भारतको हरीयाणास्थित सीरसा भन्ने गाउँका १० वर्षीय बालक गिरीश मृगौला खराबीका कारण थला परे। उनलाई निको बनाउन डाक्टरहरूले लामो समयदेखि प्रयास गरीरहेका थिए यद्यपी चिकीत्सा विज्ञानका प्रयोगहरू गिरीशका लागि बेकाम बन्दै गयो।
गिरीश सुतिरहेको बिरामी शैया बिस्तारै मृत्यु शैयामा परीणत हुँदै थियो। छोरा हामीलाई छाडेर यो संसारदेखि धेरै टाढा जाँदैछ भन्ने कुरा गिरीशको बाबु आमालाई राम्रोसँग थाहा थियो तर गिरीशलाई भने यस बारेमा केहि थाहा थिएन। थाहा होस् पनि कसरी।
एकदिन अचानक गिरीशले आफ्नो आमा बाबु तिर हेर्दै भने-‘मेरो धेरै दिन स्कुल छुटिसक्यो, मलाई यसपाली फस्ट हुनुछ। मलाई चाँडो निको बनाएर घर लैजानुहोस्। म राम्रोसँग पढेर ठूलो भएपछि प्रहरी बन्छु अनि यो देशको सेवा गर्छु,’ छोराको यति सुन्दर सपना सुनेर बाबु आमा झन् मुर्छीत बने।
मृत्यु शैयामा छट्पटाईरहेको एउटा बालकले आफू ठूलो भएपछि प्रहरी बनेर देशको सेवा गर्ने सपना आफ्नो बाबु आमासँग सुनाएको खबर जयपुर प्रहरी प्रमुखको कानमा पुग्यो। जयपुर जहाँको अस्पतालमा उनी उपचाररत थिए।
गिरीशको सपनालाई उनको अन्तिम इच्छा ठानेर जयपुर प्रहरीले गिरीशलाई एकदिनको लागि प्रहरी कमीशनर बनाएको घोषणा गर्यो।
अनि गिरीशलाई प्रहरी कमिशनरको रूपमा सम्मान सलामी दिइयो, तोप पड्काइयो र दर्ज्यानी चिन्ह दीइयो। अनि गिरीशले केहि प्रहरी कार्यलयको निरीक्षण समेत गरे।
गिरीशको बाबु आमाको आँखाबाट दुःख मिसीएरै भएपनि एक थोपा खुसीको आँशु खस्यो। आफ्नो सपना कति चाँडै पूरा भएकोमा बालकको मुहारमा मीठो मुस्कान पनि छायो।
दुःखको कुरा गिरीशको कोरा सपना र अस्थायी खुसीहरू लामो समय टिक्न सकेनन् र एउटा यस्तो कालो रातमा उज्यालो बत्ती धिपीक्क निभ्यो।
माथि उल्लेखीत यी घटना कुनै रोचक समाचार जस्तो लाग्न सक्छ। तर, यो समाचारमात्र होइन सपना हो। अति गहिरो संवेदनशील संवेदना पनि हो।
खैर जे होस्, म हरियाणाका गिरीश जस्तै कहिल्यै निको नहुने गरी बिरामी परेको छैन। जीवनका अन्तिम सपनाहरू पनि खासै ठूलो केहि छैनन्। सिंहदरबार भित्र पस्ने काम त्यो जयपुरको प्रहरी अड्डामा पुगेजस्तो सजिलो पनि होइन।
तर, मेरा साथीहरू भन्छन्-‘हामी जस्तो मान्छे बाँचेर अर्थ छैन, काम छैन। यो अर्थ नभएको एकबारको जुनीमा मर्नुभन्दा अगाडि ठूलो मान्छे बन्नुपर्छ अनि नाम कमाउनुपर्छ।’
त्यसैले म ४८ घण्टाको लागि देशको प्रधानमन्त्री बन्न चाहन्छु। लोकबासीको नजरमा लोकप्रियता हाँसील गरेर नाम कमाउने सपना देखेको छु। के थाहा भोलि गिरीशको प्रहरी बन्ने त्यो ठूलो सपना जयपुर प्रहरीले पुरा गरे जस्तै मेरा यी महान् सपनाहरू भोलि बिहानैको सूर्योदयसँगै उदाँउछ कि?
म मर्नभन्दा अगाडि एक पटक प्रधानमन्त्री जस्तो गरीमामय पद मागेर बहुलाउन चाहन्छु। तर, मर्नभन्दा बहुलाउन नीको मानेको चाहिँ होइन। यो यथार्थमा कसैलाई भ्रम नहोस् किनभने म यो देशलाई आमुल परीवर्तन गर्ने योजना वा भिजनसहित ४८ घण्टाको लागि मात्र प्रधानमन्त्री बन्न चाहेको हुँ।
मेरो देशको शासन एउटा पिएले चलाएको रहेछ। म त बिए पास गरेको मान्छे हुँ। हिन्दी बोल्न जानेको छु। मैले प्रधानमन्त्रीको पद माग्दा त्यत्ति ठूलो काण्ड होला जस्तो मलाई लाग्दैन।
हाम्रो मुलुकको अर्थमन्त्रीको ‘पीए’ सामु मन्त्रीमात्र होइन सरकारसमेत निकम्बा बन्दो रहेछन्। मानौं मन्त्रीको काम केवल सम्मान सलामी खानु मात्र हो, पिएको काम चाहिँ सम्बन्धीत मन्त्रालयको सम्पूर्ण जिम्मेवारी बहन गर्नु हो र पत्रकार सम्मेलन गर्नु पनि हो।
जस्तो कि राहतको जस्तापाता प्रकरणमा मुछिएको एउटा पिएलाई छाती फुलाएर पत्रकार सम्मेलन गर्ने अधिकार कहाँबाट प्राप्त भयो? पिएको बरियता क्रम के हो? पिएको मर्यादाक्रम के हो? पिएको काम, कर्तव्य के हो? यस्तो संवेदनशील विषयमा तत्कालै सरकारी धारणा सार्वजनिक गर्न पर्छ कि पर्दैनथ्यो?
अनुशासनहिन यस्ता पिएलाई समातेर तत्कालै कारबाही गर्नको लागि पनि म ४८ घण्टाका लागि देशको प्रधानमन्त्री बन्न चाहन्छु। मैले ४८ घण्टामा देशको लागि के कति काम बारे निर्णय गर्न सक्छु होला? त्यो पनि म बुदाँगत रूपमा राख्नेछु।
म ४८ घण्टाको लागि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्ने हो भने यी १० वटा प्रमुख कामलाई नीतिगत रूपमा तत्काल लागू गर्छु।
१. म प्रधानमन्त्री बनेको पहिलो घण्टामै सम्पूर्ण नेपालीहरूलाई माछा खान रोक लगाउँछु। जसले माछा खान्छ त्यसलाई कडा कारबाहीको अस्थायी नीति बनाउँछु। किनभने ७०%माछा भारतबाट आयात गरिन्छ।
माछा खरिदको लागि मात्र बर्सेनी करोडौं रकम बाहिरीने गर्छ। यो नेपालबाट भारतले प्राप्त गर्ने ठूलो रेमिट्यान्स हो। त्यसैले अब हाम्रो केहि नीश्चीत नदीहरूबाट विद्युत होइन, माछा उत्पादन गरिनु पर्छ। माछा उत्पादन गर्न सकिने नदीहरूको घोषणा गरेर काम अगाडि बढाउने नीति बनाउने छु। भारतीय माछा व्यापारीहरूलाई नेपाल प्रवेशमा रोक लगाउँछु र नेपालमा माछा उत्पादनमा नहुन्जेलसम्म माछा दोकान बन्द गराइदिन्छु।
यस्तो कानुन माछामा मात्र होइन कि प्याज, लसुन, फलफूल, टमाटर, फर्सी सागपातजस्ता नेपाल मै उत्पादन गर्न सकीने तरकारी तथा खाद्य पदार्थमा समेत लागू हुन्छ। प्याज, स्याउ र लसुन चीनबाट आयात गरेर प्रयोग गर्ने अनि नेपाललाई कृषिप्रधान देश भन्ने?
२. करीब ५५% सरकारी कर्मचारीहरूलाई कम्तिमा पनि १० वर्षको लागि कृषि कार्यमा लगाउने घोषणाको साथै कृषि उत्पादनको आधारमा उनीहरूलाई तलब दिने व्यवस्था राम्रो हुन्छ। देश बनाउन दश छाक भोकै बस्न पनि तयार हुनुपर्छ।
कार्यालयको कम्प्युटरमा तास खेलेर समय बिताउने गरेका कर्मचारीहरूलाई लसुन, अदुवा खेतीमा लगाउने साहस चाहिन्छ। तर, नेपाललाई यति धेरै कर्मचारी चाहिँदैन। यो उदाहरण हामीले कोरिया र जापानबाट लिनसक्छौं।
युद्वको चपेटाबाट माथि उठेर उनीहरूले आफ्नो देशलाई यति छिटो प्रगतिको दीशामा अगाडि बढाउनुका पछाडि त्यहाँका नागरिकहरू कैयौँ वर्ष भोकै बसेर देशको नीम्ति काम गरेका छन्। सरकारी सेवकहरू किसान बनेका छन्।
३. नेपालमा शहरहरू नै छैनन्। शहरमा त बिजुली बत्ती हुन्छन्। खानेपानीको व्यवस्था राम्रो हुन्छ। सडकहरू फराकीला मात्र हुँदैनन्, सफा पनि हुन्छन्। त्यसैले नेपालमा दुर्गम गाँउहरूमात्र छन् जस्तो कि काठमाडौं।
त्यसैले म नेपाल जस्तो पहाडी मुलुकमा शहरीकरणका लागि केहि निश्चीत स्थानहरू घोषणा गरेर ती स्थानमा मात्रै मानिसका लागि आवश्यक भौतिक पुर्वाधारहरू निर्माण गर्ने घोषणा गर्छु।
देशका प्रमुख शहरहरू पुनः घोषणा गरेर शहरलाई साँच्ची नै शहर जस्तो बनाउने प्रण नगरेसम्म कुनै पनि प्रणालीको काम छैन। फोहोर व्यवस्थापनसम्म गर्न नसक्ने काठमाडौंलाई गौरवको राजधानी बनाउने हो भने तत्काल शहरीकरणलाई रोकेर बस्ती विकेन्द्रीकरण र भौतिक सुविधाहरूको सहजतामा ध्यान पुर्याउँनै पर्छ, त्यसमा म ध्यान दिन्छु।
४. एउटै स्थानमा कलकारखाना, अस्पताल, सपीङ महल, दाह संस्कार गर्ने स्थान, विद्यालय, महशुल बुझाउने कार्यलय, आवास, चिडीयाखाना, होटल तथा रेष्टुरेन्ट, पुस्तकालय आदि निर्माण गर्ने कुरा निकै अव्यवस्थित छन्।
त्यसैले जमीन र भुगोलहरूको बर्गीकरण गरेर यी सबै मानव आवश्यकताहरूलाई बिभीन्न स्थानमा निर्माण गरिनुपर्छ।
जस्तो कि, कलकारखाना भएको स्थानमा स्कुल तथा मानवबस्ती ठीक छैन। अस्पतालहरू पनि एकान्त स्थानमा भएको राम्रो हुन्छ। पर्यटकीय स्थानहरूमा पर्यटकहरूलाई ध्यानमा राखेर अन्तरराष्ट्रिय स्तरको भौतिक संरचना निर्माणमा जोड नदिने हो भने पर्यटन व्यवसायीमात्र होइन नेपाल कै बदनाम हुन्छ।
सोलु, जीरी र नाम्चे बजार तिर मात्र होइन लुम्बिनी र पोखरामा पनि नेपालीको बदनाम हुने धेरै कारणहरू छन्। म यस तर्फ ध्यान दिन्छु।
५. कुनैपनि देशको पहिलो सुन्दरता भनेको यातायात व्यवस्थामा झल्कने गर्छ। कुन देशका मानिसहरू कति शिक्षित र अनुशासीत छन् भन्ने कुराको आधार सडक र सवारी नियमपालनबाट मिल्ने गर्छ।
हाम्रो देशको सबैभन्दा दुखद् पक्ष भनेको सवारीको चापलाई नियन्त्रण गर्न नसक्नु हो। त्यसैले जति पनि सरकारी मातहातका खाली जग्गा, सडक किनारा जहाँ पायो त्यहीँ सवारी साधन छाडेर हिड्ने चलन छ।
यस्तो भद्दा तरिकालाई तत्कालै रोक्न सवारी साधन राखे बापत प्रत्येक घण्टा अनुसार रकम तिर्ने व्यवस्था लागू गर्नपर्छ।
यसका लागि सवारी पार्क गरिने खाली स्थान र सडक नजिकै मोबाइलमा प्रयोग गर्न सकिने रीचार्ज कार्ड जस्तै कार्ड प्रचलनमा ल्याउन सकिन्छ। खास गरी युरोप र अरब जस्ता विकसीत देशमा यो प्रयोगमा आईसकेको कुरा हो। तर, गरिब देशमा समेत सवारी साधनलाई पार्किङ अनुमतिका लागी रीचार्ज कार्ड प्रयोगमा ल्याउनु र संकलित रकम सडक निर्माण मै प्रयोग गर्नु खासै ठूलो समस्याको विषय होइन। यसको नीति बनाउन कुरामा तत्काल जोड दिन्छु।
६. सरकारी बैङ्क खाता खोलेर विदेशमा काम गर्ने र नेपाल मै पनि नोकरी गर्ने नागरिकहरूले प्रत्येक महिना आफ्नो तलबको कम्तीमा २५% रकम सरकारी खातामा जम्मा गर्न अपिल गर्छु। यो धेरै वर्ष अगाडि कोरीयामा प्रयोगमा आएको अभ्यास हो।
तपाईँ अनुमान गर्नुहोस् प्रत्येक महिना यसरी संकलन भएको रकमले प्रत्येक महिना एउटा अस्पताल, एउटा ठूलो क्याम्पस, एउटा सुन्दर बगैचा, एउटा सुबिधा सम्पन्न वृद्धाआश्रम निर्माण गर्न सकिन्छ। म ४८ घण्टा भित्र खाता खोलेर नागरिकलाई अपिल गर्छु।
७. हामीले चीनको स्याउ खाइरहेका छौ। मुस्ताङको स्याउ अधिकांश कुहिएर सकिन्छ। यतीमात्र होइन कि दुधसमेत प्याकेटको रूपमा भारतबाटै आएका प्रयोग गरीरहेका छौ। यस्तो किन भयो? के हामीले हाम्रै स्याउ र दुध खान पाउने वातावरण निर्माण गर्न सक्दैनौँ? त्यसैले यसका लागि ग्रामीण भेगमा केवुलकारको विस्तार नेपालका लागि अति उत्तम हुन्छ। निश्चीत स्थान र डिपोहरूमा यात्रु र ढुवानी सेवाका लागि पहाडी मुलुकमा उपनाइने उपायबारे अध्ययन तथा कार्यन्वयन गर्नुपर्छ।
८. राजनीतिक स्वतन्त्रताको नाममा जथाभावी दल खोल्न पाउने अधिकार म ४८ घण्टा भित्रमा बन्द गरिदीन्छु। हस्ताक्षर संकलन गरी २ जना मानिसहरू मिलेर राजनीतिक दल खोल्ने कुरा राजनीतिक अधिकार हुन सक्दैन, यस्तो अधिकार देशको लागि भाईरस जस्तै हो। नेपालमा सयौँ विचारको उदय हुनु र एउटै विचार स्थापित हुन नसक्नु पनि यसैको एउटा परिणाम हो। यहाँ उदाहरण दिइरहनु पर्दैन।
त्यसैले निश्चित समयको लागि दल खोल्ने अधिकारमा प्रतीबन्ध किन लगाउनु पर्छ भने हाम्रो जस्तो सानो र गरीब देशलाई राजनीति होइन राहत चाहिएको छ जसका लागि इच्छाशक्ति आवश्यक छ। अन्यथा औंलामा गन्न नसकिने कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिहरूको नेपालमा कुनै अभाव छैन।
९. यो प्रेस स्वतन्त्रता पनि अलिकति धेरै नै भएको छ। जो कहिल्यै समचार लेख्दैनन् ती मानिसहरू पत्रकारको रुपमा अगाडि आउँछन्। पत्रकारिता पढेका र १४ घण्टा समचार लेखेर पत्रकारिता गर्नेहरू ओझेलमा परेका छन्।
त्यसैले जो कोहिले पनि मिडीया सञ्चालन गर्न पाउने अधिकार कटौटी गरेर योग्य मानिसहरूलाई मात्र सञ्चार व्यवसायी बन्न पाउने बलियो कानुन बनाउनुपर्छ जसले श्रमिक पत्रकारिता गर्नेहरूको मूल्य चुकाउनेछ।
कुनै ज्ञान तथा दक्षता बिनाका मानिसहरू सञ्चार क्षेत्रमा लाग्नु भनेको देशका लागि अहित हुनु हो किनभने अमेरिकाजस्तो विकशित देशमा पनि राजनीतिक दलभन्दा पहिले नै मिडीयाहरू राष्ट्रपतिको उमेद्वारलाई सांकेतिक रूपमा खडा गर्छन् र नागरिकहरू प्रचारको आधारमा मतदान गर्छन्। त्यसैले राज्य र नागरिकको स्थायी संवाहक तथा दोस्रो आँखालाई मर्यादीत बनाउने कदम चाल्नेछु।
१०. जघन्य अपराध गरेका मानिसहरूलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने नागरिक आवाजहरू आए पनि मृत्युदण्डको कानुनी व्यवस्था नगर्ने भनेर नेपालले अन्तर्राष्ट्रिय सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ। यद्यपी छिमेकी देश भारतजस्तो प्रजातान्त्रिक मुलुक र संसार मै विकाशमा पहिलो हुने गरी गता पकडेको अर्को बलियो छीमेकी देश चीनमा चाहिँ मृत्युदण्डको व्यवस्था छ, दण्डित पनि गरीराखेका छन्।
त्यसैले नेपालमा कम्तीमा पनि भ्रष्टाचार, बलात्कार, ज्यान मार्ने काम तथा लागूपदार्थको ओसार पसार जस्तो जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न सके देशलाई सामाजिक सुरक्षा तथा सुशासन तर्फ अगाडि बढाउन सजिलो हुन्थ्यो। महिलाहरू ढुक्कले बाहिर हिँडडुल गर्न सक्थे। नेताहरूले कम भ्रष्टाचार गर्थे र हाम्रो समाजमा अराजकता घट्न सक्थ्यो। मृत्युडण्डको व्यवस्थाबारे म ४८ घण्टाको अन्तिम मिनेटमा घोषणा गर्नेछु।
के थाहा हरियाणाका गिरीशको सपना जस्तै दीलबहादुरको सपना पनि पुरा हुन्छ कि!