प्रिय सरकार र मिडियाकर्मी मित्रहरू, तपाईँहरू किन ख्रीष्टियनहरूलाई जवर्जस्ती माओवादी बनाउँदै हुनुहुन्छ? एमाओवादी सहितको तीस दलीय मोर्चाले शनिबार राजधानीमा गरेको बृहत आमसभामामा लाठि बोक्न नदिनका निम्ति शुक्रबार देखिनै काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँहरूमा प्रहरी परिचालन गरिएको थियो। विभिन्न ठाउँहरूबाट लाठी बरामद गर्न पनि सरकार सफल भएको समाचार बाहिरिएका थिए।
निवर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र पूर्व उद्योग सचिव भोला चालिसेको घरपछाडि आरुबारीस्थित घाँग्री चर्चमा लाठी लुकाएको र लाठी थुपारिएका शंकास्पद केही चर्चमाथि निगरानी राखिएको भन्ने काठमाडौँका प्रजिअ एकनारायण अर्यालको कपोलकल्पित भनाइलाई लिएर केहि पत्रकार र हिन्दू जागरणका अगुवा भन्ने व्यक्तिहरुले खवरमा ‘चर्च’ शब्द जोडिएकै कारण दिपावाली आएझैं रमाहटका साथ् फेसबुकका भित्ताहरूमा प्रचार गरेको देखियो।
आज नेपाल सरकारलाई मेरो यहि प्रश्न छ, कुन आधारमा चर्चहरूलाई निगरानी गरियो ? कुनै हिन्दू मन्दिर वा गुम्बामा लुकाइएको हुनसक्ने लाठिको (सम्भावित) निगरानी गरेको थियो र सरकारले ? आखिर किन चर्चलाई मात्र मुछेर शान्तिसद्भावना खल्बल्याउने र इसाई समुदायको बदनाम गर्ने काम नेपाल सरकारले गर्दै छ? आरुबारीस्थित घाँग्री चर्चमा लाठी लुकाएको भन्ने झुठो समाचारलाई लिएर इसाई समुदायको अपमान गर्ने कथित मिडिया र केहि सरकारी निकायका मानिसहरूले माओवादीको पर्दाफास गर्न नसकेपछि, मौन रहेका चर्च र इसाईहरूलाई मुछ्न निकै चलाखीपन अपनाएको थियो । तर पनि कुनै चर्चहरूमा लाठी नभेटेपछी यिनीहरूले चर्चलाई मुछ्न पाएनन् र शक्तिप्रदर्शनलाई बिथोल्ने प्रयास पनि पुरा गर्न सकेनन् । सायद उनीहरूको निम्ति दुवैतिर हारको महशूस भयो होला ।
एउटा इसाई भएको नाताले काठमाडौँका प्रजिअ एकनारायण अर्याललाई म एउटा प्रश्न गर्न चहान्छु, तपाईंले चर्चलाई निगरानी राख्नुपर्ने त्यस्तो के शंकास्पद सुराकी भेट्नुभयो ? तपाईंलाई राष्ट्रको कानुनको यति धेरै माया थियो भने शिवरात्रिमा पशुपतिमा हुने गैह्र-कानुनि गाँजा सेवनलाई हटाउन सक्नुपर्थ्यो ! तर तपाईंले त उल्टै निर्दोषलाई दोषले ढाक्ने काम गर्नुभयो ।
के तपाईंलाई लाग्छ कि इसाईहरू सबै माओवादी हुन् ? चिन्ता नगर्नुस् यदि इसाईहरूले ३० दलिय माओवादीलाई उठाउन खोज्ने हो भने काठमाडौं भित्र मात्र रहेको ५ लाख भन्दा बढी इसाईहरू खुल्लामन्च र रत्नपार्कमा अट्दैनन् । झन् नेपालभर रहेका २५-३० लाखको संख्यामा रहेको इसाईहरूको कुरा के गरौँ, तपाईजस्ता धार्मिक विभेदमा शोषण गर्नेहरूलाई !
खै कुनै प्रमाण छ चर्चमा लाठी भेटेको ? तपाईंहरू जवर्जस्ती इसाईहरूलाई माओवादी बनाइदिने ? एउटा धार्मिकस्थललाई अन्दाज र ‘रे’ को भरमा, मिडियामा ल्याएर धार्मिक बिभेदता देखाउने ? यो त हाम्रो अधिकार र धार्मिक स्वतन्त्रतामा लात हान्ने काम भएन र ?
आज एउटा कुरा प्रष्ट पार्न मन लाग्यो, जनयुद्धको मुनाफा धर्मनिरपेक्षताको माग गर्नेहरूमा नेपाली इसाईहरू कहिल्यै थिएन तर तपाईंहरू जस्ता सरकार र मिडियाले, माओवादीले इसाईहरूको डलर खाएर धर्मनिरपेक्षताका मुद्दालाई उठाएका हुन्, इसाईहरू पनि माओवादी हुन् भन्ने कुरालाई जोड दिई राख्दा आखिर धर्मनिरपेक्षताका मागमा नरहेका इसाईहरूले हामीलाई धार्मीक स्वतन्त्रता, धर्मनिरपेक्षता चाहियो भनेर उठ्न थाले । अहिले लाठी नै नराखेका चर्चहरूलाई लाठी लुकाएको छ, यिनीहरू माओवादीको समर्थकहरु हुन् भनेर तपाईहरूले नेपालमा रहेका २५-३० लाख इसाईहरूलाई लाठी लुकाउने, माओवादीसहित ३० दलिय मोर्चाको जबर्जस्ती समर्थक बनाई रहनुभएको छ । चर्चहरू सकरात्मक हुदाँहुदैँ पनि सरकार र कथित मिडियाको अहंकारमा परि यसरी मुछ्न थालियो भने यसले भोलिका दिन निश्चय पनि बाटो नमोडीएला पनि भन्न सकिंदैन ।
व्यक्तिको स्वतन्त्रताको आधारमा होलान् केहि इसाईहरू पनि विभिन्न पार्टीमा आबद्द भएका तर सिङ्गो इसाई र चर्चहरूलाई नै झुठो आरोप लगाएर इसाई आस्थामा बिश्वास गर्नेहरूमाथि किर्ते आरोप लगाएर अपमान गर्न खोज्ने सरकार/मिडिया तपाईंहरूमा अरूको नैतिकतालाई नाङ्गो बनाएर, अरूको लुगा खोस्ने बानी रहेछ भन्ने कुरामा शंका गर्न सकिन्छ ।
मिडियाकर्मीहरूले जसरि चर्चमा लाठी लुकाएको कपोलकल्पित कुरालाई पनि साभार गरेर खुशी मनाउनुभयो, के त्यो समाचार गलत रहेछ भनेर थाहा पाएपछि त्यसलाई सच्याउने काम पनि तपाईंहरूको होइन र ? यहाँनिर निष्पक्षता भन्ने कुरा कहाँ गयो ? कि एमाले र कांग्रेसको प्रतिनिधित्व पुरा गर्नुभएको हो यहाँहरूले ? इसाईहरूलाई मुछ्ने बहानामा बिपक्षी शक्तिलाई आलोचना गर्नको लागि चर्चलाई जोडेको त होइन ? के अदालतले दोषी नठहराइकन चोर-डाकू भनिदिने ? अनि आफैले लेखेको पत्रकार आचारसंहिता विपरीत जाने ?
नेपालका इसाईहरूको प्रतिनिधत्व गरिरहेका केहि इसाई संघठनमा यदि यो दोषको निम्ति आवाज उठाउन सक्ने सामर्थ्य भएको भए र चाहेको भए, हिजोको शक्तिप्रदर्शनमा देखिएको जनसागारमा, जनवालुवाको जन्म हुने थियो । काठमाडौं, ललितपुर, भक्तपुर भित्र मात्र एक हजार भन्दा बढी चर्चहरू छन् । यी चर्चहरूको उपस्थिति खुल्लामन्चमा भएको भए र हामीलाई लाठी लुकाएको आरोपमा, हामीलाई किन दोष लगाइयो भनेर, इसाई समुदाय पनि उठेको भए त्यहाँ के हुने थियो सोच्नुस् ! तर हामी आन्दोलन चाहनेहरू होइनौं, कुनै पार्टीको गुणगान गरेर बस्नेहरू होइनौं ।
हामीलाई जवर्जस्ती माओवादी नबनाउनुहोस् । हामी यो समाजमा पार्टीको भएर होइन, यो देशको भएर बाँच्न चाहन्छौं । हामी कुनै ...वादी भएर होइन नेपाली भएर बाँच्न चाहन्छौं ।