निकै लामो बहस र विवादपछि मुख्य दलहरुले अन्ततः सीमांकनसहितको ६ प्रदेशको सहमतिसहितको प्रतिवेदनमा हस्ताक्षर गरेका छन्।
एक सातादेखिको निरन्तरको शीर्ष छलफल र वार्तापछि दलहरु शनिबार सहमतिमा पुगेका हुन्।
शीर्ष दलका शीर्ष नेताहरूले विजयकुमार गच्छदारलाई मनाउन केही समय लागेकाले प्रतिवेदनमा हस्ताक्षर हुन समय लागेको हो। विजय गच्छदारले फरकमतसहित हस्ताक्षर गरेका छन् विजयले सिमांकन चित्त नबुझे पनि संविधान निर्माणमा वाधक नबन्ने बताउँदै फरक मतसहित हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा आज मध्यराति हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदार र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राखेका छन्।
सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री कोइरालाले जनआन्दोलनको उपलब्धि संस्थागत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै ढिलै भएपनि सीमाङ्कनसहितको मस्यौदा आएको छ, यो उपलब्धिलाई हामी सबैले गौरव ठान्नुपर्ने बताए।
उनले भने, ‘विभिन्न आस्था र विचार बोके पनि हामी एकताबद्ध भएका छौँ, सबैको विचार संविधानमा अङ्कित भएको छ।” प्रधानमन्त्री कोइरालाले शान्ति र स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गर्दै आजको सहमतिले मुलुक आधुनिक युगमा प्रवेश गरेको हुँदा आठ-दश वर्षमै मुलुकले कायापलट गर्ने बताए।
संविधानसभा, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले शक्ति सन्तुलनको साझा दस्तावेजका रुपमा संविधान रहने भएकाले यसको सुधार र परिमार्जनको अझै केही चरणहरु बाँकी रहेको बताए।
फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले पार्टीको भिन्न मत भएपनि संविधान निर्माणको प्रक्रिया अघि बढाउन आफूले फरक मतसहित हस्ताक्षर गरेको बताए। उनले भने, ‘मलुक सबैभन्दा ठूलो हो, यथास्थितिमा रहँदा कसैलाई फाइदा हुदैन, संविधान निर्माणको चरणमा सबैले सघाउनुपर्ने आजको आवश्यकता हो ।’
दलहरुबीच भएको सहमतिको हस्ताक्षर आजै बस्ने संवाद समितिको बैठकले यसलाई पारित गरेर संविधानसभामा पठाउने छ।
आठ बजे बोलाइएको सम्वाद समितिको बैठक केहीबेरमा बस्दैछ। बैठकमा टेपल गरेपछि समितिका सदस्यहरूलाई सहमति पत्र बाढ्ने र अध्ययन गर्न दिने तयारी समितिले थालेको छ। यसैबीच अब टेबल गरेपछि अध्ययन गरेर भोलि छलफल गर्ने भन्दै आजको सम्वाद समितिको बैठक सकिने भएको छ।
संविधानसभाको बैठक आइतबार १ बजे सारिएको छ।
- धर्म निरपेक्षता, थ्रेस होल्ड, संवैधानिक निकायका बारेमा पछि छलफल गर्ने।
- नागरिकतामा वा राख्ने
- प्रधानसेनापति र मुख्य सचिवलाई सुरक्षा परिषदमा राख्ने।
- राष्ट्रिय सभामा ५१ सदस्यीय हुने।
- राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी हुनुपर्छ।
- शासकीय स्वरूप पुरानै रहने।
- गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष राख्ने।
- वडाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने।
- वडा समिति गठन हुने।
- विभिन्न आयोगमा नियुक्तिका लागि स्नातकोत्तर पास गरेको हुनुपर्ने।
- संक्रमणकालीन ब्यस्थामा अर्को व्यक्ती नियुक्त नभएसम्म हाल कायम रहेका व्यक्ति पदमा बहाल रहने।