नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले नेपालका सात जना नेता र मानवअधिकारकर्मीहरुलाई खेद्न कार्यकर्तामा अपिल गरेका छन्।
नेपाली काँग्रेस, थरुहट तराई पार्टी, एमाओवादी, थारू कल्याणकारीणि सभाका जिम्मेवार नेताहरू सहभागि पत्रकार सम्मेलनमा बोल्दै उनले शुसील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, भीम रावल, लेखराज भट्ट, शेरबहादुर देउवालाई खेद्न भनेका हुन्।
‘यी सात जनाको कारणले मुलुक अद्योगतितर्फ गइरहेको छ,' उनले भने, ‘यिनीहरुलाई के के गर्न सकिन्छ गर्नुहोस्, अब यिनलाई बाँकी छाड्नु हुन्न।’ उनले कर्फ्यु लागेको समयमा थारुहरुको घर जलाउँदा मानवअधिकारकर्मीले वास्ता नगरेको भन्दै उनले असन्तुष्टी पोखेका छन्। ‘कोही मानवाधिकरकर्मी हुँ भनेर खुलेआम हिड्छ भने कठालो समातौं,' उनले भने, ‘दुई हप्तासम्म कहाँ रक्सी खाएर लडेको थिइस्, डलर पचाउने संस्था बन्द गर् भनेर भन्नुहोस्।’
लेखीले भोलिदेखि नै आन्दोलनको स्वरुप परिवर्तन हुने र गाविसहरुबाट विद्रोहको बिगुल फुक्ने बताए। ‘प्रत्येक गाविस, नगरपालिका, शहरबाट अब आन्दोलन सुरु हुन्छ, शहरमुखी मात्र हुने छैन,’ उनले भने।
उनले ६ र ७ प्रदेशको सीमांकन नमान्ने बताउँदै तराईमा चार प्रदेश हुनुपर्ने माग गरे। लेखीले अबको वार्ता तराइमै हुनुपर्ने बताउँदै वार्ताको लागि संविधान सभाका सभासद्हरुपनि तराई आउनुपर्ने माग गरे। उनले वार्ताअघि पक्राउ परेका कार्यकर्ता छाड्नुपर्ने, सेना र कर्फ्यु हटाउनुपर्ने माग राखेका छन्।
उनले आफ्नो आन्दोलन बाहुन, क्षेत्री वा पहाडीयाको विरुद्धमा नभएको र कसैलाई आक्रमण गर्ने वा खेद्ने भन्ने नीति आफूहरुको नरहेको जिकिर गरे। उनले टीकापुर घटनामा कति स्थानीयलाई गोली लाग्यो भन्ने सत्यतथ्य बाहिर नआएको बताए।
उनले समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीको भूमिका पनि सकारात्मक नभएको गुनासो गरे। ‘टीकापुरको विषयमा जे जस्तो समाचार निरन्तर आइरहेको छ, त्यो सही छैन,’ उनले भने, ‘कसैको इशारामा पूर्वाग्राही समाचार लेखेर आफ्नो पेशालाई बद्नाम नगराउनुहोस्।’
पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका पूर्वाञ्चल संयोजक तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का नेता सुजेन्द्र गोले तामाङले पनि एउटा जातिको विशेषाधिकारको अन्त्य हुनुपर्ने माग गरे।
कार्यक्रममा पत्रकारहरुले पनि आन्दोलनकारीहरुले पत्रकार तथा मानवाधिकारकर्मीलाई दिने धम्की र अवरोधले काम गर्न गाह्रो भएको गुनासो गरेका थिए। बन्दको नाममा सडक रोकेर सर्वसाधारण तथा पत्रकारहरुलाई दुःख दिइएको गुनासो गरेका थिए। प्रत्युत्तरमा लेखीले पत्रकार, एम्बुलेन्स तथा सर्वसाधारणलाई दुःख नदिन कार्यकर्ताहरुलाई आग्रह गरे।