केही दिन अघिमात्रै शिब प्रकाशद्वारा लिखित सेतोपाटीमा छापिएको लेखका शब्द हुन् यी। आज म त्यस लेखमा दावा गरिएका केही टिप्पणीहरु र नेपाली सामाजिक परिवेशमा सेक्सको स्थानबारे महिलाकेन्द्रित केही विचार राख्न चाहन्छु।
उक्त लेखको सुरुवातमै लेखिएको छ "यौनको चरम् सुलभता र चरम् कठोरता दुवै दुःखका कारण हुन्। सेक्समा हार्दिकता हुनुपर्छ। हार्दिकताले मावन मनलाई खुसी बनाउँछ..." यी शब्द सुनेर मेरा मनमा केही प्रश्न उठे।
पहिलो, सेक्सको चरम् सुलभता कुन देशमा छ?
अर्को, सेक्सको चरम सुलाभताले कसरी दुःख निम्त्याउँछन्?
अनि, सबै नेपालीले राख्ने सेक्समा हार्दिकता हुन्छ?
र, के सेक्स सुलभ भएमा सेक्समा हार्दिकता हुन सक्दैन?
यी केही प्रश्नको उत्तर यो लेखमा खोज्ने कोसिस गरेकी छु।
शिव प्रकाशले यौन र नारीका विषयमा जमेका बहसलाई अंकित गर्दै लेखेका छन् “नारीलाई यौनसँग मात्र तुलना गरेर हेर्नुहुन्न...” र "… अहिले यो विषयभन्दा पनि पहाडतिरका फूलमाया र कान्छीमायाहरुलाई बेचिनबाट रोक्न सक्नुपर्छ।"
उनको पहिलो भनाईमा कुनै दुईमत छैन। तर, नारी यौन स्वतन्त्रताको विषयमा संवाद गर्नुलाई नारीलाई यौनसँग तुलना गरेको भन्नु सरासर गलत हुनजान्छ। यस्ता संवादले भन्ने नै हो भने सेक्स किन नारीमैत्री हुनुपर्छ? भन्ने बुझ्न र सेक्स बारेको परम्परागत सोचाईलाई परिवर्तन गर्न मद्दत गर्छ।
यौन व्यवसाय, महिला बेचबिखन, बलात्कार इत्यादी निश्चय नै हाम्रा समाजका तीता सत्य हुन्। अन्यायमा परेका महिलालाई सहयोग गर्नु सराहनीय काम पक्कै हो। तर, महिला यौन स्वतन्त्रताका मुद्दा र चेलीबेटी बेचबिखन रोक्नु।
बेग्लै विषय हुन् र यी आवश्यक छैनन् भन्नु भनेको नारीवादलाई सतही रुपमा मात्र बुझ्नु हो। उदाहरणका लागि हाम्रा घरमा चोरी भएमा हामी चोरको खोजी गर्छौं र न्यायको माग गर्छौं न कि, अर्काको घरमा त हत्या भयो रे त्यसैले मैले चुप बस्नु पर्छ भनेर अन्याय सहन्छौँ।
त्यसमाथि पनि सेक्स महिला मैत्री भएमा, महिला पुरुषले स्वतन्त्र र सहज रुपमा समाज परिवारको डरमा नपरी सेक्समा सहभागी हुन मिलेमा के पुरुषहरु यही मात्रामा सेक्स किन्न जान्थे होला जति अहिले जान्छन?
किन्नै गएमा पनि किनबेच दुई तर्फीकै रोजाईमा भएको छ भने यौन व्यवसायमा पारदर्शिता आउँछ। दुई तर्फकै हक अधिकार सुनिश्चित गर्न कानुनी रुपमा सरल बन्न जान्छ। यसरी हेर्दा त महिला यौन स्वतन्त्रताले समाजलाई र महिला उत्थानका कार्यलाई टेवा पुर्याउँछन् न कि बाधा।
महिला बेचबिखनका समस्या महत्वपूर्ण छँदाछँदै पनि सबै महिलाले अरु कुरामा आफ्ना विचार राख्दै नराखी यस बिषयमा मात्र काम गरुन् भन्ने अपेक्षा राख्नु भनेको कुनै चिकित्सकलाई देशको समस्या बढी छ भन्दै नेता हुन सल्लाह दिनुजस्तो हो।
सबैका जीवनका आ-आफ्ना लक्ष्य, आ-आफ्ना बाटा र आ-आफ्नै समस्या छन्। हामी एउटै मानिस त आज आफन्त मर्दा शोक गर्छौं भने भोलि मनमा सानो भन्दा सानो चोट लाग्दा रुन्छौँ। मानिसले अनुभव गर्ने एउटा अभिव्यक्तिलाई अर्कोभन्दा कम या अर्को जति महत्वपूर्ण छैन भन्नु भनेको जीवनको सास्वत सत्य नकार्नु हो।
त्यसो त महिलाको मतदान गर्न पाउने अधिकार नै हेरौं। मतदान गर्न नपाउँदा के हुन्छ? मतदान गर्न नपाउनुको सिधासिधा असर मात्र हेर्ने हो भने खासै ठूलो असर देखिँदैन। मतदान गर्न नपाउँदा पनि महिला बाँचेकै थिए। धेरै पटक खुसी भएर रमाए पनि होला। तर, पनि महिला मुक्तिको आन्दोलनसँगै महिलाले मतदान गर्न पाउने स्वतन्त्रता किन जोडिएको छ? के जिउनु मात्र जीवनको लक्ष्य हो? कि स्वत्रन्त्र रुपमा आफ्ना भावना र आफ्ना विचार राख्न पाउनु पनि जिउनुको सार हो? सेक्स जस्तो जन्मसिद्ध अधिकार आफूले चाहेजसरी अभ्यास गर्न पाउनु पनि सही अर्थमा जिउनु नै हो।
सेक्सको सुलभता र नारीको स्वतन्त्रताका बिषयमा कुरा गर्दा लगभग सधै नै पश्चिमा मुलुकको उदाहरण आउँछन्। तर, धेरैजसो यी उदाहरणहरु वादविवादका क्रममा मानिसले चतुरतापूर्वक आफ्नो फाईदाको लागि बंग्याएको पाएकी छु। पश्चिमा देशमा देखिने केही विकृतिहरुलाई महिला सशक्तिकरण र यौन स्वतन्त्रतासँग जोड्ने चलन केही नौलो हैन। प्रथमत यस्ता विकृतिहरु र यौन स्वतन्त्रताबीचको अन्तरसम्बन्ध होला तर एकको कारक अर्को भने पक्कै हैन।
सोचौं आज केही मानिस बिहे भोजमा गएर बाटामा फोहोर पानी पिए जसका कारण उनीहरु बिरामी परे। घर फर्केपछि उनीहरुले तय गरे बिहे भोजमा गयो भने बिरामी परिन्छ। पानी पिएका कारणले उनीहरु बिरामी परे कि बिहेको भोजमा गएको कारणले? पश्चिमा मुलुकका ड्रग्स, टीन प्रेगनेन्सी, धेरै मात्रामा असफल बिवाह इत्यादी समस्याका कारक सुलभ सेक्स र नारी यौन स्वत्रन्त्रता भन्ने कुनै ठोस प्रमाण छैन।
दोस्रो कुरा, पश्चिमा मुलुकमा यी समस्या बढी देखिएको भान भए तापनि यी समस्या हाम्रा देशका पनि उत्तिनै हुन् जति विकशित देशका। सफल बिहेको मापन डिभोर्स रेटले मात्रै गर्दैन।
नेपालमा कति महिला छन्, जो श्रीमानले आफूमाथि सौता हालेर दुव्यवहार गर्दा पनि सहेर बस्न बाध्य छन्?
समाजमा डिभोर्सप्रतिको अत्ति नै नराम्रो दृष्टिका कारण महिला आफूलाई ज्यानको खतरा भएपनि मट्टीतेल खन्याएर आगो लागाउन कोसिस गर्ने, मुम्बईमा लगेर बेचिदिने, दबाबमा यौन सम्बन्ध राख्न बाध्य पार्ने मानिस या परिवारसँग बस्न रुचाउँछन्।
के यीनै हुन् त सफल बिहेका संकेत? जुन देशमा आज पनि उमेर नै नपुगेका धेरैभन्दा धेरै महिलाको परिवारद्वारा बिहे गरिन्छ, त्यो देशमा टीन प्रेगनेन्सी समस्या हैन भन्नु पनि गलत नै हो। पूर्वीय र पश्चिमा देशमा केही फरक पक्कै छन्। तर, कुनै पनि मुद्दामा यी फरकलाई प्रयोग गर्नुअघि तुलना उही वर्गका मानिसको गर्नु जरुरी हुन्छ।
नेपालबाट पढे लेखेर अमेरिका युरोप गएका व्यक्तिले आफ्नो तुलना त्यहाका अनपढ या गरीव व्यक्तिको जिवनसँग गरेमा फरक पक्कै टड्कारो हुन्छ। त्यसैले यस्ता केही फरकको आडमा समाजका मूल्य मान्यता कस्तो हुनुपर्छ भन्ने बहस तर्कपूर्ण हुँदैन।
यो पनि पढ्नुहोस्
नेपालको तुलनामा पश्चिमा मुलुकमा महिला बढी स्वतन्त्र भएता पनि पश्चिमा मुलुक यौनको मामलामा महिलाभेदी छैनन् भन्न या ती मुलुकमा सेक्स अति सुलभ छन् भन्न म हिचकिचाउँछु।
कानुनी रुपमा नेपालभन्दा बढी स्वतन्त्र भए पनि अमेरिकी महिला आज पनि सामाजिक रुपमा पुरुषले सरह स्वतन्त्र छैनन्। त्यसैले त बलात्कृत या अन्य यौन जन्य अपराधका शिकार भएका अमेरिकी महिला आज पनि बलात्कारी भन्दा सामाजिक रुपमा अपमानित भएका समाचार वर्षेनी आउने गर्छन्।
लिखित रुपमा कानुन केही हदसम्म महिलामैत्री भए पनि समाजका यस्ता बिडम्बनाले कानुन कार्यान्वयनमा समेत असर गरेको देखिन आउँछ। महिला यौन स्वास्थ्यको बिषय पनि अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच सहमति नहुने प्रमुख मुद्दा मध्येको एक हो।
केही बर्षअघि मात्रै पनि एक महिलाले महिलाको यौन स्वास्थ्यबारे बिचार राख्दा रेडियो होस्टद्वारा बिचार राखेकै भरमा "वेश्या"जस्तो अर्थ आउने शब्द प्रयोग गरी अपमानित गर्ने कोसिस गरिएको पनि पश्चिमा मुलुककै कथा हो।
भन्नुको तात्पर्य पश्चिमा मुलुकमा भएका समस्या न त यौन स्वतन्त्रताका कारणले उब्जेका नै हुन् न त महिलालाई कुण्ठित बनाएर राख्दा नै समाधान हुनेछन्। त्यसो त महिलाले बुर्का लगाउनुपर्ने देशमा महिलाबिरुद्ध यौनजन्य अपराध हुन नपर्ने। सोच्ने हो भने सेक्सबारेको संकुचित बिचारले समस्याको हल गर्नुको साटो समस्या समाधान गर्न झनै अवरोध ल्याउँछ।
समस्याको समाधान नै गर्नुछ भने यौन शिक्षा, छलफल र स्वतन्त्रता हुन झनै जरुरी छ। शिव प्रकाशको एउटा कुरामा भने म सहमति राख्छु, यौन स्वतन्त्रताका बारेमा सही निश्कर्ष निकाल्नका लागि मानिसमा र समाजमा परिपक्वताको आवश्यकता अवश्य छ। जुन नेपाली समाजमा सर्वव्यापी रुपमा आजको दिनमा छैन। तर, समाजलाई परिपक्वतातिर धकेल्ने यस्तै वादविवाद र संवाद नै हुन्।
अर्कोतिर महिलासम्बधि कुनै पनि बिषयमा छलफल गर्दा नारीवादले पुरुषप्रति कुण्ठा बोकेको आरोप लाग्छ। नारीवादले कुण्ठा नै बोकेको छ भने, पितृसतात्मक सोचमाथि बोकेको छ। पितृसतात्मक सोच केवल पुरुषले मात्र बोक्दैनन्। धेरै महिलाले पनि पक्कै बोकेका हुन्छन्।
नेपाली हजुर आमाहरु जसले नातिनीको जन्ममा दुखेसो मनाए, सासुहरु जसले बुहारी जलाए या त छिमेकी महिलाहरु जसले पुरुष र महिला उत्तिकै संलग्न क्रियाकलापमा पनि खाली गाउँका केटीको अश्लिलता मात्र देखे सबै नै पक्कै नारी शोषणका भागेदारी हुन्। त्यसैले महिलाले यौन स्वतन्त्रताका बारेमा गरेका कुरालाई पुरुष समुदायमाथिको हमलाकै जस्तो रुप दिनु ठीक होईन। सम्भोग समभोग हो भने, नारीले भोग गर्दा पुरुषको भोगाईमा पक्कै पनि कमी आउने छैन। यो बिषयलाई पुरुषले निस्पक्ष रुपमा सोच्नु जरुरी हुन्छ।
यो पनि हेर्नुहोस्

समग्रमा भन्नुपर्दा जसरी भोट दिने व्यक्तिले कहिले सही व्यक्ति चुन्छ, कहिले गलत, स्वतन्त्र हुनुको मतलब सबैले सँधै सही निर्णय लिनुपर्छ भन्ने पक्कै होईन। हामी घरबाट निस्केर बाहिर जाने बित्तिकै केहि गलत निर्णयका कारण चोटपटक लाग्न सक्ने सम्भावना बढ्न सक्छ। तथापि हामी घरबाट बाहिर जान नपाउँ, कारागारमा बस्न परोस् भनेर माग गर्दैनौँ किनभने गलत निर्णयको सम्भावना बावजुत स्वतन्त्रता आफैमा अमूल्य हुन्छ। महिला यौन स्वतन्त्रताको मतलब यो हैन कि स्वतन्त्र महिला सबैले जथाभावी यौन सम्बन्ध राख्दै हिड्छन्।
तर, यदि उमेर पुगेका केही महिलाले आफू खुसी जीवन बिताउन चाहेमा अरुले तय गरेको मूल्य र मर्यादाअनुरुप चल्नुपर्ने बाध्यता सही होईन। त्यसमाथि पनि यी मूल्य र मान्यता मानिसका दुई खुट्टा बीचका अंगका आधारमा तय गरिन्छ भने त पक्कै पनि यी मान्यतामाथि प्रश्न उठाईनुपर्छ। गलत परिणामको त्रास र दु:खमा परेका महिलालाई सहयोग नगरेकोमा ग्लानी गराउन खोजेर स्वतन्त्रताजस्तो गहन मुद्दालाई सुक्ष्म सावित गर्न खोज्नु के सही हो? सबैले सोच्नुपर्ने कुरा हो ।
लेखिका खतिवडा अमेरिकामा पिएचडी गर्दैछन्