म इमेज रेडियोमा काम गर्न थालेको ठ्याक्कै २ वर्ष भयो। अन्नपूर्ण पोष्टमा भ्याकेन्सी खुलेपछि एप्लाई गरेर म सहित ५ जना साथीहरु छनौट भएका थियौँ। त्यसबेला ३ महिना इन्टर्न गर्न र त्यसपछि नियुक्तिपत्र दिने कुरा भयो। बर्दियादेखि आएर काठमाडौँमा जमेर बस्नु मेरा लागि निकै कठिनको थियो। ३ महिना ५ हजारमा काम गरेँ। त्यसपछि ६ हजार दिन थाले। एक वर्षसम्म पनि नियुक्तिपत्र नदिएपछि मैले नियुक्तिपत्रको माग गरेँ। त्यसपछि दैनिक ४ घन्टा काम ठाकुर वेलवासे निर्देशनमा गर्ने सहमतिमा मलाई ७ हजार ५ सय दिन थालियो। सुरुमा रेडियोमा मात्रै काम गरेँ। पछि टिभी र अनलाइनमा पनि गर्न थालेँ।
***
गत सोमबार अन्दाजी २ बजेतिर म बालुवाटारबाट भाटभटेनीतर्फ आइरहेको थिएँ। भीभीआइपीको गाडीले मलाई ओभरटेक गर्यो। म लगायत अन्यलाई भने सुरक्षाकर्मीले विस्तारै, ओभरटेक नगर्न हातले संकेत गरिरहेका थिए। अख्तियार गेटअघि निकै जाम भयो। २ देखि ३ मिनेटसम्म दुवै तर्फ जाम भयो। एक जना हिँडिरहेका मानिसलाई अगाडी के भएको रहेछ भनेर सोधेँ। उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गाडी बाटोमा भएका कारण जाम भएको हुन सक्ने बताए। जाम भएका कारण सबैले हर्न बजाइरहेका थिए। गेटमा रहेका सुरक्षाकर्मीले नबजाउन हप्कप्दप्की गर्दै थिए। पहिले त मन्त्री वा नेता कसैको गाडी भन्ने सोचेको थिएँ तर अख्तियार प्रमुखको रैछ। ट्राफिक नियम सबैले मान्नुपर्छ। मन्त्री होउन या अख्तियार प्रमुख।मैले फोटो खिच्च मोबाइल नै अन गरेँ। साथमा रहेको क्यामेरा खोल्न ढिलो हुने भएकाले मोबाइलबाटै फोटो लिएँ। एकजना सुरक्षाकर्मी आएर मलाई औँलो ठड्याए। मोबाइल समाते। हातमा भिरेको क्यामरा थुत्न थाले।
अख्तियार प्रमुखको गाडी केहीबेरमा हुइँकियो। सबैलाई जान दिए। मलाई दिएनन्। त्यसपछि भित्रबाट आएका चार पाँच जनाले मलाई हातपात गरे। उनीहरुको प्राहरले मेरो टाउकोमा चोट लागेको छ,दाँत भाँचिएको छ। एसएलआर क्यामराको लेन्स पनि फुटाइदिए उनीहरुले।
सुरक्षाकर्मीहरुले मेरो बाइक र झोला लिए र भित्र गए। मलाई पनि तानेर लैजान खोज्दै थिए, बटुवाहरुको भिड भयो। प्रहरी अल्लि हच्कियो। मेरो ब्यागमा बम रहेको भन्दै कमल पोखरी प्रहरीलाई बोलाइयो। डिएसपी बिनोद सिलवाल पुगे। मैले आफू पत्रकार भएको जानकारी गराएँ। पत्रकार महासंघका अध्यक्ष समेत रहेका आफ्नै कार्यालयमा समाचार सम्पादक महेन्द्र विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई जानकारी गराएँ।
त्यसपछि अख्तियारको प्रेस हेर्ने टोलि आयो। मेरा बारेमा सोधपुछ भयो। मेरै अगाडि उनले इमेजका अध्यक्ष आरके मानन्धरलाई फोन गरे। 'आर के इमेजमा कोही सन्दिप योगी भन्ने छन्, तिमी चिन्छौं?' उता बाट चिन्दिन भन्ने आवाज आयो भन्दै ती अधिकारीले मलाई झुठ बोल्ने, पत्रकारको नाममा अराजक गतिविधि गर्ने भन्दै तर्साउन थाले। मैले झट्ट केही भन्न सकिन। एकछिनपछि भनेँ 'म पत्रकार नभएको भए पत्रकार महासंघका अध्यक्ष र प्रेस युनियनका अध्यक्षले तपाईँहरुलाई फोन गर्नु हुन्थ्यो?'
विष्ट र सिग्देलले मलाई त्यहाँबाट आफ्ना सामान लिएर जान भनेका थिए। बाँकी प्रक्रिया पछि गर्ने उनीहरुले वचन दिएका थिए। मलाई निकै तनावमा भयो। आफ्नै कार्यालयका मालिकले २ वर्ष काम गर्दा समेत चिनेनन्। चिन्नका लागि के गर्नुपर्ने रहेछ थाहा थिएन मलाई। म त राम्रोसँग चिन्थेँ। त्यसपछि मैतीदेवीको एक स्थानमा गएर इमेजका साथीहरुलाई खबर गरेँ। केही आए। एक जना साथीले समाचार बनाए। तर इमेज प्रशासनले त्यो समाचार प्रशारण गर्न मानेन।
मंगलबार सवा १२ बजे सुरक्षा तथा ट्राफिक गतिविधी कार्यक्रम चलाउन म अफिस गएँ। कार्यक्रम चलाइसकेपछि अनुपा श्रेष्ठले बोलाउनुभयो। उहाँ नेपाल प्रेस युनियनकी इमेज शाखा अध्यक्ष पनि हुन्। उनले माथिबाट निकै प्रेसर आएकोभन्दै मलाई जागिरमा नआउन आग्रह गर्नुभयो।
मैले सोधेँ 'तपाईहरु पत्रकारका हकहितका लागि लड्ने मान्छे पत्रकारलाई यस्तो हुदाँ किन पछि हट्नुभो?'
'म्यानेजमेन्टले गरेको निर्णय हो,'उहाँले टार्नु भयो।
'त्यसो भए मलाई बर्खास्त गरिएको लिखित कागज दिनुहोस,' मैले फेरि भनेँ।
त्यो पनि दिन मिल्दैन भन्नुभयो।
मैले जुन कार्यालयका लागि काम हुन्छ भनेर समाचार बनाउन खोजेँ, त्यसले प्रशारण गरेन। उल्टै जागिरबाट निकस्नुपर्दा म अहिले मानसिक तनावमा छु।
इमेजका भाइस प्रेसिन्डेट मोहनचन्द्र सिंह र अख्तियार प्रमुख लोकमानसिंहको राम्रो हिमचिम कुरा मैले त्यहाँ काम गर्दा नै थाहा पाएको थिएँ।
मैले आफुमाथि भएको अन्यायबारे प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी लगायतका संघसंस्थासँग सहयोगका लागि याचना गरेको छु।
सार्वजनिक ठाउँमा संवैधानिक निकायका प्रमुखको फोटो लिएँ, मैले गरेको 'अपराध' भनेको त्यति नै हो। मैले सार्वजनिक स्थानमा अख्तियार प्रमुखको फोटो लिदाँ जागिर गुमाउनुपर्ने?