सोमबार दिउँसो १२ बजेको थियो, म अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुग्दा। सन्धिखर्कको माथिल्लो डाँडामा रहेको नेपाली सेनाको चन्दननाथ गणको हेलिप्याडमा नेपाली सेनाको दुईवटा र एउटा सिम्रिक एयरको हेलिकप्टर रोकिएका थिए।
बाहिर चौरमा निलो प्लाष्टिकमा डेढ दर्जन भन्दा बढि पोकाहरु थिए।
सेनाका जवानहरु ती प्लाष्टिकका पोकाहरुलाई पालैपालो गर्दै हेलिकप्टरमा जतनसाथ राख्न व्यस्त थिए।
लाग्थ्यो कहीँबाट कसैले घरमा ठूलो पार्सल पठाएको हो र नेपाली सेनाले जतनसाथ सम्बन्धित स्थानमा पुर्याउँदै छ।
तर, बिडम्बना ! ति प्लाष्टिकका पोकाहरुमा अरु कुनै सामान नभई १८ वटा मानव अवशेष थिए।
अर्घाखाँचीको ढिकुरा गाविस वडा नं. ८ मा पर्ने मसिनेलेकमा दुर्घटनाग्रस्त भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजमा सवार १८ जनाको क्षतविक्षत शवहरु प्लाष्टिकमा पोका पारिएको थियो।
आईतवार दिउँसो सवा १ बजेदेखि हराईरहेको जहाज मसिने लेकमा दुर्घटनानाग्रस्त अवस्थामा भेटिएको खबर पाएपछि म बिहान बुटवलबाट सन्धिखर्क पुगेकी थिए।
सँगै हुनुहुन्थ्यो बुटवलका पत्रकारहरु शेरबहादुर केशी, दिनेश पाण्डे र अमृत गिरी। हामी मसिने लेकमा जहाज खसेको पुष्टि भएपछि स्थलगत समाचार रिपोर्टिङको लागि सोमबार विहान ८ बजे अर्घाखाँचीको लागि हिंडेका थियौ।
आइतवार दिउँसो करिब ३ बजेतिर होला नेपाल वायु सेवा निगमको जहाज वेपत्ता भएको खबर चारैतिर फैलियो।
म आफ्नो कार्यकक्षमै थिएँ। सञ्चार माध्यमभन्दा पनि सोसल मिडीया फेसबुक र ट्वीटरमार्फत जहाज दुर्घटनाको खबर चारैतिर फैलिएको थियो।
दिउँसो १२ बजेर ४० मिनेटमा पोखराबाट जुम्लाको लागि उडेको नेपाल एयर लायन्सको ९ एनएबीबीको जहाज दिउँसो १ बजेर १३ मिनेटपछि सम्पर्क विच्छेद भएको खबर थियो।
बाहिर ठूलो पानीसहित असिना परेको थियो। जहाज बेपत्ता भईरहँदा अर्घाखाँची वा गुल्मी जिल्लामा दुर्घटना भएको हुनसक्ने धेरैले आशंका गरेका थिए।
ती जिल्लाहरुमा पनि मुसलधारे पानीसहित असिना पर्नुको साथै हिमपात समेत परेको खबर थियो।
केहि समय पछि नै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उदृत गर्दै केहि सञ्चारमाध्यमहरुमा जहाज अर्घाखाँचीको खिदीममा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो उद्धार शुरु हुँदै भन्ने ब्रेकिङ न्यूज आउन थाले।
म बुटवलमै थिए।
लुम्बिनी अञ्चलमा मात्र प्रशारण भईरहेको सामुदायिक टेलिभिजनमा काम गर्ने भएकोले अन्यत्रका ठूला दुर्घटना भन्दा आफ्नो क्षेत्रका भएका साना दुर्घटनाले पनि मेरो ध्यान बढि केन्द्रित गर्ने गर्दछ। त्यसैमा पनि आफ्नै क्षेत्रमा जहाज दुर्घटना भएको अपुष्ट खबरहरु आएका थिए।
बुटवलबाट सम्भावित घटनास्थल भनिएको खिदीम पुग्न ५/६ घण्टाको गाडीको यात्रा गर्नुपर्दथ्यो।
तत्काल त्यतातिर लाग्ने अवस्था पनि थिएन। दिन ढल्कदै थियो त्यसमा पनि बाहिर ठूलो पानी परेको अवस्था। तर, पनि घटनास्थल मानिएको खिदीम बुटवलबाट कति टाढा पर्छ, कहाँबाट जान सजिलो हुन्छ, त्यहाँको मौसमको अवस्था कस्तो छ सबै बुझ्ने प्रयास गरिरहेकी थिए।
अर्घाखाँचीमा भएका आफन्त तथा खिदिमका स्थानीयवासीसँग पनि फोनमार्फत घटनाको बारे जानकारी लिएँ।
एकातर्फ प्रमुख जिल्ला अधिकारीलाई उदृत गर्दै खिदिममा जहाज दुर्घटनाग्रस्त भएको समाचार सञ्चार माध्यममा आईरहेका थिए भने स्थानीयवासीहरुले सो क्षेत्रमा त्यस्तो कुनै घटना नघटेको जानकारी दिएका थिए।
कुनैपनि घटनाको सूचना चारैतिरबाट संकलन गर, तर आफूले तथ्यपूर्ण सूचना सम्प्रेषण गर। सूचना ढिलो होस तर सहि होस् भन्ने मैले सिकेको पत्रकारिताको धर्म हो।
सोहि अनुसार नै मैले समाचारको पुष्टि गर्ने प्रयत्न गरिरहेकी थिए।
साँझ परिसकेको थियो। घटनास्थल भनिएको खिदीम लगायत आसपासको क्षेत्रमा गुल्मी, अर्घाखाँची र पाल्पाबाट गएको सुरक्षाकर्मीहरुको टोलीले हराएको जहाजको खोजी गरिरहेको तर फेला नपरेको खबरहरु आईरहेका थिए।
म पनि आफूले काम गर्ने मिडीयामा मैले पाएसम्मको सूचना टिपाए र घर गएँ।
रातभर त्यहि जहाज कहाँ गयो होला, त्यसमा सवार यात्रीहरुको अवस्था के होला भन्ने कुरा मनमा खेलीरहेको थियो कतिखेर निदाएछु पत्तै भएन। बिहानै उठेर टेलिभिजन खोले।
हिँजो खिदीममा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटियो भनेर समाचार प्रशारण गर्ने टेलिभिजन च्यानलहरुले पनि समाचारलाई सच्चाउँदै जहाज वेपत्ता भनेर प्रशारण गरिरहेका थिए।
बिहान उठेर पनि अर्घाखाँचीका विभिन्न क्षेत्रमा सम्पर्क गर्ने प्रयास गरे।
बिहान करिब पौने ८ बजेतिर ढिकुराका युवा कमल सारुको मोबाईल नं. पत्ता लाग्यो।
उनलाई सम्पर्क गरेपछि मसिनेलेकमा जहाज दुर्घटना भएको छ भन्ने थाहा लाग्यो।
उनले घटनास्थलमा चट्टान र बुट्यानसहितको डाँडो रहेकोले नेपाली सेनाको हेलिकप्टर अवतरण गर्ने प्रयास गरेपनि सकेको छैन सन्धिखर्कबाट उद्धार टोली आउँदै छ भन्ने जानकारी दिएपछि हामी त्यसतर्फ लागेका थियौ।
बुटवलदेखि सन्धिखर्कको दुरी १ सय १० किलोमिटर भन्दा बढिको छ। साँघुरो र पहाडी बाटो भएकोले गाडीमा ३ घण्टा बढिको यात्रा।
गाडीको व्यवस्था गरि यहाँबाट जाँदा सिधै घटनास्थल जाने तयारीमा गएका हामी बिहान ११ बजे नरपानी पुगेको थियौं।
घटनास्थल जान नरपानीदेखि पश्चिम डेढ घण्टाको पैदलयात्रा गर्नुपर्ने। त्यसमा पनि हिउँपरेकोले हाम्रो टोलीमा त्यहाँको भौगोलिक अवस्थाको बारेमा कसैलाई जानकारी नभएको।
घटनाको पछिल्लो अवस्थाको बारेमा बाटोबाट नै जानकारी लिईरहेका थियौं। उद्धारमा खटिएको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियवाशीहरुसँग बिचबिचमा फोन सम्पर्क गरिरहेका थियौं।
११ बजेसम्म घटनास्थलमा छरिएहेका सबै शव र यात्रुहरुका सामाग्री उद्धार टोलीले संकलन गरिसकेको र सन्धिखर्क गणमा लैजादै गरेको जानकारी पायौं। घटनास्थल जाँदा दुवैतर्फको सूचना छुट्ने भएपछि हामी सिधै शव संकलन गरिएको स्थान नेपाली सेनाको चन्दननाथ गणमा गएका थियौं।
जहाँ शोक भएको हुन्छ त्यहाँ पत्रकार पुग्नुपर्ने, त्यसैलाई हेडलाईन बनाएर समाचार बनाउनुपर्ने हाम्रो पेषा पनि कस्तो।
मान्छे आफन्त गुमाएको पीडामा छटपटिएको बेला उसैसँग पीडा कोट्याईरहन्छौं।
अर्घाखाँचीमा भने जहाजमा परेका यात्रीहरुका आफन्त कोहि पुगेका थिएनन्। तरपनि नेपाली सेना बिहानैदेखि उद्धारमा खटिएको थियो। मानवीय समवेदना न हो क्षतविक्षत शवहरु ढुंगामाटो सरह जम्मा गर्दा कसको मन नरोला र।
उद्धारमा खटिएका उद्धारटोलीलाई नियाल्दा त्यो आभाष हुन्थ्यो।
हामीपनि आफ्नो पेशा र जिम्मेवारीले बाँधिएका थियौं।
नेपाली सेनालाई शवहरु काठमाण्डौ पुर्याउन हतारो भईरहेका बेला हामीले भने त्यहि दृश्यको तश्विर छुट्छकी भन्दै क्यामेरा तेर्सायौं।
गणका गणपती रामकाजी थापामगरले मिडीयाको महत्व बुझेकोले होला हामीलाई तस्वीर र लिन सहज भयो।
नेपाली सेनाका दुईवटा हेलिकप्टर मार्फत सबै शवहरु काठमाण्डौको लागि उडाईएपछि उद्धार कार्यमा खटिएका नेपाली सेनाका गणपती थापामगर, रेस्क्यू टिम कमाण्डर नारायण बहादुर अर्याल लगायतसँग त्यहाँका अवस्थाको बारेमा बुझ्न शुरु गर्यौं।

घटनास्थल नेपाली सेनाको गणदेखि सिधै दक्षिणतर्फ जम्मा ५ किलोमिटर एयर डिस्टेन्समा रहेको छ। आईतवार दिनभर मुसलधारे पानी र असिनासहित बाक्लो हुस्सुले ढाकिएको त्यो पहाड सोमबार बिहानदेखि भने हिउँ सहितको सेतो चुचुरो देखाउँदै मुस्कुराईरहेको थियो।
अघिल्लो दिन देशभरको आकाश रोईरहेको बेला १८ जनाको मृत्युमा मसिने लेकपनि रुँदै थियो होला।
समुन्द्री सतहदेखि ७ हजार फिट उचाईमा रहेको मसिने लेकदेखि आईतवार दिनभर जहाजको खोजी गरिएको खिदीम ४० किलोमिटर पूर्वमा पर्दछ।
“मेघगर्जनसहित ठूलो असिना पानी परेको र बाक्लो हुस्सु लागेका कारण आईतवार त्यसक्षेत्रको भिजीविलीटी पनि कम थियो। त्यसमा पनि खिदीममा जहाज खसेको गलत सूचनाको कारण उद्धार टोलीको ध्यान त्यसतर्फ बढि केन्द्रित थियो” गणपती थापामगरले भने।
घटनास्थल नजिकै भएरपनि समयमा सूचना पाउन नसक्दा उद्धार कार्य ढिलो शुरु भयो। तरपनि सूचना पाएको ३ घण्टामा उद्धारको सबै काम सकिएको थियो उनले भने।
दुर्घटनामा परेका नेपाली सेनाका मेजर दिपक श्रेष्ठको एनसेल मोवाइल नम्बरमा बजेको घण्टीको आधारमा मोवाइल लोकेसन पत्ता लगाएपछि दुर्घटनास्थलको बारेमा पत्ता लागेको थियो।
मेजर श्रेष्ठको काठमाण्डौ डल्लुमा रहेको घरबाट फोन गर्दा घण्टी गएपनि नउठेपछि एनसेलले दिएको लोकेसनको आधारमा खोजी गर्दै जाँदा जहाज वेपत्ता भएको १८ घण्टापछि सोमबार बिहान ७ बजेमात्र नेपाली सेनाले घटनास्थलको पुष्टि गरेको थियो।

घटनास्थल चट्यानै चट्टानको लेक भएकोले सानातिना बुट्यान भएपनि त्यस्तो ठूलो जंगल भने छैन। तर आईतवार दिनभर पानी परीरहेकोले बाक्लो हिउँ जमेको थियो।
गणपती थापामगरका अनुसार दुर्घटनास्थल अन्त्यत अप्ठ्यारो स्थानमा छ।
दुईफिट बाक्लो हिउँ जमेको स्थानमा शवहरु यत्रतत्र छरिएको अवस्थामा थिए।
“घटनास्थलमा जहाज ठोक्किएको कुनै संकेत छैन। जहाज ठोक्किएको भए कुनै रुख वा पहाडको भित्ताहरुमा चोट देखिनुपर्ने त्यस्तो कुनै संकेत छैन जहाज आकाशमै भएको गडबडी पछिमात्र खसेको हुनुपर्छ ” थापाले भने।
जहाजमा सवार व्यक्तिहरुका शव र जहाजका अवशेषहरु झण्डै १ किलोमिटर वरपर छरिएको अवस्थामा भेटिएका थिए।
जहाजका भेटिएका अवशेषहरु दुई फिट भन्दा ठूला कुनै पनि छैनन् सबै पिस पिस भएर खसेका छन् रेस्क्यु टिम कमाण्डर नारायण बहादुर अर्यालले बताए।
घटनास्थल नजिकै नेपाल टेलिकम र एनसेलको दुईवटा टावर पनि रहेका छन्। तर ठूलो पानी परेको कारण चट्याङ परेको होला भनी भित्रै बसेको टावरको सुरक्षार्थ खटिएका सुरक्षागार्ड केशव खनालले बताए।
सम्बन्धित समाचारहरु