कम्युनिस्टहरुका कुरा सुन्ने हो भने गैरकम्युनिस्ट सत्ताको पतन अवश्यम्भावी हुन्छ। किनभने पुँजीवादी हुन वा अरु कुनै रुपका दक्षिणपन्थी उनीहरुको उद्देश्य, नीति, संगठन र नेतृत्व कम्युनिस्टको जस्तो सामूहिक हित हुदैन्। गैरकम्युनिस्ट सत्ताको एकमात्र उद्देश्य शोषण हुन्छ। यस्तो शोषण लामो समय रहन सक्दैन। शोषक सत्ताको पर्दाफास हुन्छ। शोषितहरु एकजुट हुन्छन्। शोषक सत्ताका विरुद्ध लड्छन र ढलाउँछन।
तर जनपक्षीय राजनीति गर्ने साम्यवादी सत्ता किन ढल्छन? किन साम्यवादी नायकहरुको पतन हुन्छ?
पछिल्लो उदाहरण ब्राजिललाई हेरौं। ब्राजिलमा दिल्मा रुसेफलाई महाअभियोग लगाएर हटाएपछि यहाँ नेपालमा देब्रे कुनाबाट विश्लेषण आयो त्यो दक्षिणपन्थीहरुको षडयन्त्र थियो। के रुसेफको बहिर्गमनको एक मात्र कारण दक्षिणपन्थीहरुको षडयन्त्र मात्रै थियो? जनतासँग एकाकार दललाई बाह्य शक्ति (दक्षिणपन्थी)ले कसरी सजिलै परास्त गर्न सक्छ?
रुसेफलाई सिनेटको २० का विरुद्ध ६१ मतले बर्खास्त गरेपछि ब्राजिलका सडकमा प्रदर्शन भए। तर ती प्रदर्शन ब्राजिली मापदण्ड अनुसार निकै कमजोर थिए। सिंगो राष्ट्रलाई नै झण्डै एक वर्ष अनिर्णयको बन्दी बनाएको सत्ता संघर्षको नतिजा आउँदा मुलुक शान्त थियो, प्रतिक्रियाविहीन थियो।
लुला दा सिल्भाको नेतृत्वमा सन २००३ मा सुरु भएको वर्कर्स पार्टीको सत्तारोहण रुसेफमा आएर बिराम लागेको छ। यो अवधिमा वर्कर्स पार्टीले ब्राजिलीहरुमा आशा जगाएको थियो। ब्राजिलमा आर्थिक वृद्धि र राजनीतिक स्थायित्वको आशावाद सञ्चार गरेको थियो। तल्लो तहका जनताले राजनीतिक सहभागिता अनुभव गर्न थालेका थिए, सरकारबाट अपेक्षा गर्न थालेका थिए। सुखका दिन आए भन्ने उनीहरुलाई लागेको थियो।
उखु, कफि, फलाम, कपासमा धनी ब्राजिल ती वस्तुको अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण सुरुका वर्षहरुमा लाभान्वित भएको थियो। प्रत्यक्ष वैदेशिक लगानीको ओइरो लागेको थियो। नयाँनयाँ, ठुल्ठूला तेल खानी पत्ता लागेको थियो। अर्थतन्त्रले गति लिएको थियो। निमुखा केन्द्रीत सरकारको नीतिले तीन करोड ब्राजिलीलाई गरिबीबाट उतारेको थियो। उपनिवेश, सैनिक तानाशाही झेलेको ब्राजिली इतिहासमा यसअघि कहिल्यै यस्तो भएको थिएन्। असमानता साँघुरिदै गएको थियो। सन २०१२ मा ब्राजिलले बेलायतलाई उछिनेर विश्वकै छैठौं ठूलो अर्थतन्त्र बनेको थियो। यसले ब्राजिलीहरुको मनोबल झन उच्च बनायो। वैदेशिक नीति अझै विस्तारकारी बनाइयो।
अब विश्व रंगमञ्चमा हाम्रो पालो हो भन्ने विश्वास ब्राजिलीहरुमा पलायो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०१६ को ओलम्पिक आयोजना ब्राजिललाई गर्न दिने निर्णय सुनाएसँगै दा सिल्भा रोएका थिए रे! बल्ल संसारले हामीलाई चिन्यो भनेका थिए रे!
सन २००३ देखि २०११ सम्म ब्राजिलको उन्नति जति तीब्र थियो त्यत्तिकै सुस्त त्यसयताको समय रह्यो। दा सिल्भा राष्ट्रपति कार्यकालको अन्तिम वर्ष मुलुकको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ७.५ प्रतिशत थियो। यो वृद्धि दर सन २०१४ मा ०.१ प्रतिशतमा ओर्लियो र गत वर्ष ऋणात्मक चार प्रतिशत बन्यो।
अर्थतन्त्रको गिरावटमा बाह्य तत्व हाबी थियो। खासगरी विश्व अर्थतन्त्रको अर्को शक्ति चीनबाट माग घटेको थियो। चीनबाट फलाम तथा अन्य कृषि वस्तुको माग घटेपछि मूल्य पनि ओरालो लाग्यो। ब्राजिलमा भने मुद्रास्फीति उच्च भयो, बेरोजगारी दर बढ्यो। ब्राजिलीहरुलाई आर्थिक संकटले घेर्यो, अर्थतन्त्र माथि राष्ट्रपतिको पकड छ भन्ने उनीहरुलाई लाग्न छाड्यो। संकट बजारले होइन राजनीतिले ल्याएको हो भन्ने धारणा विकसित भयो। त्यस्तो धारणा विकसित हुनै पर्ने थियो, किनभने वर्कर्स पार्टीले आम ब्राजिलीहरुलाई बजार भनेको केही होइन, सब हाम्रो नियन्त्रणमा छ हामीले नै गरेका हौं भनिँदै आएको थियो। बजारलाई जता चाह्यो त्यतै डोर्याउन सकिन्छ भन्ने क्रान्तिकारी आश्वासन दिएर नै वर्कर्स पार्टीले सत्तारोहण गरेको थियो। आर्थिक सफलताको श्रेय लिन खोज्ने वर्कर्स पार्र्टी विरुद्ध संकटमा केही नगरेको भन्दै सन २०१३ मा ठूलो प्रदर्शन भयो।
त्यसपछि सुरु भए भ्रष्टाचार काण्डहरु। भ्रष्टाचारमा मुलुककै ठूला कम्पनी र सत्ताधारी दलका नेताहरुको संलग्नता उजागर हुँदै गयो। सुरुमा रुसेफ मुछिएकी थिइनन् तर उनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका थिए। यो काण्डले गरिबको पक्षमा उभिने, भ्रष्टाचार विरोधी भनेर कहलिएको वर्कर्स पार्टीको छवि थप धुमिल भयो।
अब लुला वा रुसेफको व्यक्तित्वले काम नगर्ने भयो। पहिलेका तुलनामा कम मत अन्तरले विजयी भए पनि रुसेफ दोस्रो कार्यकालमा बढी आक्रामक देखिएकी थिइन्, निरंकुश बन्दै गएको आरोप लागेको थियो। जब उनको लोकप्रियतामा ह्रास आउँदै गयो तब उनको राजनीतिक गठबन्धनका सहयोगी टाढिदै गए। रुसेफले सिनेटमा बहुमत सिद्ध गर्न सक्दिनन् भन्ने भएपछि राजनीतिक सहयोगी टाढिने क्रम अझ तीब्र भयो। बजेट घाटा ढाकछोप गर्न सरकारी स्वामित्वको बैंकबाट पैसा सारेको तुलनात्मक रुपमा कमजोर मुद्दामा उनलाई महाअभियोग लगाइयो र बर्खास्त गरियो।
आफ्नो बर्खास्तगीलाई रुसेफले रक्तपातविहिन कु भनेकी छन्। ब्राजिलमा सन १९८५ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि चार वटा राष्ट्रपति निर्वाचित भए। रुसेफ बीचैमा सत्ताच्युत हुने दोस्रो राष्ट्रपति हुन। आफुले भ्रष्टाचार विरोधी अभियान छेडेकोले डराएको राजनीतिक वर्ग प्रतिशोधमा उत्रिएको दाबी रुसेफले गरेकी छन्। पहिले सैन्य तानाशाही विरुद्धको संघर्षमा पनि आफुले यस्तै बेहार्नुपरेको उनले बताएकी छन्। ‘सिनेटमा आज भएको निर्णयलाई ब्राजिली इतिहासकै अन्यायी घटनाका रुपमा लिइनेछ,’ महाअभियोगको नतिजा आएपछि उनले भनिन, ‘६१ जना सिनेटरले पाँच करोड ४५ लाख जनताको मतलाई लत्याएका छन्।’
उनले आगामी दिनहरुमा पुरुषवादी दक्षिणपन्थीहरु विरुद्धको संघर्ष जारी राख्ने उद्घोष पनि गरिन। ‘मैले थालेको प्रगतिशील, समावेशी र लोकतान्त्रिक राष्ट्रिय कार्यक्रमलाई शक्तिशाली दक्षिणपन्थी र प्रतिक्रियावादी तत्वहरुले रोक्ने प्रयास गरेका छन्,’ उनले भनिन् ।
आफ्नो बचाउमा जेसुकै भनेपनि रुसेफले सत्ता छोड्नु परेको छ। उनको वर्कर्स पार्टीलाई नराम्रो धक्का लागेको छ। दक्षिण अमेरिकी वामपन्थी आन्दोलनमा एक अर्को नायकको पतन भएको छ। यो पतनको कारण आफैंभित्र रहेको स्वीकार उनीहरु गर्दैनन्। किनभने माक्र्सले पुँजीवादले आफ्नो चिहान आफै खनेको हुन्छ भनेका छन्, साम्यवादले होइन्। अवैयक्तिक, अदृश्य बजार शक्तिको अस्तित्वलाई कम्युनिस्टहरु स्वीकार गर्दैनन्।
मानव सभ्यतामा बजार हुन्छ, बजारमा माग र आपूर्ति हुन्छ, आर्थिक चक्र हुन्छ, मन्दी हुन्छ, तेजी हुन्छ। हजारौं वर्षदेखि मान्छेले यो भोग्दै आएको छ तर कम्युनिस्टहरु यसलाई मान्दैनन्। उनीहरु एकोहोरो ढिपी गर्छन, बजारमा षडयन्त्र मात्र हुन्छ, पुँजीपति र शक्तिशालीहरु बाँडीचुँडी खाने प्रपञ्च मात्रै हुन्छ। कथित अर्थतन्त्रको धारलाई बलैले जता चाह्यो त्यतै मोड्न सकिन्छ। दक्षिणपन्थी, साम्राज्यवादी, सामन्तहरुले शताब्दीयौंदेखि यस्तो धार श्रमजीवी सर्वहाराको शोषणमा प्रयोग गर्दै आएका छन्।
ब्राजिलकै सन्दर्भमा लुलाको पालामा विश्व अर्थतन्त्र सुदृढ थियो। विश्व बजारले अवसर सिर्जना गरेको थियो। उसका उत्पादन र कच्चा पदार्थको उच्च माग र मूल्य थियो। सन २००८ मा संसारलाई वित्तीय संकटले घेर्यो, तैपनि ब्राजिल टिकिरह्यो। अमेरिका र युरोपमा लाखौं बेरोजगार भए, घरबारविहिन भए। वर्कर्स पार्टीमा घमण्ड जाग्यो, पुँजीवादीले खनेको खाल्डोमा आफै परे, हाम्रो रौं पनि हल्लिएन भन्ने विश्लेषण गर्न थाले। जनतालाई अझै ठूलो सपना देखाइयो । वर्कर्स पार्टीले जनताका लागि जे भन्यो त्यै गर्न सक्छ भनियो।
संसारमै सबैभन्दा बढी उपभोग गर्ने अमेरिका र युरोपको मन्दीको असर ढिलो गरी ब्राजिल पुग्यो। विश्व बजारमा विस्तारै ब्राजिली उत्पादनको माग र मूल्य घट्न थाल्यो। वैदेशिक आय कम हुँदै गयो, ब्राजिलले जति उत्पादन गथ्र्योे सबै खपत हुने गरी अर्थतन्त्रको निर्माण भएकै थिएन, संसारमा यस्तो कुनै मुलुक छँदा पनि छैन्। मन्दीले ब्राजिललाई समात्यो, धेरैले रोजगारी गुमाए, महँगी बढ्यो। जनताका लागि जे भन्यो त्यै गर्न सक्ने पार्टी र नेता लाचार देखा परे।
कुनै दल वा नेताको सत्तारोहण र बहिर्गमनका पछाडि अनेकौं कारण हुन्छन्। आर्थिक कारण एक प्रमुख हो। लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारले गरिबी र अभावलाई लामो समय पालेर राख्न सक्दैन। आर्थिक स्रोत साधनको उचित व्यवस्थापनबाट गरिबीलाई सम्बोधन गर्न सकिन्छ। त्यस्तो साधनको आदर्शतम दोहन बजारले गर्न सक्छ। बजार व्यवस्थामा विकृति र विसंगतिहरु छन तर तीनीहरु निर्देशित र नियन्त्रित व्यवस्थाका भन्दा कम छन्। खुला बजारलाई स्वीकार गर्ने मुलुकका जनताको आम्दानी बढी छ, जीवनको गुणस्तर उच्च छ। यो इतिहास सिद्ध तथ्य बनिसकेको छ।
यो तथ्यलाई कम्युनिस्टहरु स्वीकार गर्दैनन् । भोका, नांगा, गरिबहरुको उत्थान बजारले गर्दैन, उनीहरु आफु पनि केही गर्न सक्दैनन्। सर्वहारालाई उद्धारकको खाँचो हुन्छ। कम्युनिस्टहरु जहिल्यै काम गरि खाने जनताको हितमा लड्ने नायकको खोजीमा हुन्छन्। उनीहरु नायक खडा गर्छन । कटु यथार्थ के हो भने नायक एक्लैले गर्ने केही होइन्। अन्ततः नायकमाथिको भ्रम टुट्छ, उसको नायकत्वको अवसान हुन्छ। यसरी अनेकौं साम्यवादी नायक पतनको शृंखलामा दिल्मा रुसेफको नाम पनि जोडिएको छ।