सोमबार सुर्खेतमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको घटना यतिबेला सर्वत्र चासो र चर्चाको विषय बनेको छ। अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको शान्तिपूर्ण आन्दोलनले सोमबार हिंसात्मक रुप लियो। आक्रामक बन्दै गएका आन्दोलनकारी र आन्दोलन दमन गर्न प्रहरी प्रशासनले चालेको कदमले अकल्पनीय र अप्रिय घटना निम्त्याएको छ। प्रहरीको गोली लागी तीन जनाले ज्यान गुमाइसकेका छन् भने दर्जन बढी नागरिक घाइते भएका छन्।
ज्यान नै जाने गरी भएको आन्दोलन र आन्दोलनको क्रममा भएका तोडफोड र आगजनीका विषयमा अनेक टिकाटिप्पणी भइरहेका छन्। सार्वजनिक रुपमा र मिडिया तथा सामाजिक सञ्जालमा आएका कतिपय प्रतिक्रियाहरु अत्यन्तै पूर्वाग्रही समेत देखिन्छन्। अधिकार र पहिचानको लडाइँको रुपमा सुरु भएको आन्दोलनलाई कतिपयले राजनीतिक पूर्वाग्रह राखेर अनेक टिप्पणी गरेका छन् भने एकले अर्कोलाई दोष दिएर चोखो बन्ने प्रयास समेत भइरहेको छ।
सुर्खेतमा चलेको अखण्ड मध्यपश्चिम आन्दोलनको बारेमा टिप्पणी गर्नुपूर्व सबैले बुझ्नुपर्ने कुरा के हो भने, यो आन्दोलनको सुरुवात कुनै राजनीतिक दलले गरेको होइन। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केही प्राध्यापक र विद्यार्थीहरुको चियागफबाट सुरु भएको हो। प्रमुख दलहरुबीच भएको सहमति अनुसार मध्यपश्चिमलाई टुक्राएर तीन वटा प्रदेशमा मिसाइएको र सुर्खेत, दैलेख र जाजरकोटसहित कर्णाली अञ्चललाई सुदूरपश्चिममा गाभिएको निर्णयप्रति असन्तुष्ट उनीहरुले यसको विरोधमा दबाबमूलक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाले। विश्वविद्यालयका प्राध्यापक तेजविक्रम बस्नेतको संयोजकत्वमा नागरिक संघर्ष समिति समेत गठन गरे र आन्दोलनको सुरुवात गरे। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा संघर्ष समितिले पहिलो दिन निकालेको विरोध र्यालीमा मुस्किलले तीन दर्जन मानिस थिए। जसमा विद्यार्थी र प्राध्यापकहरुको बाहुल्यता थियो भने जिल्लास्तरका केही राजनीतिक दलका नेताहरु पनि सहभागी थिए। यद्यपी त्यसको नेतृत्व उनीहरुले भने गरेका थिएनन्।
यो माग सुर्खेतको मात्र हो भन्नु गलत हो। यो मागको सुरुवात र आन्दोलनको सुरुवात सुर्खेतबाट भएको हो। यहाँनिर बुझ्नुपर्ने अर्को कुरा के छ भने, वीरेन्द्रनगरमा सुर्खेतकै स्थायी बसोबास गर्नेहरुभन्दा बढी दैलेख, जाजरकोट लगायतका छिमेकी जिल्ला र विशेषगरी कर्णालीका मानिसहरुको जमघट छ। व्यापारका लागि र उच्च शिक्षा अध्ययनका लागि पहाडी जिल्लाहरुबाट सुर्खेत झरेकाहरुको संख्या ठूलो छ। र यो आन्दोलनमा उनीहरुको पनि सहभागिता छ। आन्दोलनको अग्रपंक्तिमा देखिने युवाहरुमध्ये अधिकांश कर्णालीबाट अध्ययनका लागि सुर्खेत झरेकाहरु छन्। त्यसकारण अखण्ड मध्यपश्चिमको माग सुर्खेतको मात्र होइन।
तीन जनाको ज्यान नै जानेगरी आन्दोलनले जुन उग्र रुप लियो त्यो निन्दनीय छ। संयमता अपनाएर आफ्ना माग राख्न सकिने र आन्दोलन गर्न सकिने अवस्था हुँदा हुँदै पनि ढुंगामुडा, तोडफोड र आगजनीमा उत्रनु भर्त्सनायोग्य कार्य हो। तर नेपालमा भएका हरेक आन्दोलनको रुपलाई हेरेर थाहा भएको कुरा हो, आन्दोलनको कुनै आकार र आयतन हुँदैन। यसको स्वरुप निश्चित हुँदैन। आन्दोलनको रुप परिस्थिति अनुसार जस्तो पनि बन्न सक्छ। सुर्खेतमा भएको पनि त्यही हो।
यो आन्दोलनको सुरुवात आग्रह र पूर्वाग्रहबाट भन्दा पनि स्वस्फुर्त रुपमा निस्किएको आक्रोश हो। क्षेत्रीय सदरमुकाम भएर पनि सुर्खेतले हालसम्म राज्यको विभेद सहदै आएको छ। यहाँ केही क्षेत्रीय संरचना निर्माण त भएका छन् तर अपूर्ण छन्। क्षेत्रीय अस्पतालले स्थापनादेखि हालसम्म दरबन्दिको आधा डक्टर समेत देख्न पाएको छैन। यहाँको क्षेत्रीय अस्पतालमा उपचार गर्न नसकी बाँकेमा रहेको अञ्चल अस्पतालमा बिरामी रिफर गर्नुपर्ने अवस्था छ। कतिपय क्षेत्रीय कार्यालयहरु अहिले पनि नेपालगन्जमा नै छन्। यस्तो अन्याय भोग्दै आएका सुर्खेतबासी राज्यको पुनर्संरचना हुँदा अधिकार सम्पन्न हुने र विगतको थिचोमिचो र विभेदको अन्त्य हुने आशमा थिए। तर दलहरुले प्रदेशको सिमांकनमा गरेको सहमतिले उनीहरुको आशामाथि बज्रपात हुन पुग्यो। यतिबेला सुर्खेतका प्रत्येक नागरिक आक्रोशित छन्। त्यही आक्रोशको आगो हो, अखण्ड मध्यपश्चिमको आन्दोलनमा स्वस्फुर्त रुपमा सडकमा उत्रिएका जनता र सोमबारको अप्रिय घटना।
अर्कोतर्फ सबैभन्दा बिकट कर्णाली, जो राज्यको विभेदको सबैभन्दा बढी सिकार बनेको छ। राज्यको पुनर्संरचना हुँदा जे होला भन्ने आश उनीहरुले गरेका थिए त्यो नहुने भएपछि अझ बढी आक्रोशित बनेका छन्। यसै पनि पछि परेको र विकट कर्णाली दलहरुबीच भएको सहमति अनुसारको प्रदेशमा सुदुरपश्चिमसँग गाभिएको छ। सुदूरपश्चिम पनि आफंैमा पछि परेको क्षेत्र हो। यसरी कमजोर, विपन्न र पछि परेका जिल्लाहरुलाई एउटै प्रदेशमा समेट्दा यहाँका नागरिकले समृद्धि र सम्पनताको के आश गर्ने? यही प्रश्नको जवाफमा निराशा मात्र फेला परेपछि आक्रोशित कर्णालीका जनताको आक्रोशले सल्काएको आगो हो, अखण्ड मध्यपश्चिमको आन्दोलन।
सोमबार सुर्खेतमा प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरियो। कांग्रेसको सहमहामन्त्री पूर्णबहादुर खड्का र कांग्रेसकै अर्का सभासद् हृदयराम थानीको घरमा पनि तोडफोड भयो। यो घटनालाई पूर्वाग्रही विश्लेषण गरी राजनीतिक रंग भर्ने प्रयास भइरहेका छन्। तर वास्तविकता के हो भने, राजनीतिक दल र नेताहरुप्रतिको नागरिकको आक्रोश हो। कुनै दलको नियोजित षड्यन्त्र हुँदो हो र उक्त पार्टी कार्यालय तोडफोड नहुनुपर्ने थियो।
अर्कोतर्फ नागरिकहरुले कुनै न कुनै दलको साधारण सदस्यता लिएका होलान् नै तर सोमबारको आन्दोलनमा देखिएका अनुहार कुनै निश्चित दलका कार्यकर्ता मात्रै थिएनन् त्यहाँ नेपाली कांग्रेस, एमाओवादी, एमालेदेखि अन्य दलका सामान्य कार्यकर्ता समेत थिए। आन्दोलनकारीहरु राजनीतिक दल र तीनका नेताहरुप्रति नै आक्रोशित थिए। कतिसम्म भने अस्तीको विरोध सभामा सम्बोधन गरेका दलका नेताहरु हिजो दिनभर लुक्न बाध्य भए। आन्दोलनकारीहरु जिल्लास्तरका नेताहरुसँग पनि जाइलागेका थिए। त्यसकारण यो आन्दोलन स्वस्फुर्त रुपमा उर्लिएको जनताको आक्रोश हो। यद्यपी यसबीचमा जस लिन खोज्ने र कुनै पुर्वाग्रह राखेर हिड्नेहरु पनि थिए होलान्।