डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने लगायतका माग राखेर आठौं अनसन घोषणा गर्दा एक जना बुज्रुकले टिप्पणी गरेका थिए, लोकमानको नियुक्ति गलत तरिकाले भएको थियो। तर, उनलाई महाअभियोग लगाएर हटाइयो भने त्यसले गलत नजिर स्थापित गर्नेछ।
अर्थात्, एकपल्ट गल्ती भएपछि छ वर्षसम्म त्यसको सजाय भोगौं चाहे त्यसका कारण देश विश्वकै सबैभन्दा भ्रष्ट देशको सूचीमा शीर्ष स्थानमा पुगोस्, चाहे संविधानको मर्मविपरीत कुनै निकायले निर्मम समानान्तर सरकार चलाओस् र चाहे भय र ब्ल्याकमेलिङको राजका कारण विकास बजेट खर्चै नहुने वातावरण किन नरहोस्।
गल्ती सच्याउने संवैधानिक व्यवस्था हुँदाहुँदै बरु नागरिकहरुमाथि समानान्तर सरकारको जोरजुलुम चलिरहोस्, अख्तियार प्रमुखका आफन्तका मेडिकल कलेजहरु नियामक निकायभन्दा माथि रहेर बिना गुणस्तर डाक्टरी डिग्री बेचिरहुन्, चिकित्सा शिक्षामा वार्षिक अर्बौंको कालोबजारी भइरहोस्, त्यसले आम मानिसको स्वास्थ्य र ज्यान खतरामा परे परोस् तर लोकमानमाथि महाअभियोग लगाउँदा गलत नजिर बस्छ भन्ने गजब व्याख्या थियो यो।
यो टिप्पणी ती बुज्रुक स्तम्भकारप्रति हैन। त्यो स्तम्भ लेखिँदा लोकमानका कर्तुतहरुबारे धेरै कुरा बाहिर आइसकेका पनि थिएनन्। मेरो आशा छ, त्यति सब भइसकेपछि ती स्तम्भकारले यो विषयमा आफ्नो मत बदले होलान्।
यो टिप्पणीको निशाना चाहिँ नेपालमा भ्रष्टाचारविरोधी अभियानको एउटा हिस्साप्रति हो। सुशासनको पक्षमा आवाज उठाउने संघ-संस्था र नागरिक समूहहरुमध्ये धेरै डा. केसीको अनसनको समर्थनमा मात्र नभई अहिले पनि उहाँ नेतृत्वको अभियानमा छन् भने बाँकी धेरैले यस विषयमा मुख खोलेका छैनन्।
यो लोकतन्त्र हो र फरक मत राख्न पाइन्छ। डा. केसीको अभियानलाई पूर्ण वा आंशिक समर्थन गर्न वा विरोध गर्न हामी स्वतन्त्र छौं। उहाँभन्दा फरक मत राख्नेहरुको पनि अहिले विभिन्न फोरमहरुमा आवाज सुन्न पाइन्छ। राजनीतिक दलको नेतृत्वमा समेत डा. केसीको एजेण्डालाई समर्थन गर्ने र लोकमानसिंह कार्कीको भक्तिपूर्ण समर्थन गर्ने दुबै खालका मानिसहरु छन्। यसलाई अन्यथा लिन मिल्दैन।
तर, नसुहाउने कुरा के चाहिँ हो भने, भ्रष्टाचारको अमूर्त विरोध गरिरहने तर यस विषयमा यति मूर्त बहस हुँदा त्यसमा भाग नलिने। समाजमा यति तीव्र बहस भइरहँदा अझै पनि किनारामा बस्नेहरु एउटा के कुरामा प्रष्ट हुनुपर्छ भने अकर्मण्यता कुनै पनि अभियानका लागि घातक हुन्छ।
कुनै पनि जटिल विषयलाई सामान्यीकरण गरेर श्यामश्वेतमा मानिसको अडान खोज्ने प्रवृत्तिप्रति मेरो विरोध छ। यही बहसमा पनि ‘तपाईं डा. केसीसँग कि लोकमानसँग’ भनेर कसैलाई सोध्यो भने त्यो गलत हुन्छ किनकि यो मामला त्यति सरल छैन। खासगरी आम मानिसलाई कुनै बहसमा कुनै पक्षको साथ लिने वा तटस्थ बस्ने भन्ने पूरा अधिकार छ। चुप लागेर रमिते बस्न पाउनु पनि हाम्रो अभिव्यक्ति स्वतन्त्रताको पाटो नै हो।
तर, यति चर्को बहस भइसकेपछि जसले आफूलाई भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा भनेर वकालत गर्छ, उसले किनाराको साक्षी बनेर बस्नु शोभनीय हुँदैन। डा. केसीसँग वा लोकमानसँग भनेर श्यामश्वेत विभाजनमा भाग नलिए पनि कमसे कम यो व्यक्ति, संस्था वा प्रवृत्ति यति सही र यति गलत, अर्को व्यक्ति, संस्था र प्रवृत्ति यति सही र यति गलत भनेर आफ्नो अडान सार्वजनिक गर्न कसैलाई कुनै हिच्किचाहट नहुनुपर्ने हो।
नामै लिएर भन्नुपर्दा, विश्वव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियानमा संलग्न हुने ठानिएको ट्रान्सपरेन्सी इन्टरनेशनलको यो मुद्दामा अडान के हो? हामीले औंल्याएका लोकमानका क्रियाकलाप यदि उसलाई वास्तविक लाग्छन् भने ऊ कसरी यस्तो गम्भीर विषयमा मौन बस्न सक्छ? हैन, हामीले लोकमान प्रवृत्तिविरुद्ध चलाएको अभियान उसलाई ज्यादतीपूर्ण र संवैधानिक निकायको मर्यादामा आँच पुर्याउने खालको लाग्छ भने झन् ऊ कसरी मौन बस्न सक्छ? यदि संस्थाका रुपमा अदुअआले इमान्दारीपूर्वक काम गरेजस्तो उसलाई लाग्छ भने त्यसको बचाउमा बोल्नु उसको कर्तव्य हुँदैन र?
हामीले आम मानिसलाई ‘हामी ठिक छौं, साथ दिन आउनोस्’ भनिरहँदा यो विषयमा धेरै कुरा बुझेर भ्रष्टाचारविरोधी अभियानमै लागेका मानिसहरु वा संस्थालाई त्यसो भन्न सक्दैनौं। किनकि हामी पनि सही वा गलत भनेर छुट्याउने काम उनीहरुको हो। हामीलाई कसैले सही ठानेर समर्थन र सहकार्यमा आउँछ भने हामीले उसलाई न्यानो स्वागत गर्छौं। कसैले यस्तो कमी कमजोरी भयो भनेर स्वस्थ रुपमा औंल्याइदिन्छ भने त्यसलाई सुधार्नतिर लाग्छौं।
तर, निरक्षर मानिससमेत उद्वेलित भएर सडकमा आएर एउटा संवैधानिक निकायको ज्यादतीपूर्ण व्यवहार र उसले भ्रष्टाचारलाई दिएको बढावाप्रति आगो ओकल्दा शिक्षित, परिष्कृत र भ्रष्टाचारविरोधी अभियानमै लागेका भनिएका मानिसहरु किनाराबाट तमासा हेरिरहनु पटक्कै नसुहाउने कुरा हो।
त्यसैले त्यस्ता व्यक्ति र संस्थाहरुलाई मेरो विनम्र आग्रह छ, डा. केसी नेतृत्वको अर्को घनाचरण लगत्तै सुरु हुँदैछ। त्यसमा यहाँहरुले अरु केही नभए पनि एउटा कुरा प्रष्ट पारिदिनोस्- यो लडाइँमा तपाइँ कहाँ उभिनुहुन्छ, छातीमा हात राखेर सबैलाई भनिदिनोस्। दुई पक्षमध्ये कतै पनि हुनुहुन्न र कतै उभिनुपर्छ जस्तो यहाँलाई लाग्दैन भने त्यसै भनिदिनोस्। हाम्रो अभियान यहाँहरुलाई गलत लाग्छ भने गलत भनिदिनोस्, निरर्थक, वाहियात र अनावश्यक वा प्रत्युत्पादक लाग्छ नै भने पनि इमान्दारीपूर्वक त्यसै भनिदिनोस्। यो अभियान सम्भावना बोकेको तर खास कारणले सफल हुन नसकेको जस्तो लाग्छ भने तपाईंले देखेको सुधारको बाटो हामीलाई भनिदिनोस्। यो अभियानलाई निस्तेज पारेर लोकमान नेतृत्वको अदुअआलाई बलियो बनाउँदा भ्रष्टाचार नियन्त्रणमा बल पुग्छ जस्तो लाग्छ भने खुलेर त्यसै भन्नोस् र हामीले फैलाएको ‘अफवाह’ चिर्नेतिर लाग्नोस्।
तर, कृपया आँखा अगाडि भ्रष्टाचारविरोधी अभियान चलिरहँदा किनाराको साक्षी बनेर टुलुटुलु नहेर्नोस्। कुनै संस्थाको जागिर वा संस्थाका लागि आउने रकममाथि समानान्तर सत्ताले अंकुश लगाइदेला भनेर मन मारेर उकुसमुकुस भएर नबस्नोस्। जुन योद्धा युद्धको समयमा भाग्छ, उसलाई शान्तिको बेला ‘म योद्धा हुँ’ भनेर परिचय दिन संकोच हुन्छ। यहाँको स्थिति पनि त्यस्तै नहोस्।