प्रधानमन्त्री सुशील कोइराला र प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा एकल पुरुष हुन् । सेतै फुलेका दाह्रीले पनि यी दुईलाई उस्तै देखिन्छ।
यिनीहरुको सरकारी निवास पनि जोडिएको छ। कार्यपालिका प्रमुख र न्यायपालिकाले पाउने सुविधामा भने थोरै तलमाथि छ। मर्यादाक्रममा माथि रहेका प्रधानमन्त्रीले पाउने तलब, मोटर, इन्धन, सचिवालय सबै बढी छ।
कोइरालाले नियमानुसार नै दुई वटा गाडी लिएका छन्। प्रधानन्यायाधीशले निजी प्रयोगका लागि एउटा सुविधाको मोटर पाउँछन्।
शर्माले त्यसमा चित्त बुझाएका छैनन्। उनले ६ वटा कार र जीप प्रयोग गरिरहेकोे तथ्य फेला परेको छ। यो सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०२६ विपरीत छ। ऐनमा प्रधान न्यायाधीशलाई ‘एउटा मोटर र महिनाको २ सय ५० लिटर पेट्रोल’ दिने व्यवस्था छ।
सर्वोच्च अदालत उच्च स्रोतले सेतोपाटीलाई उपलव्ध गराएको ‘सर्वोच्च अदालतको न्यायाधीशहरुलाई निजी प्रयोगको लागि वितरण गरिएका सरकारी मोटर’ सम्बन्धी विवरणमा शर्माको नाममा ६ वटा गाडी भएको उल्लेख छ।(हेर्नुहोस् रेकर्डमा)
उक्त रेकर्ड अनुसार बा.१ झ ६३८६ टोयटा, बा.१ झ ४०८४ मर्सिडिज बेञ्ज, बा. १ झ ९८७७ सेभ्रोले क्याप्टिभा, बा.१ झ ५५३३ मित्सुविसी, बा.१ झ ६७५२ हुण्डाई माट्रिक्स र बा.२ झ ६५६ सफारी स्ट्रोम्स भिएक्स शर्माले विभिन्न मितिमा बुझेका छन्।
विवरण अनुसार २०५१ सालदेखि कायम मुकायम प्रधान न्यायाधीश भएपछि बुझेको गाडीहरु समेत उनकै भोगचलनमा छन्। सर्वोच्च प्रवक्ता श्रीकान्त पौडेलले प्रधान न्यायाधीशले यति धेरै गाडी प्रयोग गरेको बारे आफूलाई थाहा नभएको बताए।
‘प्रधान न्यायाधीशले एउटा गाडी र प्रतिमहिना २५० लिटर पेट्रोल पाउने व्यवस्था छ,’ पौडेलले भने ‘त्यो भन्दा बढी प्रधान न्यायाधीशले प्रयोग गर्ने कुरा मलाई थाहा छैन।’
सेतोपाटीले सर्वोच्चकै अभिलेख देखाएपछि पौडेलले भने ‘२०५१ सालदेखि लिएको गाडी रैछन्, सुरक्षाका गाडीहरु हुन् जस्तो देखिँदैन, यसबारे मलाई केही थाहा भएन।’
प्रधान न्यायाधीशको विषय भएकाले पौडेलले खुलेर कुरा गरेनन्। ‘गाडीको सुविधा पाउनेले नयाँ लिनुपर्यो भने पुरानो फिर्ता गर्नुपर्छ,’ हाँस्दै उनले भने, ‘कसरी यस्तो भयो थाहा भएन।’
स्रोतले भने ६ वटै गाडी प्रधान न्यायाधीशले फेरि-फेरि चलाउने गरेको बतायो।
‘बाबा (प्रधान न्यायाधीश)ले प्रयोग गर्ने गाडीहरु उनको आरुबारी घर (आश्रम)मै हुन्छन्,’ स्रोतले भन्यो, ‘ती गाडीमध्ये टोयोटा आरुबारी आश्रमका लागि तरकारी ओसार्ने र अरु किनमेलमा प्रयोग हुने गरेको छ।’
प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार प्रमुख भएर गएपछि शर्मा २०६९ साल चैतमा कायममुकायम प्रधान न्यायाधीश भएका थिए।
कायममुकायम भएपछि २०७० सालमै उनले दुईवटा गाडी लिएका छन्। कामु प्रधान न्यायाधीश भएको ४ महिनमा उनले असार २५ गते सेभ्रोले क्याप्टभा लिए। त्यसको ८ महिनामा उनले २०१३ मोडेलको ब्रान्ड न्यू सफारी स्ट्रोम्स लिएका छन्।
नयाँ लिँदा पुरानो बुझाउनु पर्ने नियमको शर्माले पालना गरेको देखिँदैन। अदालतमा आफूलाई ‘बाबा’ भनेर परिचय दिन रुचाउने शर्माको यस्तो आशक्तिको व्यापक आलोचना भइरहेको छ।
प्रधान न्यायाधीशको विषय भएकाले अधिकांश कर्मचारी यसबारे कुरा गर्न हिम्मत गर्दैनन्। मोटरको नियमन गर्ने स्टोर किपर राजु ढुंगानाले पनि डरका कारण सेतोपाटीसँग कुरा गर्न मानेनन्। ‘यस्ता सबै कुराको तालाचाबी र सूचना प्रवक्तासँग हुन्छ, उहाँसँगै कुरा गर्नुस्,’ ढुंगानाले जानकारी दिन मानेनन्।
सर्वोच्चमा रहेका केही कर्मचारी युनियनले भने मुलुकको प्रधान न्यायाधीशजस्तो व्यक्तिबाट भएको सरकारी सम्पत्तिको दुरुपायोगबारे मुख खोलेका छन्।
‘प्रधान न्यायाधीशले कानुनवपरित मनपरि सुविधाका गाडी लिने र निजी काममा प्रयोग गर्ने गर्नुभएको छ,’ नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष हरि भट्टराईले भने, ‘यो सरासर भ्रष्टाचार हो।’
न्यायपालिका प्रमुखबाटै गैरकानूनी काम भएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘प्रधान न्यायाधीशले ६ वटा गाडि कुदाएको भन्दा पनि न्यायमूर्तिले जे मनपरि गरेपनि हुन्छ भन्ने प्रवृत्ति घातक हो,’ भट्टराईले भने, ‘कसैले त यस्तो दुरुपयोग हेर्दिनुपर्यो।’
अदालती काममा साधनस्रोतको अभाव भएर कार्यक्षमता कमी भइरहेको बेला एकै जना व्यक्तिले यति ठूलो दुरुपयोग गरेको भन्दै निजामति कर्मचारी संगठनले पनि बिरोध गरेको छ।
‘अदालतको म्याद तामेल गर्ने कर्मचारीले साइकल पनि पाएका छैनन्, एक्ला प्रधान न्यायाधीशले छ/छ वटा गाडी हुँइकाइरहनु भएको छ,’ निजामति कर्मचारी संगठन (न्यायपालिका) अध्यक्ष केदार अधिकारी भन्छन्, ‘यो त इन्साफ भएन।’
यो पनि हेर्नुहोस्
-प्रधान न्यायाधीश शर्माले आफ्नो पदको दुरुपयोग गरि चितवन देवघाटमा बन्दै गरेको निजी घरको रेखदेख गर्ने तीन जनालाई चितवन र हेटौंडा अदालतबाट तलब खुवाउने गरेका छन्।