महाभूकम्पपछि राहत सामाग्री वितरणका लागि सघाउन आएका चिनियाँ ३ हेलिकोप्टरले वुधबारदेखि नै उडान प्रारम्भ गरेका छन्। बुधबार बिहान साँढे ७ वजे ३ एमआई–१७ चिनियाँ हेलिकोप्टरले सिन्धुपाल्चोकमा पहिलो उडान गरेको थियो।
काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर चिनियाँ हेलिकोप्टरले चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लामा राहत सामाग्री ओसार्न थालेको छ। नेपाली सेनाका उपरथी विनोज बस्न्यातका अनुसार चालक दलका सदस्यमा भाषा समस्याका कारण चिनियाँ हेलिकोप्टर काठमाडौं आईपुग्न ढिलाई भएको थियो।
यसअघि चिनियाँ जनमुक्ति सेनाको छेन्दु कमाण्डबाट आएका हेलिकोप्टरका पाइलटले चिनियाँ भाषामात्र बोल्ने भएका कारण सेन्ट्रल कमाण्ड बेइजिङबाट अंग्रेजी भाषा बोल्ने पाइलटका साथ हेलिकोप्टर काठमाडौं पठाइएको थियो।
महाभूकम्पपछिको खोजी तथा उद्धार कार्य सकेको नेपाली सेनाले अतिप्रभावित मानिसका लागि राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ। छिमेकी तथा मित्र राष्ट्रका सरकार या सैनिक सहायतामा आएको राहत द्रुत गतिमा भूकम्प प्रभावित क्षेत्रमा पठाउन थालिएको पनि सेनाले जनाएको छ।
राहत वितरण कार्यमै सघाउन अमेरिकी वायू सेनाले सैनिक सहायता स्वरुप पठाएका हेलिकोप्टर नेपालको उच्च भूगोलका कारण त्यति प्रभावकारी हुन नसकेको स्रोतहरुले उल्लेख गरेका छन्। अमेरिकी सेनाले ४ वटा एमभी–२२ ओस्प्री, ४ वटा हुईय हेलिकोप्टर पठाएको छ। त्यसमध्ये ओस्प्री आइतबार र हुइय मंगलबार काठमाडौं आइपुगेका हुन्।
ओस्प्री हेलिकोप्टरले सोमबार र मंगलबार फलाइट गरेको थियो। तर नेपालको उच्च भूबनोटका कारण २ हजार केजीभन्दा ज्यादा सामान बोक्न सकेन। यसको क्षमता भने ९ हजार केजी हो।‘नेपालको हाइअल्टिच्युटका कारण अमेरिकन हेलिकोप्टरले धेरै सामान ओसार्न नसकेको हो’, सैनिक स्रोतले भन्यो।
ओस्प्री अवतरणका बेला हेलिकोप्टर जसरी काम गर्छ भने उडानका बेला जहाज जसरी उड्ने गर्छ।
अमेरिकी सेनाका हेलिकोप्टरलाई काभ्रे, दोलखा, रामेछाप र ओखलढुंगामा राहत सामाग्री पुर्याउने जिम्मेवारी तोकिएको छ। अमेरिकी वायू सेनाका हेलिकोप्टर मध्ये ओस्प्रीले अवतरण र उडानका बेला धेरै ठूलो आवाज निकाल्नुका साथै र धेरै हावासमेत फाल्ने गर्छ। भूकम्पका कारण चर्केका घरहरुमा झनै क्षति पुगेको भन्ने विभिन्न स्थानबाट गुनासो आएपछि बस्ती वरपर ओस्प्रीलाई अवतरण नगर्न भनिएको छ।
काठमाडौं वेस भएका भारतीय वायू सेनाका ६ हेलिकोप्टरलाई भने मकवानपुर, धादिङ र गोरखा जिल्लामा राहत पुर्याउने जिम्मेवारी दिइएको छ। भारतले पठाएका १३ हेलिकोप्टर मध्ये ७ वटाले भने पोखरालाई बेस बनाएर उद्धार तथा राहत सामाग्री ओसार्ने काम गरिरहेका छन्।
प्रत्येक हेलिकोप्टरमा एक–एक जना नेपाली सैनिक अधिकृतलाई सम्पर्क अधिकृत राखेरमात्र उडान गर्न दिने नीति बनाइएको छ। सेनाले भनेको छ, ‘त्यस नीति अनुसार विदेशी हेलिकोप्टरमा नेपाली सैनिकलाई सम्पर्क अधिकृतका रुपमा खटाइएको छ।’