आज ९ डिसेम्बर, अन्तर्राष्ट्रिय भ्रष्टाचार विरूद्धको दिवस! एक दिन नारा लगाउँदैमा, भाषण गर्दैमा वा विरोध गर्दैमा भ्रष्टाचार कम हुने हैन। भ्रष्टाचार कुनै एउटा वर्गमा मात्र सिमित पनि छैन। समाजका हरेक अंगमा भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचार बढ्नुमा हाम्रो सामाजिक मान्यताको पनि दोष छ- हामी आफू र आफ्नाले गलत बाटोबाट पैसा लगायत शिक्षा नै पाए पुरुषार्थ ठान्छौँ, अरुले गरे भ्रष्टाचार मान्छौँ!
इमान्दार र आदर्शवादीहरुलाई मुर्ख र पाएको बेलामा कमाउन नसक्नेमा गन्छौं।
कुनै परीक्षाको लागी परीक्षार्थीभन्दा धेरै उनका बाबुआमा “चिट” चोराउन परीक्षा केन्द्र वरिपरि भेला हुन्छन र नारा लगाउँछन्, “चिट चोर्न पाउनुपर्छ।”
चोरेर पास गरेको परिक्षाबाट पाएको प्रमाणपत्र र किनेको प्रमाणपत्रमा के फरक छ? पहिलोलाई हाम्रो समाजले भने पूर्ण मान्यता दिन्छ। जान्दै नजानी, पढ्दै नपढी पाएको प्रमाणपत्रधारीले गुणस्तरीय काम गर्न सक्ला? भोलि तिनै व्यक्तिहरु हाम्रो प्रणाली चलाउने ठाउँमा पुग्छन्, अनि कसरी हामी उन्नति गर्न सक्छौँ? अझै हाम्रो समाजमा परीक्षामा आफ्नो नामबाट “खेताला”लाई सामेल गराएर प्रमाणपत्र हासिल गर्नेहरु पनि छन्। जुन सुकै बाटोबाट पनि प्रमाणपत्र पायो, सम्बन्धित क्षेत्रको केही नजाने पनि विद्वान भैहाल्यो।
मास्टर्स लेभलको जाँचमा चोर्न सार्न मिल्ने सेटिङ मिलाएर राख्न परीक्षा नियन्त्रण कार्यालयसम्म मिलिमतो हुने देशमा अरु तहको के हालत होला?
नरोपी फल्दैन, रोपेर मात्र पनि पुग्दैन, गोडमेल मलजल गरेपछि मात्र फल पाइन्छ, यो प्रकृतिको नियम हो। हाम्रो समाजमा लगानी, मिहेनत र उद्योगबिनै कसैले अकुत सम्पति जोड्न सफल भयो भने उसलाई सफल मान्ने परम्परा छ। केही अपवाद बाहेक त्यस्ता आम्दानीको स्रोतको बारेमा सोध खोज गर्ने हाम्रो प्रणालीमा नै छैन।
मेरो घर भएको एरियामा पानी चार दिनमा एकपटक २ घण्टाको लागि आउँछ, त्यो पनि शुरुमा धमिलो फोहोर पानी आउँछ। एक दिन ४ घण्टा आयो, मैले छिमेकी भाइलाई भनेको त उस्ले जवाफ दियो,“दाइ, हामीले पानी खोल्नेलाई पैसा दिएर अन्तको पानी हामीलाई बढी दिएको।”
मैले भनेँ, त्यो पानी धाराको साँचो खोल्नेले उत्पादन गरेको हो र? आज तिमीसँग पैसा लियो अरुको काटेर यता दियो, भोलि तिम्रो काटेर उता दिन्छ। पानीको उत्पादन उही हो, बेकारमा त्यो साँचो खोल्नेलाई तिमीहरुले उचाल्यौ, अब साधारण पानी दिँदा पनि पैसा खोज्न थाल्छ।
हामी राज्यले उपलब्ध गराउने सेबा बढी पाउन भ्रष्टाचार गर्नुमा गर्व गर्छौ।
सबैभन्दा बढी सतहमा देखिने तर रकममा थोरै हुने भ्रष्टाचार जस्तो कुनै ब्यक्तिगत वा संस्थागत काममा कुनै अड्डामा काम गराउँदा रकम नतिरी नहुने नै हो। यो प्रकारको भ्रष्टाचारमा सर्बसाधारणले रकम तिर्नु पर्ने हुँदा आम बुझाइमा यो नै धेरै ठुलो भ्रष्टाचारको रुपमा प्रचारप्रसार भएको पाइन्छ।
सतहमा नदेखिने तर रकममा र असरमा ठूलो नीतिगत भ्रष्टाचार हो। भन्सारमा न्यून मूल्यांकन गरेर राज्यलाई राजस्वमा ठूलो रकम घाटा लाग्ने जस्ता भ्रष्टाचार आम मानिसको आँखामा पर्दैन।
तिर्नु पर्ने कर कम देखाएर राज्यलाई घाटा पारिन्छ। एउटा नीतिको फेरबदलले करोडौंको लेनदेन हुन्छ र राज्यको करोडौं रुपैयाँ गुम्छ। न्यून गुणस्तरको सामग्री प्रयोग गरेर निर्माण भएको संरचनाको (वा निर्माण नै नगरेका संरचनाहरुको) भुक्तानी दिनु, बोलपत्रमा मिलिमतो गरेर कम रकममा हुने काम बढिमा गर्नु, सार्वजनिक बजेटबाट ब्यक्तिगत निर्माण कार्य गर्नु, समयमा निर्माण कार्य गर्न नसक्नेलाई अनेक बहाना बनाउँदै म्याद थप गर्दै जानु आदि नीतिगत भ्रष्टाचारका उदाहरणहरु हुन्।
सबैभन्दा ठुलो र धेरै क्षेत्रमा असर पर्ने राजनीतिक भ्रष्टाचार हो। केही धनि र प्रभाबशाली ब्यक्तिहरुको फाइदाको लागि नियम कानुन तोडेर हुने भ्रष्टाचारमा अर्बौँको चलखेल हुन्छ। राजनीतिक आडमा ठूलाठूला बैंक घोटालाहरु, सरकारी सम्पत्तिलाई कौडीको मोलमा ४०-५० बर्ष सम्म कुनै ब्यक्ति वा समूहलाई लिजमा दिनु, बिद्युत आयोजनाको क्षमता बिस्तार वा डिजाईन परिवर्तनजस्ता कार्यमा अर्बौँको चलखेल भैरहेका हुन्छन्। हाल आएर यस्ता ठूला भ्रष्टाचार पनि मिडियामा छाउन थालेको छ।
रकमको सोझै लेनदेन नहुने तर हाम्रो समाज मा भैरहेको अर्को ठुलो भ्रष्टाचार पेशागत नैतिकताको क्षेत्रमा हो। सबै पेशामा गर्न हुने नहुने बन्देजहरु हुन्छन्। ब्यापारी, उद्योगी, डाक्टर, इञ्जिनियर, कर्मचारी, शिक्षक, वकिल, न्यायाधीश, पत्रकारदेखि सबै क्षेत्रका पेशाकर्मीहरुमा पेशागत नैतिकतामा ह्रास आएको छ। पैसा आउँछ भने पेशागत नैतिकताले गर्न नहुने जस्तो सुकै कार्यहरु पनि खुल्ला रुपमा नै हुन थालेका छन्।
भ्रष्टाचार समाजको धमिरा हो। बाहिरबाट सग्लो देखिएको काठ भित्र धमिराले खाएर खोक्रो बनाइसके जस्तै प्रणालीलाई पनि भ्रष्टाचारले खोक्रो बनाइसकेको हुन्छ। येस्तो खोक्रो प्रणालीको जगमा देशले दिगो बिकास गर्न सक्दैन। कुनै न कुनै दिन यो प्रणाली असफल हुन्छ, राज्यले ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ। अझ कुनै ठुलो विपद पर्न गयो भने भ्रष्ट प्रणालीले काम गर्नै सक्दैन, ठूलो धन-जनको क्षति हुन जान्छ।
हाल आएर हाम्रो देशमा सूचना प्रविधिको ब्यापक बिस्तारले धेरै पारदर्शिता हुँदै गएको छ। सामाजिक चेतनाको स्तर पनि बढ्दै गएको छ। लुकाउन नसकिने हुँदै जाँदा भ्रष्टाचारीले चाहेरै पनि गर्न त्यति सहज नहुने अबस्था आउँदै जाला। अन्तर्राष्ट्रिय रुपमा आएको दबाबले पनि भ्रष्टाचारबाट कमाएको संपत्ती लुकाउन नसकिने कानुन बनाउन बाध्य हुनै पर्छ। कानुनी रुपमा अक्षम्य र सामाजिक रुपमा अस्वीकृत नभई भ्रष्टाचारमा कमी भने आउन गार्हो छ। तर पनि भ्रष्टाचार नियन्त्रणतर्फ हाम्रो प्रयास जारी रहनु पर्छ किनकि भ्रष्टाचार नियन्त्रण नै सबल र बिकशित देशको जग हो।