अन्तिम समयमा आएर कांग्रेसलाई 'धोका' दिँदै एमालेसँगको साता गठबन्धनलाई नै निरन्तरता दिएका एमाओवादी अध्यक्ष प्रचण्डले शेरबहादुर देउवासँग हस्ताक्षर गर्नका लागि तयार पारिएको सात बुँदे सहमतिपत्र सेतोपाटीलाई प्राप्त भएको छ।
सो सहमतिपत्रमा हस्ताक्षर गर्न दाहाल निवास लाजिम्पाट पुगेका कांग्रेस सभापति देउवालाई आन्तरिक अप्ठ्यारो र संसदमा नियमावलीको अड्चन देखाउँदै उनले रित्तै हात फर्काएका थिए। कांग्रेससंग बिहीबार विहान गर्ने भनिएको सहमतिबाट पछि हटेर उनले राति एमालेसँग नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
झण्डै एक महिना लामो आन्तरिक गृहकार्य र अनौपचारिक वार्तापश्चात् कांग्रेसको समर्थनमा नयाँ सरकारको नेतृत्व लिने वातावरण एमाओवादी अध्यक्ष प्रचण्डले बनाएका थिए। त्यसका साथै उनले कांग्रेससँग चक्रिय प्रणालीमा सत्ताको नेतृत्व गर्न लिखित सहमतिको मस्यौदासमेत बनाउन लगाए।
कांग्रेस-एमाओवादीबीच हस्ताक्षरका लागि तयार पारिएको सहमतिपत्रमा कांग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक तथा एमाओवादी नेता वर्षमान पुन र जनार्दन शर्माले बुधबार दिनभर र राति अबेरसम्म गृहकार्य गरेका थिए।
एमाओवादी महासचिव कृष्णबहादुर महराले बिहीबार विहान सम्झौतापत्रलाई अन्तिम रुप दिएर ७ बजे कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्न सकिने प्रस्ताव राखेका थिए। तर प्रचण्डले ढिला गर्न आवश्यक नभएको भन्दै बुधबार राति नै मस्यौदालाई अन्तिम रुप दिन लगाए।
सहमतिपत्र तयार पार्नुपूर्व दुई दलका नेताबीच भएको मौखिक सहमति अनुसार बिहीबार विहान सहमतिपत्रमा देउवा र प्रचण्डले हस्ताक्षर गरेलगत्तै एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको थियो।
एमाओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेर पनि राजीनामा नदिएमा संसदमा ओली विरुद्ध ३ सय ४१ सदस्यको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो। त्यसको जानकारी सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई दिने तयारी भएको थियो ताकि ओलीले पदबाट हट्नुबाहेक अन्य विकल्प अपनाउन नसकुन्।
बिहीबार बिहान देउवा आफ्ना सहयोगी विमलेन्द्र निधि र रमेश लेखकलाई साथ लिएर सम्झौता पत्रमा हस्ताक्षर गर्न प्रचण्ड निवास लाजिम्पाट पुगे। तर त्यहाँ पुग्दा प्रचण्डले देउवासँग सहमतिपत्रमा हस्ताक्षर गर्न अप्ठ्यारो परेको जनाए। कांग्रेस नेताहरु पुग्नुअघि नै उनले एमालेनेता झलनाथ खनाल र बामदेव गौतमसँग आफ्नो निवासमा एमालेसँगै मिलेर जानेमा सहमति जनाइसकेका थिए। एमालेसँग बिहीबार साँझ भएको नौ बुँदे सहमतिको आधार त्यही तयार भएको थियो।
आखिर के थियो कांग्रेस एमाओवादीबीच हस्ताक्षर गर्न तयार पारिएको सात बुँदे सहमति पत्रमा?
दुई पार्टीबीच भएको सत्तासाझेदारीको प्रमुख बिषय सहमति पत्रको अन्तिम बुँदामा राखिएको थियो। सुरुमा कार्यदलले सहमतिपत्रमा नै जेठदेखि माघसम्म पहिलो चरण र माघदेखि २०७४ साल माघसम्म स्पष्ट मिति किटान गरिएको भए पनि पछि मिति लेख्ने स्थानमा खाली राख्दै त्यो विषय देउवा र प्रचण्डले नै मिलाउने सहमति भएको थियो। अन्तिम सहमति भने पहिलो चरणमा पुस मसान्तसम्म प्रचण्ड र माघदेखि संघीय संसदको निर्वाचन नभएसम्म कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने उल्लेख थियो।
पढनुहोस्, सहमतिपत्रमा उल्लेखित सात बुँदा :
१. नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने।
२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको ऐतिहासिक उपलब्धीको रक्षा गर्दै संविधान बमोजिम आवश्यक कानुनी व्यवस्था गर्ने।
३. सक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तामा छानविन आयोगसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी समाजमा शान्ति, मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउने। सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता व्यक्तिका परिवार, अंगभंग र द्धन्द्धका क्रममा विस्तापित परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउने। सशस्त्र संघर्षको अवधिमा भएका जग्गा विवाद सहमतिका आधारमा समाधान गर्ने।
४. वि.सं. २०७२ साल वैशाख १२ र २९ गएको भूकम्पबाट भएको क्षतिको विवरण लिई भूकम्पपीडितको राहत तथा पुन:स्थापनाका लागि पुनर्निर्माण कार्यलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउने।
५. देशमा शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्दै कालोबजारी, कृत्रिम अभाव, महंगीको अवस्था अन्त्य गरी दैनिक उपभोगका सामाग्रीको सहज उपलब्धीको व्यवस्था गर्ने।
६. नेपालको संविधानले परिकल्पना गरे बमोजिम देशमा शान्ति, स्थिरता र सुशासनको प्रत्याभूति गर्दै आर्थिक समृद्धि तथा विकासका अभियान संचालन गर्ने।
७. नेपाली कांग्रेस र एमाओवादीको संयुक्त सरकार गठन गर्ने। दुबै दलको सहमतिमा संसदमा रहेका अन्य दललाई सरकारमा सहभागी गराउने। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने। ...महिनापछि वि.सं. ... साल ... महिना ... गतेदेखि संघीय संसदको निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने।
हस्ताक्षर हस्ताक्षर
शेरबहादुर देउवा प्रचण्ड