प्रधानमन्त्री सुशील कोइरालाले देशी÷विदेशी दातृ निकायसँग हारगुहार गरेर भए पनि भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्ने बताएका छन्।
'हारगुहार गरेर भए पनि राहत सप्लाई गर्छौ', भूकम्पबाट भएको जनधनको क्षति अवलोकन गर्न आज गोरखा अाएका प्रधानमन्त्री कोइरालाले भने, 'सबै पार्टी एक भएर भूकम्पपीडितको समस्या समाधानमा जुट्छौँ।'
भूकम्पपीडितलाई देशी/विदेशी दातृ निकायले सहयोग गर्ने तत्परता देखाएको भन्दै उनले सकेसम्म छिटो राहत सामग्री जुटाएर वितरण गरिने प्रतिबद्धता व्यक्त गरे।
विनाशकारी भूकम्पले देशलाई गम्भीर सङ्कटमा पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले दुर्गम भेगमा रहेका भूकम्पपीडितलाई पनि राहत सामग्री पु¥याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए।
भत्किएका सडक तथा बाटोघाटो बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिँदै प्रधानमन्त्रीले उत्तरी गोरखाको १८ गाविसमा हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याउन आग्रह गरे। उनले भूकम्पप्रतिरोधात्मक घर निर्माणका लागि सरकारले नीति ल्याउने जानकारी दिए।
विनाशकारी भूकम्पले गोरखामा अहिलेसम्म भएको जनधनको क्षतिबारे प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेनाले जानकारी गराएका थियो । तिमेल्सेनाले तत्कालका लागि रु दुई अर्ब ६० करोड बजेट प्राप्त भए भत्किएका भौतिक संरचनाको पुनःनिर्माण गर्न सकिने बताए।
विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक र सो क्षेत्रमा भएको जनधनको क्षतिबारे अवलोकन गर्न प्रधानमन्त्री कोइराला, प्रधानसेनापति गौरवशम्शेर जबरालगायतको टोली गोरखाको बारपाक क्षेत्रतर्फ गएको हो।
उनीहरुले हेलिकोप्टरमार्फत नै ध्वस्त भएका बस्तीको अवलोकन गर्ने बताइएको छ । भूकम्पपीडितले राहत पाए/नपाएको बारे पनि प्रधानमन्त्रीले अवलोकन गर्ने बताइएको छ ।
साथै गोरखाका जननिर्वाचित सभासद्हरु, नेताहरुले जिल्लाको उत्तरी भेगमा राहत सामग्री पठाउन हेलिकोप्टरको व्यवस्था गर्न प्रधानमन्त्री कोइरालालाई पत्र दिएका छन् । हेलिकोप्टर अपर्याप्त भएको भन्दै दलहरुले नेपाली सेनाको ठूलो हेलिकोप्टर गोरखा पठाइदिन पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । रासस