नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्माइन् आमाले। थाहा छैन्- कतिपटक मरिन् र कतिपटक बाचिन् होली उनि - प्रसव पीडाले छटपटिएर ! अरु कसले दिन सक्छ - आमाले आफ्नो पेटमा पटुकी कसेर सन्तानलाई खुवाएको खाना, आफूले आशु पिएर सन्तानलाई दिएको खुशी अनि कहिल्यै स्वार्थी बन्न नसक्ने त्यो ममता!
म स्कुल जान्थे। कपी सकिन्थ्यो कलम सकिन्थ्यो। बुवालाई भन्न डराउँथे। आमाले मेलामा गएर ल्याएको पैसाले नुन किन्नुहुनुन्थ्यो, तेल किन्नुहुन्थ्यो, घरमा चाहिएको सबै ल्याउनुहुन्थ्यो र केहि बचाएर ल्याइदिनुहुन्थ्यो मलाई कपी र कलम पनि। आफू मेलाबाट फर्कदा पटुकिमा पोको पारेर ल्याइदिनुहुन्थ्यो एकमुठी चिउरा र आधा मुठी दालमोट पनि।
बुवा दिनभरी खै ! कता जानुहुन्थ्यो ? भरे आउँदा खुट्टा लडखडाएको हुन्थ्यो। बोली लरबराएको हुन्थ्यो। म डराउँथे। आमाको कन्धा पछाडि टुक्क्रुक्क बस्थेँ। बुवा फलाक्न थाल्नुहुन्थ्यो -'त राडीले घरको काम केहि गर्दिनस्। खाली मेला जान पाए हुन्थ्यो भन्छेस र बाहिर बाहिर मेलामा जान्छेस्। भन् कुन नाठोसित पल्केकी छस्? जा उसैसित जा। बरु आनन्द हुन्छ मलाई। चन्डिजाल उठेर आउछ तलाई देखेसी…..।‘ आदि आदि के के हो के के। आमा चुपचाप खाना पकाइरहनुहुन्थ्यो।
अर्को दिन पनि अवस्था त्य्स्तै हुन्थ्यो। अघिल्लो दिनको जस्तै। म सानै थिए। भर्खर एक कक्षामा त पढ्थे। कसरी जान्नु मैले घास दाउरा गर्न? भाडा माझ्न ? खाना बनाउन ? मेलाबाट आमा आउँदा अँगेनो चिसो हुन्थ्यो। चिसा खयरका दाउरा झन् झन पुत्ताउँथे। त्यतिबेला म सोच्थेँ - मेरी आमा जस्तो दु:खी यो संसारमा अरु कोही छैन। बिस्तारै समय बित्दै गयो। समयसँग म पनि बड्दै गए। पढ्दै गए। सुख दु:ख जे जसो गरेर भए पनि पढिरहेकी थिए।
कुरो त्यो बेलाको हो जुन बेला मेरो एसएलसी परीक्षा चलिरहेकी थियो। फलामे ढोका भनिएको परीक्षा। सानैदेखी पढ्नमा तेज थिएँ म। तसर्थ सरहरु सबैको नजर म माथि पर्नु नौलो कुरा भएन र सबैले गरेको म प्रतिको आशालाई मृगतृष्णा हुन दिन मलाई पनि मेरो मनले अनुमती दिदैन्थ्यो तसर्थ म पढ्न चाहान्थे। धेरै पढ्न चाहान्थे र चाहान्छु अझै पनि। भोलि परीक्षाको पहिलो दिन। अङ्ग्रेजी बिषयको परीक्षा थियो।
समय गहुँ काट्ने बेलाको थियो। आमा र दिदी खेतमा गहुँ काट्दै हुनुहुन्थ्यो म घरमा पढ्दै थिए टुकिको सहायताले। बुवा खै ! कता जानु भएको थियो थाहा भएन। करिब ८:०० बजेतिर लडबडिएका खुट्टा र लरबरीएको बोली परै थाहा पाए मैले। त्यस्को केहि वास्तै गरिन र गर्न जरुरी पनि ठानिनँ किनकी भोलि एक्जाम छ मेरो। त्यसैले पढिरहे। दायाँ बायाँ ध्यान कतै नफिजारेर। बुवा सरासर मैले पढिरहेको खाटनेर आउनु भयो र सोध्नु भयो - आमा खै ? मैले भने - गहुँ काट्न खेतमा। एकछिन सुनसान भयो। बुवा पनि बोल्नु भएन म पनि बोलिन।
हाम्रो घरमा जम्मा दुई वटा मात्र खाट थियो। अगेनानिर एउटा थियो। अनि मुल ढोका नेर एउटा। अगेनानिरको खाट अगाडि एउटा झ्याल थियो। जहाँ मन दुखेको बेला र कसैले गाली गरेको बेला त्यही झ्यालबाट बाहिर हेर्दै रुने गर्थे म। अनि अगाडि पट्टी नै थियो चुल्हो पनि। नजिकै नजिकै थियो। जुन चुल्होको धुवाँले मेरा किताबहरु ध्वासा भएका थिय र पनि खुब माया गर्थेँ म मेरा किताब र कपिहरुलाई। त्यही अगेँनानिरको खाटमा बसेर पढिरहेकी थिएँ मैले।
बुवा बाहिर भित्र गरिरहनु भएको थियो। एकाएक चिच्याउन थाल्नु भयो – “आमा र दिदिले यसबेलासम्म गहुँ काटिराँ छन्। यो राडी पढन्ते भा'की। या आफूलाई भोक लाग्या छ। खेताँ नगए घरमै थेच्चेर पकाको भए नि हुन्थ्यो नि।“ यही बिचमा म बोले – “के पकाएर बस्नी हो र मैले भोलिको जाच छ र।“ त्यसपछी बुवा झन पड्किन थाल्नु भो – “तलाई भात न पचेको राडी। पढ्छेस कि भात पकाउछेस हँ। खुरुक्क भात पका।“ म चुपचाप थिएँ। तैले नसुनेकी होस ? मैले नसुने झै नै गरे।
बुवा बाहिर पुगेर भित्र आउनु भो र मैले टुकी अगाडिका फिजारेर पढिरहेका किताब र कपी अगेनामा लगेर फालिदिनु भयो। म एकैचोटी छागाबाट खसे झै भए। एकाएक आखाँभरी आशु भयो। म गले या मेरो गल्यो थाहा भएन तर म थचक्क भुइमा बसेँ। मेरो कपाल समातेर लतार्दै बाहिर लग्नु भयो र कटिबासको लट्ठिले मेरो ढाडमा हिर्काउनु भयो। म घोप्टो परेर रोए। उत्तानो परेर रोए। रोए। बेस्सरी रोए।
पिटाइले भन्दा पनि व्यवहारले मन दुखेर रोए। धेरै रोए। म रोएको सुनेर आमा खेतबाट हतारिदै आउनु भो। आमा मेरो अगाडि उभीदा आँखामा टिलपिल टिलपिल आँशु भैसकेको थियो। म रोएको देखेर म सँगै रुनु भो आमा। मैले यत्ती थाहा पाए। यत्ती सम्झिएँ। केहि सम्झिन सकिन आमाले बुवालाई के के भनेर गाली गर्नु भो भनेर। तर मधुरो याद छ - त्यो रात आमाले "रोटी खान उठ् छोरी। जती रुच्छ खाएर सुत्। भोलि बिहानै उठेर जाँच दिन जानु पर्छ" भनेर बोलाएको तर मैले त्यस रात आमाले माया गरेर खान दिएको रोटी खान सकिन। म उठ्नै सकिन कसरी सक्थे खान?
जसो तसो गरेर पढाउने, ठूलो मान्छे बनाउने रहर छ मेरी आमाको मनमा- आमाले नभने पनि बुझ्न सक्छु म। आमाका आखाँहरु हेरेर नै। आफूले त सुख पाउनु भएन नै तर छोराछोरी जन्माएर पनि कहिल्यै सुख भएन मेरी आमालाई। आफ्नो पिरमाथि आफ्नो सन्तानको पिर थपिदा कती मर्माहत हुन्छ होला त्यो मन? त्यो रात आमाका आखाँ एकपटक पनि जोरिएनन। यता र उता फर्किदै लामो स्वास फेरेको चाल पाइरहे मैले। आफूलाई गरिएको व्यवहार भन्दा पनि आमाको दुखेको मन बढी सम्झिरहे मैले र त्यसपल लाग्यो मलाई - यो संसारमा मेरी आमा जस्तो दु:खी कोही छैन।
खासै पढ्न मन नलागे पनि एक्जाम राम्रै गरेको आभास भयो मलाई। अबको खाली समय के गरेर बिताउने ? भनेर साथीहरु छलफल गर्न थाले - धेरैको सोच कम्प्युटर सिक्छु भन्ने भयो। म बिचरी के सिक्नु ? मन त थियो नि कम्प्युटरका किबोर्ड माथि औंला राखेर आफ्नो मनको भावना सरर लेख्न तर कर्ममा त्यसरि किबोर्ड छुन लेखेको होला कि नहोला भन्ने मै दोधार थिएँ म। केहि दिन लगत्तै मेरै घर अगाडिको बाटो हुँदै साथीहरु पर्साढाप बजारतिर कम्प्युटर सिक्न जान थाले।
गहुँ भित्र्याइसकिएको थियो। फापर ठटाउन बाकिँ थियो। मेरो काम त्यही भयो। दिनभरी फापर ठटाउने , उडाउने, बनाउने र थन्क्याउने। अरुले कम्प्युटरका किबोर्डमाथी आफ्ना औंलाहरु कसरी छिटो दगुराउने भनेर सिक्दा मैले कसरी फापर छिटो उडाउने भनेर सिके - फरक यत्ती न हो। चैतको खडेरी भन्छन् - त्यही खडेरिको चर्को घाममा खटिन थाले म। त्यो टन्टलापुरे घाममा म एक्लै कहाँ हुन्थे र ? म सँगै फापर ठटाइरहेकी हुन्थिन मेरी आमा पनि। दिनभरी जसो फापर बानायो साँझपख घर मालिक आउनुहुन्थ्यो र बेच्नु हुन्थ्यो। पैसा पोको पार्नुहुन्थ्यो अनि जुन भट्टीबाट उठेर आउनु भको थियो त्यही भट्टी तिरै जानुहुन्थ्यो। हामी टुलुटुलु हेर्थ्यौ र चुप्प लागेर भित्र पस्थ्यौ। आमाले त भित्र पसेर सराप्नु पनि हुन्थ्यो। आखिर चित्त बुझाउने बाटो न हो। सरापेर मात्रै त्यो मनको पीडा त के शान्त हुदो हो र ? त्यै पनि सराप्नु हुन्थ्यो र मन शान्त पारे झै गर्नुहुन्थ्यो। घर व्यवहार चलाउनु पर्ने सम्पूर्ण जिम्मेवारी आमाको काधमा थियो तर २ / ४ पैसा हातमा पर्ला कि भनेर आस गरेको बेला अरुले नै पोको पारेर हिडिदिन्थ्यो। म सोच्थे - बिचरी मेरी आमा ! कसरी पुर्याउछिन घर खर्च?
हामीले पसिना बगाएर आएको पैसाले पार्टी हुन्थ्यो रे पर्साढाप बजारको "तिवारी" भट्टिमा। पार्टी केको खुशीयालीमा हुन्थ्यो त्यो चाहीँ मलाई नि थाहा थिएन न थाहा थियो मेरी आमालाई नै। पार्टी सकेर घर फर्कदा रातको करीब १२ बजिसकेको हुन्थ्यो। म निदाइसकेकी हुन्थे। मेरो सिराननिर टुक्रुस्स बसेकी हुन्थिन आमा - बुवालाई पर्खेर। बुवा आएपछि हल्लिखल्ली मच्चिन सुरु हुन्थ्यो। त्यसपछी म ब्युझन्थेँ। यस्तो लाग्थ्यो - त्यतिबेला म सँगै वल्तिर पल्तिरका जासुसे आइमाइहरु पनि ब्युझिन्थे। यदी म ब्युझिन भने पनि आमाले घच् घचाएर उठाउनु हुन्थ्यो। म जुरुक्क उठ्थे र झ्यालनेर भित्तामा अडेस लगाएर बस्थे। आमाले बुवाको लागि भान्सा तयार गर्न थाल्नुहुन्थ्यो।
न मलाई थाहा थियो न त मेरी आमालाई नै - रक्सी बाहेक के के पाइन्छ र खाइन्छ पार्टीमा भनेर। टन्न पेट भरेर आउनु भाको बुवालाई घरमा पाकेको सावित्री चामलको भात र पाकेको फर्सिको तरकारी कहाँ पच्दो हो र ? न खानु हुन्थ्यो न सुत्न दिनुहुन्थ्यो न आफू सुत्नुहुन्थ्यो नै। तर, कचकच कचकच गरिरहनुहुन्थ्यो। बिस्तारै बोल्दा बोल्दै बुवाको बोली चर्को चर्को हुन्थ्यो। म डराउथेँ। म मात्रै किन मेरी आमा पनि डराउथिन् र चुपचाप सुनिरहन्थिन् मात्र। मेरी आमाको सहनशिलता देखेर म छक्क मात्र पर्दिनथे अचम्म नै पर्थे। अहो ! कती धेरै सहन क्षमता छ मेरी आमामा। धन्य मेरी आमा ! तिम्रो कोखबाट जन्म लिन पाउनु मेरो सौभाग्य मात्र होइन अहोभाग्य नै सम्झन्छु म तर बुवालाई जन्मदाता भन्नु पर्दा धक लागेर आउछ मलाई।
अँ, बोली चर्को हुँदा हुँदै बुवा आमामाथि नै जाइलाग्न थाल्नु हुन्थ्यो। रक्सीको मातले बल आफ्से आफ उत्पती हुन्थ्यो या झन झन जोसले शरीर तातेर आउथ्यो ? खै ! के हुन्थ्यो कुन्नी ? बुवाको पारा देखेर दंग पर्थे म। दिउँसो नखाको / नमातेको बेलामा देउता जस्तो मान्छे मातेर आएपछी यस्तो चर्तिकला। त्यसबखत कि त आमा डल्लो परेर अगेना छेउमा बस्नुहुन्थ्यो कि त घर बाहिर भाग्ने कोसिस गर्नुहुन्थ्यो। जब आमा डल्लो परेर अगेना छेउमा बस्नुहुन्थ्यो तब म खाटबाट तल ओर्लन्थे र आमाको छेउमा गएर टुक्रुक्क बस्थेँ। जब बुवाको लात आमामाथी जाइलाग्न खोज्थ्यो तब त्यो लात आफू माथी परोस भन्ने चाहन्थे र आमालाई बचाउने कोसिस गर्थे म। बिचरी, मेरी आमा ! दिनभरी घरदेखि मेलापातसम्मको कामले लोत परेकी हुन्छिन् झन उसैमाथि मध्यरातमा ति मातेका बलिया लात खानु पर्यो भने कती असह्य हुदो हो ? त्यही असह्य पीडालाई केहि हदसम्म भएपनी बचाउन चाहान्थे म र त आमामाथी बज्रीन खोजेका लातहरुलाई आफूमाथी थाप्थे। साच्चै आमाको मन कती फराकिलो हुन्छ हगी ? मैले आफूमाथी थाप्न खोजेको लातलाई पन्छ्याएर आफै माथी परोस भन्ने कसरत गर्नुहुन्थ्यो उहाँ पनि फेरि। आखिर आफूले नौ महिनासम्म गर्भमा बोकेर हिँडेको आशा को पोको थिए न म।
अनि, जब आमा भाग्ने सुर निकाल्नुहुन्थ्यो तब म पनि आमासँगै पछिपछी सुस्तसुस्त भाग्ने कोसिस गर्थे। हाम्रो घरमा जम्मा एउटा मात्र ढोका थियो। भित्र पस्ने र बाहिर निस्कने त्यही थियो हाम्रो। त्यो ढोका दुईटा फलेकबाट बनेको थियो। मक्किसकेका थिए ति फलेक हरु तर खोल्दा घरक्क गरेको आवाज आउथ्यो। ढोका कराएको थाहा नहोस भनेर सुस्तरी खोल्नु हुन्थ्यो आमा र हामी ढोकाबाट फुत्त निस्किन्थ्यौँ र घर अगाडि बाटोपारी रहेको पातीघारिमा लुकेर बस्थेऊँ। '…..
हातमा हसिया लियर बाहिर निस्कनुहुन्थ्यो बुवा। जब बाहिर निस्कदाँ हामीलाई देख्नुहुन्न थियो तब सुरु गर्नु हुन्थ्यो जाडे पुराण। यि आमाछोरिलाई नमारी छोड्दिन आज। ए ! बाहिर निस्कओ तिमरु। यीनरुको व्यहोरा देख्दा चण्डिजाल उठेर आउँछ। यो राडी आफू त बिग्री बिग्री त्यो छोरीलाई पनि बिगारी…….।' आदी इत्यादी भन्दै बुवा भित्र बाहिर गरिरहनुहुन्थ्यो। पातिघारिबाट नदेखे झै गरी लुकि-लुकी हेरिरहन्थ्यौ हामी। त्यो पातिघारिमा लुकेको सम्झिँदा अचेल मुटु चिसो भएर आउछ। तर, उ बेला हामिलाई कत्ती डर थिएन - पातिघारिमा केहि आउला र टोक्ला भन्ने। त्यो अध्यारो घारिमा आमाको छातिमा टासिएकी हुन्थे म त्यसैले पनि होला मलाई आफू सुरक्षित महसुस भएको तर मेरी आमालाई डर किन लागेन होला ? कि लागेर पनि लागे झै नगरेकी हुन कुन्नी ?
फत्फताउँदा फत्फताउँदै बुवा सायद निदाउनुहुन्थ्यो। कुनै चानो मानो सुनिन्थेन। त्यसपछी हामी आमाछोरी बिरालोको चालामा लुसुक्क भित्र छिर्थ्यौ र बिस्तारी ओछ्यानमा गएर पल्टिन्थ्यौ। आमालाई खै ! के हुन्थ्यो मलाई थाहा भएन तर मलाई भने - आज त बाचियो भने झै लाग्थ्यो। सुतेको घण्टौसम्म पनि आँखामा निन्द्रा पर्दैनथ्यो। त्यो घण्टौसम्म आखाँमा निन्द्रा नपरेर ओल्टो र कोल्टो फर्किदा फर्किदै बाहिर भाले बास्थ्यो- कुखुरी काँ, कुखुरी काँ।
त्यसैबखत म सोचिरहन्थेँ - जसलाई जिन्दगीभरिको सुख-दु:खको साथी भनेर आमा बुवाले कन्यादान दिएर पठाए उसैले मन बुझ्न त कहाँ हो कहाँ उल्टै मातेको जोसमा लात्तिले भकुर्छ, दाउराले सुम्ल्याउछ, हसियाँको झटारो हान्छ अनि बचनको वाण प्रहार त कती गर्छ कती र पनि चुपचाप सहनु पर्ने रे। बाहिर कसैले थाहा पाउला र घरको इज्जत जाला भनेर कुरा लुकाउनुपर्ने रे। घरको चिन्ता उनैले लिनुपर्ने, खेतबारी उनैले समाल्नु पर्ने, मेलापात उनैले भ्याउनु पर्ने अनि छोराछोरिको रेखदेख उनैले गर्नु पर्ने।
उफ्, अझ भएन भनेर दिनभरिको कामले लोत परेको शरिरमाथि मध्यरातमा बिना कारण गाली उनैले खानु पर्ने। मेरी आमाको कर्म सम्झिँदा म आफैलाई उदेक लागेर आउँछ। तर, मेरी आमाले त्यस्ता हरेस खाने कुरा कहिल्यै गर्नु भएन म समक्ष। न झार्नु भयो कुनै दिन आखाँबाट आशु नै तर नभने पनि म बुझ्न सक्छु मेरी आमाको मनमा गएको दु:ख र पीडाको बाढी अनि आशुको पहिरो।
घास दाउरा गर्न राप्तिको भर गर्नु पर्थ्यो। राप्तिको ढुङ्गाले रगटेर आमाका फुटेका कुर्कुच्चाबाट तप्प तप्प रगतका थोपा चुहुन्थे र पनि आमालाई आफ्नो खुट्टाको भन्दा त्यो घास र दाउराको ठूलो प्रवाह हुन्थ्यो। थाहा छैन मेरी आमा मात्र हुन या यो संसरका सप्पै आमाहरु यस्तै महान हुन्छन?
साच्चै भन्ने हो भने मेरी आमा जती धेरै महान छिन् उति नै धेरै पीडित छिन मेरो बुवाको व्यबहारदेखि। म जन्मेर एसएलसी दिने सम्मकी हुँदा मलाई सम्झना छैन कि - आमा र बुवा सँगै बसेर दु:ख सुखको कुरा गरेको कुनै क्षण। एकान्तमा बसेर टोलाईरहदा आमालाई नै सम्झेर टोलाईरहन्छु म र निचोड निकाल्छु - साच्चै भन्ने हो भने - यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन्।
पश्चिम चितवन मेघौलि
(राप्ती र नारायणिको दोभान)