नयाँ संविधानको मस्यौदामा व्यवस्था भए अनुसार अब हुने स्थानीय निकायको चुनावमा मतदाताले अघिल्लो चुनावमा जस्तो वडाध्यक्ष आफैंले प्रत्यक्ष चुन्न नपाएने भएका छन्।
गाउँ तथा नगरको चुनावमा मतदाताले पहिलेको चुनावमा जस्तै मेयर, उपमेयर र अध्यक्ष तथा उपाध्यक्ष प्रत्यक्ष चुनावबाटै चुनेपनि वडाध्यक्ष भने गाउँ तथा नगरसभाले चुन्ने छ।
संविधानमा व्यवस्था गरिएको नयाँ प्रावधान अनुसार प्रत्येक वडामा मतदाताले ५ जना वडासमिति सदस्य चुन्ने छन्। जसमध्ये दुईजना अर्थात ४० प्रतिशत अनिवार्य रूपमा महिला हुनेछन्।
गाविस वा नगरपालिकाको चुनाव परिणाम आएको १५ दिन भित्र गाउँ/नगर सभाको बैठक बस्नेछ। सो गाउँ/नगर सभाको बैठकले प्रत्येक वडाबाट निर्वाचित ५ सदस्य मध्ये एकजनालाई वडाध्यक्ष निर्वाचित गर्नेछ।
तल हेर्नुस संविधानको धारा २२१ मा व्यवस्था गरिएको गाविसको निर्वाचन व्यवस्था। यस्तै व्यवस्था नगरपालिकाको हकमा पनि गरिएको छ।
२२१. गाउँसभाको गठनः (१) प्रत्येक गाउँसभामा गाउँ कार्यपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका हरेक वडाबाट पाँचजनाको दरले कानुन बमोजिम निर्वाचित पैंतालीस जना सदस्य रहनेछन्।
(२) उपधारा (१) बमोजिम गठन हुने गाउँसभामा प्रत्येक वडाबाट कम्तिमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ।
(३) गाउँसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट प्रत्येक वडाबाट निर्वाचित भएका पाँचजना सदस्य मध्ये एक जनालाई गाउँ कार्यपालिकाको सदस्य निर्वाचित गरिनेछ। त्यस्तो सदस्य सम्बन्धित वडाको पदेन अध्यक्ष हुनेछ। प्रत्येक वडामा वडा अध्यक्ष र सोही वडाबाट निर्वाचित सदस्यहरू रहेको वडा समिति गठन हुनेछ।
(४) गाउँसभा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार
बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ।
(५) अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई कानुनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ।