एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा शुक्रबार एआइजी बढुवामा पैसाको चलखेल भएको भनेपछि कांग्रेसका सभासद्हरुले ताली ठोकेका छन्। एमाओवादी सभासद्हरुले शुक्रबार एकसाथ उठेर संविधानसभा अवरुद्ध गरेपछि दाहालले एआइजी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएका हुन्।
दाहालले कांग्रेसका मन्त्रीहरुले जथाभावी पैसा बाँडेको आरोप लगाउँदा भने एमाले सभासद्हरुले ताली ठोकेका थिए।
कांग्रेस सभासद् गगन थापाले संविधानसभाबाटै ट्विट गरी लेखेका छन्, 'सदनमा बढ़ो रमाइलो दृश्य देखियो। प्रचण्डले सरकारका केही मन्त्रीले जथाभावी पैसा बाँड्यो भन्दा सबै भन्दा जोडले ताली बजाउने एमालेका सांसद अनि प्रहरीको बढुवामा पैसाको लेनदेन भएको छ भन्दा सबैभन्दा जोडले ताली बजाउने काँग्रेसका सांसद। वाह हाम्रो सरकार!!'
अर्थमन्त्री रामशरण महतले आफ्ना कार्यकर्ता र सभासद्हरुलाई मात्र बजेट निकासा गरेको भन्दै एमाले संसदीय दलको बैठकमा विराेध गर्दै यस विषयमा संसद अबरुद्ध गर्न माग गरेका थिए। त्यस्तै कांग्रेस सभासद्हरुले गृहमन्त्री वामदेव गौतमले एआइजी बढुवामा पैसाकाे चलखेल गरेको भन्दै विराेध गरेका थिए।