग्यो भने दिए, साथीभाइलाई खुवाए। र पनि पैसा आउने बाटो रोकिएन। त्रिचन्द्र कलेज पढाउने र मन्त्रीसमेत भएका देवकोटा चर्चा गरिए जति गरिब थिएनन्। उनले पैसालाई महत्वमात्र नदिएका हुन्।
घरव्यवहार व्यवस्थित नभएको हो। माग्यो भने अरुलाई कविता नै दिने देवकोटाका लागि पैसा बाँड्नु ठूलो कुरा पनि भएन्। उनको नजरमा पैसा गौण चिज थियो। चलिआएको घरव्यवहार बोझ थियो।
उनी विद्रोही थिए तर राष्टवादी। केही समयसम्म उनले राणाशासकलाई पनि खुसी बनाए। किन बनाए, उनले कारण दिएनन्। २००३ सालमा राणाको स्तुतिमा उनले 'हर्षोदगार' कविता लेखे। शारदा पत्रिकामा त्यो कविता नौ भाषामा छापियो।
२००३ पछि राणाहरु उनीसँग चिढिए। किन, उनले कसैलाई भनेनन्। सायद देवकोटा आफ्नो अस्तित्व चाहन्थे। राणाहरु उनलाई स्तुति लेखाउन चाहन्थे। राणा भएकैले नाटककार बालकृष्ण सम पनि देवकोटालाई तिमी भनेर सम्बोधन गर्थे।
पछि वनारसमा गएर उनी युगवाणी पत्रिकाको सम्पादक बने। पत्रिका कांग्रेसले निकाल्थ्यो। पत्रिकामा उनले डायमण्ड कुकुर शीर्षकको कविता लेखे। कविता राणा शासकलाई लक्षित थियो।
शासकसँग सम्बन्ध सुमधुर हुन नसकेकाले नै होला विलक्षण प्रतिभा हुदाँहुँदै पनि देवकोटालाई सरकारले कुनै सम्मान दिएन। २००४ सालमा ईश्वर बरालले उनलाई महाकवि भनी सम्बोधन गरे। कोही उनलाई युगकवि भन्थे त कोही आँसुकवि। नेपाली जनताले उनलाई महाकवि माने। तर सरकारले अहिलेसम्म देवकोटालाई महाकवि भनेर अौपचारिक घोषणा गरेको छैन्।
५० वर्षमात्र बाँचेका देवकोटामा नेपाली साहित्यलाई विश्व साहित्यसम्म पुयाउने क्षमता थियो। सरकारका उनी विरोधी बने। साथीभाइले उनलाई पागल भनी उडाए। उनको प्रतिभा इर्ष्या गर्नेहरु पनि धेरै थिए।
उनका कृतिलाई सरकारले नोवेल पुरस्कारका लागि सिफारिससम्म गरेन्। अरुले पनि पहल गरेनन्।
उनको आयु लम्बिएको भए नेपाली साहित्य विश्वस्तरमा पुग्थ्यो भन्ने मेरो अनुमान हो। देवकोटा जति बाँचे उनलाई सहयोग र सल्लाह दिनु भन्दा निमोठने र पीडा दिने काम काम भयो। बाँचुञ्जेल उनले घरी घरी बौलाएको आरोप खेप्नु पर्यो, प्रतिवाद गरिरहनु पर्यो।
देवकोटालाई परिवार र साथीभाइले मात्र होइन भारतका कवि राहुल सांस्कृत्यानले पनि पागल भनेका छन्। २००९ सालमा राहुल काठमाडौंमा कविता वाचन गर्न आएका थिए। उनकी श्रीमती पनि साथै थिइन। देवकोटा र राहुलले कविता वाचन गरे।
देवकोटाले श्रीमती कमला सांस्कृत्यान पनि कविता वाचन गर्न आउदै हुुनुहुन्छ भनेर उदघोषण गरिदिए। त्यो उनको उटपट्यांग थियो। श्रीमती सांस्कृत्यान लाजले रातोपिरो हुँदै भाग्न खोजिन्।
देवकोटाले उनलाई पछ्याए। राहुलपनि दौडिए। भारत फर्के पछि घटनाका बारेमा राहुलले 'आजकल' पत्रिकामा लेख लेखे। विभिन्न कारण प्रस्तुत गरेर देवकोटा पागल हुन भन्ने ठोकुवा गरे। जवाफमा देवकोटाले पागल कविता लेखे। कवितामा 'जरुर साथी!' शब्द तिनै राहुललाई सम्बोधन गरिएको हो।
देवकोटाको प्रतिभा अलौकिक थियो। उनको प्रतिभालाई न तत्कालीन समाजले चिन्यो नत अहिलेको समाजले चिन्ने प्रयत्न गर्दैछ। उतिबेला उनलाई पागल, काम नलाग्ने भनी उडाइयो। अहिले उनलाई मिथ बनाइएको छ।
बाँचुञ्जेल तिलाञ्जली र पीडा दिने र मरेपछि स्तुति गान गाउने हाम्रो समाजको रोग देवकोटामा पनि लागु भएको छ।
नेपाली साहित्यमा कतिपयलाई जबरजस्ती साहित्यकार मानिएको छ, कला र प्रतिभा नभइकन पनि महान बनाइएको छ। तर देवकोटालाई कसैले अपभ्रंस गरिरहनु पर्दैन। उनी जे थिए त्यसको सत्य मात्र पाठकले जान्न पाए उनको प्रशंसाका लागि उनको 'गरिवी'को सहानुभूति जोडिरहुनु पर्दैन्।
त्यतिबेलाको समाजले उनलाई चिन्न नसके पनि अहिलेको समाजले उनलाई मिथ बनाउने प्रयत्न गर्नु हुँदैन्। त्यसको सट्टा उनका अप्रकाशित रचना प्रकाशन गर्नपर्छ, उनी बसेको घरको संरक्षण गर्नुपर्छ। त्यो नै उनीप्रतिको सच्चा सम्मान हो।
सबैभन्दा महत्वपूर्ण कुरा अहिलेसम्म देवकोटाको आधिकारिक जीवनी आएको छैन्। लेख्नेले अनेकौं कुरा लेखेका छन्, पढनेलाई भ्रम परेको छ। उनको आधिकारिक जीवनी प्रकाशन भए देवकोटा बारेका धेरै भ्रम आफै हटनेछन्। त्यसका लागि व्यक्तिगत प्रयासमात्र प्रयाप्त हुँदैन्। सरकारले नै पहल गर्नुपर्छ।
(सेतोपाटीका लागि भानुभक्तसँग कुराकानीमा आधारित)