२०६० सालको वैशाख महिना। पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ। रामकृष्ण ढकालको 'नजिक आउनुमा' भन्ने गीतको म्युजिक भिडियोको सुटिङ्ग हुदै थियो। म उनको फ्यान।
त्यसबेला एस.एल.सी दिएर काठमाडौँ मामाघर आएको थिए छुट्टिमा। अनेक सोर्स लाएर रामकृष्णलाई भेट्न म भिलेज रिसोर्ट पुगेको थिए- मामा माईजुसँग। हामी पुग्दा पुग्दै अलि छिटो भएछ। त्यसकारण रामकृष्णलाई कुर्नुपर्ने भयो।हामी त्यहि रिसोर्टको एउटा रेस्टुरेन्टमा बस्यौं।
एक्कासी रेस्टुरेन्टमा सेनाको हुल आयो। युवराजधिराज आउँदै हुनुहुन्छ भनेर सबै मान्छेलाई एक साईड लाग्न अनुरोध गरियो। सबै मानिस उठेर बाहिर निस्के। हामी पनि बाहिर निस्किन खोज्यौँ।
त्यो बेला मेरो व्हिलचियर थिएन। मलाई मेरो मामाले ढाडमा बोक्नु हुन्थ्यो। ठ्याक्कै मलाई बोकेर बाहिर निस्कन लाग्दा- तत्कालिन युवराज पारस रेस्टुरेन्ट भित्र छिर्नुभयो। मलाई बोकेको देखेर अफ्ठ्यरो लागेरहोला- बस बस भन्नुभयो।हामी फेरी आफ्नो कुर्सीमा बस्यौँ। उहाँले त्यसपछि- मे आई जोईन यु? भनेर हामी सँग नै बस्नुभयो। मलाई- के भाको भनेर सोध्नुभयो? म भर्खर गाउँबाट आएको मान्छे, राजाहरूसँग कसरी बोल्नुपर्छ थाहा थिएन। हजुर भन्न आएन, तपाई भनेँ। उहाँले मेरो बारे मामासँग धेरै कुरा बुझ्नुभयो। मलाई हेरेर भन्नुभयो- अब काठमाडौँ मै पढ। म मद्दत गर्छु।
उहाँको कुराले म झस्के। एकजना हिड्न त नसक्ने मान्छे काठमाडौँ मा कसरी पढ्न सक्छु। घर भन्दा बाहिर बस्न सक्छु भनेर मैले त्यस अघि सोचेको पनि थिईन।
अनि उहाँले मेरो मामाको नम्बर आफ्नो गार्डलाई टिपाउनुभयो र आफ्नो मोबाईल नम्बर पनि मामालाई दिनुभयो। छुट्टिने बेला भन्नुभयो- रिजल्ट भएसी मलाई फोन गर्नु। अनि उहाँले म तिर हेरेर भन्नुभयो- तरनम्बर अरुलाई नबाँड्नु नि। त्यसपछि म घर फर्किए । सागरले पारसलाई भेटेको भनेर चार गाउँ हल्ला चल्यो। म लोकल सेलेब्रिटि भएँ। दिनहु पारस सरकार कस्तो हुनुहँदो रहेछ, उहाँले के भन्नुभयो आदी भनेर मलाई सोध्न आउने धेरै मान्छेहुन्थे।त्यो बेला पारस सरकारसँग खिचेको भिडयो त झन्डैझन्डै गाउँका सबै घरमा चले।
एएलसी रिजल्ट भयो। युवराजधिराजको मोबाईल नम्बर डायरीमा टिपेको थियो तर फोन गर्ने आँट आएन। गाउँतिरकै कलेज पढ्ने कुरा भयो। यत्तिकैमा काठमाडौँबाट मामाको फोन आयो। युवराजका सचिवले आफै मामालाई फोन गरेर मेरो बारेमा सोधे रे । युवराजधिराजले मलाई काठमाडौँ डाक्नुभयो रे। म हतार गरेर काठमाडौँ आईपुगे।
मेरो त्यतिञ्जेल व्हिलचियर थिएन। व्हिलचियर पाउन मुश्किल थियो क्यार। धेर मान्छेले चढ्दैनथे। हामी युवराजधिराजको सचिवलाई भेट्न जाँदा, मामाले मलाई बोकेको देखेपछि भोलिपल्टै एउटा व्हिलचियरपाएँ।
जिवनको पहिलो व्हिलचियर।
मेरो लागी सजिलो हुने एसओएस कलेज खोजेर त्यहाँ निशुल्क पढ्ने व्वयस्था मिलाईदिनुभयो। किताब, कापी र ड्रेस किन्न भनेर महाराजधिराज सरकारको कोषबाट १५ हजार रुपैया पाए।
अरूको ढाडमा बोकिएर हिडने मान्छे-काठमाडौँमा व्हिलचियरमा चढेर नामी कलेजमा निशुल्क पढ्ने भए। सबै कुरा व्यवस्था भएपछि, फेरी एकपल्ट पारस सरकार सँग भेट भयो। भन्नुभयो- सबै कुरा मिल्यो हैन।अब राम्रो पढ्नु, केहि पर्दा खबर गर्नु।
त्यसपछि म भक्तपुर नै बसेर पढ्न थाले। पारस सरकारसँग कहिल्यै भेट भएन। बिस्तारै राजनैतिक उथलपुथल भयो। जनआन्दोलन भयो। देशमा गणतन्त्र आयो। यस बीचमा पारस सरकार सिर्फ पारस साहहुनुभयो उहाँले आफ्नो जिन्दगीको मोड बदल्नुभयो- बेपरवाह हुनुभयो। पुलिसको फन्दामा पर्नुभयो, जेल जानुभयो। फेरी उहाँको तस्बिर पत्रिकामा छापिएको रहेछ- पुन प्रकाउ भनेर। अनुहार कालो भएको रहेछ,दुब्लाएर ख्याउटे हुनुभएछ।मलाई त्यो पुरानो भेट र छापाको तस्बिरको झल्को आइरहेछ ।
यो पनि हेर्नुहोस्
यो लेख मैले पारस असल हुनुहुन्छ भनेर देखाउन मैले लेखेको हैन। म राजावादि हैन। गणतन्त्रवादि पनि हैन। म असलतावादि हु। पारस साहले आफ्नो जिवनमा धेरै नराम्रा काम गर्नु भयो होला। तर कमसेकम उहाँले मेरो जिन्दगीचाही परिवर्तन गर्दिनुभयो।
उहाँसँग त्यसरी अकस्मात नभेटेको भए, म पढ्न यहाँ आउने थिईन- मेरो जिन्दगी अर्कै हुने थियो। त्यसकारण मेरो उहाँसँग केहि न केही स्नेह पक्कै छ। उहाँलाई यसरी देख्दा मलाई दुख लाग्छ। असल मान्छे बन्नुहोस् शुभकामना छ।