आज सामाजिक सञ्जाल, अनलाईन, केही पत्रिका र ब्लगहरु आमाघरका संचालक दिलशोभाको समाचारले तातिएका छन।
अनुसन्धानमा रहेको यो समाचार उजुरीका आधारमा संप्रेषण भईरहेका छन।
समाचारसँगै यस विषयमा बहसहरु भइरहेका छन। अपुष्ट यो समाचारलाई केहीले रिसवी र स्वार्थका कारण रचिएको नाटक भनिरहेका छन भने केहीले समाज सेवाको नाममा कुम्ल्याउन पल्केकाहरुको भण्डाफोर भनिरहेका छन।
हुन पनि समाजसेवाको आवरणमा मोजमस्ती गर्नेहरुको कुनै कमी छैन हाम्रो समाजमा। यस समाजमा केही यस्ता पात्रहरु पनि छन जो समाजसेवामा सच्चा मनले सक्रिय छन।
यहाँ मैले दिलशोभाको बचाउ गर्न खोजेको नभै अपुष्ट समाचारले पार्ने गम्भीर असरको मात्रै वर्णन गर्न खोजेको हुँ।
कोही कसैको वास्तविक रुप उसको देखावटी काम र मुखले मुल्यांकन गर्न सकिँदैन र मिल्दैन पनि। हात्तीको देखाउने र चपाउने दाँत दुई वटा भएजस्तै मान्छेको पनि चिनारी र कमाउ पेशा फरक हुने गरेका छन। यस्ता थुप्रै उदाहरण छन जो समाजसेवालाई नाम मात्रैको बनाएर सुखसयल जीवनमा राज गरिरहेका छन।
पछिल्लो समय अनाथालय र बृद्धाश्रम खोल्ने एकखाले लहर नै चलेको छ। बैदेशिक सहयोगको दुरुपयोग गर्न यस्तो समाजसेवाको भेष धारणा गर्नेहरुको भीडमा केही औंलामा गन्न सकिने मात्रामा सच्चा समाजसेवीहरु पनि नभएका होइनन्।
उजुरीमा आधारित यो समाचार प्रकाशनसँगै आमाघर र दिलशोभाको गतिविधि र संस्थाप्रतिको दृष्टिकोणमा नकारात्मक भाव उब्जेको छ।
एक किसिमले मुलुककै अग्रणी समाजसेवीको रुपमा चिनिएका उनको वारेमा समाचार संप्रेषण गर्नुपूर्व वास्तविकतालाई पनि ख्याल गर्नु पर्थ्यो। कसैको उजुरीलाई आधार मानेर समाचार बनाउँदै जानु भनेको कागले कान लग्यो भनेको भरमा कागको पछाडि कुद्नु जस्तै हो।
तर वास्तविकता भने आफ्नो कान छाम्नु हो। युद्धमा जाँदा अरुलाई मार्ने उद्देश्यले मात्रै गइदैन आफ्नो पनि सुरक्षा सतर्कता अपनाइएको हुन्छ। अरुलाई प्रहार गर्दा त्यही हतियार आफूतिर आईलाग्छ कि भन्ने कुरा पनि बु्झनुपर्छ।
वास्तविकता छानबीन गरेर आएको नतिजाको आधारमा सामाचार संप्रेषण गर्न सकेको भए भोलि ठूलो वाहवाही पाँउथे। यस्तो प्रतिक्रियाका लागि समय खर्चिनु पर्दैन्थ्यो। अहिलेको प्राविधिको युगमा रेकर्ड गरिएको आवाज सहजै पत्ता लगाउन नसकिने पनि होइन।
अर्को कुरा स्वरको नक्कल र बनावटी नाटकीय अभिनय गर्न नसकिने पनि त होइन। वास्तविकता सरोकारवालाले छर्लङ्ग पार्ला। आमाघरको विरुद्ध दिइएको उजुरी अध्ययन गर्दा केही टिप्पणी गर्ने ठाउँ भने पक्कै छन। केही बुँदाहरु त हाँसो उठ्दो खालका पनि छन। पेटभरि खान नदिने, दुषित पानी पिउन पर्ने, नुहाउन नपाउने, बालमैत्री वातावरण नभएको, बालबालिका र बृद्धाहरुमाथि फरक व्यवहार गर्ने भनिएको छ।
१६ जना बालबालिकाहरु हराएको, घरेलु कामदारको रुपमा पठाउने गरेको, अभिभावकको भूमिका ननिभाएको, आएका सहयोगहरु दुरुपयोग गरेको, चामलको बोरा बोकाउने गरेको, भाँडा माझ्न लगाएको, भुँइ पुछ्न लगाएको, गालीगलौच गरेको, आमाघरबाट बिनाकारण निकाल्ने गरेको, भावुक भएर सहयोग गर्न वाध्य पार्ने गरेको जस्ता आरोपहरु लगाइएको छ।
यसका साथमा एउटा अडियो क्लिप पनि उजुरीमा समावेश छन।
यी कुराहरु आमाघरप्रतिको रिसवी वा अन्य कारण रचिएको नाटकीय आरोप मात्रै हुन वा वास्तविकता त्यो अनुसन्धानबाट स्पष्ट हुने नै छ। यदि सही हुन भने समाजसेवाको भेष धारण गरेर कुम्ल्याउने र मोजमस्ती गर्नेहरुलाई हदैसम्मको कारबाही गरिनुपर्छ।
सञ्चार माध्यमहरुले पनि क्षणिक रुपमा चर्चाको धुरी चढ्नका लागि अपुष्ट र अनुसन्धानमा रहेको समाचार संप्रेषण गर्नु हुँदैन।
अनुसन्धानको निचोड आएपछि यस्ता कुकार्यको भण्डाफोर गर्न सके अति उत्तम हुन्थ्यो।
हतारमा सामाचार लेखेर कसैलाई अनावश्यक दुःख दिनु राम्रो होईन बरु अनुसन्धानमा सहयोग गर्नु सञ्चार माध्यमको दायित्व हो।
छरितो समाचार दिने नाममा अन्यौल पैदा गर्ने र छानबीनमा प्रभाव पार्ने समाचार संप्रेषण गर्नु हुँदैन।
यस्तो थियो आएको समाचार