भावनामा कुनै पनि खेल खेलिन्न। तर, स्पर्धा गर्दाचाहिँ खेलभावना विपरीत जान पाईंदैन।
खेलको नियम नै यही हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले ट्वेन्टी ट्वेन्टी विश्वकपमा गरेको प्रदर्शनलाई लिएर अहिले नेपालीजन पनि भावनामा बग्ने काम भइरहेको छ। क्रिकेटमा हामीले सधैंलाई पुग्ने उपलब्धि बंगलादेशमा हासिल गर्यौं भनेजस्तो भान भएको छ सबैमा।
विश्वकपको प्रारम्भिक चरणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै घर फिरेको नेपाली टोलीको सम्मानमा सरकार, नेपाल क्रिकेट संघ क्यान र अन्य संघसंस्थाले नगद पुरस्कार घोषणा गरिसकेका छन्।
विश्वकपमा नेपालले पाएको सफलता के साँच्चै पुरस्कारको हकदार नै हो त? यसको समीक्षा जरुरी भएको छ। अनि के खेलाडीलाई नगद पुरस्कार दिँदैमा सबैको कर्तव्य पूरा भयो त?
गत नोभम्बरमा ट्वेन्टी ट्वेन्टी विश्वकपमा छनोट भएभन्दा हामीले कति अग्लो उपलब्धि हासिल गर्यौं त बंगलादेशमा?
झण्डै एक दशकपछि अफगानिस्तानलाई ट्वेन्टी ट्वेन्टीमा पराजित गर्नु नै ठूलो सफलता मान्ने हो भने भोलि अन्य टीमलाई हराउँदा खेलाडीलाई पुरस्कृत गर्ने कि नगर्ने त?
विश्वकपमा उत्साहजनक प्रदर्शन गर्दै काठमाडौ फर्केपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले भने, 'हामीले विश्वकपको प्रारम्भिक चरणमा सक्दो खेलेर आएका थियौं। तर, यहाँ ओर्लेपछि विश्वकपनै जितेजस्तो भइरहेको छ।'
खेलाडीहरु आफैंले अझै धेरै गर्न बाँकी छ भनिरहँदा हामीले उनीहरुलाई विश्वकप विजेताको अनौपचारिक पगरी गुथाउन शायद नसुहाउने काम हो।
खेलाडीको मनोबल उचो राख्न सके मात्रै प्रत्येक खेलमा अनुकुल नतिजा आउँछ। मनोबल उचो राख्ने निर्विकल्प उपाय खेलाडीलाई दिइने नगद पुरस्कार पक्कै हैन। अझ एउटै उपलब्धिमाथि टेकेर पटकपटक नगद पुरस्कार दिने काम त हुँदै हैन।
पुरस्कार रकम एउटा साधन हुनसक्ला तर साध्य चाहिँ उनीलाई खेल्नका लागि प्रदान गरिने पूर्वाधार र वातावरण नै हो।
नेपालकै समूहमा रहेको अर्को एसोसिएट राष्ट्र हङकङले टेष्ट मान्यता प्राप्त बंगलादेशलाई लिग चरणको अन्तिम खेलमा पराजित गर्दै इतिहास रच्यो। हाम्रो सफलता त्यही स्तरको हो त? दुई खेल जितेर पनि सुपर टेनमा पुग्न सकिएन भनेर क्रिकेटको नियममाथि धारे हात लगाउनु भनेको भावनामा बग्ने भन्दा अर्को कदम हैन। तर, हाम्रा खेलाडीले बंगलादेशमा आफूले सक्दो मिहेनत गरे र दुई जित हात पारे। त्यसबापत उनीहरुलाई नगद पुरस्कार दिएर मात्रै सम्मान गरिनुपर्ने हो त?
नेपालले अबको ९ महिना मात्रै एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक अन्यमा सहभागिता जनाउने छैन। विश्वकप छनोटका लागि स्वदेश र विदेश गरी अघिल्लो बर्षभर व्यस्त रहेका नेपाली क्रिकेटरले मलेसियामा हुने एसीसी प्रिमियर लिग क्रिकेट मात्रै हो।
मौका मिले नेपालले कोरियाको इन्च्योनमा हुने १७ औं संस्करणको एशियाली खेलकुद खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई.सी.सी र एशियाली क्रिकेट परिषद एसीसीको क्यालेण्डरबाहेक क्यानसँग खेलाडीलाई व्यस्त राख्ने कुनै कार्ययोजना र तालिका छैन।
बंगलादेशमा विश्वकप खेलका राष्ट्रहरुमध्ये सबैभन्दा कमजोर पूर्वाधार भएको राष्ट्र नेपाल नै हो।
एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला समेत नभएको मुलुकले ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्नु आफैंमा ठूलो उपलब्धि हो। यही उपलब्धि हासिल गरेपछि सरकारले क्रिकेटरलाई जनही १० लाख रुपैंया, व्यापारिक प्रतिष्ठानहरुले २ बर्षसम्म जागिर र अन्य संघसंस्थाहरुले केही नगदसहितको सम्मान गरिसकेका छन्।
अब फेरि सम्मानको क्रमको शुरुवात गर्नुभन्दा पूर्वाधार विकासमा जोड दिनसकेमात्रै भोलि अरु पारस खड्काहरु जन्मिन सक्छन्। खेलाडी बिशेषमा लगानी गर्नुभन्दा ती खेलाडीलाई खेल्ने वातावरण तयार पार्नु मुख्य तर चुनौतीपूर्ण कार्य हो।
साँच्चै भन्ने हो भने एसोसिएट राष्ट्रको सदस्यता सन् १९९६ मा लिए पनि नेपालले त्यसयता क्रिकेटको भौतिक पूर्वाधारमा खासै परिवर्तन गर्न सकेको छैन। यही पूर्वाधारले नेपाललाई वन डे विश्वकप र अर्को ट्वेन्टी ट्वेन्टी विश्वकपमा नपुर्याउन सक्छ।
कप्तान पारसले भनेका थिए, 'सफलताले धेरै पक्ष लुकाउँछ तर हारले सबै पक्ष उदाङ्गो पारिदिन्छ।' शायद हामी पनि सिमित स्रोतसाधन र पूर्वाधारकाबीच पाएको सफलतामार्फत् आफ्नो कमजोरी लुकाउने प्रयास गरिहरका छौं। क्रिकेटरलाई सम्मान गरेर आफ्नो दुनो सोझ्याउने यत्नमै रुमल्लिरहेका छौं, अझै पनि हामी।
न्यूजिल्याण्डमा वन डे विश्वकप छनेाटमा समूह चरणका सबै चार खेल र प्लेअफमा समेत पराजय भोग्दै स्वदेश फर्किएको नेपाली टोलीको स्वागतमा एयरपोर्टमा मुस्किलले आधा दर्जन समर्थक र क्रिकेट पदाधिकारी पुगेको दृश्यले क्रिकेटप्रतिको हाम्रो कर्तव्य र सम्मान पनि उदाङ्गो पारिदिएको छ।
त्यसैले उपलब्धि र पराजय दुबैलाई वस्तुपरक ढंगबाट विश्लेषण गरिनुपर्छ। एउटा जितले संसारै प्राप्त गर्ने र अर्को हारमा सर्वस्व हरण भएजस्तो गर्ने प्रवृतिको अन्त्य हुनुपर्छ। नत्र, खेलाडी सधैं हामीलाई खेल्ने वातावरण देऊ भनिरहने तर क्रिकेटको डाडू पन्यु समातेर बसेकाहरुचाहिं क्षणिक लाभहानीमा अल्झिरहने हो भने नेपाली क्रिकेट उँभोभन्दा उँधो गति लाग्न बेर छैन।
यस्तोमा फेरि कप्तान पारसकै भनाइ उद्धृत गर्न मन लाग्यो। उनले भनेका थिए, 'हामीले सक्दो खेल्यौं। अब नेपाली क्रिकेटलाई माथि पुर्याउने हो भने क्यानमा पनि क्रिकेट व्यवस्थापकहरुको प्रवेश हुन जरुरी छ।' त्यसका लागि खेलाडीमा समेत लगानी गर्दै बढी जोड पूर्वाधारमा दिनुको कुनै विकल्प छैन।
किनभने खेलाडी सधैंभरि खेलमा सक्रिय नहुनसक्छ। तर, पूर्वाधार दरो बन्यो भने भोलि नयाँले पुरानालाई सजिलै बिस्थापित गर्नसक्छन्। अन्यथा प्रतिकुल नजिता सधै हाम्रो पक्षमा पर्नेछ।
नेपालमा एउटा अर्को खेल पनि छ, जसले ठूला र बलिया राष्ट्रसँग बराबरी र कम अन्तरमा पराजित भएको खुशीयालीमा खेलाडीहरुलाई नगदबाट पुरस्कृत गर्नेगर्छ। त्यो हो फुटवल। भदौमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्न सकेकोमा नेपाली टोलीलाई पुरस्कृत गरियो ।
यसअघि पनि राम्रो प्रदर्शन गरेको भन्दै नेपाली फुटवलको सर्वोच्च निकाय, अखिल नेपाल फुटवल संघ एन्फाले खेलाडीलाई बिना उपलब्धि पुरस्कृत गर्ने गरेको थियो। हार्दा पनि पुरस्कृत हुने भएकाले नै होला फुटवलले अहिलेसम्म उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन। अब त्यो रोग नेपाली क्रिकेटमा नसरोस्। शुभकामना।
आचार्यको ब्लगबाट