संसारको नियम हो, जस्तोसुकै विपत पनि बिर्सेर मानिस अघि बढ्छ। करिब ३ महिनाअघि भोगेको अकल्पनीय र असामान्य घटना हामीले पनि बिस्तारै बिर्संदै थियौं। सामान्य हुन कोशिश गर्दै थियौं। हामीले जीवनभर त्यो कोशिश गर्नुपर्ने छ, हामीलाई थाहा छ।
विवाहको पहिलो वर्ष पूरा नहुँदै हाम्रो जीवनमा खुसी बनेर आएको बच्चा हामीले जब गुमायौं, हाम्रा लागि संसार अँध्यारो भयो। डेलिभरीका क्रममा भएको प्रक्रियागत त्रुटिले बच्चा गुमेपछि मेरी श्रीमतीले त्यसलाई सार्वजनिक गरिन्। हामीले मृत्युको स्पष्ट कारण थाहा पाउनुपर्छ भन्ने थियो। हामीले कुनै डाक्टर वा नर्सले नियतवश हाम्रो बच्चा मार्यो भनेका थिएनौं। कसरी मर्यो भन्देऊ भनेका थियौं।
जब यो घटना बाहिर आयो यो घटना हाम्रो मात्रै भएन, सुन्नेहरु सबैले यसलाई आफ्नो जस्तै गरी सहानुभूति दिनुभयो। सहानुभूति दिने मात्रै होइन, सयौंले हामीसँग आफ्ना यस्तै घटना बाँडेर हामीलाई सहन केही सजिलो बनाइदिनु भयो।
हामीले सोचेका थियौं, यसलाई सार्वजनिक गरेपछि जवाफ पाउने छौं। तर, त्यस्तो भएन। हाम्रो घटनालाई आफ्नो ठानेर जिज्ञासा राख्ने शुभेच्छुकहरुलाई दिन अहिले पनि हामीसँग जवाफ छैन। जवाफदेहीता, सुशासन, उत्तरदायित्व र उपभोक्ताहितको बडो चर्को बहस चलाउने हामीलाई सरकारको संयन्त्र र व्यवस्थापनले कति लाचार बनाउँदो रहेछ, म अहिले महशुस गर्दैछु।
मेरी श्रीमतीको चेक जाँच र डेलिभरीमा संलग्न चिकित्सकबाट जवाफ नपाएपछि अस्पतालका कार्यकारी डा. भगवान कोइरालालाई सम्बोधन गर्नु हाम्रो बाध्यता थियो। उनले (फेसबुकमार्फत नै सही) दिएको प्रतिक्रियालाई हामीले उत्तरदायित्व बहनकै रुपमा लिएका थियौं, उनलाई सम्मान गरेका थियौं। तर, अहिले हामीलाई लाग्दैछ अस्पताललाई बिरामीका यस्ता केसमा केन्द्रित हुने फुर्सद नहुँदो रहेछ। डाक्टरका लागि हजार बिरामी समान हुन्, उनीहरुले कोही एकजनालाई मात्रै न्याय गर्नुपर्छ भन्ने होइन। तर सय जनालाई न्याय गरेको बहानामा कोही एक जनामाथि अन्याय भएको विषयलाई नकार्न मिल्छ?
हाम्रो घटना हुनुभन्दा म केहीअघिको अवस्था सम्झन्छु। अमेरिकास्थित पिलनेट (ग्लोवल नेटवर्क फर पब्लिक इन्ट्रेष्ट ल) नामको संस्थाले हरेक वर्ष नेपालबाट एक जना कानुन र मानवअधिकारका क्षेत्रमा काम गरेको व्यक्तिलाई दिँदै आएको फेलोसिपमा छनौट हुँदाको बखत म जीवनकै कठिन दोधारमा थिएँ। सात महिनाकी गर्भवती श्रीमतीलाई छोडेर अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा अध्ययन गर्ने अवसरलाई रोजौ कि छोडौँ? केही शुभचिन्तक, अग्रज, घरपरिवार र स्वयं श्रीमतीसँगको लामो सल्लाहपछि म उनलाई छोडेर अमेरिका प्रस्थान गरेको थिएँ। अमेरिका आएपछिका दैनिक टेलिफोन संवादहरुमा म भावुक बन्थें। डेलिभरीको समय नजिकिँदै गर्दा एक साँझ फोन संवादमा मेरी श्रीमतीले भनिन्, “डेट त कात्तिक ४ गते नै हुने भयो।” धर्म–कर्म, ईश्वर, ज्योतिष आदिप्रति गहिरो आस्था राख्ने उनको भनाइ कार्तिक महिनामा बच्चा जन्मिनुलाई अलि राम्रो नमानिनेतर्फ इंगित थियो। मैले ठट्यौली पारामा भनें, “हाम्रो सन्तान कलाकार हरिवंश जस्तै लोकप्रिय हुनेछ, पीर नगर हरिवंश पनि कात्तिकमा जन्मिएका हुन्।”
अकस्मात उनको शरिरमा आएको एलर्जीको परीक्षणपछि असोजको तेस्रो साता उनलाई नियमित जाँच गर्दै आएकी सर्वाङ्ग स्वास्थ्य सदन कुपण्डोलकी डा. अर्चना अमात्यले डेलिभरी गराइहाल्न सल्लाह दिएकी थिइन्। बच्चाको तौल पुगिसकेकोले कुनै खतरा नहुने बरु तत्काल बच्चा ननिकाले एलर्जीको कारण खतरा हुनसक्ने सल्लाहलाई हामीले स्वीकार गर्यौं। डा. अर्चनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी डा. निभा ओझा (निभासँग पनि श्रीमतीले नियमित जाँच गराइरहेकी थिइन्) लाई फोन गरी भोलिपल्ट नै भर्ना गराउन सल्लाह दिइछन्। तर, बिरामीसँगको भेटपछि डा. निभाले एलर्जीको जाँच गराई सबैकुरा सामान्य रहेकाले नआत्तिन सल्लाह दिँदै तीन दिनपछि भर्नाका लागि आउन भनिन्।
श्रीमतीको डेलीभरी दिन नजिकिँदै गर्दा म युनिभर्सिटीमा साथीहरुलाई ट्रिटको जोहो गर्दै थिएँ। म बसेको फ्ल्याटमा बस्ने इजरायली, फिलिपिनो र कम्वोडिएनलगायतका साथीहरुलाई आफू …फादर' बन्न गइरहेको र नेपालबाट शुभ खबर आउनासाथ नेपाली परिकार बनाएर खुवाउने बाचा थियो। असोज २१ गते राती श्रीमतीसँग फोनमा कुराकानी भयो। उनले कपडा परिवर्तन गरेर लेवर रुम छिर्न लागेको र लेवर पेनका लागि औषधि राख्ने काम (इन्डक्सन) गरिसकेको बताइन्। डाक्टरले सबै सामान्य रहेकाले नर्मल डेलिभरी हुन्छ भनेर आश्वस्त पारेकाले नआत्तिन अनुरोध गर्दै अब फोनमा कुरा गर्न नमिल्ने बताइन्। यसबीचमा अस्पतालमा रहेका आफन्तसँग तारन्तार फोन संवाद हुँदा डाक्टरले श्रीमतीको अवस्था सामान्य रहेको बताउँदै नआत्तिन आग्रह गरेको खबर मैले पाइरहेँ।
असोज २२ गते मध्यान्ह बहिनीले अप्रेसन गरेर बच्चा निकालेको र श्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरमा राखिएको अनि भाउजुको अवस्था सामान्य रहेको जानकारी दिँदै फोन राखिन्। फोनमा छोरा–छोरी के भएको समेत जानकारी नगराई बहिनीले फोन काटेपछि म छाँगाबाट खसेजस्तै भएँ। मलाई केही अशुभको आभास भयो। लगत्तै अस्पतालमा रहेकी दिदीलाई फोन गरें। उहाँले पनि मलिनो स्वरमा मलाई ढाडस दिदै नआत्तिन भन्नुभयो। मैले नै सोधेपछि बच्चा छोरा भएको बताउनु भयो। मैले श्रीमतीसँग कुरा गर्न चाहें तर उनको शरीरमा अपरेशनको आलो घाउ भएकाले डाक्टरले फोनमा कुरा नगर्न सल्लाह दिएको भन्दै कुरा गर्न दिइएन।
बच्चा निकालेको करिव १५ घण्टापछि श्रीमतीसँग फोनमा कुरा हुन पायो। उनले भक्कानिदै आफूले अहिलेसम्म बाबु हेर्न नपाएको भन्दै रोइन्। “हाम्रो बाबुलाई के भएको हो? किन कसैले मलाई केही भन्दैन।”
श्रीमतीलाई दिने उत्तर मसँग पनि थिएन। “तिमी नआत्तिउ म नेपाल आउँदैछु,” मैले यो भन्दा बढी केही भन्न सकिन।
त्यसपछि मैले अमेरिका बसाइमा स्पोन्सर गरिरहेको संस्थालाई जानकारी गराएँ। कुनै प्रतिप्रश्न बिना नै संस्थाले नेपाल फर्कने स्वीकृति दियो। दशैंको समय यात्रु चापका कारण जहाजको टिकट पाइएन। मैले प्रोजेक्ट सक्किएपछि फर्किनका लागि बुक गरेको टिकटमा थप चार्ज तिरेर नेपाल फर्किए। यसबीचमा मैले बच्चाको मृत्यु भएको र अन्त्येष्टिसमेत गरेको खबर पाइसकेको थिएँ।
असोज २५ गते त्रिभुवन विमानस्थलबाट शिक्षण अस्पतालतर्फ पशुपतिनाथलाई दायाँ पारेर गौशालाबाट अघि बढदै गर्दा त्यतै कतै नजिक अन्त्येष्टि गरिएको बच्चाको याद आयो। बच्चा गुमाएको पीडासँगै अस्पताल पुगेर श्रीमतीलाई के जवाफ दिने भन्ने चिन्ता थियो मलाई। बच्चाको मृत्युबारे मलाई जानकारी भए पनि उनलाई भन्ने हिम्मत कसैले गरेका थिएनन्। सबै आफन्त मेरो पर्खाइमा थिए।
अस्पतालमा श्रीमतीसँगको त्यो कठोर भेटघाट पछि हामी दुवैसँग एउटै प्रश्न थियो, हाम्रो बच्चा कसरी मर्यो जवाफ चाहिन्छ। मैले त्यसै दिन श्रीमतीलाई अस्पतालबाट घर लगें। दशैंको फूलपातीको दिन थियो। सिंगो काठमाडौँ गाउँ फर्किएको थियो। भएका मानिसहरु दशैंको रमाइलोमा व्यस्त थिए। हामी दम्पती अस्पतालको लापरवाहीले भएको काहालीलाग्दो यथार्थ भोग्न बाध्य थियौ। घर पुग्दा बच्चालाई लक्षित गरी किनेका केही सामान थपिएको पाएँ। नौ महिनासम्म कोठाका भित्ता र सिलिङ हेर्दै देखेका सपना खरानी भएका थिए। हामी दुबै सँगै थियौं र पनि खाली थियौं।
दसैं सकिए लगत्तै बच्चाको मृत्युको कारण खोज्न भन्दै म टिचिङ पुगेँ। साथमा थिए तत्काल नागरिक दैनिकमा कार्यरत पत्रकार मित्र दिनेश गौतम। साधना हेल्थ पत्रिकामा करिब ३ वर्ष लामो रिपोर्टिङको अनुभव संगालेका गौतम शिक्षण अस्पतालका काम कारवाहीप्रति केही जानकार भएकाले पनि उनलाई मैले साथै लगेको थिएँ।
करिब १२ बजे हामी अस्पतालको प्रसुती वार्डको रिसेप्सनमा पुग्दा दुई नर्सहरु उभिएर गफ गर्दै थिए। कुनै विरामीबारे सल्लाह भइरहेको आंकलन गरी उनीहरुलाई डिस्टर्ब हुन सक्छ भन्दै हामी केही मिनेट मौन उभियौं। उनीहरुको भाव हेर्दा त्यस्तो नलागेपछि उनीहरुको ध्यानाकर्षण गरायौं र डा. निभा ओझालाई भेटन आएको बतायौं। उनी मध्ये एकले झर्को मानेझैं गर्दै के काम थियो भनिन्। हामीले डा. निभासँग भेटेर केही जानकारी लिनुपर्ने बतायौं। तर, उनीहरुले हामीसँगै कुनै चासो देखाएनन्। हामीले थप नम्र भएर उहाँलाई भेट्नै पर्ने काम छ कसरी, कहिले, कहाँ भेटन सकिएला भन्ने सोध्यौं। दुई मध्येकी एकले फाइल पल्टाए जस्तो गर्दै उहाँ इमर्जेन्सी वार्डमा हुनुहुन्छ त्यहीँ जानुस भनिन्।
हामी उनीहरुलाई धन्यवाद दिँदै इमर्जेन्सीतर्फ लाग्यौं। इमर्जेन्सीको रिसेप्सनमा गएर डा. निभाको नाम लिँदा त्यहाँ रहेका कुनै पनि डाक्टरले सो नामको डाक्टर आफूहरुले नचिन्ने र ड्युटीमा पनि नरहेको बताइयो। हामीले उहाँ प्रसुती डाक्टर हुनुहुन्छ भन्यौं। त्यहाँका डाक्टरले प्रसुती वार्डमा नै जान सुझाए। हामी जेनरल प्रसुती वार्डमा गएर सोध्यौ। त्यहाँ विहान बेलुका मात्र भेट हुने जानकारी गराइयो। पुनः हामी डेलिभरी वार्डमा पुग्यौ। अघि भेट भएका दुई नर्स र थप एक गरी तीन जना रिसेप्सनमा थिए। हामीले डा. निभालाई इमर्जेन्सीमा भेट नभएको बताउँदै एक पटक राम्रोसँग हेरिदिन आग्रह गर्यौं। उनीहरुले हाम्रो रेकर्डले उहाँ इमर्जेन्सीमा गएको देखाउँछ कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन भने। हामी केही नबोली पुनः इमर्जेन्सीमा गयौं त्यहाँ फेरी पुरानै जवाफ दिइयो।
हामी अलमलियौं। यो कस्तो व्यवस्थापन हो, एउटै अस्पतालको डाक्टरलाई अर्कोले चिन्दिन भन्छ। सम्बन्धित वार्डले इमर्जेन्सीमा भन्छ तर इमर्जेन्सीले चिन्दिन भन्छ। हामी फोन नम्बर पाइन्छ कि भनेर पुनः डेलिभरी वार्डमा गयौं। नर्सले फोन नम्बर दिन नमिल्ने बताइन्। हामीले उहाँको कुनै निजी क्लिनिक छ भने बताउनुस् हामी त्यहीं जान्छौ भन्यौं। त्यसको जानकारी अस्पताललाई नहुने भन्दै उनीहरु अर्कोतर्फ लागे। अन्तिम प्रयास गरिहरौ भन्दै हामी इमर्जेन्सी वार्डमा छिर्दा संयोगले डा. निभासँग जम्काभेट भयो। उनले मलाई नचिने पनि मैले उनलाई चिनें। किनकी म केही पटक श्रीमतीलाई लिएर जँचाउन उनकोमा गएको थिएँ।
मैलै गरेको नमस्तेको जवाफमा उनले भनिन, …भन्नुस के थियो?' मैले श्रीमतीको नाम लिँदै भेटन आएको बताएपछि उनी रोकिइन्।
तपाई अमेरिकामा हुनुहुन्थ्यो हैन, 'उनले भनिन?'
', …हो,' मैले जवाफ दिएँ।
उनले सँगै रहेका दुई सहकर्मीलाई श्रीमतीको नाम लिँदै चिनाएजस्तो गरिन्। कुराकानीको क्रममा थाहा भयो सँगै रहेकीमध्ये एक डाक्टर प्रसुती वार्डकै सिनियर डा. मिता सिंह रहिछिन्।
डा. निभासँग भेट हुनुपूर्व मैले सोचेको थिएँ उनले घटनाप्रति दुःख व्यक्त गर्नेछिन्। मलाई व्यवस्थित ढंगले राखेर काउन्सेलिङ गर्नेछिन्। नौ महिनादेखि नियमित जाँच गरिरहेको डाक्टर हुनुको नाताले पनि उनले मेरा जिज्ञासा मेटाउने प्रयास गर्नेछिन। मेरो बच्चाको मृत्युको सत्य कारण जानकारी गराउनेछिन्। जुन उत्तर लगेर म श्रीमतीलाई सुनाउने छु। तर त्यस्तो भएन।
इमर्जेन्सी वार्डबाट बाहिरिन लागेकी डा. निभाले त्यो व्यस्त बाटोमा उभिदै भनिन्, “ल भन्नुस के सोध्नु छ?” मैले भनें, “केही लामो कुरा हुनसक्छ कतै बस्न मिल्दैन?” उसो भए ल आउनुस यता बसौं भन्दै डा. मिताले इमरजेन्सीकै रिसेप्सन छेउमा रहेको एक कुना जस्तो कोठामा लगिन्। जहाँ रगताम्य अवस्थामा एक अधवैंसे पुरुष बिरामीलाई सुताइ राखिएको थियो। बिरामी सुतेको बेडबाहेक त्यहाँ उभिन मात्रै मिल्थ्यो। गम्भीर अवस्थामा रहेको कुनै बिरामीको अगाडि सोही अस्पतालका चिकित्सकसँग त्यो पनि उपचारमा भएको लापरवाही र मृत्युको बारेमा कुरा गर्न मलाई असहज लागिरहेको थियो। सोच्दै थिएँ, हाम्रो कुराकानी र विवादले त्यो आलो बिरामीको मनोबलमा कस्तो असर पार्ला? तर डाक्टरलाई त्यसको चिन्ता लागेन। मैले पछि सम्झिएँ, इमर्जेन्सीको त्यो भवन व्यवसायी मिनबहादुर गुरुङले आफ्ना बाबुआमाका नाममा बनाएर भौतिक उपकरणसहित अस्पताललाई हस्तान्तरण गरेका हुन्। भवन अत्याधुनिक छ। त्यस्तो चाप हुने अस्पतालमा विरामीसँग जोडिएका धेरै घटना दिन–दिनै घट्छन्। त्यति ठूलो भवनमा दुइ–चार कुर्सी राखेर विरामीका आफन्तसँग काउन्सेलिङ गर्ने एउटा कोठा छुट्टाउन सकिँदैन? त्यसलाई पनि ठाउँ नभएको, स्रोत साधन नभएको, कोठा नै नपुगेको भन्ने कि विरामीलाई राम्रोसँग राखेर उनीहरुको समस्या सुन्नु आवश्यक नै नठानिएको मान्ने?
मैले डा. निभा र उनको टिमकी सिनियर डा. मितासँग “म जवाफ माग्न आएको मेरो बच्चा किन मर्यो?” बाट कुरा सुरु गरें। उत्तरमा डा. मिताले भनिन्, मेडिकल साइन्समा सबै कुराको जवाफ हुँदैन। वाह! कत्ति सजिलो जवाफ। म पसिनाले चिटचिट भएँ। पहिलो जवाफले नै मेरो दिमाग रन्थनियो। एकछिन चुप लागेर सोचें म कोसँग कुरा गर्दैछु? के मेरो अगाडि उभिएका साँच्चै डाक्टर नै हुन्? के बिनाकारण बच्चा गुमाएर अमेरिकादेखि नेपालसम्म जवाफ खोज्न आइपुगेको पीडित बाबुलाई डाक्टरले दिने उत्तर यस्तै हुन्छ? आफूलाई सम्हाल्दै मैले पुनः कुराकानी सुरु गरें। डाक्टरको उत्तरको शैली सुनेपछि मित्र दिनेशले मोबाइल खेलाए जस्तो गरी संवादको रेकर्ड गरे।
मैले दोहोर्याएर त्यही प्रश्न गरेँ, …के कुनै कारण बिना नै मृत्यु हुन्छ र?' डा. मिताले भनिन्, तपाईको केसमा तीन ओटा सम्भावनामध्ये हामीलाई लागेको विश्वासिलो सम्भावना घाँटीमा नाल बेरिनु हो। यसबीचमा मैले थुप्रै प्रश्नहरु गरें। नाल बेरिएको किन थाहा भएन? भिडियो एक्सरेमा किन देखिएन? पेटमा रहेको बच्चाको पेट भित्रको मृगौला, मुटुसमेत हेर्न मिल्ने अवस्थामा घाँटीमा नाल बेरिएको किन देखिँदैन? नाल बेरिएको थियो भने किन अन्तिम अवस्थासम्म बच्चाको धड्कन जाँच गर्दै सामान्य छ भनियो? सर्वाङ्ग स्वास्थ्य सदनकी डा. अर्चनाले गरेको सिफारिसलाई किन बेवास्ता गरियो? बच्चाको अवस्था असामान्य थियो भने किन १५ घण्टासम्म नर्मल डेलिभरी हुन्छ भन्दै राखियो? बच्चा गुमाएर रोएकी आमालाई किन झपार्दै अर्को बच्चा भइहाल्छ नि भनियो? यी सबै प्रश्नको उत्तर थियो सायद, सम्भवत.....यस्तै यस्तै।
विषय यत्तिमै टुंगिएन। डेलिभरी भएको १० दिनपछि म श्रीमतीको अपरेशनपछि सिलाइएको धागो (टाँका) काट्न पुनः शिक्षण अस्पताल गएँ। हामीलाई त्यहाँ फर्किन मन नभए पनि बोलाइएको थियो जानै पर्यो। बच्चा जन्माएर रित्तो काख फर्किएकी आमा १० दिनपछि सोही ठाउँमा पुग्दा कसरी सम्हालिउन्। अस्पताल परिसर नर्छिदै उनको आखामा आँसु अडिएको थिएन। म केहीबेर पालो कुरेर एक डाक्टर समक्ष कागज देखाउदै भने, म श्रीमतीको घाउको टाँका खोल्न आएको। उनले कागज हेर्दै भनिन्, तपाईँको आज हुँदैन। मैले हामीलाई आज नै बोलाएको बताएँ। उनले तपाईँ ढिला आएकाले आज हुँदैन, भोलि विहानै जेनरल वार्डमा टिकट काटेर आउनू भनिन्। मैले सहन सकिन, अलि कडा स्वरमा बोलें, “त्यो कागजमा पढनु भएन घटना के हो? एउटा बच्चा गुमाएकी आमाको टाँका खोल्न बहानाबाजी गर्नुहुन्छ? त्यसपछि उनले भित्र लगेर डाक्टरलाई टाँका खोल्नका लागि पठाइन्। म चकित भएँ, कस्तो ओठे नियम चल्ने हो अस्पतालमा।
टाँका काटेको अर्को हप्ता फेरि म टिचिङ गएँ श्रीमतीसहित। अघिल्लो भेटमा डा. निभाले बिरामीलाई आफूकहाँ लिएर आउन भनेकी थिइन्। उनको आसय श्रीमतीको स्वास्थ्यमा अरु कुनै समस्या छ छैन हेरिदिन्छु भन्ने थियो। उनले आफ्नो फोन नम्बर दिँदै सिधै आउनु टिकट काट्नु पर्दैन भनेकी थिइन्। घटनापछि उनले हामीप्रति देखाएको त्यही एउटा विनम्रता थियो। त्यसअनुसार म श्रीमती लिएर पुनः डा. निभाकोमा पुगेको थिएँ। टिकट दर्ता गर्न बसेकी कर्मचारीलाई आफू डा. निभालाई भेटन आएको भन्दै कारण र अवस्था सविस्तार सुनाएँ। उनले विना टिकट भित्र जान नमिल्ने बताइन। मैले डा. निभाले भनेका कारण टिकट नलिएको बताउँदा चुप लागेर बस्न र बढ्ता विवाद नगर्न भन्दै झपारिन्। मैले डा. निभालाई फोन गरेँ। उनी बाहिर निस्केर हामीलाई भित्र आउन अनुरोध गरिन्। डा. निभाले श्रीमतीलाई जाँच्ने कोठामा लैजाँदै गर्दा दर्ताकी कर्मचारी कड्किँइन्, “आज म यो डाक्टरलाई देखाइदिन्छु , बिना टिकट प्राइभेट विरामीलाई सिधै जाँच्ने? सिधा निर्देशकलाई उजुरी गर्छु।” मैले सारा घटना बताउँदा पनि उनी संवेदनशील भइनन्। उनी भन्दा सिनियर डाक्टरले कुनै विरामीलाई सिधै बोलाउँछ भने त्यो आवश्यक नै भएर होला भन्ने सोचको विकास गर्न ती कर्मचारीलाई कसले सिकाउने? मैले सोचेँ धन्य अस्पताल व्यवस्थापन।
संसारका जुनसुकै र जस्तो सुकै स्तरका मान्छेको पहिलो प्राथमिकता उसको आफ्नो सम्मान र संवेदना हो। यसका अगाडि कसैले सम्झौता गर्दैन। अस्पतालमा भौतिक अभाव होस् कि मानवीय त्यसको सरोकार विरामीलाई हुनु जरुरी छ र? सेवा सुविधा वा भौतिक सामग्रीको अभावले सम्वन्धित निकाय वा त्यसका कर्मचारी तनावमा रहन्छन् भने त्यो विरामीको समस्या होइन। त्यो उनीहरुको कुण्ठा हो, त्यो कुण्ठा किन बिरामीसँग पोख्ने? हामीले किन सहने? सकिन्छ भने अस्पताल व्यवस्थापनसँग पोखियोस्। भौतिक स्रोत साधनको अभावबारे अस्पतालका निर्देशकसँग तँ–तँ म–म गरेर विरामीसँग पो ज्यूहजुर गर्नुपर्ने होइन र? तर त्यहाँ त व्यवस्थापन प्रमुखसँग ज्यूहजुर गरेर बिरामीसँग तँ–तँ, म–म गरिँदो रहेछ।
घटनाको बारेमा श्रीमतीले लेखेको लेख सेतोपाटीमार्फत सार्वजनिक भएपछि केही दिनमा लाखौंले पढे। हजारौं पटक सामाजिक सञ्जालमा शेयर भयो। प्रतिक्रिया थपिने क्रम यद्यपि जारी छ। सयौं इमेल प्राप्त भए। तर, अफसोच हामीले सोचेजस्तो जवाफदेहीता अस्पतालले देखाएन। त्यति धेरैले चासो र प्रतिक्रिया जनाएपछि लागेको थियो अस्पतालले औपचारिक धारणा सार्वजनिक गर्नेछ। यदि लेखमार्फत अस्पताललाई झुटो आरोप लगाइएको ठानिए त्यसको खण्डन गर्नेछ। या त घटनाको औपचारिक अनुसन्धान गरिनेछ। घटनाप्रति मेडिकल काउन्सिल बोल्नेछ। उपभोक्ता हितमा काम गर्ने संघसंस्था र यो क्षेत्रमा वकालत गर्नेहरु बोल्नेछन् र हामीले भोगेको यस्तो घटना फेरि नदोहोर्याउनका लागि पहल हुनेछ। तर यस्तो भएन। के सभ्य भाषामा लेखिएका लेखले घटना अनुसन्धानमा कुनै नैतिक दबाब सिर्जना गर्दैनन्? कि घटनाको छानबिनका लागि डाक्टरमाथि भौतिक आक्रमण नै जरुरी छ वा अस्पतालमा लास तेर्स्याएर ढुंगामुढा गर्नु जरुरी छ?
घटनाप्रति अस्पताल जवाफदेही हुनुको सट्टा अस्पतालकै स्टाफ नर्सद्वारा सो घटना पहिलो नभएको र अन्तिम पनि नहुने लेख सार्वजनिक भयो। यसरी अस्पतालका नर्सले नै चुनौती दिइरहँदा हामी दम्पती वा अरु कोही अर्को डेलिभरीका लागि त्यो अस्पताल जाने कि नजाने? लापरबाहीले बच्चा गुमेको घटनामा सोही वार्डकै नर्सले घटना अन्तिम नहुने भनिरहँदा कुन आत्मविश्वासले अर्की गर्भवती महिला सो अस्पतालमा जाने? कि भगवान भरोसा भन्दै जोखिम मोल्ने? कि बाँचेर आए आफ्नै भाग्य मृत्यु भए आफ्नै दुर्भाग्य ठानेर चित्त बुझाउने?
नेपालमा अस्पतालको मापदण्ड, आचारसंहिता, सेवाको प्रभावकारिताबारे अनुगमन गर्न सक्ने निकाय मेडिकल काउन्सिल पनि छ। यो नामको अड्डा डाक्टरलाई लाइसेन्स मात्र बाँडेर बसेको छ। आफूले लाइसेन्स दिएका चिकित्सकको काम कारबाहीको अनुगमन गर्ने दायित्व के उसको क्षेत्राधिकार भित्र पर्दैन? के उसलाई कारवाहीका लागि पीडितका आफन्तले गर्ने उजुरी नामको कागज कुरेर बस्नु आवश्यक छ? कुनै निकायको बारेमा सामान्य आक्षेप लाग्दा सो निकायले प्रेस विज्ञप्तिमार्फत स्पष्टीकरण दिन्छ। पेशागत आचारसंहिता विपरीत काम गरेकोमा पत्रकार महासंघले कयौं पत्रकारको सदस्यता खारेज गरेको छ। वकिलले गरेको अनियमितताको बारेमा बार एशोसिएशनले जवाफदेहिता व्यहोर्छ। यस्तै हरेकका आ–आफ्ना नियामक निकाय छन्। तर चिकित्सकको नियमन किन हुँदैन?
यो लेख्दै गर्दा म इण्डिया टुडेको अनलाइनमा यही डिसेम्वर १९ मा सार्वजनिक एक समाचार सम्झँदै छु। समाचारमा जनाइएअनुसार भारतको केरलामा लापरवाहीले बिरामीको ज्यान गएको घटनामा त्यहाँस्थित एक अदालतले उपचारमा संलग्न तीन डाक्टर र तीन नर्सलाई एक वर्षको कारावास सजायँ सुनायो। तर, हाम्रो सन्दर्भमा चिकित्सकीय लापरबाहीमा दण्ड जरिवाना दूरको कुरा स्पष्ट जवाफसमेत दिनु नपर्ने कस्तो स्वेच्छाचारिता?
के सधैं स्रोत साधनको सीमिततालाई दोष दिएर यस्ता घटनालाई निरन्तरता दिइरहन पाइन्छ? देशका ग्रामीण भेगका उपस्वास्थ्य चौकीमा समेत प्रसुती सेवामा उल्लेख्य सुधार भई नेपालले शिशु मृत्युदर घटाउन राम्रो सफलता पाइरहेको अवस्थामा दक्षिण एसियामा नै राम्रो भनेर चिनिएको शिक्षण अस्पतालमा सामान्य अवस्थाकी एक गर्भवतीको बच्चा लापरबाहीले मृत्यु हुँदा अस्पताललाई कुनै लज्जाबोध हुँदैन? के शिक्षण अस्पताल गाउँको उपस्वास्थ्य चौकी भन्दा पनि स्रोत, साधन र दक्षता बिहीन हो?
डाक्टरका सुविधा, सुरक्षा र अधिकारका सवाललाई लिएर देशभरका अस्पतालमा सेवा ठप्प पार्न सक्ने चिकित्सक संघले हालसम्म (डा. गोविन्द केसी जस्ता केही अपवाद बाहेक) कहिल्यै विरामीको अधिकार वा व्यवस्थापन सुधारको माग गर्दै कालो पट्टी बाँध्ने हिम्मत गरेको छ? (मैले यहाँ मेरो घटनामा कसैले आन्दोलन गरोस् भन्न खोजेको होइन।) हाम्रो घटनापछि आफ्ना पनि घटनाहरु सेयर गर्दै सयौंले लेखेका इमेल र फोनमा राखिएका जिज्ञासाले हामीलाई फेरि बोल्न बाध्य बनाएको हो।
अहिले पनि शिक्षापछि धेरै बजेट छुट्टाइने क्षेत्र स्वास्थ्य हो। वैदेशिक सहायता पनि शिक्षापछि दोश्रो यही क्षेत्रमा आउँछ। अघिल्लो हप्ता मात्र शिक्षण अस्पताललाई ६ करोड बराबरका उपकरण कुनै विदेशी संस्थाले उपलब्ध गराएको समाचार सार्वजनिक भएको थियो। यी र यस्ता सहयोग विभिन्न निकायबाट प्राप्त भइरहेकै छन्। हो हामीसँग पूर्वाधारकै अभाव हो भने के–के चाहिन्छ मागौं। कसले कहाँ के गर्नुपर्छ भनौं। कमी–कमजोरी छन भने सुधारका लागि सम्बन्धित निकायमा कुरा राखौं। पूर्वाधार छैन, मानव जनशक्तिको कमी छ भनेर कसैको जीवनसँग जोडिएका विषयमा खेलवाड गर्न मिल्छ र? आफ्ना आन्तरिक व्यवस्थापकीय वा प्रशासनिक कमजोरीलाई ढाल बनाएर सर्वसाधरणको जीवनसँग खेलवाड गर्न पाइन्छ? पाइँदैन भने, यसो गर्न बन्द गरियोस्। हाम्रो माग यत्ति मात्रै हो।
(अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा कार्यरत लेखक बस्नेत हाल अमेरिकास्थित कोलम्बिया युनिभर्सिटिमा खाद्य अधिकार र कानुन विषयमा रिसर्च फेलो छन्।)
सम्बन्धित यी आर्टिकलहरु पनि पढ्नुहोस्