दुई अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार हुन लागेको विवादास्पद त्रिशुली थ्री–ए जलविद्युत आयोजना ठेकेदारको कमिसन एजेन्ट मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको आफन्त भएको खुलासा भएको छ। रेग्मीको पारिवारिक स्रोतका अनुसार खिलराजका जेठा छोरा पूजन रेग्मी र चिनियाँ ठेकेदार गेजुवाको कमिसन एजेन्ट भट्ट परिवारको साढु नाता छ।
पूर्व ऊर्जामन्त्रीहरु, प्राधिकरणका प्रबन्ध निर्देशकहरु, सञ्चालक, कर्मचारीहरुको चौतर्फी बिरोधका बाबजुद थ्री–एका कमिसन एजेन्ट दीपक भट्ट/सुशील भट्ट लगायतकै सक्रियताले आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मा विस्तार भएको हो। यी भट्ट दाजुभाइमध्ये जेठा सुशील साढुदाइ हुन् भने रेग्मी पुत्र पूजन साढुभाइ । उनीहरुको विवाह विराटनगरको दाहाल परिवारमा भएका हो।
सुशीलले प्रविना दाहाललाई बिहे गरेका छन् भने पूजनकी श्रीमती प्रसन्ना हुन्। रेग्मी पारिवारिक स्रोतका अनुसार पूजन र प्रसन्ना अष्ट्रेलिया 'सेटल' हुने झण्डैं एक वर्षअघि उता गएका थिए। रेग्मीलाई मन्त्रिपरिषद्को समेत जिम्मेवारी आएपछि नेपाल आएका उनीहरु अझै अष्ट्रेलिया फर्किएका छैनन्। 'राजकाजमा सघाउनुपर्ने भएकाले अष्ट्रेलिया नफर्किएको भन्ने हामीले सुनेका छौं,' बालुवाटार स्रोतले भन्यो।
पूजन आर्किटेक्चर इञ्जिनियर हुन्। अष्ट्रेलिया जानु अघि यिनी कन्सलटेन्सी गर्थे। 'अहिले पूजनको समय भट्ट साढुदाइहरुको काममा पनि सरसहयोग गरेर बित्छ,' स्रोतले भन्यो। भट्ट परिवार चाइना साउथ वेस्ट एयरलाइन्स, नेपाल टेलिकमलाई मोबाइल सेवाको उपकरण बेच्ने चिनियाँ कम्पनी लगायतका पनि स्थानीय एजेन्ट हो।
प्रहरी र सेनामा हतियार सप्लाइको काममा पनि दीपक पटकपटक चर्चामा आउने गरेका छन्। प्रहरि प्रधान कार्यालय स्रोतका अनुसार सुडाना घोटालाको मुद्दा परेपछि शम्भु भारतीले पनि भट्टहरुकै फर्मबाट प्रहरीमा हतियार लगायत बन्दोबस्ती सप्लाइको काम गर्छन्।
कमलपोखरीमा रहेको भट्टहरुको अफिसमा रेग्मी पुत्र पूजन पटकपटक पुग्ने गरेका छन्। आयोजना क्षमता विस्तारको निर्णयले २ अर्ब घोटाला र प्राधिकरणलाई ८ अबै रुपैयाँभन्दा नोक्सानी हुँदा पनि रेग्मीले कुनै चासो दिएका छैनन्। सुनेको नसुन्यै गरिरहेका छन्।
६० मेगावाटको ठेक्का पारेपछि गेजुवाले नै चार वर्षअघि १० अर्बमा ९० मेगावाटको काम गर्ने प्रस्ताव गरेको थियो। सरकारले अवैधानिक भनेर मानेन। अहिले सरकार/प्राधिकरणले त्यही काम गेजुवालाई १२ अर्बमा दिएको छ। एक मन्त्रीका अनुसार प्राधिकरणका पूर्व अध्यक्ष एवं मुख्य सचिव लीलामणि पौडेलले पटकपटक थ्री–एको विवादबारे ध्यानाकार्षण गराउँदा पनि रेग्मीले सामान्य छलफल समेत गर्न रुचाएनन्।
चैत १७ गते प्राधिकरणले गरेको क्षमता विस्तार निर्णयविरुद्व आन्दोलनरत पाँचवटा कर्मचारी यूनियनका अध्यक्षहरुसँगको भेटमा पनि रेग्मी मौन नै रहे। 'हामीले आधा घन्टा भेटेर यसले मुलुक र प्राधिकरणलाई गर्ने घातबारे बतायौं,' विद्युत प्राधिकरण कर्मचारी यूनियनका अध्यक्ष रामप्रसाद रिमालले भने, 'ठूलो पदको मानिस हामीसँग सवालजवाफ गर्ने कुरा भएन, खासै बोल्नुभएन।'
कर्मचारी संगठनहरुले प्राधिकरण जोगाउन पूर्व ऊर्जा मन्त्री र अर्थ मन्त्रीहरुलाई गुहार्दै अर्को जानकारी पनि गराएका छन्, कमिसन एजेन्ट र रेग्मीको छोराको नाताले पनि सरकारले यस्तो अवैधानिक र खुलेयाम भ्रष्टाचारको निर्णयलाई देखे–नदेखै गरेको हो।'
पाँच पूर्व ऊर्जा र अर्थ मन्त्रीहरुले थि्र–ए को क्षमता विस्तार निर्णय सच्याउन माग गर्दै आज (बिहीबार) दिउँसो ३ बजे रेग्मीलाई भेट्दैछन्। रेग्मीको मौनता र उनको नाताको गाइँगुइँले पनि यो भेट जुराएको बताइएको छ। 'खुलेयाम २ अर्ब भ्रष्टाचार र अर्बौं नोक्सानीको केस रेग्मीज्यू किन टुलुटुलु हेरेर बसिरहनुभएको छ भनेर हामी पाँच पूर्व मन्त्री एकसाथ जान लागेका हौं,' पूर्व ऊर्जामन्त्री प्रकाशशरण महतले भने, 'अरु व्यक्तिगत नाताले पनि काम गर्यो भन्ने कुरा आएको छ, निधो नभई म त्यसमा बोल्ने कुरा भएन।'
जानकारहरुका अनुसार समयमै काम नसकेकाले ८२ करोडभन्दा बढी हर्जाना तिर्नुपर्ने ठेकेदारलाई ४ अर्बको काम दिलाउन भट्टहरुको 'सामर्थ्य' निर्णायक बनेको छ। बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेर सुरु भएको यो सिलसिला त्यतिबेला पुरा भएन। प्राधिकरण अध्यक्ष पौडेल, सञ्चालक मोहन पन्त लगायतले 'राष्ट्रघात हुन्छ' भनेर रोके।
रेग्मी सरकार आउनेबित्तिकै प्राधिकरणको अध्यक्षबाट पौडेल हटे। नयाँ ऊर्जामन्त्री उमाकान्त झा स्वयं भए। उनले थ्री–एको क्षमता विस्तार गर्नुअघि नै व्यापक बिरोध भयो। मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको मौनताले झालाई क्षमता विस्तारको निर्णय लिन सहयोग पुर्याएको दाबी गर्छन् प्राधिकरणका पूर्व सञ्चालक पन्त।
'बाबुरामको मन्त्रिपरिषद्को निर्णय थ्री–एको क्षमता बढाउनैपर्छ भन्ने खालको थिएन,' पन्त भन्छन्, 'भट्टको सक्रियताले नै अहिलेको सरकारलाई मनाएर लिएको हुनुपर्छ। डेढ वर्ष सञ्चालक रहँदा भट्टको पहुँचले पन्तलाई नै त्रिशुली थ्री–ए बढाइदिनुपर्यो भनेर दर्जनौं दबाब आएको थियो।
'यी भट्टको काम गर्दिनुपर्यो/हेर्दिनुपर्यो भनेर कुन पार्टीका कुन नेताले मलाई सिफारिस गरेनन्,' उनी प्रश्न गर्छन्, 'त्यतिबेला नभएको अहिले कसरी भयो?'
सेतोपाटीले आयोजनाको सम्भावित घोटाला प्रकरणका विभिन्न आयाम, पात्र तथा घटना समेटेर ‘त्रिशुली थ्री–ए घोटाला’ श्रृंखला गरेको थियो ।
हेर्नुहोस सेतोपाटीले गरेको श्रृंखलाहरु
- श्रृंखला ११ सम्पादकीय उर्जा र प्राधिकरण नेतृत्व हटाऊ