निर्वाचन आयोगले आचारसंहिताविपरीत भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवालाई सहमति नदिएका बेला मुख्यालयले भने उनलाई सोधपुछका लागि भन्दै तानेको छ। एक साताअघि सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले उनलाई सरुवा गर्ने प्रयास गरेको आजको कान्तिपुरमा खबर छ। सरुवाका लागि गृहले सहमति लिन खोज्दा आयोगले अस्वीकार गरेको हो । के भनेका थिए खरेलले हेर्नुहोस्-डिआइजीहरु एआइजी बन्न ब्रिफ केश बोकेर मन्त्री र नेताको घरघरमा
आयोगको शुक्रबारको बैठकले असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै खरेलको सरुवा रोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचनको मिति तोकिसकेको अवस्थामा सरुवा गर्दा त्यो आचारसंहिताविपरीत हुने भएकाले अनुमति नदिइएको बताए। हेर्नुहोस् आयोगले के भनेको थियो-रमेश खरेललाई सरुवा गर्न निर्वाचन आयोगले स्वीकृति दिएन
निर्वाचन आयोगले सहमति नदिने सुइँको पाएपछि प्रहरी मुख्यालयले शुक्रबार बिहान उनलाई 'सोधपुछ' का लागि तान्ने निर्णय गरेको थियो । उनले दिएको अभिव्यक्तिबारे छानबिन गर्न मुख्यालयले डीआईजी विज्ञानराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पढ्नुहोस्-(डिआइजीहरु बढुवा खान ब्रिफकेश बोकेर हिँडेको खरेलको अभिव्यक्तिमाथि छानबिन गर्न आइजिपीको आदेश) त्यही समितिलाई बिहान निर्णय गर्न लगाएर खरेललाई सोधपुछका लागि मुख्यालय तान्ने निर्णय गरेको हो । बिहान ११ बजे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित डीआईजीहरूको बैठकले खरेललाई सरुवा नगर्दा संगठनको 'चेन अफ कमान्ड' बिथोलिने भन्दै उनलाई सोधपुछका लागि तान्ने निर्णय गरेको थियो ।
डीआईजी शर्माको नेतृत्वमा गठित छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनुपर्ने समयसीमा छ । खरेलमाथि फौजी संगठनमा बसेर त्यसको मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै मुख्यालयमा चर्को विरोध भइरहेको छ ।
गत आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताका रूपमा निम्त्याइएका खरेलले प्रहरीभित्र 'बढुवामा पैसाको चलखेल हुने' अभिव्यक्ति दिएका थिए । उनले भाषणका क्रममा भ्रष्ट अधिकारीहरू बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाइरहेको अभिव्यक्ति दिएका थिए । पढ्नुहोस् अमित ढकालको विष्लेषण-जनताले रुचाउने, प्रहरी सिस्टमले नरुचाउने रमेश खरेल।
खरेलकै पक्षमा शुक्रबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि मुख खोलेका छन् । उनले खरेलको बचाउ गर्दै आफ्नो टि्वटर एकाउन्टमार्फत एआईजी बढुवामा आर्थिक चलखेल भएको जनाएका छन् । उनले लेखेका छन् 'प्रहरीको एआईजीपी बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ । यसबारे भेद खोल्ने इमानदार अफिसरलाई कारबाही गर्नु ठीक भएन ।' (पढ्नुहोस् भट्टराईले भने- खरेललाई कारबाही गर्नु ठीक होइन)