सेतोपाटीमा प्रकाशित गोविन्द केसी सरको लेख ‘मेडिकल शिक्षामा मनपरी, क्षमता ४० सिट, पढाउने १५० जना?’ पढिसकेपछि त्यो दिनभरजसो म आत्मविस्मृतितर्फ तानिइरहेँ। सानो छँदाताका मैले पढेको स्कुल, त्यसका कक्षाकोठा, गुरु-गुरुआमाहरू, साथीभाइहरु झल्झली याद आइरहे। मनमनै सोचिरहेँ- साँच्ची, मैले पढ्ने स्कुलमा एउटा कक्षामा अधिकतम कतिजनासम्म विद्यार्थी हुन्थे?
सर र मिस/म्याडमहरुले कत्तिको लगाव र अभिरुचिका साथ पढाउनुहुन्थ्यो? अनि फेरि मनमनै एक दशकपछिको समयमा हाम फालें र आफूले पढेको मेडिकल कलेजको कक्षासँग त्यो कक्षा दाँज्न पुगेँ। अहो, कत्रो गहिरो खाडल, जसलाई अनुभव मात्र गर्दा पनि बडो अनौठो लागिरह्यो।
त्यो स्कुले कक्षामा जम्माजम्मी ८० जना विद्यार्थी हुन्थ्यौं। एउटा कक्षामा बढीमा ४० जनाको मान्यता अनुसार दुइटा सेक्सनमा बाँडिएका थियौं हामी। हरेक विषयका निम्ति उत्तिकै दक्ष र अनुभवी गुरुहरु हुनुहुन्थ्यो। हामीले बुझ्यौं/बुझेनौं, जान्यौं/जानेनौं, सोधखोज गर्नुहुन्थ्यो अनि बुझेको रहेछौं भने मात्रै अगाडिको पाठमा बढ्नुहुन्थ्यो। कुनै पिरियड पनि सर नभएर वा सर नआइदिएर खाली जाँदैनथ्यो। समयमै पाठ्यक्रम पढाएर सक्काइन्थ्यो।
बरू भौतिक पूर्वाधार राम्रो थिएन। स्कुलको आफ्नै भवनसम्म थिएन, बाल मन्दिरको भवनलाई भाडामा लिएर चलाइरहेको थियो। तर पठनपाठनमा कुनै सम्झौता थिएन। र पो पढाइ प्रभावकारी हुन्थ्यो। हुन त मैले मीनबहादुर विष्टको कवितामा वर्णित ‘गाउँको पाठशाला’ पनि देखेको छैन, राजधानीको ग्यालेक्सी र रातो बंगाला पनि भोगेको छैन। यसकारण मेरो स्कुलको अनुभवसँग अरू धेरैका अनुभव नमिल्लान्। तर एउटा औसत मध्यमवर्गीय परिवारको सन्तानले पढ्ने स्कुलबाट आएकाहरुको कक्षाको चित्र मोटामोटी यस्तै हो। सबै ८० जना विद्यार्थी एउटै कक्षामा हुलेको भएचाहिँ के हुँदो हो; मैले कल्पना पनि गरेको थिइन। तर त्यही कल्पना पनि नगरेको कुरा कालान्तरमा भोग्नु रहेछ।
मेडिकल कलेजको ‘लेक्चर हल’ छिरेको पहिलो दिन यो कुन सेक्सन होला भनेर ठूलै असमन्जस्यमा परेको थिएँ म। सुनेको थिएँ, एउटा ब्याचमा जम्मा विद्यार्थीको संख्या १५० हुनेछ। यसैअनुसार स्कुल र प्लस टु बेलाकै हिसाबले पनि कम्तीमा ३ वटा सेक्सन त जरूर हुनेछ भनेर मनमनै हिसाब लगाएको थिएँ। आफू कुन सेक्सनमा परिएछ भनेर मनमा कौतुहलता थियो। तर, त्यही दिन नै थाहा भयो- मेडिकल कलेज भनेको कुनै स्कुल-प्लस टु होइन रहेछ, जहाँ निश्चित संख्याभन्दा बढी विद्यार्थी भए सेक्सन छुट्याइयोस्। एउटा बडेमाको हल बनाइदिएको छ, सबैजना त्यसमै अटाउने अनि पढ्न मन भए पढ्ने नभए नपढ्ने- त्यो रहेछ त्यहाँको पवित्र संहिता।
अरे बाबा, १५० जनाको भिड एउटै हलमा कोच्चिँदा त्यहाँ कसरी पढाई होला, कसरी अन्तर्क्रिया होला, बुझ्न नसकेर पहिलो दिन नै मेरो दिमाग अन्यौल र बेचैनीको कुहिरोमा हराएको थियो। हुन त कहाँ कखरा पढाउने त्यो स्कुल, कहाँ डाक्टर उत्पादन गर्ने यो मेडिकल कलेज! तर पनि भेंडाबाख्रालाई झैं हुलेको देख्दा त्यही कखरा सिकाउने स्कुल नै मेरा निम्ति प्रिय भयो। त्यो सानो स्कुल सम्झेर नै गौरव लाग्यो जबकि यी भयानक भवनहरु देख्दा टिठ मात्रै।
अहिले सम्झेर ल्याउँदा लाग्छ, त्यत्रो हुलमुलमा पढाएको कुरा कसरी सुन्यौं र बुझ्यौं होला ? एक दिन बिराएर बिग्रिरहने माइकका त कुरै नगरौं। अनि केही गरी सुनिहालेछौं भने पनि नबुझेको कुरा कसरी सोध्यौं होला ? पछाडिका बेन्चमा बस्नेमाथि सरका आँखाहरु कसोगरी परे होलान् ? प्राक्टिकल कक्षाहरुमा त्यत्रो हुललाई कसले कसरी सिकायो होला? हुनपनि लावालस्करै लिएर प्राक्टिकल कक्षा छिर्थ्यौं हामी। साइडमा उभिएर रमिता हेर्थ्यौं वा प्राक्टिकल गर्थ्यौं, मैले भुलिसकें। भनिरहनु पर्दैन, नजानेको, नबुझेको कुरा त्यतिबेलै सोध्न सकिएन भने के हुन्छ। अनि एकचोटि पछि परियो भने झन् पछि पर्दै गइन्छ र कतै शुन्यमा हराइन्छ।
अहिले त्रिवीअन्तर्गतका कलेजहरुमा एमबिबिएस अन्तिम वर्षको प्राक्टिकल परीक्षा चल्दैछ। एउटा कलेजमा १९० जनासम्म विद्यार्थीहरु सम्मिलित छन्। त्यत्रा विद्यार्थीका लागि कहाँबाट बिरामी जुटाउने, सम्बन्धित विषयका सम्बन्धित सरहरुलाई अहिले चिन्ताले पिरोलेको छ। उसो त मान्छे खेर्ने आइडिया फुराउनु खासै गाह्रो काम होइन। फ्री ओपिडी र फ्री बेडचार्जजस्ता उपहार-योजनाहरु खोलिएका छन्। यतिले नपुगेर गाउँगाउँमा सर्वत्र प्रचारप्रसार गरिएको छ- सबै कुराहरु निशुल्क छ। निशुल्कभित्र कति शुल्क पर्छ भन्ने कुरो त हप्तौंपछि डिस्चार्ज हुनेबेला मात्रै त्यो विचरो बिरामीले बुझ्ला। यसरी ‘खडेबाबा’ भन्ने शब्दले बजार पिटेको यो बेला कतिपय मेडिकल कलेजहरुमा ‘खडेबिरामी’ हरुको पनि बिगबिगी नै छ। न त मेडिकल काउन्सिल यसबाट अनभिज्ञ छ, न त विश्वविद्यालय नै।
तर ‘काले काले मिलेर खाउँ भाले’ नै सबैको मार्गनिर्देशक सिद्धान्त भएपछि अनुगमन नामका नौटंकीहरुको कुनै अर्थ रहँदैन। यसमा प्राइभेट मेडिकल कलेजका मालिकलाई दोष लाउने ठाउँ पनि कमै छ। किनकि निजी क्षेत्रलाई बेलगाम खुला छोड्दिँदा निस्कने परिणति यस्तै हो। आफूले झ्यालढोका चाँहि खुलै छोड्दिने, अनि चोर पस्यो भनेर कराएर हुन्छ ? चोरको धर्मै चोर्नु हो, उसले चोर्यो त के बिरायो ? ढोका थुन्नुपर्दैन ? उसलाई त सिर्फ बढीभन्दा बढी नाफा कमाउनु छ; आफ्ना प्रोडक्टहरु राम्रा डाक्टर बनेर निस्कून्/ ननिस्कून् उसलाई यत्रैसित्ति।
त्यसैले मेडिकल कलेजका भवनमाथि भवन ठड्याउन लागिपरेका छन् उनीहरु। हरेकजसोले ‘एमडी/ एमएस’ कार्यक्रम चलाइरहेका छन्, तर पूरै हचुवाका भरमा। प्राध्यापकहरु कति छन्, उनीहरुलाई टिकाइराख्न दिनुपर्ने सेवासुविधाहरु केकति हुन्, विद्यार्थीका चासोहरू केके हुन्, रत्ति मतलब छैन। पूर्वजानकारी दिएर आउने ‘अनुगमन’ का बेला प्रोफेसरका नाममा खडेबाबा देखाउन पाए पुगिगो।
प्राक्टिकलको जाँच लिन काठमाण्डौंदेखि आउनुभएका एकजना सरले सुनाउनु भएथ्यो- “कति मेडिकल कलेजहरु यस्ता पनि छन् जहाँ पढाउनका लागि एउटा पनि ‘फ्याकल्टी’ छैन। जबजब प्राक्टिकलको जाँच लिन काठमाण्डौबाट उहाँहरु त्यहाँ पुग्नुहुन्छ, बर्डरपारिबाट खडेबाबाहरु पनि टुप्लुक्क आइपुग्छन् ! जसै उहाँहरु काठमाण्डौ फर्कनुहुन्छ, उनीहरुले चाँहि बर्डर क्रस गरिसकेका हुन्छन्।” केही साताअघि मात्रै ६ महिनासम्म अस्पताल बन्द तथा पढाइ अवरुद्द भएपछि जानकी मेडिकल कलेजका विद्यार्थीहरु विचल्लीमा परेको खबर छापाहरुमै आएको थियो। “पहिलो वर्षमा तीन महिना अध्ययन गर्न पाएका थियौं, दोश्रो वर्ष झन् दुई महिना। तेश्रो वर्ष त एक महिना पनि पढाइ भएन। तेश्रो वर्षमा अस्पताल पोस्टिंग हुनुपर्ने, त्यो पनि हुनसकेको छैन।” यस्तो भयावह अवस्थाको जानकारी गराएका थिए, जानकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले एउटा स्वास्थ्य खबरपत्रिकामार्फत। के यस्तो अवस्थामा तिनलाई परीक्षामा बसाएपछि पास हुनलाई चिट चोर्नेबाहेक अर्को कुनै बाटो छ ?
हाल चलिरहेका अधिकांश निजी मेडिकल कलेजहरुको यो दुर्गति आँखैसामुन्ने देखिरहेको विश्वविद्यालयलाई भने यिनमा कसरी सुधार ल्याउने भन्नेतिर अलिकति पनि चासो छैन। बरु यति दुर्गतिले नपुगेर थप दुर्गतिका निम्ति नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ऊ आतुर छ। तर श्रद्धेय गुरु डा. केसीले ‘म चुप लागेर बस्दिन’ भनेर भन्नुभएझैं हामी पनि चुप लागेर नबस्ने हो भने चाँहि थप दुर्गति निम्त्याउन चाहनेहरु अवश्यै पराजित हुनेछन् भनेर आश गर्न सकिन्छ।
लेखक भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा एमबिबिएस कार्यक्रमअन्तर्गत इन्टर्नसीप गर्दै हुनुहुन्छ ।