प्रधानमन्त्री सुशील कोइरालाले आफू जतिसक्दो चाँडो संघियतासहितको संविधान जारी गरी जिम्मेवारीबाट बाहिरिन आतुर रहेको बताएका छन्।
संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहत गठित उच्चस्तरीय विशेष समितिको बैठकबाट बाहिरिने क्रममा मंगलबार कोइरालाले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन्।
संविधानको पहिलो मस्यौदामा नागरिकबाट प्राप्त रायसुझाव समेट्दै विवादित विषय टुंगो लगाउन संवाद समिति सभापति बाबुराम भट्टराईले डाकेको बैठकबाट बाहिरिने क्रममा कोइरालाले भने,
‘हामी प्रमुख दलका सबै नेताहरू केहीदिन यता बिहानदेखि बेलुकासम्म सबैका धारणा मिलाएर सहमति जुटाउँदै संविधान बनाउन लागिरहेका छौं,’ कोइरालाले भने।
केही सत्तापक्ष र विपक्षी दलका नेताहरूले कोइराला सत्तामा लामो समय बसीरहेर संविधानका विवादित विषयमा तत्काल सहमति जुटाउन नखोजेको आरोपको खण्डन गर्दै कोइरालाले भने, ‘म र मेरो दल सत्ता लम्ब्याउन लागेको कुरा सरासर गलत हो। म जतिसक्दो चाडो यो मुलुकमा नयाँ संविधान बनाएर सत्ताबाट बाहिरिन चाहन्छु।’
दलहरुबीच भएको १६ बुँदे सहमतिका आधारमा अहिले नेताहरू संविधानमा सहमति जुटाउन बिहानदेखि नै रातिसम्म लागिपरेका छन्। यस्तो बेलामा मिडियाले पनि साथ दिनु पर्ने भन्दै उनले भने, ‘दल र दलका नेताहरुको विषयमा नकारात्मक सन्देशसहितको समाचार प्रकाशित नगरि संविधान निर्माणमा सहयोग गर्नुहोस्।’
दलहरूबीच जारी वार्ता र छलफलमा सहमतिको वातावरण मिडियाले विगारेको भन्ने लाग्छ भन्ने प्रश्नको जवाफमा कोइरालाले भने, ‘हो नि त। हामीहरू सबै विषयमा कसरी सहमति गर्न सकिन्छ भनि भित्र छलफल गरिरहेको बेला मिडियाले बाहिर फलानो दलको फलानो नेताले यो भन्यो र अर्कोले यसो गर्यो भनि नकरान्मक समाचार प्रकाशित गर्नुहुन्छ। यसले बास्तविकता बुझ्नेहरूका लागि खासै समस्या नपारेपनि गाउँका सोझा सर्वसाधारणमा नकारात्मक सन्देश गएको छ।’
संविधानमा संघीयताको विषयमा प्रदेशको सीमांकनसहितको संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको पनि उनले बताए। संविधानको पहिलो मस्यौदा तयारीसँगै विरोधमा उत्रिएको मधेसवादी दल र संविधानसभा बाहिर रहेका कतिपय असन्तुष्ट पक्षसँग पनि विभिन्न तहमा छलफल गरी सबैको सहमति जुटाएर साउनभित्रै संविधान जारी गर्न आफूहरु लागिपरेको पनि उनले बताए।
सामान्य अवस्थामा पत्रकारहरुसँग खासै खुलेर कुरा नगर्ने र कसैले केही प्रश्न सोधेपनि केही छैन, सबै हुँदैछ भन्दै आफ्नो बाटो लाग्ने कोइरालाले मंगलबार राज्य व्यवस्था समितिको बैठककक्ष बाहिर उभिएका पत्रकारहरुसँग अत्यन्त सहज तबरले आफ्ना कुरा राखेका थिए।
संविधानसभाले संवाद समितिलाई सहमतिको प्रतिवेदन तयार पार्न दिएको समयभन्दा दुईदिन बढी समय गुजारीसकेपछि अब थप कति लाग्न सक्छ भन्ने प्रश्नको जवाफमा कोइरालाले भने, ‘अब धेरै ढिला गर्न हुन्न। हामीले यसअघि नै ८ वर्षको समय संविधानमा सहमति जुटाउनै बिताइसक्यौं। अब कति वर्ष बिताउने? हामी नेताहरु भन्दा पनि तपाई युवाहरूको उज्वल भविश्यका लागि पनि अब संविधान बनाउन ढिलाई गर्नु हुन्न,’ उनले प्रत्रकारहरुप्रति लक्षित गर्दै भने।
कोइरालाले संविधान बनाउन भएको ढिलाइका कारण देशभित्र र बाहिर रहेको नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायमा पनि निराशा छाउने बताए।