बिहीबार अफिसको काम सकेर मुख्य सचिव घर फर्किदा रातको नौ बजिसकेको थियो।
उनले झल्यास्सँ सम्झिए, ‘भोलि बागमती किनारमा भक्तालुहरुको घुँइचो लाग्छ, धुमधाम हुन्छ।’
मधेसको प्रमुख पर्व छठ पहाड उक्लेर राजधानीमा पनि फैलिदै गएको उनलाई राम्रोसँग हेक्का थियो।
बागमती सफाइ अभियान शनिबार मात्र छ।
शुक्रवार बिहान पनि जति सकिन्छ नदी र किनारको फोहर सफा गर्न पाए! छठ मनाउनेहरुलाई अलिकति भएपनि सुविस्ता हुन्थ्यो, पौडेललाई कुरीकुरी लागिरह्यो।
यत्तिकैमा झण्डैं छ महिनादेखि निरन्तर चलिरहेको बागमती सफाई अभियानका अगुवाहरुले सल्लाह गरे।
उपस्थिति पातलो भएपनि होस्, बिहान ७.३० बजे पशुपति गुह्येश्वरी भेला हुने निधो भयो । आकस्मीक कार्यक्रम बन्यो ।
पौडेल शुक्रवार बिहान तोकेको समयभन्दा केहि मिनेट ढिलो गुह्येश्वरी आइपुगे ।
छरितो ज्यानका पौडेल गम बुट, खरानी रङ्को ट्राउजर र ट्रयाकसुटको नीलो ज्याकेटमा थिए । नर्थफेस र एडिडास लेखेपनि ती ब्राण्डेड थिएनन् ।
शिरमा लगाएको क्यापले उनको मुख्य सचिवको पहिचानलाई ओझेल पार्न झनै मद्दत गरेको थियो ।
‘गौरीघाट देखि गुह्येश्वरीसम्म भक्तालुहरु आज पाल हालेरै घन्टौं बस्छन्,’ उनले सेतोपाटीसँग भने, ‘जति सकिन्छ सफा गरौं भनेर आएको हुँ ।’
गौरीघाटबाट सफाइ थाल्ने भए । खुट्कीला ओर्लेर बागमती तिर जाँदै गर्दा उनी चिच्याएँ, ‘ल यहाँ त बर्बाद भएछ ।’
सिँढीको समानान्तर बनेको खुला नालाबाट ढल बगेर बागमतीमा मिसिएको थियो । त्यो दृश्य र गन्धले उनलाई भाउन्न बनायो ।
तुरुन्त फोन थिच्न थालिहालेँ, ‘यहाँ दिशापसाव बगेर बागमती मिसिएको छ, तुरुन्त ढल बन्द गर्नुहुन्छ की कारबाहीमा पर्ने विचार छ ।’
पछि सोधिखोजी गरेर पत्ता लगाउँदा पौडेलले अधिकारसम्पन्न बागमती ढल सुधार समितिका प्रमुख इञ्जिनियर गजेन्द्र ठाकुरलाई फोन गरेका रहेछन् ।
त्यसपछि उनी सिधै गुह्येश्वरी मन्दिरतिर हानिए । उनी पुग्नुभन्दा अघि नै एपेक्स कलेजका प्रिन्सिपल भानु शर्मा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डन, समितिका पूर्व अध्यक्ष तथा कांग्रेसका पूर्व सांसद विदुर पौडेल, कलाकार राजाराम पौडेल लगायत पचास जानाजति जम्मा भइसकेका थिए ।
‘आजको कार्यक्रम अकस्मिक हो,’ पौडेलले भनेँ, ‘दुई किनारमा बाडिएर गौरिघाटसम्म सिनित्तै पारौं ।’ बिहानको ८ बज्दानबज्दै नदी किनार अस्थायी पाल र कवलले ढाकिसकेको थियो ।
सरसफाइमा सक्रिय बाहेक अरुले सायद मुख्य सचिवलाई चिने । यतिबेला पनि पौडेल बागमती ढल सुधारको हाकिमलाई ताकेता लगाइरहेका थिए ।
‘गौरीघाट मास्तिरको वस्तीको फोहर ढलैढल जानुपर्नेमा कसरि बागमतीमा मिसियो ?,’ पौडेलको कडा आदेश गयो, ‘छटको दिन बागमती दुर्गन्धित राख्न पाइन्न तुरुन्त समाधान गर्नुस् ।’
ठाकुरले इञ्जिनियर रविन्द्र रायलाई खटाइसकेछन् । एक घन्टामा मुख्य सचिव फेरि गौरीघाट फर्किदा आदेश कार्यान्वयन भइसकेको थियो । नालामा ढल त काहाँबाट हुनु फोहोर पानी पनि बगेको थिएन ।
‘ढल व्लक भएर ओभरफ्लो भएर आएको रहेछ सर,’ रायले मुख्य सचिवलाई व्रिफिङ् गरे, ‘हामीले बनाइ सक्यौं ।’
त्यसपछि मुख्य सचिव फेरि बागमतीमा हेलिए । नदी पीँधमा टाँसिएर बसेका प्लाष्टिक पोका, थोत्रा कपडा बटुलेर धमाधम थुन्चेमा जम्मा गर्न थाले । उनलाई १०÷१२ जाना स्वयं सेवकले पनि साथ दिइरहेका थिए ।
त्यत्तिकैमा माथि पुलबाट फुत्त एउटा प्लाष्टिकको झोला नदीमा झ¥यो । पनीमा छप्लङ् भयो ।
‘समात समात,’ धैरै स्वयंसेवकहरु चिच्याए ।
प्रहरी साथ लागेर एकजाना अधवैंसे आइन– रिता अधिकारी । गौरीघाटकै बासिन्दा । ‘हामी सफा गरिरहेका छौं,’ तपाई माथिबाट फोहोर फ्याँक्ने । स्वयंसेवकहरुले ती महिलालाई झम्टौला जस्तो गरेँ ।
‘तपाईलाई ठिक गरँे जस्तो लाग्छ, दिदी,’ मुख्यसचिवले प्रश्न गरेँ ।
उनले जवाफ दिइन्, ‘जानिन, गल्ती भयो भाइ ।’
नदीमा प्लाष्टिकमा पोका पारेको फोहोर फाल्नुहुन्न भन्ने तपाईलाई थाहाँ छै, स्वयंसेवकहरुको रिस अझ मरेको थिएन ।
‘लक्ष्मीपूजाको सारजम नदीमा सलाउन ल्याएको हुँ,’ उनले भनिन् ।
‘प्लाष्टिकमा पोको पारेर फोहोर ल्याउने, अनि लक्ष्मीपूजा भन्ने,’ एकैपटक धेरैजानाले झपारे ।
‘गल्ती भयो, जानिन,’ उनले फेरि भनिन् ।
‘गल्ती भयो भनेर मात्र भएन यहाँले प्रायश्चित गर्नुप¥यो,’ मुख्य सचिवले नम्र भाषामा भने, ‘कसरि गर्नुहुन्छ ।’
उनी अकमकाइन ।
थुपारेको फोहोर देखाउँदै पौडेलले भने, ‘उ त्यो फोहोर डोकोमा हाल्नुस् र प्रायश्चित गर्नुस् ।’ ती महिललो किनारमा थुपारिएका फोहोर डोकामा हालिन । दिगमिग मान्दै मान्दै प्लाष्टिक, थोत्रा कपडा बटुलेर आधा डोको बनाइन ।
‘अब देखि कहिल्यै फोहोर फाल्दिन भगवान’ भन्दै तिनी विदा भइन ।
त्यसपछि सेतोपाटीसँग मुख्य सचिवले यो ‘लो प्रोफाइल’ अभियानको पोयो फुकाए ।
...
‘आज छटको उलक्ष्यमा अतिरिक्त हो,’ पौडेलले भने, ‘हाम्रो खास सरसफाई २६ हप्तादेखि निरन्तर चलिरहेको छ ।’
प्रत्येक शनिवार १ हजारदेखि ४ हजारसम्म स्वयंसेवक जम्मा भएर यो अभियानमा ऐच्छिक रुपमा सरिक हुन्छन् ।
कोहि बागमती किनारको फोहोर बटुलेर जम्मा गर्छन् । कोहि आफूखुशी नदीमै हेलिएर ।
पौडेल भने अधिकांस नदीमै हेलिएर सफाइमा सरिक हुन्छन् । उनलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले बढिमात्रामा साथ दिने गरेको छ । ‘सबैभन्दा सराहनीय सहभागीता प्रहरी र सशस्त्रको छ,’ उनले भने ।
मुलुकको सर्वोच्च अधिकारी प्रत्येक शनिवार बिहानै बागमती आउन भ्याएका छन् त ? ‘दशै मान्न गाउँ जान परेकाले दुई शनिवार गएल भए, बाँकिमा सधै आउन भ्याउँछु ।’
खासमा उनले शनिवार बिहानको साढे दुई घन्टा बागमतीकै लागि भनेर छुट्याएका रहेछन् । यसविचमा विदेश वा काठमाडौं बाहिर जानु नपरेकाले पनि तल्लिन हुन सजिलो भयो ।
सरसफाई, वृक्षरोपण जस्ता अभियान कर्मकाण्ड जस्तो हुन्छ । समारोह गरेकै भरमा कुनै उपलव्धि बिना सकिन्छन् । यसको सबैभन्दा ठूलो क्रिडास्थल त बागमती नै भयो होला ?
पौडेल मुख्य सचिव हुनु अघि नै बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा पनि बागमती सफाइ अभियान सुरु भयो ।
उनले ठानेका थिए राजनीतिक नेताहरु अझ माओवादीले चाहे भने हज्जारौं कार्यकर्ता परिचालन हुन्छ । तर त्यो प्रयास पनि कर्मकाण्डमा मात्र सिमित भयो । दिगो भएन ।
अरु समारोह जस्तै एकदिने सरसफाइ र भाषणकै भरमा टुंगियो ।
भारतको गायत्री परिवारको अगुवाइमा यस्तै फोहोर नदी सफा गरेको रहेछ । त्यो अनुभव सुनाउन त्यसका नेपाल शाखाका सदस्यहरु सात÷आठ महिना अघि आएपछि उनी उत्साही भए ।
‘बाबुरामको पालमा जागेको धोको पुरा गर्न सकिन्छ की भनेर उत्साही भएँ,’ पौडेलले भने, ‘मेरै कार्यकक्षमा धेरै मिटिङ गरियो ।
राजनीतिक नेताहरुबाट पनि नभएपछि सेलिव्रेटीलाई अघि सारेर ‘मास मोविलाइज’ गर्न सकिन्छ की भनेर राजेश हमाल समेतलाई सरिक गराएर अभियान थालिने भइयो । दूरसंचारबाट एसएमएस पठाउन भनियो । झण्डैं ३ लाख एसएमस पठाएको जानकारी आयो ।
पहिलो दिन गुह्येश्वरीमा औपचारिक कार्यक्रमै गरेर अभियान सुरु भयो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा । औपचारिक कार्यक्रम सकिएपछि पनि फोहोर उठाउन नै एक हजार भन्दा बढि स्वयंसेवक तयार भए ।
यसले साँच्चिकै उत्साह दियो । उठाएको फोहोर नगरपालिकाले संकलन गरेर डम्पिङ साइट पु¥याइदिन थाल्यो । स्वयं सेवकहरुको संख्या बढ्दै गयो । व्यवसायी, पेशाकर्मी, प्राविधिक, कलेजका विद्यार्थि आउन थाले ।
नगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार यसरि संकलन भएको फोहोर नै एक हजार टन भन्दा बढि भइसकेको छ । तीन सय भन्दा बढि मिनिट्रक ।
बागमतीमा हेलिदा पौडेलले के के फोहोर बढि भेट्टाए त ? ‘प्लाष्टिक, सिनो, हाडखोर, पानीका बोतल, रक्सीका सीसी, निर्माण समाग्री, प्याकिङ, कात्रो, कपडा आदि आदि ।’
...
छुट्टिको दिन बिहानै बागमती नदी किनार आउनेको उत्प्रेरण विशुद्व सेवाभाव हो । सफासुग्घर भएर आएका उनीहरु घिन नमानी बागमतीमा हेलिन्छन् । सडेर, गलेर डुङ् डुङ् गन्हाएको फोहोर डोकोमा जम्मा गर्नु चानचुने हैन ।
यसरि जम्मा भएका स्वयंसेवीहरुलाई उत्साही बनाउन सफाइ कार्यक्रम राष्ट्रिय गानबाट सुरु गरिन्छ छ ।
त्यसपछि सामूहिक सपथ हुन्छ । सपथको बेहोरा यस्तो छ, ‘म मेरो कार्यस्थल र वरिपरि सफा गर्छु । साथै बागमती नदीको सफाई, संरक्षण, संवद्र्वनमा मन वचन कर्मले लाग्छु ।’
बागमतीको दुर्गन्ध बिर्सने जोस यति सपथले मात्र नआउन सक्छ भनेर अर्को चलाखि पनि गरिएको छ । जोस थप्न नाराबाजी सुरु गरिन्छ । सबै शनिवारको फम्र्याट एउटै हो ।
चार वटा नारा यस्ता छन्, ‘हामी बागमती सफा गर्न सक्छौं, सक्छौं सक्छौं । हामी बागमती सफा गर्छौं, गर्छौं । हामीले नगरे कसले गर्ने, कसले गर्ने कसले गर्ने । अहिले नगरे कहिले गर्ने, कहिले गर्ने कहिले गर्ने ।’
फोहोरमा हात हाल्दा दिगमिग त लागिहाल्छ । त्यसैले बिचबिचमा गित, संगित वा अरु रमाइलो गरेर बागमतीको दुर्गन्ध बिर्सने कोशिस गरिन्छ ।
‘कलाकार राजाराम पौडेल छव्विसै दिन बागमती आएर हामीलाई उत्साह थपिदिनुभएको छ,’ पौडेलले भने, ‘मह जोडीको साथ पनि पायौं ।’
मह मात्र हैन अमेरिकाबाट घर आएका मदनकृष्ण श्रेष्ठका छोरा यमनले पनि बागमती किनार पुगेर गीत गाउन भ्याइसके ।
यसविचमा अभियानले बागमतीबारे चिन्तित र सक्दो गरेका एकजानालाई सम्मान पनि गरेको छ । वातावरण पत्रकार भैरव रिसाललाई । ८६ वर्षिय उनलाइ बाहेक कसैलाई पुरस्कृत वा सम्मान गरेको छैन ।
रिसाल स्वयं सुरुसुरुमा सफाई अभियानमा सहभागी भएका थिए । अहिले घुँडामा समस्या भएकाले उनी आउन सक्दैनन् ।
‘बागमतीको स्वरुप फेर्न लागिपरेर पुरस्कार वा सम्मान लायक काम गर्नुभएका सयौं हुनुनुहन्छ,’ पौडेलले भने, ‘एक, दुई वा पाँच, १० जानालाई पुरस्कृत गर्दा धेरैलाई अन्याय हुने ठानेर हामी हच्किएका हौं ।
...
यो अभियानले बागमतीको फोहोर मात्र घटाएको छैन । अरु सुधारमा पनि योगदान गरेको छ । बागमती नदी किनारको समग्र अनुगमन गरे जस्तो भएको छ ।
बागमती नदीमा सोझैं ढल मिसाउनेहरु दण्डित भएका छन् । अस्पतालको फोहोर सोझै नदी किनारमा फालेकाले तीलगंगा आँखा अस्पताल कारबाहीमा प¥यो । २५ हजार दण्ड भयो ।
बागमतीमा रसायनिक प्रदुषण पनि देखियो । खोजी गर्दा किनार नजिकैका घरमा डाइङ उद्योगहरु संचालित भएको पाइयो ।
‘उद्योगको फोहोर सिधै नदीमा पठाउने १२ वटा उद्योगलाई हामीले बन्द गराइसकेका छौं,’ कुँवरले भने । नदी मिचेर बनेका घर, पर्खाल पनि पहिचान भए । जग्गा दलालले खोलो मिचेर जथाभावी गर्न पनि कम भएको छ ।
सबैभन्दा ठूलो उपलव्धि सिनामंगल भत्केको पुल भन्दा मुनि सुकुम्वासी वस्तीमा पुगेर रोकिएको ढल विछ्याउने काम चार वर्षपछि सुचारु हुनु हो ।
वस्तीको ढल बागमतीमा मिसिन नदिन सरकारले दुवै किनारमा ढल विछ्याउने काम थालेकोमा सिनामंगल मुनि पुगेर अवरुद्व भएको थियो । सफाइ अभियानले उनीहरुलाई मनाएर काम सुचारु गराएको छ ।
‘भानुजीले उनीहरुलाई मनाउन ठूलो मिहेनत गर्नुभएको छ,’ पौडेलले प्रशंसा गरे ।
...
यो अभियानको अवधारणा फाइनल गर्नु अघि देखि नै भानु शर्मा सक्रिय थिए । एपेक्स कलेजक प्रिन्सिपल शर्मा जीवन विज्ञान संस्थाका तर्फबाट बागमती सफाइमा सहभागी भएका हुन् । गायत्री परिवारका राजु अधिकारी, एस ट्राभल, नेपाल चलचित्र कलाकर संघ, विज्ञापन एजेञ्सी संघ पनि यो अनौपचारिक अभियानका सुरु देखि नै छ ।
एस ट्राभलले प्रशस्त आर्थिक सहयोग गरेको छ । सफाइमा खटिने स्वयं सेवकलाई पानी खुवाउने काम शर्माले आफ्नै खर्चबाट गर्दै आएका छन् ।
‘यो विशुद्व साझा कार्यक्रम हो,’ शर्माले सेतोपाटीलाई भने, ‘कोहि पनि संस्थापक वा संयोजक छैन ।’
गुह्येश्वरीबाट सुरु भएको अभियान मीनभवन पुग्न लागिसकेको छ । अभियानमा सरिक हुन स्वतः स्फुर्त आइपुगेका संस्था पनि २६ पुगिसकेका छन् । यद्यपी सबैको सक्रियता उस्तै र उत्रै छैन ।
‘पुर्खाले जस्तो बागमती दिएका थिए त्यस्तै हस्तान्तरण गनुपर्छ भन्ने लक्ष्य बोकेर हामी लागेका छौं,’ शर्माले भने, ‘यो मुलुकको सिइओ (मुख्य सचिव) नै सबैभन्दा सक्रिय सदस्य हुनुभएकाले सरकारी संयन्त्र परिचालन गर्न सजिलो भएको छ ।’
माइती नेपालकी अनुराधा कोइराला, प्याव्सन, एनप्याव्सनको पनि साथ रहँद आएको छ । माइती नेपालले आफ्नो आश्रयमा रहेका इच्छुक महिलाहरुलाई पनि स्वयंसेवामा पठाउने गरेको छ ।
...
मुख्य सचिवलाई यसरि हप्तौंसम्म बागमतीको फोहोरसँग खेल्ने ऊर्जा के ले दिएको छ ?
उनको जवाफ यस्तो छ ।
‘गाउँमा जन्मियो । गाउँमै पढियो । आफ्नै बुँताले मुलुकको सर्वोच्च तहमा पुगियो । गाउँलेबाट शहरिया मध्यम वर्गको हैसियत बनेको छ । अरु के चाहियो ?’
यी सबै उपलव्धि व्यक्तिगत हुन् । उनलाई केहि पनि परोपकारी काम गर्न नसके जस्तो लाग्छ । सामाजलाई केहि दिन नसके जस्तो पीडा हुन्छ । सार्वजनिक हितको केहि गरौ भनेर पोलिरहन्छ ।
‘त्यहिँ लालसा बागमतीलाई अलिकति भएपनि सुधारेर पुरा गर्न सकिन्छ की भनेर लागेको हुँ,’ उनले भने ।
मीनभवनको पुल काटेर सफाइ अभियान टेकु दोभान, बल्खु हुँदै चोभार पु¥याएर मात्र विश्राम लिने अलिखित प्रतिज्ञा पौडेल सहितका अभियन्ताहरुले गरेका छन् ।
सफा गर्दै गयो । फोहोर फ्याँकेर उस्तै बनाउने रोगबाट भने बागमतीले मुक्ति पाएको छैन । ‘त्यसका लागि नियम, कानून, दण्ड, कानून कार्यान्वयन गर्न नगरपालिका लगायत निकायलाई दवाव दिने काम भइरहेको छ ।’
बागमतीको दुवै किनारमा ढल बिछ्याउन भ्याइयो भने कानून कार्यान्वयन कडाई गर्न सजिलो हुने पौडेलको धारणा छ ।
बागमती सफा भए नभएको मापदण्ड के त ?
‘पाका पत्रकार भैरव रिसालले मलाई बागमतीमा नजलाइयोस् भन्नुभएको छ रे,’ पौडेलले भने, ‘जुन दिन उहाँले पनि मलाई बागमतीमै जलाइयोस् भन्ने दिन ल्याउन सकिएला त्यहिँ हो सफाइको मापदण्ड ।’
तस्विर लक्ष्मण उप्रेती
तस्विर लक्ष्मण उप्रेती
तस्विर लक्ष्मण उप्रेती
बाकी तस्विरहरु प्रकाश लामा