'आइन्दा गाँजा खान्छस् कि खाँदैनस्?' एउटा धोद्रे स्वरले बन्दुक सोझ्याउँदै सोध्यो। दुवै हात जोडेर लम्पसार पर्दै त्यो अपराधी घोषित लुते मान्छेले भन्यो, 'खाँदिन हजुर, खाँदिन।' अर्को अग्लो र पातलो छाँया बोल्यो, 'फेरि रक्सी खाएर बुढीलाई र छोराछोरीलाई कुटेको, बेगारी भएर गाउँगाउँ हल्लिएर हिँडेको हामीलाई थाहा भयो भने तँलाई के गर्नु?'
काँपेका हात पूर्ववत जोडेरै लुते अपराधीले रुँदै भन्यो, 'मलाई भाटाभाटाले हान्नु हजुर।' सर्लक्क मिलेको लामो कपाल बोकेको होचो कदको तर छिप्पिएको अर्को छाँया कड्कियो, “तँलाई भाटा हान्ने मात्रै होइन, यसको छवटै गोली तेरो छातीमा उतार्छु।' कालो पिस्तोल मधुरो जूनको प्रकाशमा चम्क्यो। जीर्ण घरको संघारमै मजेत्रोले आँखा पुछ्दै अब्यबस्थित बसेकी अपराधीकी अर्धांगिनी पिस्तोल चम्किँदा करेन्ट लागेजस्तो गरेर जुरुक्क उठिन् र डाँको छोडेर रुन लागिन्। 'अब जाउँ यसलाई पुगेजस्तो छ,' उही पुरानो धोद्रे स्वर फेरि सुनियो। 'अहिल्यै कहाँ जाने कमरेड? यतिले यसले चेत्दैन। यसलाई केही न केही कारबाही त गर्नेपर्छ,' एउटा कलिलो लाग्ने तर पूरापूर आक्रोशले भरिएको स्वरले निर्ममतापूर्वक बोल्यो। 'उसो भए बीसपटक उठबस गर,' अग्लो र पातलो छाँयाले सजाय सुनायो। तमासाको बाँदरजस्तो त्यो लुते अपराधी फटाफट उठबस गर्न थाल्यो। एकपटक बस्दा र उठ्दा पाँचपटक स्वाँस्वाँ गर्ने त्यो निरीह बीस भन्दै थचक्कै बसेको मात्रै के थियो, अघिदेखि पछाडि उभिएको छाँया अघि सरेर अझै दशपल्ट गर्न आदेश दियो। स्विच थिच्नासाथ घुम्न थाल्ने पंखाजस्तै लुते अपराधीले अर्को दश गन्यो र भुइँमा पछारियो। 'अब फेरि हामी आउनु नपरोस्' भन्ने धोद्रे स्वरको बोलीसँगै त्यो टोली आँगन छोडेर ठूलो आलीमा चलायमान भयो। सबका सब मुख छोपेका जिउडाल र हाउभाउले किशोरावस्थाका जस्ता देखिने १०/ १२ जनाको त्यो जत्था मूलबाटोमा निस्कियो। यहाँ आइपुगेर मिसन सकिएको घोषणा भयो अनि टोली डिसमिस।
माथि उल्लेखित घटना र पात्रहरु कुनै आख्यानका होइनन् मेरै आफ्नै भोगाइ हो। त्यो धोद्रे स्वर मेरै हो अनि ती कलिलो स्वर र पछाडि उभिएको छाँया तिनै अपराधी भनिएका हाम्रो गाउँका विपन्न तर कुलतमा लागेका दाजुका छोराहरु हुन्। अरु सबै मेरा साथीहरु। बन्दुक र पिस्तोल नक्कली। बाबुको रक्सी र गाँजा खाने अनि आमालाई र आफूलाई पिट्ने बानीदेखि आजित भएर तिनै साना किशोर भाइहरुको योजना थियो यो। अन्य केही उपाय नबचेर एकरातका लागि हामी माओवादी बनेका थियौँ तर कसैको नोक्सानीको लागि होइन हाम्रै फाइदाको लागि। यो घटनापछि केही दिनसम्म तिनका बाबु भलाद्मी भए रे।
५७/५८ सालमा कथित जनयुध्दले राम्रो क्रेज पाएको थियो। त्यसै त किशोर मन त्यहीमाथि माओवादीका नाराहरु आकर्षक थिए। सदियौंदेखि चलिआएको सामन्ती राजतन्त्र अन्त्यको मुद्दा मेरो लागि भोकालाई खीर भनेजस्तै थियो। साथीभाइबाट प्राप्त पर्चाहरु, बामपन्थी र माओका किताबहरु, गुण्डागर्दी अन्त्यका लागि चालिएका कठोर कदमहरु, भूमिहीन गरिब किसानहरुका पक्षमा गरिएका वकालतहरु, जुवातास र रक्सिबाजीहरुलाई तह लगाउने उपाय मेरा लागि प्रिय भए। औपचारिक रुपमा माओबादलाई आत्मसात नगरे पनि मभित्र माओबाद र कथित जनयुद्धप्रति अगाध श्रद्धा र झुकाव जागेको थियो। लुकिछिपी माओबादीका हरेक क्रियाकलापमा आबदद्धता जनाउनु मेरो दिनचर्या थियो। स्कुल नै हापेर हामी विभिन्न कार्यक्रममा जान थालिसकेको थियौँ। एकपटक मोरङको तेतरियामा एकजना माओवादी कार्यकर्ताको शोकसभामा जानलाई हामीले सौंठा उच्च माविका सबै बिध्यार्थीलाई अनुरोध गर्यौं, सबैले जान नमाने पनि कक्षाहरु बन्द गरेर हामी लाग्यौँ तर इटहरादेखि अलिक अगाडि पुगेपछि हामी चढेको फूलबारी ट्राभल्सको पछाडिपट्टिको एउटा चक्का खुस्किएर धानबारीमा पस्यो, धन्य हामीलाई केही भएन। त्यतिबेला गाउँ स्तरका नेता र कार्यकर्ताहरु सबै साथीहरु नै थिए। म नेबि संघमा थिएँ। तर मेरो लगाव र झुकाव थियो क्रान्तिकारीप्रति।
हेर्दाहेर्दै माओबादीहरु दिन दुई गुणा र रात चारगुणा बढ्न थाले। गाउँ इकाइ, एरिया इकाइ भन्दै हली गोठालाहरुलाई अघि सारियो। आफ्ना साहु र अन्नदाता बिरुध्द भड्काइयो, यतिसम्म कि हतियारको भरमा जे पनि गर्न थाले उनीहरु। उनीहरुसँग असहमति राख्ने सबैलाई अनेक आरोप लगाएर कठोर सजाय दिने काम भयो। यतिसम्म कि आलीको घाँस काट्न नदिएको निहुँ र गाई फुकेर मकै खाइदिएको झगडा पनि जनयुद्धको मुद्दा भयो। गाउँको प्लस टुको पढाइ सकिएपछि मैले दाजुसँग बनेपामा बस्ने मौका पाएँ। दाजु कामको सिलसिलामा बनेपामा थियो, बनेपा मतलब काभ्रे र काभ्रे मतलब माओबादीको गढ। त्यहाँ बसेर माओबादीलाई चिन्न झन् मद्दत मिल्यो। एसओएस बालग्राम नजिकै आइटी पार्क बन्दैथियो। त्यो बेलामा एसियाकै सबैभन्दा ठूलो आइटी पार्क भनेर प्रचार गरिएको त्यो निर्माणस्थल नजिकै मेरो बास थियो।
एकदिन माओबादीको प्रेसर कुकर बमले बन्दै गरेको बिल्डिङको भित्ताहरु चर्कायो। अरु के के भयो कुन्नि त्यही घटनाले मेरो मनको अन्तरकुन्तरमा बसेको माओवादी प्रतिको लगाव पनि चकनाचुर भयो। हिजोसम्म ठीक लागेका माओबादीका कार्यहरु आज मलाई बिध्वंसभन्दा बढ्ता केही लागेन। त्यसपछि पो मैले देखें पुरानो सत्ताको निसानी भन्दै आतंककारीले पुल, सरकारी भवन, प्रहरी चौकीहरु कति निर्ममतापूर्वक भत्काइरहेका थिए। हो, मैले त्यहीँदेखि माओबादीलाई आतंककारी देख्न थालें। मेरो बुबाहरुले बहुदल आएपछि किसानहरुको हितमा भनेर गाउँमा साना किसान खोल्नु भएको थियो। एकरात माओबादीको एउटा जत्थाले सबै कागजपत्रहरु लुटेर लग्यो र त्यहाँ भएका भौतिक संरचनाहरु जलाइदियो। गरिब किसानहरुले आफ्नो हितको लागि स्थापना गरेको साना किसानमा सरकारको केही थिएन। बुबाले ४० हजार ऋण लिनुभएको थियो। अलिपछि फेरि खोल्ने भनेर गाउँका टाठाबाठा लागिपरे, पुरानो ऋण आफैँले सम्झेर बुझाउने अनि संचालन गर्ने भनेर ऋण चुक्ता गर्न लगाइयो र फेरि जलाइयो। बुझ्नेलाई धेरै टाउको दुखाउने जरुरत थिएन, राज्य र सत्ताको नारा दिएर गरिबलाई ठग्नेमा माओबादी अग्रस्थानमै आउँछ।
देशको लागि भन्दै युवालाई जबर्जस्ती होमियो, स्कुलबाट बिध्यार्थीहरु अपहरित भए। बुर्जुवा शिक्षा पढेर काम छैन पछि जनबादी सरकारले डिग्री दिन्छ भन्दै पढ्न दिएनन्। तँ फलानो एरियाको कमान्डर, तँ फलानो इकाइको इन्चार्ज भन्दै दसैँमा आशिर्बाद दिएजसरी जिम्मेवारी दिएर रातारात गाउँका कति हलीगोठालालाई, कमैयालाई, मोहीलाई अघि ल्याइयो। लुट्न लगाइयो आफ्नै अन्नदाताहरुको धन सम्पति। आज पैसा र पहुँच हुने अनि तिनै बुर्जुवा शिक्षाको डिग्री भएकाकै हालिमुहाली छ। मुन्द्रा लगाउने केटाको कान काटिदिने माओबादी र गुण्डाको जत्था पाल्ने माओबादीमा कति फरक छ? पेन्ट लगाउने केटीको पेन्ट तलदेखि पेटीघरसम्म काटिदिएको आफ्नै आँखाले देखेको हुँ मैले सुनबर्सी मेलामा। अहिले माओबादीले आफ्ना सभासदहरुलाई पोशाक नै कोटपेन्ट दिएको देख्दा के सोच्दा हुन् ती चेलीले? तास खेल्नेहरुलाई त्यही तासलाई टुक्रा पारेर कोच्याइयो आज तिनीहरु नै क्यासिनोमा पहरा दिन्छन्। जनसरकारका कुनै पनि जनताले धर्म र संस्कृति मान्न पाउँदैन भनेर कोरामा किरिया बार्न बसेका किरियापुत्रीलाई कुटपिट गरेको हिजै जस्तो लाग्छ। आज त्यही जत्थाको नाइके अधिवेशन छाडेर मानसरोवर दर्शन गर्न जान्छ। दिनभरिको हिँडाइ र रातभरिको युध्दले थाकेका लडाकुलाई गाई काटेर खान बाध्य पार्नेहरु आज पवित्र हुन गहुँत खान्छन्।
नन्दप्रसाद अधिकारीले आफ्नो मृत छोराको हत्यारालाई कारबाहीको माग गर्दागर्दै देह त्याग्न बाध्य भए। अहिले आएर यसलाई अधिकारकर्मीहरु र सरकार जिम्मेवार रहेको भन्ने बहस चलाइए पनि यसको मुख्य आरोपी पूर्वआतंककारी नै हुन्। एउटा जिम्मेवार र राष्ट्रिय राजनीतिमा आइसकेको पार्टीले हत्यारालाई कारवाहीमा मद्दत गर्न नसके पनि ती बुढाबुढीसँग हात जोडेर माफी माग्न सक्नुपर्थ्यो। राम्रो काम गर्दा भएको गल्ती भनेरै भए पनि सम्झाउन सकिन्थ्यो कि! सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनमा भएको ढिलाइमा के सरकार मात्रै दोषी छ र?