सबैतिर 'उमा'को चर्चा छ। कुनै पत्रिका छैन् जसले 'उमा'को प्रशंसा नगरेको होस्। 'उमा'को हरेक कोणको चर्चा भईरहेको छ। मैले चिनेको जसलाई सोधेको छु, 'एण्डिङ अलि फिल्मी भयो। नत्र सबै गज्जब छ' भनेका छन्।
त्यति हुँदा पनि हलको सो थपिएको छैन। बरू घट्दै छ। भएको एउटा सो पनि बिहान छ । किन भन्ने खुलदुली भइरहेको थियो। छिरिङ दाइ (निर्देशक छिरिङ रितार शेर्पा) लाई फेसबुकमा म्यासेज गरें। कुरा भयो। लेख्नु भो- 'सरकारले समयमै कुनै कदम चालेन भने चलचित्र उद्योग नै मर्न सक्छ ।'
'उमा'को प्रारम्भिक काममा म पनि सामेल थिएँ। नेपालमै भएको भए फेरि पनि दाइलाई छायाङ्कनमा सघाउँथे। दाइ निक्कै उत्साही हुनुहुन्थ्यो 'उमा'लाई लिएर। अहिले दाइसँग फेसबुकमा कुरा गर्दा साह्रै निराश पाएँ। दाइको कुराले साह्रै गम्भीर बनायो।
छिरिङ दाइको यो तेस्रो चलचित्र हो। यसको पैसा उठेन भने फेरि कति वर्ष उहाँ सिनेमाबाट टाढा बस्ने होला भन्ने डर लागेको छ। मलाई मात्र होइन्, धेरैलाई थाहा छ, नेपाली सिनेमाले उहाँलाई गुमाउनु अर्थ के हो !
दाइले सरकारको आस गरिरहँदा सरकारको एक मात्र सिनेमासँग सम्बन्धित निकाय चलचित्र विकास बोर्ड धरानमा २५ लाख रूपैयाँको 'रक्सी खाई मातेर लडिरहेको' समाचार आइरहेको थियो !
सरकारले केही गर्ला भन्ने कुरामा अहिलेकै अवस्थामा मलाई विश्वास छैन्। हुन त 'कस्ले गर्छ' भन्दा पनि महत्वपुर्ण 'के गर्छ' भन्ने हो या 'के गर्न पर्ने हो' भन्ने हो। जसको उत्तर कसैलाई थाहा छैन्।
'फिल्म राम्रो बनाउ न चलिहाल्छ नि' भन्ने जस्तो गरी 'सतही' समस्या छैन भन्ने पनि सबैलाई ज्ञात भइनसकेको स्थिति छ। हामी सबैलाई लाग्छ, समस्या के हो मैले बुझेको छु- 'त्यसले गर्नै जानेन ।' कुरा त्यति सजिलो छैन। 'राम्रो' भएर फिल्मले व्यापार गर्ने होईन । संसारमा धेरै कमाएका चलचित्रको उदाहरण हेर्नुस्। राम्रोकै पनि आआफ्नो परिभाषा छ। मेरो लागि राम्रो भएको कुरा, तपाईंको लागि राम्रो नहुन सक्छ, त्यसैले त्यो बहस नै गलत हो।
काठमाडौंमा 'फास्ट एण्ड फ्युरियस'को वाहवाही भइरहेको बेला अष्ट्रेलियाका अमरराजले मेरो फेसबुक पोष्टमा लेख्नुभयो, 'उमा हेर्न म फास्ट एण्ड फ्युरियसको भन्दा दोब्बर पैसा तिर्न तयार छु।'
क्युएफएक्समा 'फास्ट एण्ड फ्युरियस' र 'उमा' एकै दिन प्रदर्शनमा आयो। 'फास्ट एण्ड फ्युरियस' हाम्रो भाषामा छैन्। न त हाम्रो वरिपरिको कथामा बनेको छ। साँच्चै भन्ने हो भने त्यसको र हाम्रो कुनै पनि 'नाता' छैन। काठमाडौंमा केएफसी खुल्दा कयौं दिनसम्म दरबारमार्गमा धनाड्यहरूको ठूलो लाइन लागेजस्तै हो 'फास्ट एण्ड फ्युरिस' प्रतिको हाम्रो मोह ।
उमासँग हाम्रो 'रगतको नाता' छ। तर 'फास्ट एण्ड फ्युरियस'ले क्युएफएक्समा १८ हो कि २१ वटा सो पायो, उमाले २ वटा । अमेरिकाको हलमा भए त्यो स्वाभाविक मान्नुपर्ने हो। तर, आफ्नै देशमा 'फास्ट एण्ड फ्युरिस' पहिलो रोजाइ किन पर्यो त ?
फेसबुकको मेरो पोस्टमा केही प्रतिक्रिया आए-
सबैको कुरा थियो- साउण्ड इफेक्ट, भिजुअल क्वालिटी, स्टन्ट आदि आदि। गणेश खत्रीले लेख्नु भो, 'कथा हेर्ने भए त म युट्युबमा बसेर हेर्छु। त्यस्तो महँगो हलमा चल्ने सिनेमाको साउण्ड क्वालिटी पनि त्यस्तै हुनु पर्यो ।' मधु नेपाललाई 'फास्ट एण्ड फ्युरियस'को 'हाई फाई' ले तान्यो। गणेजीले हलको कर्मचारीलाई उमाको साउण्ड फास्ट एण्ड फ्युरियसजस्तो नभएकोमा कम्प्लेन नै गर्नुभएछ।
अब मधुजी र गणेशजीलाई 'उमा' र 'फास्ट एण्ड फ्युरियस' बीचको 'जनरे'को भिन्नता कसरी बुझाउने ? उमाको क्वालिटी राम्रो नभएर होइन कि त्यसको जनरे नै फरक भएकाले फास्ट एण्ड फ्युरियसमा जस्तो भिजुअल, स्टण्ट र साउण्ड इफेक्ट उमामा नभएको हो भन्ने उहाँहरूलाई कसरी विश्वास दिलाउने ?
यो त्यति सजिलो काम होइन ।
अष्ट्रेलियामा बस्ने मेरो मित्र अष्टनारायण सापकोटा सिनेमा निर्माणमा आकर्षित हुनुहुन्थ्यो नेपाल हुँदा। उहाँले मेरो फेसबुक पोष्टमा उमाभन्दा फास्ट एण्ड फ्युरियस छान्नु पर्नाको कारण लेख्नु भयो, 'ल्याक अफ अपडेटेड टेक्नोलोजी, रिसर्च एण्ड युज अफ अननेचुरल, ट्रिटमेन्ट अन स्टोरी । वन मोर रिजन इज ल्याक अफ डेडिकेसन टुवार्ड्स द आर्ट एज अ प्रोफेसन।' अर्थात छिरिङ रितार शेर्पा आफ्नो पेशाप्रति गम्भीर छैनन्। उनले प्रविधि पनि पुरानो प्रयोग गरे। अनुसन्धान पनि गरेनन् ।
तपाईंहरूलाई भनि हालौं, अष्टनारायणजी अहिले पनि अष्ट्रेलियामा बस्नुहुन्छ। उहाँले उमा हेर्नु भएको छैन। तर उमाबारे विचार बनाईसक्नु भएको छ ।
अर्का मित्र लेख्नुहुन्छ-
मधु नेपाल- एक्चुअली उमा हेर्ने मौका परेको छैन, मेरो टाइम नभएर। नेपालको स्क्रिप्ट राइटर, स्टोरी टेलर, डायलग मेकरले अलि राम्रो सायकोलोजी, इकोनोमिक्स, सोसियोलोजी, पोलिटिक्स, जेनेरल साइन्स पढ्नु आवश्यक छ।
डी थापा- मनैदेखि नेपाली चलचित्र राम्रो होला भन्ने नै लाग्दैन, त्यही भएर।
अनिल मानन्धर- सित्तैमा पायो भने पनि हेर्दिन नेपाली चलचित्र।
हेर्नुस् त हामी पूर्वाग्रहले भरिएको । यसको दोष प्रतिक्रिया दिने दर्शकलाई दिएर मात्र हुँदैन । अपजस हामी लामो समयदेखि चलचित्र पत्रकारिता गर्नेहरू, म पनि र समाजको 'वुद्धिजिवी, 'डाक्टर' र 'पण्डित'हरूले लिन जरूरी छ । हामीले नेपाली सिनेमाबारे यति धेरै नकारात्मक कुरा गर्यौं कि त्यसप्रति सबैको विश्वास नै उठ्यो।
छातीमा हात राखेर भनौं, हामी कसैसँग पनि सिनेमाको पूर्ण ज्ञान छैन। कसैलाई एउटा बिषयमा बढी ज्ञान होला, कसैलाई अर्को। तर अधुरो छ। कुनै आधारबिना हामीले गर्दै सिक्दै आएको हो।
तर जो आफू सिनेमाबारे अलि बढी जानकारी राख्छौं, भन्ठान्छौ, हामी आफूलाई लाग्छ- म नै स्पिलबर्ग हुँ। म स्कोर्सी हुँ। म किरोस्तामी हुँ।अनि सोच्छौं, 'यो इण्डस्ट्री बचाउने जिम्मा मेरै मात्र हो। त्यो दुई पैसाको निर्देशकसँग त कहाँ त्यति वुद्धि हुन्छ। म पो हो त अन्तर्राष्ट्रियरूपमा ख्याति कमाएको। भर्खर स्कुलबाट आएको। पढे लेखेको।' कसैको सकारात्मक प्रयासमाथि भएभरको बल लगाएर रोक्न खोज्छौं। हाम्रा पत्रिकाका सम्पादक पनि उस्तै छन्। उनले छापिनुअघि सिनेमाका कुरा पढे भने त जात गइहाल्छ उनको। त्यस भएकोले जे पनि छापिन्छ पत्रिकामा। अनलाइनको त कुरै गर्नु परेन। हामी स्वभावले नै साह्रै निरंकुश छौं। एकपटक सोच्दैनौं कि म गलत हुन पनि त सक्छु । बन्दुक चलाउनेको ज्यादतिको कुरा जहिले पनि हुन्छ। कलम या कि बोर्ड चलाउने हामीले आफ्नोबारे पनि नसोच्ने!
अर्का थरीका हामी छौं। जो पैसा नखाई गाली पनि गर्दैनौं। धेरैलाई लाग्दो हो रजतपटहरूले 'स्वच्छ' पत्रकारिता गर्छ । तर उसले कम्तिमा एकपटकमा एउटा सिनेमाबाट ६ हजार रूपैंया नलिई मुख पनि खोल्दैन भन्ने कमैलाई थाहा होला । जसले धेरै पैसा दियो, उसको बढी गुनगान हुने नै भयो।
लामो समयदेखि यसो गरिरहँदा विश्वास गुमाइसक्यौं।
स्टोरीटेलर दिपेन- 'सबैतिरबाट उमाको राम्रै रिभ्यु आउँदा पनि मलाई अझै मिडियाको पत्यार नै लागेन। मिडियाले जबर्दस्ती फिल्मलाई सुपरहिट बनाउन खोजेको हो कि भन्ने शंका लाग्यो। आखिरमा झूर फिल्ममा परियो भने त परियो परियो, समय समय गयो, मल्टिप्लेक्सको महँगो टिकेट मूल्य पनि आफ्नै खल्तीको खेर जान्छ ।'
कुरा सिनेमाले विश्वास गुमाएको मात्र होइन भन्ने सबैले बुझ्न जरूरी छ।
रन्जित आचार्य दाइले लेख्नुभयो- 'राम्रा सिनेमा बन्दै जान्छन् अनि दर्शक पनि स्वत आकर्षित हुँदै जान्छन्।'
किरणकृष्णजीले त्यसमा थप्नुभयो- 'हरेक चलचित्र निर्देशकहरू, अभिनेता र निर्माताहरूले आफैंले विश्वशनीयता कमाउनु र्छ। अनि उनीहरूको नामको लागि स्वभाविक रूपमा दर्शक आउँछन्। हामीले कसैलाई जबर्जस्ती गरेर मेरो सिनेमा हेर भन्न सक्दैनौं।'
पक्कै पनि दर्शकलाई फोर्स गर्न सकिन्न। हरेक निर्देशकले आआफ्ना लागि बजार आफैं बनाउने हो। म पनि त्यो कुराको पक्षधर हुँ। म पनि मेरो स्वादसँग मिल्ने निर्देशकको सिनेमामात्र पैसा तिरेर हेर्छु र मेरा सिनेमाबारे पनि म सबैको धारणा एकै खालको अपेक्षा गर्दिन । सबै मान्छे मेरा सिनेमा हेर्न आउँछन् भन्ने आशा गर्दिन।
तर मैले मेरो कुरा गरेको होइन्। न छिरिङ रितार शेर्पाको कुरा । एउटा देशको उद्योगको कुरा गरेको हुँ र त्यो संकटमा छ। राज्यले के गर्छ गर्दैन्, थाहा छैन्। कम्तीमा हामी आफूले आफ्नो ठाउँबाट प्रयास नगर्ने हो भने परिवर्तन आउँदैन् भन्ने लाग्छ । अहिलेको अवस्थामा 'जोखिम' निर्माता र निर्देशकहरूले मात्र उठाइरहेका छन्। उनीहरूले मात्र प्रयास गरिरहेका छन्। अरू सबैले कमाउने दाउ मात्र हेरिरहेका छन्। धेरै जसो हलवाला र वितरकलाई नेपाली सिनेमा बन्नै छोडे पनि फरक पर्दैन्।हिन्दी र अंग्रेजी सिनेमा आउन्जेल उनीहरूको व्यापारमा अलिकति पनि तल माथि पर्दैन । अहिले पनि उनीहरूको ठूलो कमाइको स्रोत विदेशी सिनेमा नै हो। तरएउटा देशलाई त चाहिन्छ सिनेमा । हाम्रो समाजलाई त चाहिएला सिनेमा । हजारौं जो यही उद्योगको सहारामा बाँच्छन् उनलाई त चाहिएला सिनेमा ।
यदि चाहिन्छ भने हामीले कसरी उद्योग बचाउने सोच्न सक्नु पर्छ। गहन छलफल गर्नुपर्छ। सबै क्षेत्रबाट जे सकिन्छ त्यो लगानी गर्नुपर्छ। नत्र कुनै दिन नेपालमा पनि सिनेमा बन्थ्यो भन्ने दिन नआउला भन्न सकिन्न ।
दीपककुमार खड्का लेख्नुहुन्छ- नेपाली दर्शकहरूको मनोविज्ञान बुझ्न एउटा वैज्ञानिक सर्भेक्षण जरूरी छ।
यस्तो सर्भेक्षण हुन सक्यो भने पक्कै पनि मद्दत पुग्छ। के गर्ने, कस्तो सिनेमालाई प्रोत्साहन दिने, या कसरी प्रोत्साहन दिनेर, कसरी दर्शकको स्वाद फेर्ने । धेरै कुरा ज्ञान हुनसक्छ सर्भेक्षणबाट। सर्भेक्षणसँगै अरू देशहरूले आफ्नो उद्योगको कसरी विकास गरे भन्ने उदाहरणहरू पनि हेर्न सक्छौं होला। त्यसले पनि मद्दत गर्न सक्छ।
अँकुश दानवले लेख्नु भयो, 'टु टेल यु त ट्रुथ, उमा सक्ड इन मार्केटिङ। पोस्टर वाज टु मोनोटोनस।' हो कि बा ! एउटा वैज्ञानिक सर्भेले यस्तो प्रश्नहरूको उत्तर दिन सक्छ।
'फास्ट एण्ड फ्युरियसहरू'ले रिलिजअघि नै हाम्रो दिमागमा बलियो छाप पार्नुको कारण त्यस्को एग्रेसिभ मार्केटिङ हो। सँधै आँखा ठोक्किरहने पब्लिसिटी । उनीहरूको मार्केटिङको बजेट सिनेमा निर्माण बजेटभन्दा ठूलो हुन्छ। नभए पनि कम्तीमा आधा । कहिलेकाहिँ त १० गुणाभन्दा पनि बढी पनि हुन्छ ।
हाम्रो सिनेमा बनाई सक्नुअघि नै पैसा सकिइसकेको हुन्छ। हामीले सबैभन्दा कम पैसा खर्च गर्ने नै मार्केटिङमा हो। अधिकांशलाई त त्यो सिनेमाको अस्तित्व नै थाहा हुँदैन। मलाई धेरै प्रचार गर्यो भनेर गाली गर्ने मात्र होईन, मैले बनाएको 'हाईवे'लाई त्यसै कारणले दुश्मन मान्ने पनि चिन्छु म। तर कयौं त्यस्तो मान्छे भेटेको छु जसलाई हाईवे भन्ने सिनेमा छ भन्ने नै थाहा छैन । यस्ता कुराहरू त फिल्म निर्माण कम्पनी आफैंले पनि सुधार गर्न सक्लान्, तर अरू कति कुरा छन्, निर्माता निर्देशकले गरेर मात्र हुँदैन्।
सिनेमा हलको ब्राण्डिङ पनि आफैंमा महत्वपुर्ण हुन्छ।सबै खाले सिनेमा एउटै हलमा रिलिज गर्नुले पनि समस्या भएको जस्तो लाग्छ । आइएफसी र एएमसी सुन्दा उस्तै लाग्न सक्छ। तर यी दुवै सिनेमा हलको आफ्नो ब्राण्ड छ अमेरिकामा। आइएफसीले कहिल्यै पनि “फास्ट एण्ड फ्युरिस” जस्तो सिनेमा रिलिज गर्दैन। चाहे त्यसले जति सुकै पैसा किन नकमाओस्। उसले छान्ने सिनेमाहरूमा आर्टिस्टिक भ्यालु बढी हुन्छ। तत्काल उसलाई सर्भाइब गर्न गारो भएको थियो होला। तर अहिले उस्का दर्शक पनि फरक छन्। आफ्नै खालका छन्।
सिनेमा निर्देशक माईकल मुरले अरू चलचित्रकर्मीसँग मिलेर ताभेर्स सिटीमा एउटा सिनेमा हल चलाएका छन्। उनको सिनेमा हललाई यसै हप्ता मोसन पिक्चर्स एसोसिएसन अफ अमेरिकाले लेखेको लेख गुगल सर्च गरेर पढ्न सक्नु हुन्छ।
उनले भनेका छन् 'हामी कुन सिनेमाले धेरे पैसा कमाउँछ भने सोच्दैनौं। कुन फिल्म राम्रो छ भनेर छान्छौं।' त्यसो भएपछि मान्छेहरू आँखा चिम्लेर उनको हलमा जान्छन्। तर उनको हल प्रविधिमा पनि पैसा कमाउनकै लागि बनाइएका अरू हलभन्दा कम छैन्।
लो बजेट आर्ट हाउस सिनेमा रिलिज गर्न मात्र भनेर फिल्म फोरम, लिंकन सेन्टर जस्ता कयौं सिनेमा हल छन् अमेरिकामा। त्यस्तै छ अरू देशहरूमा जसले त्यस्ता सिनेमाको लागि डेडिकेटेड स्क्रिन छुट्याउँछन्।
बलिउड र हलिउडको 'हाई फाई' सिनेमा त्यही दिन रिलिज हुने हाम्रो जस्तो ठाउँमा हाम्रो सिनेमाको लागि दर्शक बनाउन थोरै समयको प्रयासले पुग्दैन। छु्ट्टै प्रयास जरूरी छ। यस्तो प्रयास व्यापार गर्न भनेर आएका निजी क्षेत्रका सिनेमा हलहरूले गरिदेलान् जस्तो लाग्दैन । राज्य या समुदायको ध्यान जान जरूरी छ ।
फास्ट एण्ड फ्युरियस र उमा एकै ठाउँ रिलिज भयो। फ्युरिसले २१ सो पायो, उमाले २। एक त काम गर्ने मान्छेलाई टाइम छुट्याएर सिनेमा हेर्न गारो। त्यसमाथि हलसम्म पुगिहाल्यो भने पनि उमा हेर्ने टाइम नमिलेर अर्कै तिर छिर्नुपर्ने बाध्यता।
'थुप्रै साथीहरुले भन्नुभएको चाहिँ उपयुक्त समयमा सिनेमा हलमा उमा नचलेकाले हेर्न नपाएको'- रन्जित आचार्य दाईले यस्तो लेख्नु भयो मेरो फेसबुकमा। केही दिन अघि किरणकृष्ण श्रेष्ठजी र आभाष कर्माचार्यले पनि यस्तै फेसबुक स्टाटस लेखेको देखेको थिएँ।
कसरी गर्ने प्रतिस्पर्धा । निर्माता निर्देशकहरूले घरबारी बेचेर लाखौं खर्च गरेर परीक्षण गरिरहने। तर राज्य र अरू कुनै पक्षले चाहिँ जोखिम नै नउठाउने हो भने कहिल्यै पनि उभोँ लाग्दैन हाम्रो सिनेमा उद्योग ।
तपाईं हामी नेपाली चलचित्रको टेक्नोलोजीलाई दोष दिँदै बस्छौं। तर हामी कसैलाई हेक्का नै छैन्- नेपाली चलचित्र देखाउने र हिन्दी अंग्रेजी चलचित्र देखाउने हलहरूको प्रोजेक्टर नै फरक हुन्छ । केही हलको छोडेर अरू हलमा नेपाली चलचित्र देखाउने प्रोजेक्टरको क्वालिटी 'होम भिडियो'को जति पनि छैन। अनि कसरी देखिन्छ भिजुअल क्वालिटीर । बिग सिनेमामा हाईवे देखाउन हामीले आकाश अधिकारीको एउटा सामान्य प्रोजेक्टर भाडामा लिएका थियौं। सिनेमाहलमा सिनेमा देखाउन प्रोजेक्टर भाडामा लिनु पर्यो, पत्याउनुहुन्छ ?
गोपीकृष्णमा हाईवेको प्रोजेक्सन कालो देखेर हलको टेक्निसियनलाई कुरा गर्न गएको झण्डै कुट्यो मलाई । गुण सिनेमामा मैले आफैं बसेर ल्यापटपबाट फिल्म देखाएको हुँ। साउण्ड मिलाई माग्दा राजधानीको नाम चलेको सिनेमा हलको कर्मचारीले लुटका निर्देशक निश्चल बस्नेतलाई ठाडै १५ हजार मागेको थियो। अनि के क्वालिटीको कुरा गर्नुहुन्छ ? के के कुराको ठेक्का लिने एउटा निर्देशकले ? गुदी कुरा नबुझ्यो, भिजुअल क्वालिटी नै झुर भन्दियो। हाम्रो दायित्व सकियो । हामी सबैले सोच्न जरूरी छ।
हाम्रा सिनेमा मेकरहरू 'महान' छन् भन्दिन म। तर कम्तीमा सिनेमालाई गम्भीर पेशा मान्नेहरूको संख्या पछिल्ला वर्षहरूमा बढेको छ। एक दर्जनभन्दा बढी निर्देशकहरू परिवर्तनको स्पष्ट आँट लिएर अगाडि आएका छन् । उनीहरूले आफ्नो 'सबै थोक' लगाएर सिनेमा बनाएका छन्। आफू भोकै बसेर भए पनि हजारौंको पेट पालेका छन्। यो होस्टेमा तपाईंले पनि हैंसे भनिदिनु भयो भने परिवर्तन सम्भव छ । नत्र भन्न सकिन्न । अरू यहाँको मर्जी ।
deepakrauniyar@gmail.com