वैशाख १२ गते भूकम्प गएपछि पीडित समक्ष राहत सामग्री पुर्याउने कार्यमा नेपाललाई सहयोग गर्न आएका ब्रिटिस सैनिकका तीनवटा रोयल एयर फोर्स चिनुक हेलिकप्टरले नेपाल छिर्ने अनुमति पाएनन्। पछिल्ला करिब दुई सातादेखि भारतीय वायुसेनाको चण्डीगढ़स्थित अड्डामा ती हेलिकप्टर अलपत्र बसेका छन्।
भूकम्प आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयन मुलुकका विमान र हेलिकप्टर राहत लिएर उत्रिए। दुई दर्जनभन्दा धेरै मुलुकका सेना उद्धार र राहतमा सहभागी बने। ब्रिटिश गोर्खाहरुलाई लिएर आएको बेलायती सेनाको अर्को जहाज र डिएफआइडीको राहत सामग्री लिएर आएको जहाजले पनि काठमाडौं छिर्ने अनुमति पाए।
तर नेपालसँग सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको बेलायतका अत्याधुनिक तीन चिनुक सैनिक हेलिकप्टर नेपाल छिर्न पाएनन्। कैयन कुटनीतिक र अन्य पहल गर्दा पनि बेलायतले ती जहाज नेपाल ल्याउन सकेको छैन।
चिनुक हेलिकप्टरलाई नेपाल आउन किन दिइएन? आउन नदिन कसले भूमिका खेल्यो? के त्यो सही निर्णय थियो?
यस्ता धेरै स्वभाविक प्रश्न उठेका छन्। बेलायतसँग नेपालको लामो र गहिरो कुटनीतिक सम्बन्ध छ। अहिले पनि नेपालीहरु ब्रिटिश सेनामा काम गर्छन्। यसैपाली पनि राहतमा सघाउन धेरै ब्रिटिश गोर्खा सरकारी तवरमा नेपाल आएका छन्। ब्रिटेन अहिले नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग गर्ने मुलुक हो। भूकम्प आएपछि नेपाललाई अहिलेसम्मको सबै भन्दा ठूलो राहत घोषणा गर्ने मुलुक पनि ब्रिटेन नै हो। भोलिको पुनर्निर्माण र पुनर्स्थापना अभियानमा पनि बेलायती सहयोग अपेक्षित छ।
यति पुरानो र बलियो कुटनीतिक सम्बन्ध हुँदाहुँदै पनि किन चिनुक हेलिकप्टर नेपाल छिर्न पाएनन्?
कतिपयले भारत वा चीनका कारण चिनुक नेपाल आउन नपाएको अड्कल गरेका छन्। यस्तो अड्कल गर्नेमा स्वयम् ब्रिटिश मिडिया पनि छन्।
तर, उच्च सैनिक लगायत अन्य स्रोतबाट सेतोपाटीलाई प्राप्त सूचना अनुसार चिनुक नेपाल प्रवेश गर्न नपाउनुको एउटा मात्रै कारण छ- नेपाली सेनाको ब्रिटेनसँग रीसइवी साध्ने मनसाय। उच्च सैनिक स्रोतले भन्यो, त्यो रीसइवीको एउटै मात्र कारण हो, ब्रिटेनमा नेपाली सेनाका कर्नेल कुमार लामाको गिरफ्तारी।
गैरसैनिकलाई सेनाको ब्यारेकमा गैरन्यायिक थुनुवा र यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कानुन अन्तर्गत ब्रिटिश अदालतको आदेशमा कर्णेल लामा लण्डनमा पक्राउ परेका थिए। उनी अहिले पनि लन्डनमै नजरबन्दमा छन्।
नेपाली सेना र सरकारको कयैन पहलका वावजुत कर्णेल लामा जेलमुक्त हुन सकेका छैनन्। ब्रिटिश सरकारले अदालतको मामला भएकोले लामाको मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको जवाफ दिँदै आएको छ।
नेपाली सेनाले लामा थुनिएको रीस विपद्मा सहयोग गर्न आएको नेपालको सबैभन्दा पुरानो मित्र माथि पोखेको छ। यतिसम्म कि चिनुकलाई नेपाल आउन दिन पहल गर्न प्रधानसेनापति गौरव समशेर राणालाई भेट्न खोज्दा बेलायतका कार्यवाहक राजदूत जोन र्यानकिनलाई उनले समयसम्म दिएनन्। जव कि प्रधानसेनापति राणा अमेरिकी राजदूत पिटर बोडेलाई सँगै लिएर प्रधानमन्त्री सुशील कोइरालाकहाँ गए।
कोइरालालाई बोडेले त्यहीँबाट अमेरिकी राष्ट्रपति बाराक ओवामासँग कुरा गराएका थिए।
अमेरिकाले उद्धार र राहतका लागि सेना र हेलिकप्टर त्यसपछि नै पठाएको हो।
चिनुक हेलिकप्टर ब्रिटिश सेनाले नपठाई डिएफ़ाइडीले झिकाएको थियो। आफ्नो राहत सामग्री र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम मार्फत भूकम्प पीडित विकट जिल्लामा खाद्यान्न पुर्याउन डिएफ़ाइडीले ती हेलिकप्टर मगाएको थियो। ब्रिटेनले घोषणा गरेको राहत रकम कहाँ-कहाँ खर्च हुँदै छ भनी डिएफ़ाइडीले सार्वजनिक गरेको चार्टमा पनि यो प्रष्टसँग देखिन्छ।
अझैसम्म पनि भारतको चण्डीगढमै रहेका ती हेलिकप्टर नेपाल भित्र्याउन सकिन्छ कि भनी भर्खरै दोस्रो अवधिका लागि निर्वाचित भएका बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले शुक्रबार साँझ मात्रै सुशील कोइरालासँग फोनमा कुरा गरे।
कोइरालाले क्यामरुनलाई ब्रिटिश सहयोगका लागि धन्यवाद दिँदै मुलुक अब उद्धार र राहतबाट पुननिर्माणको चरणमा प्रवेश गरिसकेको हुँदा चिनुक हेलिकप्टर आवश्यक नरहेको जनाउ दिए।
उच्च श्रोतका अनुसार केमरूनले नेपाल सरकारको निर्णयको सम्मान गर्ने बताउँदै यो विपदको घडीमा बेलायतको सहयोग जारी रहने दोहोर्याए।
लण्डनमा बेलायत सरकारका प्रवक्ताले चिनुक हेलिकप्टरले बिश्व खाद्य कार्यक्रमको खाद्यान्न विकट गाउँहरूमा पुर्याउन नपाउने भएकोमा आफूहरू निराश भएको तर राहतमा कसलाई संग्लन गराउने वा नगराउने नेपाल सरकारको निर्णय भएकोले त्यसलाई सम्मान गर्ने बताएको बेलायती छापाले लेखेका छन्।
हिजो पनि बेलायती प्रधानमन्त्री केमरूनले आफैँ फोन गरेर प्रधानमन्त्री कोइरालासँग कुरा गर्नुको अर्थ ब्रिटिश सरकारको ती जहाज नेपालमा राहत कार्यमा संग्लन हुन पाउन् भन्ने कत्रो चाहना थियो भन्ने देखाउँछ।
संसारभर आइपर्ने विपदमा आफ्नो र आफ्ना सैनिकको सहभागी शक्तिशाली मुलुकका लागि प्रतिष्ठाको बिषय पनि हो। अन्तर्राष्ट्रिय संचारमा आफ्ना सैनिक धेरैजसो युद्धमा होमिएका दृश्य मात्र देखिने हुँदा मानवीय उद्धार र राहतमा उनीहरू संग्लग्न भएका घटनाले थोरै भए पनि सहानुभूति कमाउँछ।
अहिले उद्धार र राहतको चरण सकिएको जवाफ कोइरालले दिए पनि चिनुकले नेपाल छिर्न नपाउनुको मूल कारण त्यो होइन भन्ने बेलायतलाई पनि थाहा छ। जुन दिन तीनवटा चिनुक चण्डीगढ उत्रिए, सो दिनसम्म नेपालमा समान ओसार्ने हेलिकप्टरको अभाव थियो। चिनुक त्यहाँ उत्रिएको भोलिपल्ट मात्रै चार वटा अमेरिकी ओस्प्रे हेलिकप्टर काठमाडौँ उत्रिएका हुन्।
विज्ञहरुको भनाइमा उच्च पहाडी भूभागमा समान ओसार्न ओस्प्रेभन्दा बोइङ कम्पनीले निर्माण गरेको चिनुकनै बढी प्रभावकारी छ। उनीहरू भन्छन्, ‘अफगानिस्तानमा सैनिक समान ओसार पसार गरेर उच्च भूभागमा चिनुकको प्रभावकारिता प्रमाणित भइसकेको छ।
अव सायद यसपालीलाई चिनुकको आवश्यकता पर्ने छैन र यो आध्यायको पटाक्षेप भइसकेको छ। तथापि बेलायतले अझै केही दिन चिनुक चण्डीगढमै राख्नेछ।तर, हाम्रो आफ्नै सन्दर्भमा यो घटनाले जन्माएका प्रश्नहरुको छलफल हुनुपर्छ।
हामीलाई चिनुक चाहिदैन भनेर अन्तिम जवाफ नेपालका प्रधानमन्त्रीले बेलायती समक्षीलाई दिएको भए पनि रोयल एयर फोर्सको यो जहाजलाई रोक्न सुरूदेखि नै भूमिका भने नेपाली सेनाले खेल्यो। यो जहाजलाई आउन नदिने र ‘बेलायतलाई देखाइदिने’ निर्णय सैनिक नेतृत्व आफैले लियो। त्यही अनुसार भूमिका बनायो र सरकारलाई 'ब्रिफ' गर्यो।
अमेरिकी ओस्प्रे हेलिकप्टर उच्च भूभागमा धेरै प्रभावी नदेखिएपछि, सेनालाई थप बहाना मिल्यो।
प्रधानमन्त्री सुशील कोइरालाको एउटा सवल पक्ष के हो भने धेरै पूर्वप्रधानमन्त्रीहरू जस्तो उनी विदेशी सामु लतारिन्नन्। तर, यो अडान निरपेक्ष हुनुहुन्न, सान्दर्भिक र बस्तुनिष्ठ हुनुपर्छ।
नेपाली सेनाले चिनुकलाई अनुमति दिने निर्णयलाई कर्णेल कुमारसँग मात्र जोडेर हेर्यो। यसलाई बृहत पृष्ठभूमिमा हेर्नुपर्ने दायित्व नागरिक नेतृत्वको थियो, सरकार चुक्यो।
नेपाल र ब्रिटेन अहिले विभिन्न कार्यक्रम गरी गोर्खा भर्तीको २ सय वर्षगाँठ मनाउँदै छन्। अर्को वर्ष हामी दुई मुलुकबीच कुटनीतिक सम्वन्धको २ सय वर्षगाँठ मनाउने तयारीमा छौ। संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्यमध्ये एक राष्ट्र ब्रिटेनसँग संसारभरका द्वन्दग्रस्त मुलुकमा शान्ति सेना पठाउने नेपालले सदैव सम्बन्ध कसिलो बनाउन खोज्नु पर्ने हो। तर विपदमा परेको बेला आफ्नै ढोकामा सघाउन आएको पुरानो मित्रलाई हामीले कसैको आत्मतुष्टिका लागि खिन्न बनाएर पठायौं!
यो मुलुकका हितमा गरिएको सुझबुझपूर्ण निर्णय पक्कै थिएन।