१३ महिना अघि खुमबहादुर खड्का भ्रष्टाचारी ठहर भई जेल जानु केही दिन अघि डिल्लीबजार सदर खोरमा पुर्वमन्त्री जेपी गुप्तालाई भेट्न जाँदा उनले खड्काबारे टिप्पणी गरेका थिए– मलाई दैनिक ५०र६० कार्यकर्ता भेट्न आउँछन्, खुमबहादुरजीलाई ५र६ सय आउनेछन्, खासै आश्चर्य हुने छैन।
उनले ठट्यौली पारामा सुनाएको अनुमान सहि साबित भयो जब जेलमा खड्कालाई भेट्न आउनेको संख्या सार्वजनिक भयो । १३ महिना जेल बसेका खड्कालाई भेट्न १ लाख २३ हजार पुगेछन् ।
वाकपटुता राम्रा भएका गुप्ता जेलभित्रै बसेर मधेस क्रान्तिका कुरा कार्यकर्तालाई सुनाईरहँदा लाग्थ्यो– सर्वोच्च अदालतको फैसलाको पनि कुनै माने छ यो देशमा। 
अख्तियार जुर्मुराएको समयमा सायद पूर्वाग्रहमै परेका थिए कांग्रेसी नेताहरु उसको फन्दामा । लोकतन्त्रपछिको राजनीतिक परिवेशमा अख्तियारले तानेका तिनै नेताहरुको भ्रष्टाचारी हुने सूची एकपछि अर्को गर्दै थपिँदै गयो । कांग्रेस नेता चिरञ्चिवि वाग्ले जेलबाट निस्कँदा कुनै विजय प्राप्त गरेर घर फर्किए जस्तो स्वागत भयो जेल परिसरमै । भाषण गर्ने बानी परेका वाग्लेले हल्काफुल्का फैसलामाथि टिप्पणी गरे ।
त्यसपछि जेल भित्रै पनि सर्वोच्चको आफू प्रतिकुल फैसलालाई खुलेआम पूर्वाग्रही भनिरहेका गुप्ता सजाय भुक्तान गरेर निस्कँदा मधेशमा नयाँ क्रान्तिको विगुल फुक्नुपर्ने भाषण गरिरहेका थिए । मानौं उनी आफ्नो क्षेत्रबाट बहुमतले विजयी भई जनतालाई पहिलोपटक भविष्यका योजनासहित सम्बोधन गरिरहेका छन् । त्यतिबेला खड्का भित्रै थिए– भ्रष्ट हुनुको कुनै हिनताबोध जेलबाट बाहिरिँदा गुप्तामा देखिँदैन थियो ।
उनी ढुक्क देखिन्थे फेरी जनतामा जाने बाटो खुल्ला छ । निर्वाचन आयोगले संविधानसभा सदस्यसम्बन्धी आचारसंहिता सार्वजनिक गर्दा भ्रष्टाचारी, हत्यारालाई चुनावमा उठ्ने मौका नहुने भनेपछि उनको बोलिमा बल्ल केही गुमाए जस्तो लय पाईन्थ्यो ।
त्यसपछि भ्रष्टाचारीको तेस्रो सूचीमा थिए, खुमबहादुर खड्का । क्षेत्रदेखि कार्यकर्ता रिजाएर अरुलाई उपकार गरेको सम्झिने खड्कालाई सर्वोच्चले भ्रष्टाचारी ठहर गर्नु उति गहन लागेन, सायद । जेलमा दैनिक सयौं कार्यकर्तालाई वरपर राखेर राजनीतिक चिन्तन गर्ने उनले १ सय ११ किलोको माला पहिरिने आँट गर्ने कुरा सानो होइन । आज उनी त्यो रवाफमा निस्कँदै गर्दा उनले राजनीतिलाई व्यंग्य गरेजस्तो देखिन्थ्यो ।
जुन रवाफमा आज उनी डिल्लीबजार सदरखोरबाट बाहिरिए लाग्दैथ्यो त्यो मौका सर्वोच्चको त्यही फैसलाले जुराईदिएको थियो । नत्र बेमौसमी बाजा बजाउन दांगदेखि २२ बस कार्यकर्ता कसरी राजधानीसम्म आइपुग्थे र ?
उनी जेलबाट बाहिरिने दिन ट्राफिक जामबारे सूचना दिने ट्राफिकहरुले पनि जनतालाई बिहानैदेखि सुचित गराए– आज खुमबहादुर निस्कने भएर बिहानैदेखि डिल्लीबजारको सडकमा कार्यकर्ताको चहलपहल बाक्लो छ ।
हुन त नेपालमा उनको राजनीतिक बुझाई अनुसार सर्वोच्चको उनीमाथिको फैसला अनपेक्षित नै थियो होला । तैपनि भ्रष्टाचारी ठहर भएर १३ महिना अघि काठमाडौं जिल्ला अदालतदेखि जेल पुग्दा सम्म उनले कार्यकर्तालाई त्यही शैलीमा सम्बोधन गरे । उनले जेलबाट निस्किएर
आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै गर्दा उनको अनुहारमा कुनै पछुतोको भाव थिएन। भ्रष्टाचारी ठहर भएर बास्तविक तहमा जनताको नजरमा गिरेको दिन पनि उनले संयमता अपनाउन सकेका थिएनन् । थुप्रैपटक शक्ति उपयोग हुने मन्त्रालयमा बसेर गलत बाटो नै सहि हजारौंको नुनको जोहो गरिदिएका उनी केही आवेशमा आएर उँचो स्वर गरेका थिए ।
त्यो भन्दा ज्यादा उँचो शैलीमा बुधबार उनी जेलबाट बाहिरिए । थप तेजका साथ । मानौं उनी संघर्षशील इतिहासले बर्तमानमा बनेका जनताका नेता हुन् । त्यही मेसोमा, पार्टीमा बीपिको नीतिलाई विर्सिदै गएको पनि उनले भन्न छुटाएनन्। आफुले अब प्रजातन्त्रको लागि लड्ने पनि बताए। ' म अव प्रजातन्त्रको लागि लड्छु दुईजना न्यायधीशले मेरो राजनिति समाप्त पार्न सक्दैनन्।'
हिनतावोध हुनु त कता हो कता उल्टै भ्रष्टको रवाफ देखाउँदै कार्यकर्ताको हालिमुहालीमा उनी सिन्दुर जात्रा गर्दै हजारौंका माझ हात हल्लाउँदै जेलबाट बाहिरिए– आफूमाथि अन्याय भएको सानदार भाषण गर्दै ।'पहिले म प्रजातन्त्रका लागि लड्दा ८ वर्ष जेल बसेको थिएँ, अहिले मलाई अन्याय पूर्ण तरिकाले जेल हालियो।' उनले उचो स्वरमा भने'नेपाली कांग्रेसको कानुनी राज्य मान्नुपर्छ भन्ने धारणा भएकोले नै मैले जेल स्वीकार गरेको हुँ।'
उनको शैली, समर्थन र रवाफका पछाडी हामी जनताको योगदान पनि कम देखिँदैन । हामीबाट छिपेको यथार्थ होइन, उनी भ्रष्ट हुन् । सर्वोच्चबाट उनीजस्तै भ्रष्टाचारी ठहरिएको संख्या कम होला । ठहर हुन बाँकि भ्रष्ट समाजमा धेरै होलान् । तर शक्तिको पूजा गरेर मात्रै अगाडीको बाटो पहिल्याउन खोज्ने हाम्रो संस्कार खड्का बाहिरिनुको दृश्यका लागि दोषि देखिन्छ ।
रोतहट ५ बाट गत संविधानसभामा चुनिएका तराई–मधेस लोकतान्त्रिक पार्टीका सभासद गोविन्द चौधरी कुनैबेला कांग्रेसका कार्यकर्ता थिए । उनले एक सन्दर्भमा खुमबहादुर लाई कार्यकर्ताले पच्छ्याउनुको कारणबारे भनेका थिए रे – सुशिल कोइरालाको घरमा जाँदा एककप कालो चिया खाउ भन्ने प्रस्ताब पनि आउँदैन । खुमबहादुर खड्काको घरमा जाने बितिक्कै मेजमानीको खाना, सुखसयलको बसाई र भोलिपल्ट विदा माग्दा सकेजित पैसा खल्तीभरी हाल्दिन्छन् ।
हो अन्य नेताको दाँजोमा खुमबहादुर जेलबाट बाहिरिने दिन ज्यादा मान्छेहरु सडकमा उत्रिएका छन् । गोविन्द चौधरीको जस्तो मेजमानीको खाना, आरामको बसिबसाइ र खल्ती गर्हुंगो गर्ने अवसर नपाए पनि प्रत्यक्षरपरोक्ष रुपमा उनको अन्न चाखेका नै आए पक्कै सडकमा । र, नेपाली उखान जस्तै नुनको सोझो गर्न दांगदेखि राजधानी उत्रिएकाहरु कै बाहुल्य थियो ।
खुमबहादुर १ क्वीन्टलको माला पहिरिएर जेलबाट बाहिरिनु, कार्यकर्ता विपीको फोटो छातीमा टाँसेर खुमबहादुर हाइहाइु भन्नुले हामीभित्रको राजनीतिक चेतमाथि नै व्यंग्य गरेको छ ।
तस्बीरहरु : प्रकाश लामा