प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा र सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरुबारे आलोचनात्मक समाचार प्रकाशित गरेका संचारमाध्यम र पत्रकारलाई मानहानि मुद्दा चलाउने तयारी भएको छ।
प्रधानन्यायाधीश शर्मा नवनियुक्त आठ न्यायाधीशसँग छलफल गरेर त्यस्तो निचोडमा पुगेका हुन्। सर्वोच्च स्रोतका अनुसार सेतोपाटी अनलाइन र कान्तिपुर दैनिकका कतिपय समाचार, टिप्पणी र लेखरचनालाई आधार बनाएर मानहानि लगाउने तयारी भएको छ।
सर्वोच्चमै नवनियुक्त आठ न्यायाधीशले मंगलबार सपथग्रहण गरी काम थालेका हुन्। दिउँसो १.३० बजे न्यायाधीशहरुको खाजा समय हुन्छ। २.०० बजेदेखि २.३० सम्म सर्वोच्चका न्यायाधीशहरु अनौपचारिक छलफलमा बस्ने चलन छ।
आजको छलफलमा विदेश भ्रमणमा रहेका न्यायाधीश कल्याण श्रेष्ठबाहेक १२ जना उपस्थित थिए।
'जिरो आवर' भनिने उक्त समयमा महत्वपूर्ण विषयहरुमा अनौपचारिक सहमति गरिन्छ। त्यस्तो छलफलको निचोडलाई औपचारिकता दिएर कार्यान्वयन गर्ने चलन हुन्छ। स्रोतले दिएको जानकारी अनुसार 'जिरो आवर'को छलफलमा नवनियुक्त न्यायाधीश गोपाल पराजुलीले संचार माध्यमले न्यायलयको मानमर्दन गरेकाले कारबाहीको प्रस्ताव राखेका थिए।
उनको प्रस्तावमा प्रधान न्यायाधीश शर्माले तुरुन्त समर्थन जनाए। छलफलमा रहेका कतिपय न्यायाधीशले दुईजनाले 'कुरा मिलाएर' त्यस्तो छलफल थालेको अनुमान लगाए। केहीबेरको छलफलपछि आइतबार फूलकोर्ट (पूर्ण इजलास) राख्ने सहमति भएको स्रोतले बताएको छ।
सिफारिसमा परेका न्यायाधीशहरुको कार्यसम्पादन र आचरण झल्काउने खालका समाचार, लेख र टिप्पणी पनि सेतोपाटी र कान्तिपुरमा प्रकाशित थियो।
पराजुलीले संसदीय सुनुवाई विशेष समितिमा सेतोपाटीको नामै लिएर आफ्नोबारे भएनभएको समाचार प्रकाशित गरेको आरोप लगाएका थिए। भारतमा आम आदमी पार्टीका अरविन्द केजरीवाल मानहानि मुद्दामा जेल जानुपरेको प्रसंग पनि उनले स्मरण गराएका थिए।
न्यायाधीश सिफारिसबारे यी दुई र अरु संचार माध्यममा प्रकाशित समाचार संकलन गरेर फूलकोर्टमा पेश गर्ने अधिकारी पनि तोकिएका छन्। प्रधान न्यायाधीश शर्माले उपसचिव बाबुराम दाहाललाई त्यो जिम्मा दिएका छन्।
पत्रपत्रिकामा प्रकाशित सामग्री फूलकोर्टमा पेश गरेर मानहानि मुद्दाको निर्णय हुन्छ।
सोमबार संसदीय सुनुवाईबाट अनुमोदन भएका आठ न्यायाधीशको सपथग्रहण अघिपछि भन्दा फरक खालको थियो। मुलुकमा धर्मनिरपेक्षमा प्रवेश गरेयता सपथग्रहण समारोह पहिले भन्दा भिन्नै हुन थाल्यो।
अदालतभित्र 'बाबा'को परिचय बनाएका प्रधान न्यायाधीश शर्माले उक्त समारोहलाई पुरानै ढाँचाको बनाउन खोजेको देखियो। आठ न्यायाधीशले गंगाजल हातमा लिई गीता छोएर सपथ लिए। शर्माले उनीहरुलाई सपथ गराए।
'आजको सपथले बहुदलकालभन्दा अघिको झल्को दियो,' समारोहमा सरिक एक सरकारी अधिकारीले भने। पञ्चायत र राणाकालमा हरिवंश पुराण शिरमा राखेर, गंगाजल खाएर, तामातुलसी छोएर न्यायाधीशको सपथ हुन्थ्यो। गैरहिन्दूधर्मावलम्वीलाई त्यो बाध्यता थिएन।