जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेल सकिएपछि शनिबार अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलिएन एम्बाप्पेले एकअर्कालाई अंगाले। मेसीले खेल हारेका थिए। एम्बाप्पेले फ्रान्सलाई जिताएका थिए।
द इन्डिपेन्डेन्टका अनुसार खेलको अघिल्लो दिन फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प र कप्तान ह्युगो एललोरिसबीच अर्जेन्टिनासँगको खेलमा कस्तो रणनीति अपनाउने भन्ने कुरा भइरहेको थियो।
प्रशिक्षक डेसच्याम्पले मेसीलाई कसरी रोक्ने सोचेका छौ भनेर सोधे।
जवाफमा कप्तान ह्युगोले भने- उनीहरूसँग मेसी छन् जो विशेष छन्। हामीसँग पनि एम्बाप्पे छन्।
नभन्दै हिजो खेल एम्बाप्पेको पक्षमा पुग्यो।
चार विश्वकप खेलेका ३१ वर्षीय मेसीको सायद यो नै अन्तिम विश्वकप हो। १९ वर्षीय एम्बाप्पे पहिलो विश्वकप खेल्दैछन्।
यस्ता धेरै कुरा फरक भएका उनीहरूबीच एउटा कुरा भने समान थियो- १० नम्बरको जर्सी।
त्यो अंकमाल हेर्दा कजान रंगशालामा उपस्थित धेरै दर्शकले लाग्यो - १० नम्बर जर्सीको जादु अब मेसीबाट एम्बाप्पेमा सर्दैछ।
किनकी केहीबेरअघिमात्रै उनीहरूले त्यो आँखा अगाडि देखेका थिए। अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले हराउँदा फ्रान्सका लागि एम्बाप्पेले नै २ गोल हाने। उनलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले खेलको पहिलो गोल गरे।
शनिबारको खेलपछिको त्यो तस्बिरलाई धेरैले विश्व फुटबलमा एम्बाप्पे मेसीका उत्तराधिकारी हुन लागेको रूपमा अर्थ्याएका छन्।
सन् १९९८ मा घरेलु मैदानमा फ्रान्सले विश्वकप उचाल्दा एम्बाप्पे जन्मेकै थिएनन्। ३० जुन १९९८ मा फ्रान्सले विश्वकप जितेको थियो एम्बाप्पे सोही वर्षको डिसेम्बर २० मा जन्मेका हुन्
त्यसपछिका ४ विश्वकपमा फ्रान्सले उपाधि चुम्न सकेको छैन। यसपालि भने एम्बाप्पेले त्यो सम्भावना बलियो बनाइदिएका छन्।
२० वर्षअघि फ्रान्सले विश्वकप जित्दा जिनेदिन जिदानले २ गोल हानेका थिए। जिदानका पुर्खा फ्रेन्च थिएनन्। उनीहरू कुनै बेला फ्रान्सले उपनिवेश जमाएको अफ्रिकी मुलुक अल्जेरियाबाट आएका थिए।
एम्बाप्पेका पुर्खा पनि फ्रेन्च होइनन्। उनका बुवा क्यामरूनबाट फ्रान्स पुगेका हुन्।
फ्रान्समा नागरिकको जात र साम्प्रदायिकताको तथ्यांक संकलन गर्नु गैरकानुनी मानिन्छ। जनसंख्याविद्ले फ्रान्सको १० प्रतिशत जनसंख्या उत्तर अफ्रिकी भएको अनुमान गरेका छन्। त्यस्तै तीनदेखि चार प्रतिशत कालाहरू छन्।
पेरूसँग भएको विश्वकप समूह चरणको खेलमा मैदानमा उत्रिएका १४ फ्रेन्च खेलाडीमध्ये ९ जनाका पुर्खा काला थिए। उनीहरूमध्ये कोही अफ्रिकामा त कोही फ्रेन्च क्यारेबियनमा जन्मेका थिए अझ कोही ती ठाउँबाट आएका अभिभावकका सन्तान थिए।
फ्रेन्च टोलीका राफेल भरानका बा मार्टिनिक्युबाट आएका हुन्, स्यामुयल यूमिटी क्यामरूनमा जन्मेका हुन्। पाउल पोग्वाका आमाबुवा गिनीबाट आएका हुन्। कोरिन्टिन टोलिसोका बा टोगोबाट आएका हुन्। एन्गोलो कान्टेका आमाबुवा मालीबाट फ्रान्स बसाइ सरेका हुन्। आउजमान डेम्बेलेका आमावुबा मौरिटानियाबाट आएका हुन्। ब्लाइस माउतुडीका बा अंगोलाका हुन्। नविल फकिरका आमाबुवा अल्जेरियाबाट आएका हुन् भने स्टेभन एनजोन्जीका अभिभावक कंगोबाट आएका हुन्।
समग्रमा अहिलेको फ्रेन्च टोली गोरा, अरेबियन र कालाको समिश्रण हो।
फ्रान्सको राष्ट्रिय टोलीमा विदेशी मूलका खेलाडीको दबदबा छ।
सन् २००० को फ्रान्सले युरो कप जित्यो। त्यही वर्ष गरिएको एक सर्वेक्षणमा सहभागीमध्ये एक तिहाइले राष्ट्रिय टोलीमा धेरै नै विदेशी मूलका खेलाडी भएको टिप्पणी गरे।
सन् २००५ मा दार्शनिक तथा बुद्धिजीवी एलाइन फिन्केलराउले भने- सबैजना फ्रेन्च टोलीको प्रशंसा गर्छन् किनकी यसमा गोरा, अरेबियन र कालाको समिश्रण छ। खासमा फ्रेन्च टोलीमा काला, काला र कालामात्र छन्। त्यही भएर फ्रान्स युरोपको हाँसोको पात्र बनेको छ।
सन् २०११मा फेन्च फुटबल फेडेरेशन आलोचित बन्यो। आरोप थियो - युथ ट्रेनिङ कार्यक्रम कोटा प्रणालीमार्फत काला खेलाडीको सीमा तोकियो। त्योबेला तेज गतिका एम्बाप्पे फुटबलमा उदाइ रहेका थिए।
एम्बाप्पेका लागि तेज गतिको व्याख्या आवश्यक छ। धेरै व्यावसायिक फुटबल खेलाडी छरिता हुन्छन् किनकी उनीहरू सामान्य मान्छेभन्दा छिटो दौडिन्छन्। कोही भने प्रभाव पार्ने अर्थमा छरिता हुन्छन्। यसको मतलब उनीहरू व्यावसायिक फुटबल खेलाडीभन्दा पनि छिटो हुन्छन्। विश्वकपमा धेरै खेलाडी छिटो दौडिन्छन्। तर केही यस्ता खेलाडी छन् तिनको गति खेलाडीको मानवीय क्षमताभन्दा बढी देखिन्छ।
एम्बाप्पे त्यस्तै क्षमता भएका खेलाडी हुन्। उनी अरूले खेल्नेभन्दा छिटो फुटबल खेल्दैनन्। उनी त अरूले हेर्न सक्नेभन्दा छिटो फुटबल खेल्छन्। तपाईंले सोच्न सक्नेभन्दा अगाडि उनी दौडिसकेका हुन्छन्। अर्का तीव्र खेलाडी थिओ वालकटलाई हेर्दा अचम्म लाग्छ- हेर कति छिटो दौडेका!
एम्बाप्पेलाई हेर्दा तपाईंको दिमाग रोकिन्छ र सोच्नुहुन्छ- त्यहाँ केही भइरहेकै छैन, उनी त्यहाँ पुग्नै सक्दैनन्।
१९ वर्षीय फ्रेन्च फर्वार्डले शनिबार राति अर्जेन्टिनाविरूद्ध २ गोल गरे।

शनिबारको खेलमा ११ मिनेटपछि एम्बाप्पे फ्रेन्च एरियाको छेउमा थिए। अर्जेन्टिनाको गोलपोस्टबाट झन्डै ८० यार्ड पर। त्यसपछि उनी अघि बढे। केही सेकेन्ड नबित्दै उनी अरू खेलाडीजस्तै दौडिए। तर केही स्टेपमै उनी पूरै अर्जेन्टिनी रक्षापंक्ति छिचोलेर अघि गइसकेका थिए। केहीबेर दर्शकको दिमाग अलमलियो। उनी अर्जेन्टिनाको क्षेत्रमा लडाइका थिए। अगाडि बढेका एम्बाप्पेलाई रोक्न अर्जेन्टिनी खेलाडीले जानी बुझी तानेका थिए।
शनिबारकै खेलबाट एम्बाप्पे ब्राजिलका महान फुटबलर पेलेसँग जोडिए। सन् १९५८को विश्वकपको फाइनलमा १७ वर्षका पेलेले स्विडेनविरूद्ध २ गोल गरेका थिए। त्यसपछि विश्वकपको एउटै खेलमा कुनै पनि टिनएजरले दुई गोल गरेका थिएनन्।
पेलेसँग तुलना हुँदा आफूलाई निकै खुसी लागेको एम्बाप्पेले बताएका छन्।
'औधी खुशी लागेको छ। तर पेलेजस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो, उनी अलग्गै समूहका खेलाडी हुन्,' फ्रान्सको जितपछि एम्बाप्पेले भने,' तर पनि त्यस्तो उपलब्धि हासिल भएका खेलाडीसँग जोडिन पाउनु गर्वको कुरा हो।'
एम्बाप्पे यो प्रतियोगितामा दोस्रो कान्छा खेलाडी हुन्।
पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टिमबाट गत साल डेब्यु गरेका थिए।
एम्बाप्पेले विश्वकप खेल्दा पाइने सबै तलब र भत्ता दान दिने घोषणा गरेको केही सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनले रकम शारीरिक अपांगता भएका बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउने संस्था प्रियर्स डि कोर्डिस एसोसियसनलाई दिने जनाएका छन्।
विश्वकपमा हरेक खेलबाट उनले बोनससहित १७ हजार पाउन्ड स्टर्लिङ पाउँछन्। फ्रान्सले विश्वकप जितेमा उनले पाउने बोनस २ लाख ६५ हजार पाउन्ड स्टर्लिङ दान दिनेछन्।
एउटा किशोरका लागि २ लाख ६५ हजार पाउण्ड धेरै ठूलो रकम हो। तर एम्बाप्पेलाई यो रकम दान दिने हैसियत बनाइसकेका छन्। किनकी पिएसजीमा उनको मासिक तलब मात्र १३ लाख पाउण्ड स्टर्लिङ छ।