भनिन्छ मान्छे सफल हुन ९० प्रतिशत कर्म गर्नुपर्छ र १० प्रतिशत भाग्यको लेखाजोखाले साथ दिनुपर्छ।
प्रज्वज पराजुली यो सवालमा आफूलाई ठ्याक्कै उल्टो ठान्छन्। भलै उनी आफूलाई सफल मान्दैनन्। ९० प्रतिशत कर्म गरिरहने जाँगर यी लाफिङ्ग बुद्धजस्तो देखिने लेखकमा छैन। कुनै सुत्रमा बाँधिएर लेख्न नसक्ने यी लेखकलाई लेख्न सबैभन्दा धेरै सुत्नुपर्छ।
'म सुत्छु सत्छु सुत्छु जब वाक्क भएर अब चाहिँ सुत्न सकिन्न भन्ने हुन्छ अनि बल्ल लेख्न बस्छु।' उनी फेरी लहडे लेखक हुन् रे । लेख्न थालेपछि लगातार सोह्र घन्टा लेखिरहन सक्ने।
'तर नखाई होइन, चकलेट खानुपर्छ,' उनले तत्कालै भने, 'तपाइँ मेरो ज्यान हेरेर अनुमान गर्न सक्नुहुन्छ नि मेरो खाने र सुत्ने शैली।'
२९ वर्षे यी लेखक पुस्तक आउनु अगावै भारतीय मिडियामा चर्चित लेखकमा दरिए। कारण बुलन्द थियो। बेलायतको प्रतिष्ठित प्रकाशक गृह कर्कसले उनको आठ कथाहरुको सङ्ग्रह निकाल्ने निर्णय गरिसकेको थियो । जुन उल्लेख्य लेखकहरु जन्माइसकेको भारतका लागि चानचुने समाचार थिएन।
त्यसमाथि कर्कसले 'द गुर्खाज डटर' भन्ने कथा सङग्रह मात्रै निकालेको थिएन । त्यसलगत्तै प्रकाशित गर्न 'द ल्यान्ड ह्वेर आइ फ्ली' उपन्यास लेखि सक्नुपर्ने सर्त तेर्साएको थियो । जुन आउँदो डिसेम्बरको पहिलो साता बजारमा आउँदैछ।
अन्तर्राष्ट्रिय स्तरको पुस्तक बजारमा चर्चा कमाएर एक वर्षदेखि लगभग एयरपोर्ट ट्रान्जिटमै आफ्नो धेरै समय बिताएका यी लेखक आफ्ना नजरमा कस्ता लेखक हुन्?
'हावापाराको।'
नेपालीभाषी सिक्कीमेली यी लेखकले भने, 'तपाइँहरु यहाँ हावापारा भन्नुहुन्छ कि हुन्न ? आफ्नो लहडमा हिँड्ने खालको।'
उनले आफ्नै लहडमा लेखे अहिलेको कथासंग्रहमा भएका दुई कथा सुरुमा । लेख्दै गइसकेपछि रस बस्न थाल्यो । उनले जुन विषय समातेर कथा लेखे त्यो पश्चिमाहरुका लागि नौला हुन्थे। उनले नन्दभाउजू, सासूबुहारी, बाबुछोरीको पूर्वीय सम्बन्धलाई सबिस्तार कथामा उतारेका छन्।
उनको कथासंग्रहमा भएका आठवटै कथामा यस्ता पूर्वीया सम्बन्ध छन् जसलाई पठनीय रुपमा छिद्रहरु कलाउँदै उनले बुनेका छन् । सानैदेखि काखमा हुर्किएकी छोरी कसरी किशोरी हुँदै गएपछि बाबुबाट टाढिन खोज्छेजस्तो विषयलाई अति सरलीकृत गरेर उनले पुस्तकमा कथाको आकार दिएका छन्।
उनको आउँदै गरेको उपन्यासमा पनि एउटी बृद्ध हजुरआमाको ८४ मनाउन सिक्कीममा उनका छोरीहरु विभिन्न देशबाट भेट्न आएको कथा छ । यस्ता कथा जसमा पश्चिमाहरुले आश्चर्य व्यक्त गर्न आँखा ठूलो पार्दै आफ्नो निधारका छाला तन्काउँदै माथि पुर्याउँछन्।
उनका कथामा आउने सामाजिक कुराहरु यति घतलाग्दा छन् जसलाई पुस्तकमा उतार्न सामाजिक समारोहलाई राम्रै नियाल्नुपर्छ । किशोरावस्थामै अमेरिका हानिएका उनले कसरी यस्ता विषयलाई सजिब वर्णन गरेर उतार्न सके?
'म खास सामाजिक छैन,' उनले भने, 'तर यो पुस्तकमा आएको कुरा म जानकार छु। मैले त्यही लेखेँ जुन म जान्दथेँ।'
उनी सानैदेखि आफूलाई बुद्धु स्टुडेन्ट भन्न रुचाउँछन् ।
उनले वर्तमानका आफूलाई चिनाउन चाहेनन्। विगतमा फर्के।
यो स्कूलकालकै कुरा । उनी ठिकै विद्यार्थी थिए जसलाई कला बुझ्न मनपर्थ्यो, पढ्न खासै मन नपर्ने। सानैदेखि आफूलाई लहडेपनको भन्न रुचाउने उनले १० पास गरेपछि आइएस्सी पढ्दा कला मनपर्ने भएर ह्यूमानिटिज पढे। तर दुई महिना बित्दा नबित्दै उनलाई के लहड चढ्यो। उनले विज्ञान रोजे।
पहिलो जाँचमा यी बुद्दु लेखकको म्याथमा १ आयो रे । त्यो पनि मार्कसिट लिन जाँदा शिक्षकले सुनाए, 'तिमी दुःखि बन्नुपर्दैन। खास तिम्रो ०.५ आएको थियो, मार्कसिटमा देखाउन नमिल्ने भएर मैले डबल नम्बर दिएको छु।'
अल्लारे उमेरमा चढ्दै गरेको एउटा बुद्दु विद्यार्थीका लागि साथीभाईका अगाडि यो भन्दा लाजमर्दो कुरा केही हुन्छ?
उनले त्यसको क्षतिपूर्ति साना पत्रिकामा छापिने लेखबाट भर्न खोजे। उनी हुर्किएको सिक्किमको ग्याङ्टोक सहर सानो थियो। त्यहाँबाट निस्कने एउटै पत्रिका । शुक्रबार उनको लेखहरु त्यहाँ निस्किएपछि बुद्दुको छबि भएका उनमा अलि राहत महसुस हुन थाल्यो। जसोतसो पढाइँमा घोटिएर उनले १२ पास गरे। फिजिक्समा ४३ ल्याएर।
जीवनमा रुचीभन्दा भिन्दै रेल समातेर अघि बढिरहेका लेखकले त्यतिबेला तत्वज्ञान पाए- 'आफ्नो प्यासनकै विषयमा लाग्नुपर्छ। लहडमा साईन्स पढ्ने काम ठीक होइन रहेछ।'
उनलाई ग्याङ्टोकमा रमाइरहने रहर पनि रहेन। त्यो किशोरवय आफूलाई फिजाउन चाहन्थ्यो। उनले अमेरिकाको लक्ष्य समाते ।
कम्यूनिकेशनमा पत्रकारितालाई मुख्य विषय बनाएर स्नातक सकियो। पत्रकारिता पढिसक्दा उनले थाहा पाए, 'यो साह्रै गाह्रो विषय रहेछ। यति टेन्सन लिएर त के काम गर्न सकिएला र ?' २००६ सालतिर। उनले एउटा पत्रिका अफिसमा विज्ञापनमा काम गर्ने अवसर पाए। २१ वर्षे ठिटोको लागि त्यो राम्रो अवसर थियो। त्यहाँबाट विभिन्न अपोइन्टमेन्ट भन्दै दिनभर कताकता जान पाइन्थ्यो। त्यहाँ तीनवर्ष बस्दा अफिसको काम पटक्कै गरेनन्। कहिले मुभि हेर्न गए। कहिले दिनभर पुस्तकालयमा बसेर पात्रहरुको मनस्थितिमार्फत विभिन्न जीवन गुज्रिए।
अफिसको ठग कर्मचारी हुँ भन्ने उनी आफैँलाई लाग्यो। उनीमाथि एकजना महिला काम गर्थिन् जसको कारणले त्यहाँ काम ठगिरहेको हाकिमले थाहा पाएको थिएन। तर यसरी ठग्दै काम गरिरहेको उनी आफैँलाई चित्त बुझेन । जागीरबाट राजीनामा दिए। अफ्रिका घुम्न निस्किए।
त्यहाँबाट सिधै दिल्ली हान्निए।
तब एउटा साथीको इमेल आयो- 'मैले पनि जागिर छोडिदिएँ।' यी दुई बेरोजगारको योजना बन्यो-'ल त घुमौ भारत।'
उनीहरु भारतका थुप्रै शहर घुमे। साथीले आग्रा पुगेपछि भन्यो, 'अब म फर्किन्छु यार।'
प्रज्वल घर ग्याङटोक पुगेपछि आउने पारिवारीक प्रश्नहरुबाट अनभिज्ञ थिएनन्। कसरी झेल्ने ती सबै प्रश्न।
तनाबमा आएपछि उनी घर नगई सिक्किमजस्तै हावापानी भएको मोनाली पुगे।
'त्यहाँ इजराइली मिलिटरीहरु गाँजा खान, मोज गर्न आउँथे,' उनले सुनाए, 'म पनि गएँ। जम्मा २ सयको लजमा बसेँ।'
९० प्रतिशत भाग्यमा विश्वास गर्ने यी लेखकले उनको भाग्य खोल्ने दुई कथा यहीँ बसेर लेखिसकेका थिए। त्यहाँ बस्दा लेखेको 'द इमिग्रेन्टस्' कथालाई समीक्षकहरुले सबैभन्दा बढी राम्रो भनेर लेखे।
जुन उनलाई पुस्तक भरीमा खासै चित्त नबुझेको कथा हो।
उनले यही बेला भने, 'राईटर्स आर द वर्स्ट जज अफ दियर वन स्टोरिज।'
मनाली लजमा राति कुन्नि कुन समयमा उठेर बाल्टीमा चिसो पानी थाप्नुपर्थ्यो रे नुहाउनलाई।'
१५ दिन ननुहाई बसे उनी।
अनि पो घर याद आउन थाल्यो। सोचेजस्तै छोरोले अमेरिकाको जागिर छोडेर बरालियो भन्ने पारिवारिक प्रश्न खासै तेर्सिएन घरमा। कहिलेकाहीँ आमा बुवाले भन्नुहुन्थ्यो, 'खै त किताब लेख्ने भनेको ।'
तैपनि उनको लेखक मन फेरि टिकेन। दिदी भिनाजु भएको सहर लन्डन पुगे। त्यहाँ आफूले केही नगरेकोमा अरुले पछुतो मानिदिएपछि उनले अक्सफोर्ड विश्वविद्धालयमा सिर्जनात्मक लेखनका लागि अप्लाई गरे।
अन्तर्वार्ताका लागि बोलावट भयो।
उनले यतिबेला आफूलाई अलि ज्यादा गम्भीर बनाए। 'मरेर गुगल र विकिपेडियामा साहित्यिक समारोह र पुस्तकबारे खोजिखोजि पढ्न थालेँ।'
त्यतिबेला उनलाई लाग्यो अन्तर्वातामा त अलि गम्भीर पाठक देखिनुपर्छ।
'म अत्तालिएँ। मैले पोष्टमोर्डनिज्महरु केही जान्दिन अब कसरी छानिन्छु होला,' उनले सुनाए।
गुगल गर्दै जाँदा उनले थाहा पाए लन्डन बुक फेयर हुँदैरहेछ आउटस्कर्टस् भन्ने ठाउँमा।
उनले थाहा पाए हिलारी म्यान्टल बुक फेयरमा पाठकहरुमाझ उपस्थित हुनेछन्। अन्तर्वार्ता बिहीबार थियो। पुस्तक मेला मंगलबार। उनले अन्तर्वार्तामा हिलारी म्यान्टलबारे भनेर आफ्नो पढन्ते प्रभाव देखाउनुपर्यो भनेर त्यहाँ जाने सोचे।
यात्राभर ट्रेनमा पढ्नुपर्यो भनेर आफूलाई सबैभन्दा झुर लागेको कथा 'द इमिग्र्यान्टस्' झोलामा हाले। त्यो वर्ष धेरै हिँउ परेर थुप्रै उडानहरु क्यान्सल भएका थिए। पुस्तक मेला अघिल्लो वर्षको तुलनामा खाली खाली।
त्यही बेला उनले सुजन इयरउड भन्ने लिटरेरी एजेन्टलाई भेटे। लिटरेरी एजेन्टले लेखक र प्रकाशकबीचको सेतुको काम गर्छन्। सुजन एकजना लेखकसँग तोकिइसकेको अन्तर्वार्ता हुन नसकेको पिरोलिएको समय रहेछ। प्रज्वल खै किन हो उमेरमा ४ दशकको अन्त्यतिर पुगिसकेकी ती महिलालाई बोलाउन गए।
केही कुरा सुने अनि भने, 'ए तपाईँ लिटरेरी एजेन्ट। मेरो एउटा कथा छ पढ्दिनुस् न त भनेर दिएँ। उ यत्तिकै पनि खराब मुडमा थियो मैले झिँजो लगाएपछि ओके भनेर गयो।'
प्रज्वल अन्तर्वार्तामा गए उनले सोचेजस्तै हिलारी म्यान्टलबारे भने। आफ्नो लेख्ने ईच्छाशक्ति वोकले। अन्तर्वार्ता राम्रै भयो। केही दिनमै खबर आयो उनी स्नातत्तोर गर्न छानिए।
त्यतिबेला घर फर्कन सजिलो भयो। कम्तीमा न्यायाधीश बाबु र वकिल आमालाई छोरो फेरि केही पढ्दैछ भन्ने खबर सुनाउन।
'आखिर हाम्रोमा जित नानीहरुकै हुन्छ नि बाबुआमाको नजरमा,' उनले भने। त्यही बेला अपत्यारिलो तरिकाले सुजनको पनि इमेल आयो। उनले त्यतिबेला को सुजन एयरउड बिर्सिसकेका थिए। इमेलमा लेखेको रहेछ, 'आइ रियल्ली इन्जोयड योर स्टोरी । क्यान यू सेन्ड मी मोर स्टोरिज।'
त्यो इमेल त्यही बुकफेयरमा भेटिएकी लिटरेरी एजेन्टको हो भन्ने उनले बल्ल थाहा पाए।
उनले थप कथाहरु पठाए। कर्कस भन्ने प्रकाशन गृहले यी बुद्दु लेखकलाई पत्यायो। कथा संग्रह प्रकाशित गर्ने तर लगत्तै उनले अर्को उपन्यास लेख्नुपर्ने सम्झौता गरेर भन्ने सर्त राख्यो। उनको भाग्य १ सय ८० डिग्रीमै घुम्यो।
यसलाई उनी ठूलो भाग्य नै सम्झन्छन्।
पुस्तक २०१२ मा प्रकाशित भयो।
तर त्यो आउनुअगावै उनी कर्कस प्रकाशन गृहले छानेका लेखक भनेर चर्चित बने।
'आइ अलवेज बिलिभ्ड दियर वाज सम्थिङ बिहान्ड भनेर,' उनले आफू थोरै परिश्रमबाट धेरै सफल भएको विषयमा सुनाए, 'खै के थियो तर केहीको सपोर्ट थियो।'
आजकाल उनी अहिले काठमाडौमा भइरहेको साहित्यिक मेलामा जस्तै गरी विश्वभर विभिन्न कार्यक्रममा सामेल भइरहेका छन्।
सबैले धेरै सोध्ने प्रश्न हो, 'तपाईँ कसरी लेखक बन्नुभयो।'
जवाफ झन् चोटिलो छ, 'बिकज आइ ह्याड नथिङ टु डु आफ्टर आइ क्वीट माई एमेरिकन जब।'
उनले अझै आफूलाई स्पष्ट पार्न खोज्दै भने, 'आइ वाज नो ह्वेर दियर सो आई राईट टू लेजिटिमाइज माई एक्जिस्टेन्स।'
उनलाई राम्रो लेखक हुन सबैभन्दा बढी आफैँसँग स्पष्ट हुनुपर्छ जस्तो लाग्छ। विषयमा भिजेको हुनुपर्छ र त्यही लेख्नुपर्छ जसमा लेख्नेमान्छेको पकड हुनुपर्छ।
अक्सफर्डमा पढ्दा उनलाई लाग्यो जीवन नै लेखाइमा समर्पण गरेर लेखाई मार्फत नाम कमाउन चाहने थुप्रै छन्। तर उनी आफूलाई साह्रै भाग्यमानी ठान्छन् जसलाई पुस्तक आउनुअगावै लेखकमा परिचित गराइयो।
रातारात मिडियाले इन्टरभ्यूका लागि एपोइन्टरमेन्ट लिन थाल्यो । फेसबुकको 'स्लट' भनेर आफूलाई ट्वीटरमा चिनाएका उनलाई रातारात हजारौले याड गर्न थाले।
आफूलाई हावापाराको भनेर चिनाएका उनलाई समय हावामा तैरिरहे जस्तो लाग्न थाल्यो रे।
विभिन्न निमन्त्रणामा विश्वका विभिन्न सहर पुगेका उनको आजकाल धेरै समय एयरपोर्ट ट्रान्जिटमै बित्छ।
धेरै सुत्न रुचाउने उनलाई निद्रै पुग्दैन राम्रोसँग।
'म प्लेनमा राम्रोसँग निदाउनै सक्दिन तर लगभग अर्को वर्षको जुलाईसम्मको सेड्यूल बनिसकेको छ पुस्तक यात्रामा हिँड्नुपर्ने,' उनले लामो सुस्केरामा भने।
डायल्यान थोमस भन्ने पुरस्कारमा उनी छनौट भएका छन् ।
हजारौं लेखक मध्येबाट १ जनालाई छान्नेमा उनी पहिलो ११ औंमा छनोट भएका थिए। त्यसपछि गत बिहीबार फेरी खबर आयो उनी त्यसपछि ७ जनाको छनोटमा पनि परे। अब नोभेम्बर पहिलो साता उनी बेलायतको वेल्समा जानेछन्। जहाँ छानिएका सात लेखकको जम्काभेट हुने छ। उनी पहिलो हुनसके भने ३० हजार पाउन्ड पाउनेछन्। जुन उनका अनुसार उनलाई लोभ्याउने रकम हो।
यति हुनुमा उनले पटकपटक भाग्यको साथलाई सम्झे। काठमाडौं सानोमा उनलाई साह्रै भाइब्रेन्ट लाग्थ्यो। त्यही परिवेश खोजेर उनले सिक्किमबाट लेख्ने भिलेज भ्वाईस नामक एउटै साप्ताहिकमा लेखेर आफ्नो लेखन कार्य सुरु गरेका थिए।
सानो सहरका यिनै लेखकलाई अहिले बेलायत, अमेरिका, क्यानडा र विश्वभरका पाठकले चिनिसकेका छन्।
उनलाई यति धेरै चिनाएको गुर्खाज डटर आउँदो जुलाईमा अमेरिका र क्यानडाबाट प्रकाशित हुँदै छ।
२९ वर्षकै उमेरमा यति धेरै सफलता पाईसकेका लेखक आफ्ना लेखहरुलाई 'झुर' भन्दै दोहोर्याएर पढ्न मन नलागेको बताउँछन् । पहिलो कथासङ्ग्रहलाई उनले १० मा जम्मा ३ दिएका थिए रे स्वमुल्याङ्कनमा।
तैपनि आउन लागेको उपन्यासलाई सायद सिर्जनात्मक लेखनको पढाइलाई त्यसमा उपयोग गरेर बुद्दुको तहबाट माथि उठेका उनले यसपटक ७ दिएका छन्।
'मलाई थाहा छ लेखकहरु आफ्ना कामको मुल्यांकन गर्न सबैभन्दा बढी कमजोर हुन्छन्,' उनले अन्त्यमा भने, 'मैले अपेक्षानै नगरेको लेखले प्रकाशित नहुँदै मलाई लेखक बनायो अब मैले अपेक्षा राखेको उपन्यासलाई पढिसक्दा पनि पाठकले मन नपराउन सक्छन्।'
तस्विरहरु प्रकाश लामा/सेतोपाटी